पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति छाडेर पूर्वउपाध्यक्ष बनिन् विद्या

बबरमहल पुग्दा जब लाग्यो जिन्दावादको नारा



काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजेका लागि पत्रकार सम्मेलन गर्ने भनिएको बबरमहलस्थित कार्की बान्क्वेटमा एक घण्टा अघिबाटै बाक्लो भिड लाग्न थालेको थियो । उनी आधा घण्टा ढिलो कार्यक्रमस्थलमा आइपुगिन् ।

गत ०८१ वैशाखमै नवीकरण गरेको संगठित सदस्यता ६ साउनमा बसेको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकबाट निष्क्रिय बनाउने निर्णय गरेसँगै भण्डारीले पार्टीभित्र दुई लाइन संघर्ष चर्काउने संकेत शुक्रबार बबरमहलबाट गरिन् ।

एमालेले सदस्यता रोकेर च्यासलको ढोका लाउने कोसिस गरे पनि २०७७ माघ-फागुनमा तत्कालीन नेकपामा देखिएको कलहका बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई निष्कासनको निर्णय गरेको मञ्चबाटै भण्डारीले यस्तो संकेत गरेकी हुन् ।

त्यो कुराको जनाऊ दिनका लागि उनले २०७७ सालमा माधव-प्रचण्ड उभिएकै बबरमहलस्थित कार्की बान्क्वेटको मञ्चलाई नै उपयोग गरिन् ।

नेकपाको तत्कालीन प्रचण्ड-माधव पक्षले त्यसबेलाका अध्यक्ष ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाउने निर्णय कार्की बान्क्वेटकै त्यही मञ्चबाट गरेको थियो ।

त्यसबेला र अहिलेको फरक के छ भने माधव-प्रचण्डले दुई लाइन संघर्ष चर्काउँदा नेकपा नै विभाजनको अवस्थामा थियो । अहिले पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीविरुद्ध नेकपा एमालेको पूर्वउपाध्यक्षका रुपमा पार्टीभित्र दुई लाइन संघर्षको थालनी गरेकी छन् । अनौठो के छ भने उनी राष्ट्रपति नहुँदासम्म एमालेमा ओली र भण्डारीको गुट एउटै थियो ।

२०७७ सालमा प्रचण्ड–माधव पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिँदा अल्पमतमा भएर पनि ‌ओलीले सूर्य चिह्न र नेकपा एमाले आफ्नो पोल्टामा पार्न सफल भएका थिए । अहिले ‌ओलीले एमालेमा एकलौटी गर्दा २०७१ को नवौँ महाधिवेशनमा उपाध्यक्ष भएर दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीका लागि च्यासलको दैलो बन्द भएको अवस्था छ ।

भण्डारीसँगै नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित डा. भीम रावललाई ओलीले २०८१ पुस १० गते पार्टीबाट बाहिरको बाटो देखाएका थिए । त्यसबेला रावललाई पार्टी सदस्यबाटै बर्खास्त गर्दै च्यसालको दैलो बन्द गरियो । अहिले भण्डारीको हकमा उनले नवीकरण गरेको सदस्यतालाई निष्क्रिय गरिएको भनिएको छ।

लामो समय एमालेमा आफ्नै सहकर्मी र सहयात्री रहेकी भण्डारीलाई च्यासलको दैलोबाट बाहिरको बाटो देखाउने क्रममा ओलीले आफूलाई आजीवन पार्टी नेतृत्वमा राख्ने योजनासहित ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वको प्रावधान पनि विधानबाट खारेज गरिदिएका छन् ।

उनको यो निर्णयलाई आगामी भदौ २०-२२ गते ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनले अनुमोदन गर्नेछ । उक्त विधान महाधिवेशनमा पनि भण्डारीलाई निषेधको निर्णय ओलीले गरिसकेका छन्, चितवनमा भएको दशौँ महाधिवेशनमा प्रतिनिधि नभएको बहाना देखाएर ।

भण्डारीका लागि अहिलेको अवस्थामा दोस्रो विधान महाधिवेशन र एघारौँ महाधिवेशनको ढोका करिब बन्द भएको छ । एघारौँ महाधिवेशनको ढोका खुलाउन उनले ‌ओलीविरुद्ध ठूलै शक्ति संघर्ष गर्ने या उनीसँग प्रतिस्पर्धा नगर्ने शर्तमा सम्झौताका विकल्पलाई पनि सम्भावनका रुपमा केही नेता-कार्यकर्ताले हेरेका छन् । तर अहिलेलाई त्यो सम्भावनाको ढोका खोल्ने चाबी ओलीसँगै छ।

आफूले ४५ वर्ष संघर्ष गरेको पार्टीले नै अपमानपूर्वक नवीकरण गरेको सदस्यता नै खारेज गरिदिएपछिको निर्णयलाई भण्डारीले शुक्रबार बबरमहलबाट ‘हुलहुज्ज र उत्तेजना’मा गरिएको निर्णय भनिदिएकी छन् ।

आफूलाई पत्रकार सम्मेलनमा भण्डारीले आफूलाई एमालेको पूर्वउपाध्यक्षको हैसियतमा प्रस्तुत गरिन् । उनले पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरेको दुई पन्ने वक्तव्यको पुछारमा ‘विद्या भण्डारी, पूर्वउपाध्यक्ष, नेकपा एमाले’ लेखिएको छ ।

एमालेको पूर्वउपाध्यक्षका रुपमा चिनाएकी उनले अब आफ्नो अभियान देशैभर पुग्ने बताइन् । उनले यसो भनेर लिखित वक्तव्य पढ्नुअघि कार्की बान्क्वेट परिसरको माहोलको चर्चा गरौँ ।

भन्नलाई पत्रकार सम्मेलनको समय दिउँसो ३ बजेलाई तोकिएको थियो । पूर्वराष्ट्रपतिको पत्रकार सम्मेलनको समय ३ बजे हुने भनिएपछि हल पहिले नै भरिभाऊ भइसकेको थियो ।

सम्मेलनस्थलको सानो हल भरिएपछि आयोजकले ठूलो हल नै वारपार खोलिदिए । ठूलो हल आधा भरिएको अवस्थामा त्यतिकै संख्यामा बाहिर बसेर भण्डारीको भनाइ सुन्ने मानिस पनि थिए ।

पत्रकार सम्मेलन भनिए पनि एक हिसाबले त्यो स्थान भण्डारीका लागि सानोतिनो शक्ति प्रदर्शनको थलोका रुपमा परिणत भयो । दुई सय आसपासमा पत्रकार र क्यामेरा पर्सन जम्मा हुँदा त्यसको दोब्बरभन्दा धेरै एमाले कार्यकर्ता देखिन्थे ।

खासगरी एमाले नेतृत्वले जबरजस्ती पेलेर किनारामा पारिएका भ्रातृ र संगठनका नेता कार्यकर्ताहरू बाक्लो संख्यामा पत्रकार सम्मेलनस्थलमा देखिन्थे ।

पत्रकार सम्मेलन भनिए पनि त्यहाँ एमालेका पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल आफैं पूर्वराष्ट्रपति भण्डारीको स्वागतमा जुटे । पहिले नै कार्की बान्क्वेटमा देखिएका उनले पूर्वराष्ट्रपति भण्डारी गाडीबाट ओर्लिँदै स्वागत गर्न पुगे । ढकालसँगै प्रकाश पौडेल र राजेश राईहरू पनि देखिए ।

कुनै समय नेता ढकाल वर्तमान एमाले अध्यक्ष ओली कमजोर हुँदा साथ दिने जिल्ला कमिटी अध्यक्षमध्ये एक थिए । उनीसँगै तत्कालीन काभ्रे जिल्ला अध्यक्ष गोकुल बास्कोटा ओलीको साथमा थिए । तर यी दुवैजना अहिले ओलीको साथमा छैनन् ।

अहिले उनै ढकाल एमालेको निर्णयले संकटमा परेकी विद्या भण्डारीलाई साथ दिन विराटनगरबाट काठमाडौं उत्रिए । यसअघि पूर्वराष्ट्रपति भण्डारी अभियान लिएर दुई पटक कोशी पुग्दा उनै विनोद ढकालले स्वागत र सत्कार गरेका थिए ।

ढकाल पनि कुनै समय एमालेको राजनीतिमा प्रभावशाली नेता मानिन्थे । तर ओलीको निर्देशन अटेरी गर्दै कोशी प्रदेश कमिटीमा हारेपछि उनले केन्द्रीय सदस्य पद गुमाएका थिए । उनी अहिलेको अवस्थामा एमालेमा सल्लाहकार परिषद् सदस्य मात्रै छन् ।

आफूले भनेको नटेरेको रोषमा ओलीले ढकालमाथि अन्याय गरिरहेको एमालेकै कार्यकर्ता नै बताउँछन् । ओलीबाट टाढिँदै किनारा परेका ढकालले शुक्रबार भण्डारीको स्वागत गरेर संकटको सारथि भएको सन्देश दिए । अर्थात्, ओलीका कारण संकटमा परेका दुवैजना एकठाउँ देखिएका छन् ।

ढकालले प्रदेश कमिटीमा हारे पनि मोरङबाट शक्ति आर्जन गरेपछि ओलीकै मान्छे भएको बताएका थिए । ढकालको प्यानलबाट अजम्बर राईसहितको प्यानलले जितेपछि एमाले मोरङमा अहिले पनि दुई लाइन संघर्ष चर्किरहेको छ । अब त्यो दुई लाइन संघर्षको नेतृत्व केन्द्रबाट विद्या भण्डारीले गर्दा त्यसमा मिसिएका छन् विनोद ढकाल ।

एमाले मोरङको दशौँ महाधिवेशनमा आफ्नो प्यानलै जिताए पनि उनी एमाले नेताहरूबाट पाखा लगाइएका बेला अब भण्डारीसँग मिलेर दुई लाइन संघर्ष बढाउन तयार भएका छन् ।

शुक्रबा भण्डारीको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य युवराज बास्कोटा, सीता पौडेल, सरिता निरौला र रमेश पौडेल पनि देखिए। एमालेले भण्डारीको पत्रकार सम्मेलनमा नजान कडा निर्देशन दिएको थियो । तर केही नेताहरू उक्त निर्देशन छलेर पत्रकार सम्मेलनमा देखिए ।

एमालेले भण्डारीको पत्रकार सम्मेलनमा नजान कडा निर्देशन दिएको स्रोतले उल्लेख गरेको छ। एमाले केन्द्रीय सचिवालयले सम्बन्धित प्रदेशका इन्चार्जहरूलाई भण्डारीको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरूलाई जान नदिन भनेको थियो । तर केही केन्द्रीय सदस्यहरू विद्या भण्डारीलाई साथ दिएर उनको दुई लाइन संघर्षलाई सघाउने जनाउ दिएका छन् ।

भण्डारीलाई साथ दिन एमालेको जनवर्गीय संगठनका केही नेता कार्यकर्तासमेत पुगेका थिए । युवासंघको अध्यक्षमा पराजित सुमन पुरी, प्रेस चौतारीमा निषेध गरिएका राजेश राई र अनेरास्ववियुमा पराजित प्रकाश पौडेलले पनि भण्डारीको दुई लाइन संघर्षलाई साथ दिने जनाउ दिए ।

एमालेका भोजपुरका पूर्वजिल्ला अध्यक्ष शरणकुमार राई पनि पत्रकार सम्मेलनमा देखिए। उता भण्डारीनिकट स्थायी कमिटी सदस्य कर्ण थापा भने पत्रकार सम्मेलनमा देखिएनन् । उनी बिहीबार पूर्वराष्ट्रपतिसँगै बिहीबार भएको एउटा सम्मेलनमा भने देखिएका थिए ।

निर्धारित समयको करिब आधा घण्टापछि भण्डारी पत्रकार सम्मेलनस्थल पुग्दा उपस्थित एमाले कार्यकर्ताले गरेको नाराबाजी पनि रोचक थियो । दुई कार्यकाल राष्ट्रपति सम्हालेर बिदा भएपछि पहिलो पटक आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रुपमा चिनाएकी भण्डारी बीवाईडीको विद्युतीय कारबाट ओर्लिनेबित्तिकै नाराबाजी सुरू भयो ।

एमालेले छेकेर पनि नरोकिने अडान लिएकी उनी गाडीबाट ओर्लिनेबित्तिकै कार्यकर्ताहरूको एउटा समूहले नारा लगायो, ‘विद्या भण्डारी, जिन्दावाद, नेकपा एमाले जिन्दावाद, विद्या भण्डारी जिन्दावाद, नेकपा एमाले जिन्दावाद !’

एमाले नेता विनोद ढकालसहितले भण्डारीलाई मञ्चसम्मै साथ दिए । एमालेको कारबाहीपछि अलमलमा परेकी भण्डारी दर्जनौँ बुम फेस गर्दा केही नर्मस भने देखिएकी थिइन् ।

उनले बसेर सम्बोधन गर्न बनाइएको मञ्चको भित्तामा एमालेका जननेता मदन भण्डारीको ठूलो फोटो टाँसिएको थिय । त्यसैगरि सूर्य चिह्नअंकित झण्डासहितको ब्यानर टाँगिएको थियो । ब्यानरको शीर्ष भागमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद्, नेकपा (एमाले) जिन्दावाद’ लेखिएको थियो । भण्डारीले आफ्नो विज्ञप्तिमा पनि एमाले नेतृकै रुपमा पुष्टि गर्न आफूलाई पहिलो पटक ‘पूर्वअध्यक्ष’को हैसियतमा प्रस्तुत गरिन् ।

पूर्वउपाध्यक्षको हैसियतमा के भनिन् ?

भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण गरिएको स्पष्ट गर्दै पार्टीले त्यसबारे लिएको निर्णयप्रति असन्तुष्टि जनाइन्। पार्टीले उनको सदस्यता नवीकरण नगरेको भनी लिएको निर्णयप्रति पनि गम्भीर आपत्ति जनाएकी छन्।

गत असार १४ गते आफूले जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरेको दाबी गर्दै पार्टी कार्यालय र नेताहरूलाई जानकारी गराइसकेको पनि उनले उल्लेख गरिन्।

‘मैले पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको अवस्था विवादमा पार्नुपर्ने विषय नै होइन,’ भण्डारीले भनिन्, ‘तर पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको जानकारी सार्वजनिक गरेपछि म चुपचाप बसिरहनु् उचित ठानिनँ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समेत यस विषयमा सौहार्दपूर्ण छलफल भएको उनले खुलाइन् ।‘मैले अध्यक्षसँगको पछिल्लो भेटमा सदस्यता नवीकरण भइसकेको कुरा राखेँ, तर त्यसको भोलिपल्ट केन्द्रीय कमिटीको निर्णयविपरीत आयो,’ उनले उल्लेख गरिन्।

भण्डारीले आफू राजनीति गरेरै राष्ट्रपतिमा पुगेको र अब पुनःराजनीति गरेर देश र जनताको सेवा गर्न चाहेको स्पष्ट पारिन्। ‘म कुनै पदको लागि लालायित छैन, राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन्, ‘तर बाँकी जीवन पार्टी र राजनीतिमार्फत जनताको सेवामा समर्पित हुनेछ।’

भण्डारीले पार्टीको निर्णयलाई ‘अपरिपक्व’ भन्दै आलोचना गरेकी छन्। ‘जनताको बहुदलीय जनवाद (जबज) को मर्म अनुसार, निर्णय विवेकपूर्ण र व्यापक छलफलका आधारमा हुनुपर्छ। तर यस्तो निर्णयले पार्टीको साख र प्रतिष्ठा नै गिराउनेछ,’ उनले भनिन्।

उनले लोकतान्त्रिक मूल्य, संविधानद्वारा प्रत्याभूत राजनीतिक स्वतन्त्रता र आस्थाको अधिकारलाई लत्याउँदै आफूलाई बञ्चित गरिएको तर्क गरिन् ।

भण्डारीले आफू ४५ वर्षदेखि पार्टीमा सक्रिय रहेको बताउँदै एमालेको निर्माणमा रगत, पसिना र योगदान दिएको स्मरण गराइन् ।‘त्यस्तो पार्टीमा मलाई सदस्य हुन नदिनु अन्यायपूर्ण मात्र होइन, ऐतिहासिक गलत निर्णय हो’, उनले भनिन् ।

उनले दुई लाइन संघर्षका लागि तयार हुन आग्रसहित एमाले नेता, कार्यकर्ता र सदस्यहरूलाई पनि अपील गरेकी छन्। ‘जननेता मदन भण्डारीको विचार र जबजको मार्गदर्शनमा हामीले पार्टीलाई सशक्त, एकताबद्ध र सांगठनिक रूपमा मजबुत बनाउनु पर्छ। यतिबेला स्वार्थरहित निष्ठाको आवश्यकता छ’, उनले दृढताका साथ भनेकी छन् ।

भण्डारीका तर्क

राष्ट्रपतिबाट बिदा भएपछि पार्टीमा आबद्ध बनेरै अगाडि बढ्ने टुङ्गोमा पुगेर एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरेँ।

असार १४ गते जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा एमालेमा क्रियाशील हुने घोषणा गरेँ ।

मेरो सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।

राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध हुँदै देश र जनताको सेवा गर्न संविधानले रोक्दैन ।

राजनीतिक दलमा आवद्ध हुनु संवैधानिक अधिकारको विषय हो । म राजनीति गरेरै पार्टी नेता हुँदै राष्ट्रपति भएँ ।

म एमालेको राजनीतिमा फर्किसकेँ, यो मेरो अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन।

सदस्यता नवीकरण भइसेकको कुरा पार्टी अध्यक्षलाई भनेको थिएँ । पार्टीमा आवद्ध भएर काम गर्ने छलफल गरेको थिएँ ।

एमालेलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व हाम्रो हो।

नेकपा एमालेको पूर्वउपाध्यक्षका हैसियतमा जारी विज्ञप्ति-

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ३५ बजे

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ‘एक घर, एक

पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना : कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते

लिमा– पेरुको मध्य क्षेत्र जुनिनमा एक  बस दुर्घटनामा कम्तीमा १८

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख

शाकाहारीले भिटामिन ‘बी १२’ पाउन के खाने ? 

काठमाडौं– विशेषगरी शरीरमा पोषक तत्त्वको कमी हुनु सामान्य भएको छ ।