बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी « Khabarhub

बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल बाढीले बगाएपछि सामान ढुवानी गर्नका लागि घिर्नी जडान गरिएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल गत वर्षको असोज १२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा अस्थायी बेलीब्रिज जडान गरिएको थियो ।

फोक्सिङटारमा गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको अस्थायी बेलीब्रिज नदीमा पानीको सतह बढेपछि जेठको पहिलो हप्ता झिकिएको थियो । निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले पुल बगाउनुका साथै बेलीब्रिजसमेत झिकिएपछि विकल्पका रूपमा घिर्नी जडान गरिएको हो ।

विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले जानकारी दिए ।

“रसुवा–पाँचधारे सडकअन्तर्गत रसुवा–सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, उनले भने, “आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ । फोक्सिङटारमा जडान गरिएको घिर्नी साउन ८ गते परीक्षण गरेर नियमित रूपमा सञ्चालन गरिरहेका छौँ ।”

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । सुनकोशीमा हिउँदमा मात्र अस्थायी बेलीब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रका लागि आवश्यक सामान ढुवानी गर्न कुनै विकल्प नभएपछि घिर्नी जडान गरिएको रेग्मीले बताएका छन् ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल निर्माण गरिएको थियो । दिक्तेल–गाईघाट (१०१ किलोमिटर) सडकखण्डअन्तर्गत फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पुल बगाएपछि गत पुस २७ गतेबाट अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको थियो ।

वर्षा लागेसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक खोटाङबाट पूर्वी तराईका विभिन्न सहर जाने तथा आउने छोटो दूरीको सडक हो ।

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि घुर्मी–कटारी सडकखण्ड हुँदै पूर्वी तराईका विभिन्न जिल्लामा सवारी साधन आवतजावत हुँदै आएको छ । घुर्मी–कटारी सडक लामो भएकाले विशेषगरी निर्माण सामग्रीका साथै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर बिक्री गर्नुपर्ने बाध्यता सृजना भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन् ।

निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरेको पुल फिनिसिङ ९सम्पन्न गर्न० र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न करिब १२ वर्ष कुर्नुपरेको थियो । तर, बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि सङ्घीय सरकारबाट रु ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर, बाढी पुल बगाएको दश महिना बित्न लाग्दासमेत नयाँ पुल निर्माणका लागि अहिलेसम्म ठेक्का भने खुलेको छैन ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको दिक्तेल–गाईघाट सडक अहिले हिउँद्को समयमा हिलाम्मे र वर्षाद्को समयमा धुलाम्मे अवस्थामा छ । विसं २०७३ मा कालोपत्र थालिएको दिक्तेल–गाईघाट सडक ठेकेदारको लापरबाहीले सम्पन्न नभएपछि ठेक्का तोडेर पुनः अर्को निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

फोक्सिङटारबाट सिम्पानीसम्म र सिम्पानीबाट महुरेसम्मका सडक कालोपत्रका लागि नेपाल सरकारले पुनः रु ८६ करोड बजेट उपलब्ध गराएको छ । पहिलो खण्डको सडक कालोपत्रको जिम्मा रु ४२ करोड लागतमा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छभने दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रु ४६ करोड लागतमा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ९ : २३ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा