गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु | Khabarhub Khabarhub

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु



चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।

काठमाडौँ– गाजा शहरस्थित अल रस्तानी अस्पतालको शैय्यामा नौ वर्षीया मरयम दवास सुतिरहेकी छिन् । उनको हातको माथिल्लो भागको पाखुरा तल्लो भागको नाडीभन्दा पातलो छ । उनका करङ छालाबाट प्रष्टै देखिन्छन् । उनलाई खाना खानसमेत समस्या पर्छ ।

यतिमात्रै होइन, उनका साना आँखा पनि गाडिएका छन् । झट्ट हेर्दा लाग्छ, आँखा झिम्क्याउनसमेत कठोर सङ्घर्ष गर्नुपर्छ । उनलाई कसैले सोध्छन्, ‘अब तिम्रो सपना के हो ?’

उनको आवाज सानो छ । कानेखुशी गर्दा आउने आवाजमा उनी सुस्तरी भन्छिन्, ‘म जस्तो थिएँ, त्यहीँ फर्किने ।’

स्काई न्यूजका अनुसार उनी २५ केजीकी थिइन् । अहिले घटेर नौ केजीमा झरेकी छन् । सामान्यतः एक वर्ष नपुगेको स्वस्थ बच्चाको तौल यति नै हुन्छ ।

उनी झाडापखालाबाट पीडित छिन् । तर, उनलाई पखालाले भन्दा कुपोषणले धेरै सताएको छ ।

मध्यगाजाको देइर अल बलाहस्थित विस्थापित शिविरको एउटा पालमा १२ वर्षीया हुदा अबु नजा छिन् । पालमा रहेको पातलो बिछ्यौनामा सुतिरहेकी उनको पाखुरा पनि ज्यादै पातलो छ । उनको शरीरका हाडलाई पातलो छालाले बेरेजस्तो देखिन्छ । उनी पनि कुपोषणबाट ग्रस्त छिन् ।

‘गत मार्चमा इजरायलले गाजाको नाका बन्द गरेदेखि मेरी छोरी कठोर कुपोषणबाट पीडित छिन्,’ छोरीको अनुहार सुम्सुम्याउँदै आमा सोमिया अबु नजाले अल जजीरासँग भनिन् ।

‘उनी तीन महिना अस्पताल बसिन् तर अवस्थामा सुधार आएन,’ सोमियाले भनिन् । सोमियाका अनुसार दक्षिणी गाजाको खान युनुस शहरस्थित नासेर अस्पतालमा पाँचजना केटाकेटीको ज्यान गएको देखेपछि परिवारले हुदालाई आफैसँग राख्ने निर्णय गर्‍यो ।‘उनी ३५ किलोकी थिइन्, तर अहिले २० किलो मात्रै छिन्,’ सोमियाले थपिन् ।

खानेकुरा अभावका कारण गाजा क्षेत्रका कतिपय परिवार भोकै बस्न बाध्य छन् । गाजा क्षेत्रका कतिपयले महिनौँदेखि तरकारी वा फलफूलसमेत देख्न नपाएको विवरणहरु आइरहेका छन् ।

गाजा शहरकी ४१ वर्षीया रिम तवफिक खादेर पाँच सन्तानकी आमा हुन् । उनले बीबीसीसँगको कुराकानीमा अनिकालको कहालिलाग्दो घटना सुनाएकी छिन् ।

‘हामीले पाँच महिनामा प्रोटिन खाएका छैनौँ । मेरो कान्छो सन्तानको उमेर चार वर्ष छ । फलफूल र तरकारी हेर्दा कस्तो देखिन्छ वा स्वाद कस्तो हुन्छ, उसलाई थाहै छैन,’ उनले भनेकी छिन् ।

४७ वर्षीया रजा तालबेह ६ सन्तानकी आमा हुन् । एक महिनाअघि गाजा शहरको जैतुन क्षेत्रबाट उनी विस्थापित भइन् । उनी अहिले समुद्र तटमा बनाइएको अस्थायी शिविरमा बस्छिन् ।

उनी ग्लुटेन खान नहुने अवस्थाबाट पीडित छिन् । शरीरलाई चाहिने खाना उनले भेट्न सकेकी छैनन् । खान नपाएर आफ्नो वजन २५ किलोसम्म घटेको उनले बीबीसीलाई सुनाएकी छन् ।

‘युद्धअघि दाताले मलाई ग्लुटेन नभएको खानेकुरा दिएर सहयोग गर्थे, मैले किन्न सक्दिन थिएँ,’ उनले बीबीसीलाई भनिन्, ‘युद्ध शुरु भएदेखि मलाई चाहिने कुरा बजारमा भेट्न सकेको छैन, भेटे पनि किन्न सक्दिनँ ।’

२९ वर्षीया रिदा हिजेहकी छोरी लामिया पाँच वर्षकी छिन् । युद्ध शुरु हुनुअघि लामिया कुनै समस्या थिएन, स्वस्थ थिइन् । तर, अनिकालका कारण भोकमरी र कुपोषणले उनको अवस्था बिग्रिएको छ । लामियाको तौल झण्डै आधाले घटेको छ ।

यसअघि लामियाको वजन १९ किलो थियो । अहिले घटेर १० किलो पाँच सय ग्राम मात्रै छ । ‘अनिकालकै कारण यो भएको हो,’ बीबीसीसँग रिदाले भनिन्, ‘छोरीले खाने केही बचेको छैन । तरकारी छैन, फलफूल पनि छैन ।’

अहिले लामियाको खुट्टा सुन्निएको छ । कपाल पातलिएका छन्, र उनलाई स्नायूसम्बन्धी समस्या देखिएको छ ।

‘उ हिँड्न सक्दिन । मैले धेरै क्लिनिक, चिकित्सक र अस्पताल गएँ । उनीहरु सबैले मेरी छोरी कुपोषणको शिकार भएको बताए । तर तीमध्ये कसैले पनि केही दिएनन् । उपचार वा कुनै सहयोग गरेनन्,’ रिदाले भनिन् ।

स्थानीय अधिकारीका अनुसार गाजा क्षेत्रमा इजरायली घेराबन्दीका कारण उत्पन्न अनिकालले हुदाजस्ता हजारौँ बालबालिकासहित लाखौँ मानिस भोकमरी र कुपोषणको शिकार भएका छन् ।

हुन पनि संयुक्त राष्ट्रसङ्घले पनि गाजामा अनिकालको भयावह अवस्था रहेको बताएको छ । राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गर्दै पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको जनाएको छ ।

आसन्न सङ्कटबारे चेतावनी दिने जिम्मा पाएको राष्ट्रसङ्घीय अनुगमनकर्ताहरूको गठबन्धन इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी) ले यस्तो चेतावनी दिएको हो ।

आईपीसीका अनुसार गाजा शहरमा सबैभन्दा धेरै दुई लाख ८१ हजार जनाले विनाशकारी अनिकालको सामना गरिरहेका छन् । त्यसैगरी, देइर अल बलाहका एक लाख १२ हजार र खान युनुसका एक लाख २१ हजार जना विनाशकारी अनिकालको चपेटामा परेका छन् ।

इजरायलमाथि युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाइएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले गाजामा भइरहेको अनिकाल ‘कुनै रहस्य होइन’ भन्दै यसलाई ‘मानव निर्मित विध्वंश’ र ‘मानवताको असफलता’ का रुपमा चित्रित गरेका छन् । त्यसैगरी, प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसङ्घीय निकाय अनराका प्रमुख फिलिपे लज्जारिनीले गाजामा जारी अनिकाल ‘इजरायल सरकारद्वारा मानव निर्मित र सुनियोजित’ रहेको बताएका छन् ।

राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले अनिकाललाई ‘इजरायली सरकारद्वारा चालिएको कदमको प्रत्यक्ष परिणाम’ को संज्ञा दिएका छन् । इजरायलले सहायता सामग्री प्रवेशमा ‘गैरकानुनी कडाइ’ गरेको पनि उनले जनाएका छन् ।

तर, इजरायलले भने गाजा क्षेत्रमा अनिकाल भएको भन्ने प्रतिवेदन ठाडै अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रतिवेदनलाई ‘ठाडो झूठ’ को संज्ञा दिएका छन् ।

इजरायलले भोकमरीको नीति नलिएको भन्दै उनले इजरायलसँग भोकमरी रोक्ने नीति रहेको टिप्पणी गरेका छन् । उनले युद्ध शुरु भएयता इजरायलले गाजा क्षेत्रमा २० लाख टन सहायता सामग्री प्रवेश स्वीकृत गरेको भन्दै यो हरेक व्यक्तिका लागि एक टनभन्दा धेरै सहायता सामग्री रहेको जनाएका छन् ।

इजरायली विदेश मन्त्रालयले पनि आईपीसीको प्रतिवेदनलाई हमासको झूठो अभियानमा मिल्नेगरी आईपीसीले झूठो प्रतिवेदन ल्याएको जनाएको छ ।

मन्त्रालयले गाजाको अवस्थालाई अनिकालका रुपमा चित्रण गर्न आईपीसीले ‘अनिकाल’ को आफ्नो परिभाषा नै बदलेको आरोप लगाएको छ ।

यसअघि ३० प्रतिशत जनसङ्ख्याले भोकमरीको सामना गरिरहेको अवस्थालाई अनिकाल भन्ने गरिएकोमा त्यसलाई घटाएर आईपीसीले १५ प्रतिशतमा झारेको मन्त्रालयको आरोप छ ।

तर, गाजा क्षेत्रमा सक्रिय चिकित्सक र सहायता निकायमा काम गर्ने मानिसहरू गाजामा अनिकाल र कुपोषणको अवस्था अत्यन्त भयावह रहेको बताउँछन् ।

मोहम्मद आदिल खलिल अमेरिकाको टेक्ससमा शल्यचिकित्सकको काम गर्थे । आजकल उनी गाजा शहरमा सेवा गर्छन् । यसअघि पनि उनी दुई पटक गाजा क्षेत्रमा सेवा गर्न आइसकेका छन् ।

अगस्ट महिनाको शुरूतिर एक जना १७ वर्षीय किशोर गोली लागेको घाउ लिएर खलिल काम गर्ने अल अहली अस्पताल आए । उनका दुवै खुट्टा र एउटा हातमा गोली लागेको थियो । सहायता केन्द्रमा खानेकुरा लिन जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

अस्पतालको इमर्जेन्सी कक्षमा ती किशोरको करङ प्रष्टै देखिन्थ्यो । अस्पतालमा चिकित्सकले उनलाई उपचार गर्न थाले । खलिलका अनुसार ती किशोरले ब्यान्डेज लगाएको पातलो हात निकै कष्टपूर्वक आफ्नो खाली मुखतिर लगेका थिए ।

‘भोकमरीको स्तरले हृदयलाई ज्यादै छियाछिया बनाउँछ,’ खलिलले समाचार संस्था एपी लाई बताएका छन्, ‘हामीले यसअघि गत नोभेम्बरमा पनि भोकमरी शुरु भएको देखेका थियौँ । तर अहिले यसको स्तर कल्पनाभन्दा ज्यादै बाहिर छ ।’

‘वजनमा कमी, शल्यक्रियापछिको जटिलता र भोकमरीको स्तर हामीले देखिरहेका छौँ,’ उनले भने, ‘कसैले यसलाई अनिकाल भन्छ भने मलाई आश्चर्य लाग्दैन ।’

केही दिनअघि एपीको टोलीलाई गाजा शहरकै शिफा अस्पतालका पोषण निर्देशक डा. मोहम्मद कुहेइलले अस्पताल घुमाएका थिए । त्यहाँ १५ वर्षीया आया स्बेथ सुतिरहेकी थिइन् । उनका हातखुट्टा पनि पातला थिए ।

उनी इजरायली हवाइ आक्रमणबाट घाइते भएकी थिइन् । कुपोषणका कारण उनलाई स्वस्थ हुन कठिन भइरहेको छ । परिवारले उनको वजन एक तिहाईले घटेको जानकारी दिएका छन् ।

हामीसँग कहिलेकहीँ दालजस्ता अन्न हुन्छन्,’ आयाका ४४ वर्षीय बुबा भन्छन्, ‘पिठोसमेत किन्न सकिन्न ।’

डा. अहमद अल फर्रा दक्षिणी गाजाको नासेर अस्पतालमा बालरोग विशेषज्ञका रुपमा काम गर्छन् । उनका अनुसार अहिले गाजामा हरेक व्यक्ति भोकमरीको चपेटामा परेका छन् । उनी आफू र आफ्नो परिवारसमेत भोकमरीबाट ग्रस्त भएको बताउँछन् ।

‘गाजामा भोकमरीको चपेटाबाट बाहिर भएका कोही पनि छैनन्, म पनि छैन ।’ उनले न्यूयोर्क टाइम्ससँग भनेका छन् । ‘म तपाईँसँग स्वास्थ्य अधिकारीका रुपमा बोलिरहेको छु, तर परिवारलाई खुवाउन म पनि पिठो खोजिरहेको छु ।’

गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भोकमरी र कुपोषणका कारण थप आठ जनाको ज्यान गएको छ । अनादोलू एजेन्सीका अनुसार यीमध्ये एक जना बालक छन् ।

मन्त्रालयका अनुसार यससँगै गाजा क्षेत्रमा कुपोषण र भोकमरीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८९ पुगेको छ । यीमध्ये एक सय १५ जना बालबालिका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ५८ बजे

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको