काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जेन–जी आन्दोलनपछि आत्मालोचना गर्दै बदलिएका आवश्यकता र अपेक्षा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन्।
बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै उनले यस्तो स्वीकारोक्ति गरेका हुन् ।
‘२३ भदौले देखाइसकेको छ कि सबै कुरा ठिकठाक थिएनन्। यो सत्य स्वीकार गर्दै भन्नुपर्छ, बदलिएका आवश्यकता र अपेक्षा पूरा गर्न सफल नभएकोमा हामी माफी चाहन्छौँ’, योगेशले भनेका छन् ।
उनले जेन–जी आन्दोलनमाथि भएको दमनको न्यायिक छानबिन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर २४ भदौमा भएको हिंसात्मक गतिविधिले आन्दोलनलाई बदनाम गरेको पनि उनले बताए। ‘त्यो दिनका अपराधिक गतिविधिले राष्ट्रिय सम्पदा र गौरव जोडिएका संरचनामा क्षति पुर्यायो, जसले जेन–जीहरूको पवित्र मागलाई विद्रूप बनायो,’ उनले भनेका छन् ।
भट्टराईले मुलुकलाई अस्थिरताको प्रयोगशाला बनाउन खोजिएको चर्चा भए पनि त्यसबारे अहिले धेरै नबोल्ने बताएका छन्। तर संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवन र निर्वाचनमार्फत् देशलाई ‘ट्रयाक’मा ल्याउनु आजको पहिलो कार्य भएको पनि उनले बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उनले पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् । ‘इतिहासका हरेक संकटका घुम्तीमा हामी पुनर्गठित भएका छौँ। अहिले पनि कमजोरी स्वीकार गर्दै सामूहिक ढंगले समाधान खोज्नुपर्छ’, उनले भनेका छन् ।
एमालेभित्र नयाँ पुस्ताको भावना र माग सम्बोधनसहित पुनर्गठनको आवाजलाई नेतामाथिको अपमानका रूपमा व्याख्या नगर्न उनले आग्रह गरे। ‘पुनर्गठन र रुपान्तरणको आवाज नेतृत्वको सम्मानकै लागि हो,’ भट्टराईले स्पष्ट पारेका छन् ।
नेता भट्टराईले कार्ल मार्क्स र भीआई लेनिनलाई उद्धृत गर्दै गल्ती स्वीकार गरी सुधारतर्फ अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘कमजोरी स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन,’ भट्टराईले भनेका छन् ।
उनले ग्राम्सीको भनाइ उद्धृत गर्दै अब एमाले र कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताए । ‘फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवस्ता र अपमान कदापि गर्नु हुन्न’, उनले भनेका छन्, ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौँ । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मानसहित पुनर्गठन ।’
पुनर्गठन र रुपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कहीँ कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिनु गलत भएको उनले बताएका छन् । ‘म तपाईंहरूलाई भन्न चहान्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ’, योगेशले भनेका छन् ।
उनले नेपालको पछिल्लो घटनाबारे भूराजनीति र अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमिकाको पनि चर्चा हुने गरेको बताएका छन् । ‘आज म त्यतातिर धेरै चर्चा गर्न चहान्नँ । भोलिका दिनमा सबै कुरा उद्घाटित हुँदै जानेछन्’, उनले भनेका छन्, ‘एउटा भनाइ छ, ‘अर्कालाई दोष लगाउनुपूर्व आफ्नौ थैली बलियो गरी कस्नू ।’
उनले भारत र चीनसहितका छिमेकी राष्ट्रहरू तथा अन्यलाई नेपाललाई प्रयोगशाला नबनाइदिन भनेका छन् । ‘तपाईंहरूले नेपालको लोकतन्त्रिक प्रक्रिया र नेपालीहरूको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ’, उनले भनेका छन्, ‘तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुने छैन भन्ने मेरो गहिरो विश्वास छ । संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवनको लागि तपाईंहरूको सकरात्मक सद्भाव भने अपेक्षित छ ।’
योगेशको वक्तव्यको पूर्णपाठ
कमरेडहरू,
हो, हाम्रा सामु एकातिर पीडाहरू छन्, हतासा छ, निराशाहरू छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरू पनि छन् । सबैभन्दा बढी प्रश्नहरू छन् । तपाईंहरूले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमीहरूले हिँड्ने बाटो कुन हो ?’ बदलिन्छौँ की उस्तै बस्छौँ ?
मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चार माध्यमहरू पढिरहेको छु । तपाईंहरूले हामीलाई सोधिरहनु भएको छ, ‘तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौँ ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत् केही कुरा राखेको थिएँ ।
हो, असल प्रयास र प्रयत्नहरू जारी थिए । अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको विचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरिसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र, हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षा पूरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौँ ।’
यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरू पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरूले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संविधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरू नै यसको समाधान हुन् ।
नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संबिधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो काम हो । केही परिमार्जन आबश्यक रहेछ भने पनि संबिधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांस बुद्धीजीवि, नेत तथा कार्यकर्ता, शुभेच्छकहरूको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन।
मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाव आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्याउँछ । अवस्था अभूतपूर्व रुपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौँ । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’
कमरेडहरू, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवस्ता र अपमान कदापि गर्नु हुन्न । पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’
फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईहरूलाई भन्न चहान्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’
सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरू ढालिएका इतिहास तपाईं-हामीले पढेका छौं । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रुपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्वथा गलत हो । वस्तुत: यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।
हामीलाई थाहा छ, जब सन् १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो । स्वभाविक रुपमा चेतनाहरू पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र, नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको हो ।
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संबिधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो । अन्ततः नेकपा (एमाले)को नवौँ महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौं ।
त्यसैले कमरेडहरू, अहिले हामीले संबिधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ । त्यसका लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुछ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गर्नुपर्छ ।
हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने (तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरू, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरू) जसले हामीलाई आशाका नजरले हेरीरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु, ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौं । र, पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौँ ।’ मार्क्सले भन्नु भएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ ।’
यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठूल्ठूला संकट र आँधीवेहरी पार गरेरै यहाँसम्म आएका हौं । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्तिसहितको अभियानको लागि अपीलसमेत गर्दछु । आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौँ ।
भनिन्छ नि, कमजोरी स्वीकार कमजोरहरूले गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो ।’ हामी एक्ला एक्लै होइन, सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौँ, खुला खुलस्त हौँ । सबैको अस्तित्व र भूमिकालाई स्वीकार गरौँ । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न कि लेनिनले भने जस्तै अरू कसैको ।
योगेश भट्टराई
सचिव, नेकपा (एमाले)
मिति : ९ असोज २०८२
प्रतिक्रिया