रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल | Khabarhub Khabarhub

रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल

फागुनको चुनावअघि नै नेतृत्व फेर्नुपर्ने दबाब



काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ ।

मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा बसेको रास्वपाको बैठकमा मुख्य चार विषयमा केन्द्रित भएको छ ।

पहिलो : सभापति रवि लामिछाने नख्खुबाट निस्केको प्रकरण
दोस्रो : पार्टीको पहिलो महाधिवेशन
तेस्रो : फागुन २१ गतेको मध्यावधि चुनाव
चौथो : जेन–जी आन्दोलन

रविको नख्खु प्रकरण

जेन–जी आन्दोलनले विध्वंशात्मक रुप लिएको दिन भदौ २४ गते रास्वपा सभापति लामिछाने नख्खु कारागारबाट भागेको कुराले चर्काे विवाद भएको थियो । रवि नख्खु फर्किसके पनि रास्वपा बैठकमा यसबारे नेताहरूबीच आरोप–प्रत्यारोप नै चल्यो ।

बैठकमा बहुमत केन्द्रीय सदस्यले सभापति लामिछाने नख्खु कारागारबाट किर्ते कागज बनाएर भागेपछि पार्टी नै संकटमा गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

केन्द्रीय सदस्यहरू गणेश कार्की, पार्टी प्रवक्ता मनिष झा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र तोसिमा कार्की लगायत यसबारेमा प्रश्न गरेका थिए ।

बैठकमा नख्खु कारागार प्रशासनले पटक–पकट फोन गरेर रविलाई सुरक्षा दिन नसकेकाले लैजान आग्रह गरेपछि गरेर कागज बनाएर निकालेको ब्रिफिङ कार्यवाहक सभापति डीपी अर्यालले गरे ।

यति मात्रै होइन, उनले दुईवटा सुरक्षा निकायका प्रमुखले समेत ‘रविलाई जेलबाट निकालेर लैजान’ भनेको जिकिर गरे । त्यहीकारण आफूहरू गएर जेलबाट निकालेको प्रष्टिकरण उनले बैठकमा दिए । रविलाई छुटाउन बनाइएको कागज पनि कारागार प्रशासनले नै लेखेको जिकिरसमेत गरेका छन् ।

अर्यालले सभापतिको ज्यान बचाउने कोसिस गर्दा कमजोरी भएको स्वीकारे । ‘हामी कहिले यस्तो अवस्थामा परेका थिएनौँ । सभापतिको ज्यान बचाउन जिम्मेवारी लिनुपर्ने भयो,’ अर्यालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर त्यो कागज मैले बनाएको होइन । रवि दाइले कागज नभई नजाने भनेपछि कारागारले नै बनाएको हो ।’

अर्यालले यति भनेपछि पार्टी सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झाले पनि यसबारे बोलेका थिए । झाले भदौ २४ मा आफू नख्खु गए पनि पत्र बनाउने काममा संलग्न नभएको बताए । उनले फोन आएपछि रविलाई लिन गएको स्वीकारे ।

डीपीमाथि शंका

रास्वपा बैठकमा कार्यवाहक सभापति अर्यालले नै किर्ते कागज बनाएर रविलाई निकालेको आँकलन र विश्लेषण नेताहरूले गरे । यसबारे केही नेताले डीपीलाई बैठकमै सोधे । तर उनले उक्त किर्ते कागज बनाएको स्वीकारेनन् । कारागार प्रशासनले नै बनाएको भन्दै पन्छिए । बैठकमा डीपीको बचाउमा सह–कोषाध्यक्ष दीपक बोहरा र सह-महामन्त्री आचार्य उत्रिए ।

सह–प्रवक्ता प्रतिमा रावलले पनि कागज किर्ते नभएको भन्दै अर्यालको बचाउ गरिन् । तर, रास्वपा नेताहरूले उनीहरूको कुरा पत्याएनन् । त्यसपछि कागजबारे छानबिन गर्न विशेष कार्यदल बनाउने निर्णय भएको छ । कार्यदलको मोडालिटी सार्वजनिक भएको छैन ।

कार्यवाहक सभापति अर्यालको कार्यशैलीमा नेताहरू असन्तुष्ट छन् । उनको कार्यशैलीले पार्टीलाई घाटा भएकाले कार्यवाहक नै परिवर्तन गरेर उनीमाथि अनुसन्धान गर्नुपर्ने प्रश्न उठेको छ । उनी भने परिस्थितिजन्य कारण देखाएर पन्छिने गरेका छन् । पत्र कारागार प्रशासनले नै दिएको भन्दै पन्छिन खोजे पनि अनुसन्धानले सत्य पत्ता लगाउने नेताहरू बताउँछन् ।

‘प्रश्न उठेपछि छानबिन हुनुपर्छ । जुन तरिकाले काम भएको छ । कार्यवाहक सभापतिमाथि अनुसन्धानको सुइ तेर्सिएको छ’, रास्वपाका एक नेता भन्छन्, ‘जे भए पनि यसको अनुसन्धान हुनुपर्छ । छानबिन नगरी पार्टी अगाडि बढ्न सक्दैन । गल्ती गरेको भए स्वीकार्नुपर्छ । नख्खु प्रकरणले जेन–जी आन्दोलनको घानमा पार्टी परेको छ । कार्यवाहक सभापति अनुसन्धानको घेरामा हुनुहुन्छ ।’

पार्टी महाधिवेशनको बहस

रास्वपाले पहिलो महाधिवेशन अझैसम्म गर्न सकेको छैन । फागुन ७ देखि ९ गतेसम्म चितवनमा हुने भनेको महाधिवेशन अन्योलमा छ । कारण फागुन २१ गते निर्वाचनको मिति घोषणा भएको छ ।

केन्द्रीय समिति बैठकमा धेरै नेताहरूले पहिलो महाधिवेशन गरेर मात्र निर्वाचनमा जानुपर्ने कुरा गरे । उनीहरूले बरु माघमै महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताए ।

बैठकमा पार्टीको पहिलो महाधिवेशन नभएका कारण क्षति पुगेको विषयमा पनि चर्चा भएको थियो । पहिलो दिनको बैठकमा महाधिवेशन गर्ने या नगर्ने भन्ने विषयमा बढी छलफल भएको थियो । सोही बैठकमा नेत्तृत्वको ‘चेन अफ कमाण्ड’ सुधार्ने विषयमा पनि छलफल भएको थियो ।

नेताहरूले माघमै महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने मत राखेका थिए । पार्टी पहिलो महाधिवेशन नै नगरी निर्वाचनमा जाँदा कुनै पनि नतिजा आउन नसक्ने बताउँदै नेताहरूले कुन अनुहार लिएर चुनावमा जानेबारे समेत प्रश्न उठाएका थिए ।

कार्यवाहक सभापति र पार्टी सभापतिबारे पनि नेताहरूले प्रश्न उठाउँदै आन्तरिक लोकतन्त्रलाई मजबुतीसहित पार्टीलाई चलायमान बनाउन पहिलो महाधिवेशन अपरिहार्य गर्नुपर्ने आवाज उठेको थियो ।

तर, लामिछाने निकटहरूले भने महाधिवेशन नगरेर विस्तारित बैठकबाट केही एजेन्डासहित जानुपर्ने आवाज उठाए । त्यसपछि निर्वाचनअगाडि महाधिवेशन गर्ने या पछाडि गर्ने भन्नेमा पार्टीले निर्णय गर्न सकेन ।

निर्णय गर्न नसकेपछि पार्टीले कात्तिक १४ र १५ गते विस्तारित बैठक बोलाएको छ । त्यही बैठकबाट पार्टीको महाधिवेशन अगाडि गर्ने या पछाडि गर्ने भन्ने विषयमा निर्णय हुने पार्टी प्रवक्ता मनिष झा बताउँछन् ।

महाधिवेशनको शर्त नेतृत्व परिवर्तन

यदि पार्टीले फागुन २१ को निर्वाचनसम्म महाधिवेशन गर्न नसके नेतृत्व परिवर्तन गरेर जानुपर्ने माग पनि उठेको छ । यो माग रास्वपाको एउटा पंक्तिले उठाएको छ । यस्तै कोशी र मधेस प्रदेशसहितका सभापतिले पनि लामिछानेको विकल्प खोजेर पार्टीलाई चलायमान बनाउन आवश्यक रहेको आवाज उठाए ।

उनीहरूले चुनावसम्म डीपीले चलाए पार्टी अधोगतिमा लाग्ने भन्दै पार्टीलाई चलायमान र ऊर्जा भर्न सक्ने नेता अगाडि सारेर जानुपर्ने मत राखेका थिए ।

‘वडा सदस्य नै जित्न नसक्नेले पार्टी हाँकेर अगाडि बढ्न नसक्ने भन्दै धेरै साथीहरू बोल्नुभएको छ । अहिलेको कार्यवाहक सभापतिमाथि प्रश्नै प्रश्न छन् । उहाँको नेतृत्वमा चुनावमा जान नसकिने निष्कर्ष निकालिसकेका छौँ’, ती नेताले भने ।

रास्वपा सचिवालयका अर्का नेताले सभापति जेलमै रहने अवस्थामा कार्यवाहक सभापतिको विकल्प नि खोज्नुपर्ने बताए । ‘हामीले पार्टी बैठकमा स्पष्ट धारणा राखिसकेका छौँ । यदि निर्वाचनसम्म महाधिवेशन गरेर अगाडि बढ्न नसके नेतृत्व परिवर्तन गरेर जानुपर्छ’, उनले खबरहबलाई भने ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झामाथि पनि नेताहरूले प्रश्न उठाएका थिए । बुर्लाकोटीले महामन्त्रीमा बसेर उचित कार्यसम्पादन गर्न नसकेको भन्दै गुनासो नेताहरूको छ । कार्यवाहक सभापति र महामन्त्री मिलेर पार्टीलाई घाटा हुने निर्णय मात्रै गरेको उनीहरूको भनाइ थियो ।

केन्द्रीय समिति बैठकमा नेताहरूले सचिवालय सदस्य तथा पार्टीका सांसदहरूमाथि प्रश्न उठाएका छन् ।

बैठकमा पार्टीको महाधिवेशन गर्न नसके चुनावी अवस्थामा स्वर्णिम वाग्ले वा अर्को नेतालाई सभापति बनाएर अगाडि बढाउनुपर्ने आवाज उठेको थियो । तर यसबारे स्वर्णिम मौन छन् ।

केन्द्रीय समितिको बैठकमा स्वर्णिमले अन्य नेताहरूको कुरा सुनेर आफूले सम्पूर्ण टिपोट गरेको बताउँदै आगामी विस्तारित बैठकमा यसबारे छलफल हुने जवाफ दिए ।

जेन–जी आन्दोलनबारे के भने ?

केन्द्रीय समिति बैठकमा जेन–जी आन्दोलनबारे पनि लामो छलफल भएको थियो । रास्वपाले उठाउन नसकेका एजेन्डा जेन–जी उठाएको भन्दै वैकल्पिक पार्टीले भनेजस्तो जनताका एजेन्डा पक्रिएर अगाडि बढ्न नसकेको गुनासो आएको थियो । केन्द्रीय समिति बैठकमा नेताहरूले नेतृत्वको पछि मात्रै लागेर एक वर्षदेखि पार्टीलाई घाटा भएको बताए ।

रास्वपाले आन्दोलन गर्न नसकेर जेन–जी सडकमा आउनुपरेको आवाज पनि बैठकमा उठेको छ । बैठकमा नेताहरूले रास्वपा धेरै कुरामा चुकेको बताउँदै आगामी दिनमा सच्चिएर जाने उल्लेख गरे ।

पार्टी एजेन्डामा फर्किनुपर्ने मत

केन्द्रीय समिति बैठकमा अब जेलमा रहेका रवि र उनको प्रकरणलाई छोडेर पार्टीलाई रूपान्तरण गराउँदै अगाडि लानुपर्ने आवाज उठेको थियो । यो विषय रास्वपा नेता विराजभक्त श्रेष्ठ, शिशिर खनाल लगायतले उठाए ।

यस्तै सन्तोष परियार, तोसिमा कार्की, सोबिता गौतम लगायतले पनि पार्टीलाई अगाडि लैजाने विषयमा छलफल गर्नुपर्ने धारणा राखे । सभापतिको मुद्दा किनारा लगाउने जिम्मा सरकार र अदालतलाई छोडिदिएर पार्टी चलायमान बनाउँदै देशव्यापी रूपमा संगठन विस्तारतिर लाग्नुपर्ने उनीहरूको धारणा थियो ।

रास्वपा आफ्ना एजेन्डा भुलेर व्यक्तिकेन्द्रित भएको भन्दै नेताहरूले व्यक्तिको कुरा उसैलाई छाडेर पार्टीका एजेन्डामा लाग्नुपर्ने मत खनाल र श्रेष्ठले राखेका थिए । यस विषयमा अधिकांश नेताहरू सहमत भएको एकजना रास्वपा नेताले बताएका छन् ।

‘एक वर्षदेखि एउटै कुरामा लागिरहेका कारण पार्टी अगाडि बढ्न सकेन । सुमना श्रेष्ठसहितका नेताहरूले पार्टी छोडेर जानुपर्ने अवस्था आएको छ । यी विषयलाई गम्भीरतासाथ आगामी निर्वाचनको तयारी गर्नुपर्ने कुरा राखेका छौँ’,रास्वपाका अर्का केन्द्रीय सदस्यले खबरहबलाई भने, ‘हामीले त सभापतिको ‘च्याप्टर क्लोज’ गरेर पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्छ भनेका छौँ । उहाँ मुद्दा टुङ्गयाएर आउँदै गर्नुहुन्छ, हामी पार्टीलाई गतिशील बनाएर अगाडि जानुपर्छ भनेका छौँ ।’ बैठकमा व्यक्तिकेन्द्रित भए विकल्प खोजेर अगाडि बढ्ने चेतावनीसमेत नेताहरूले दिएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : २४ बजे

अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागमै, जिल्ला प्रशासन जानु नपर्ने

काठमाडौं– अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको

इजरायलका प्रधानमन्त्री नेतन्याहु न्यूयोर्क प्रस्थान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जाने क्रममा इजरायलका प्रधानमन्त्री