काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान गरी चोखो खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ । योसँगै यस वर्षको छठ पर्व सुरु भएको हो ।
चतुर्थीको कर्मलाई अरबाइन वा अरबा पनि भनिन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वमा नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिन्छ । छठ पर्व राजधानीसहित मधेस प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाउने गरिएको छ ।
कार्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरेर एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको छ । षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गरिन्छ । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।
षष्ठीका दिन पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।
सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान चारबजेदेखि प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ ।
आजदेखि छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि राजसी र तामसी खाद्य पदार्थ नखाने विधि छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् ।
विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।
यस क्षेत्रका मानिसले पनि कुनै न कुनै रूपमा सूर्यदेवको पूजाआराधना गर्ने गरेकाले कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्मको विशेष अवधिमा पनि सूर्यदेवको पूजाआराधना गर्न थालेका हुन् । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको हो ।
यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको गुह्येश्वरी छठ पूजा समितिले जनाएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीको रातभर नदी किनारमै बस्छन् ।













प्रतिक्रिया