मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ? « Khabarhub

मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ?



२० वर्षदेखि ककनी, धुनीबेसी र बेलकोटगढीका स्थानीय ‘स्वच्छ वातावरणमा बाँच्न पाउँ’ भन्दै सरकारको ढोका ढक्ढक्याउन काठमाडौं आउजाउ गरिरहेका छन् । तर हालसम्म पनि उनीहरुको माग सम्बोधन भएको छैन । संविधानले प्रदत्त गरेको अधिकारका लागि उनीहरुलाई नेतृत्व परिवर्तन हुँदैपिच्छे विरोधमा उत्रिनुपरेको छ । हरेक पटक दिइएका आश्वासन कार्यान्वयन नहुँदा निराश हुनुपरेको छ ।

विगतमा जस्तै यसपटक पनि विरोधमा उत्रिएका उनीहरुको माग सम्बोधन गर्न कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाए । चार दिनसम्म रोकिएको उपत्यकाको फोहर पठाउन थालियो । तर त्यसको केहीदिनमै उनीहरु पुनः आन्दोलित बने ।

विभिन्न मागसहित उनीहरुले गत बिहीबार दोस्रोपटक सम्झौता गरिसकेका छन् । पहिलो सम्झौताको अवधि बाँकी रहदै फेरि आन्दोलनमा उत्रिनुपर्ने अवस्था किन आयो ? विगतका सम्झौता कार्यान्वयनमा सरकार कहाँ चुक्यो ? महानगर र स्थानीयबीच किन भएन दीर्घकालीन समाधानका लागि मेल ? लगायतका प्रश्नसहित धुनीबेसी नगरपालिका–१ का निराजन सञ्जेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

वर्तमान सरकारसँग पनि यहाँहरुले गरेको पहिलो सम्झौताको समय नसकिँदै यहाँहरुले फोहरका गाडी रोकेर विरोध जनाउनुपर्ने अवस्था किन आयो ?
२०६२ सालमा दुई वर्षका लागि हाम्रो बाबुबाजेले विकाससँग सौदाबाजी गरेर सम्झौता गर्नुभएको थियो । त्यतिबेला हामी सानै थियौं । उहाँहरुको अहिले मृत्यु समेत भइसकेको छ । त्यो सम्झौताको सजाय हामीले भोग्नु परेको छ । काठमाडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको नेतृत्व रहँदा पनि हामीले एक महिनासम्म फोहरका गाडी रोकेर विरोध जनाएका थियौं। पछि सम्झौता भयो फोहर फाल्न दियौं । तर कार्यान्वयन भएन । त्यो भन्दा अगाडि पनि संघ सरकारसँग भएका सम्झौता मन्त्रालयको दराजमै सीमित भए । त्यसपछि स्वतन्त्र रुपमा बालेन्द्र शाह हाम्रो मुद्दालाई समेत समेटेर समाधान गर्ने बाचाका साथ नेतृत्वमा आउनुभयो । एक शिक्षित युवा नेतृत्वमा आउँदा हामीले समाधानको आशा गरेका थियौं । उहाँको प्रमुख एजेण्डा नै यही थियो । उहाँको कोर टिममा बसेर हामीले दीर्घकालीन समाधानका लागि समेल बहस गर्‍यौं । तर उहाँले के गरिदिनुभयो भने समस्या समाधान भन्दा पनि स्थानीयको सेन्टिमेन्ट (भावना)सँग खेलिदिनुभयो ।

हामीलाई प्रशासनसँग मिलेर सार्वजनिक मुद्दा लगाइदिने लगायतका धरपकडको अवस्था बनाइदिनुभयो । तर बाचा पूरा गर्न भने लाग्नुभएन । सुरुका दिनमा ३/४ पटक उहाँसँग हामीले छलफल ग¥यौ । जसमा सिसडोलमा फुटबल ग्राउण्डसम्म बनाउने भनेर उहाँले जग्गा समेत हेर्नुभयो । यसरी स्थानीयको सेन्टिमेन्टसँग खेल्नुभयो । तर पनि तीन वर्ष बढी हामीले कु¥यौ । काम भने भएन।

हालसालै हामीले ककनी र धुनीवेशीका प्रमुखसँग काम नहुनुको जवाफ माग्यौं । जवाफमा उहाँहरुले संघ र महानगरसँग पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नभएको बताउनुभयो ।

पछिल्लो समय त महानगर प्रमुखसँग भेट्न जाँदा समेत समय नपाउने भएकाले हामीले केही गर्न सकेनौं । अब तपार्इं हामी एउटै मुद्दा लिएर समाधानका लागि केन्द्रसम्म जानुपर्छ भन्नुभयो । त्यसपछि हामीले सम्झौता र आश्वासन होइन कि अब दीर्घकालीन समाधानका लागि आन्दोलन गर्नुपर्छ भन्ने निष्कर्षका साथ विरोध सुरु गरेका हौँ ।

नागरिक सरकारका प्रतिनिधि तथा सम्बन्धित मन्त्रालयका प्रमुख कुलमान घिसिङसँग छलफल अघि बढायौं । सोहीक्रममा उहाँ आयोजनामै आएर ११ बुँदे सम्झौता गर्नुभयो । त्यसबाट हामीले समाधानको ठूलो आशा राखेका छौं ।

शहरी विकासले गर्ने काममा उहाँहरुले प्रतिवद्धता जनाउनुभयो । तर महानगरले गर्नुपर्ने कति जिम्मेवारी र स्थानीयमाथि लगाइएका मुद्दा खारेज हुनुपर्छ भनेर पुनः विरोध गरेका थियौं । त्यसमा पुनः सम्झौता भएको छ । समाधान हुनेमा आशावादी छौं।

अहिलेको सम्झौताअनुरुप काम हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
दोश्रो सम्झौता गर्ने क्रममा मन्त्री घिसिङले काम गर्दागर्दै बीचमा विरोध गर्न उचित नभएको भन्दै हामीसँग गुनासो गर्नुभएको थियो । महानगरले तीन वर्षसम्म पनि नगरेको काम गर्छु भन्ने सहमति शहरी विकाससँग गरेको भन्ने सुनेपछि त्यसमा असहमति जनाउँदै हामी वार्ताका लागि मन्त्रालय जाँदा सचिवले रोकेपछि यता गाडी रोकेका थियौं । त्यसमा ११ बुँदे सहमति भइसकेको छ । उहाँहरुले १५ दिनभित्र गर्ने भनेको लिच्चेड र दुर्गन्ध व्यवस्थापनको काम गर्न सुरु गरिसक्नुभएको छ । अन्य विषयमा पनि काम गर्नुहोला भन्ने लागेको छ ।

२०६२ सालदेखि हालसम्म यहाँहरु र सरकारबीच देशकै राजधानी रहेको काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि आन्दोलन र सम्झौता चलिरहेको छ । यस सन्दर्भमा सरकारसँग कतिपटक उठबस गर्नुभयो ?
मन्त्री घिसिङसँग भएको दोस्रो सम्झौता अर्थात मंसिर ४ गतेसम्म ३ सय ७४ पटक मन्त्रालयमा छलफल भएको र ७२/७३ वटा सम्झौता भएका छन् । स्थानीय राजनीतिज्ञ, कर्मचारी लगायतको कारण त्यसको पूर्ण कार्यान्वयन भएन । २०८० सालमा हाम्रो माग दश दिनभित्र कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्ले नै निर्णय गरेको रहेछ । तर कर्मचारीबाट काम अघि बढेन । यतिबेला नागरिक सरकार भएकाले आशा बढी छ।

कुहिने र नकुहिने फोहर स्रोतबाटै वर्गीकरण गर्ने विषय कानूनले नै निर्दिष्ट गरेको छ । त्यसो भएको पाउनुहुन्छ ?
बालेन्द्र शाहले केही न केही काम गर्न खोजेकै हो । त्यो विभिन्न निर्णयमा देखिन्छ । तर कार्यान्वयनमा ल्याउनै सक्नुहुन्न । फोहर वर्गीकरण भएर आएको भए समस्या धेरै कम हुन्थ्यो ।

नयाँ सरकार बन्ने बित्तिकै असन्तुष्ट पक्षले उचाल्ने र यहाँहरुले आन्दोलन सुरु गर्ने गरेको आरोप छ । यथार्थ के हो ?
नयाँ सरकार बनेपछि समाधानका लागि विभिन्न कार्यक्रम गर्ने गरेको कुरामा म सहमत छु । तर कसैले उचाल्ने भन्ने विषय सत्य होइन । हामीलाई कसैले जानकारी नदिइ छलफल गरेको छ भने हामीलाई थाहा छैन । फोहरका कुरामा नागरिक सरकारमाथि विश्वास राखेर हामी स्वतन्त्र रुपमा ऐक्यवद्ध छौं । अहिलेको नागरिक सरकारमाथि हामी विश्वस्त छौं । दीर्घकालीन समाधानका लागि सहयोग गछौं । पार्टीगत कुरा सबै भ्रम हो ।

स्रोतबाटै फोहर वर्गीकरण गर्ने र त्यसलाई मोहरमा बदल्ने बारे महानगरले पनि छलफल गर्ने गरेको थियो । यसबारे यहाँले वर्गीकरण भएर फोहर नआएको दाबी गरिसक्नु भएको छ । महानगरले त्यस्तो कुनै योजना अघि सारेको पाउनुभयो ?

विदेशमा पनि यो अभ्यास छ । केन्द्र सरकार र महानगरसँग त्यस्तो योजना नभए निजी व्यवसायीलाई जिम्मा दिन हामीले सुझाएका हाैँ । यतातिर लगानी गरौं भनेको हो । त्यो गरे त आन्दोलनको अ पनि आउँदैन । त्यसमा सरकार आफ्नो फाइदा खोजेर काम अघि नै बढाउँदैन । त्यसमा हामीलाई दुख लागेको छ । यसले ठूलो काम गर्छ ।

नयाँ सरकार बनेपछि समाधानका लागि विभिन्न कार्यक्रम गर्ने गरेको कुरामा म सहमत छु । तर कसैले उचाल्ने भन्ने विषय सत्य होइन । हामीलाई कसैले जानकारी नदिइ छ

सिसडोलको अवस्था के छ ?
सिसडोलमा पनि काम भएको छैन । क्यापिङ भएको छैन । त्यहाँबाट बगेको लिच्चेड अझै पनि खोलामा मिसिएको छ । मेयर शाहले सुरुमा त्यहाँ फुटबल ग्राउण्ड बनाउँछु भन्नुभएको थियो । केही दिन हामीलाई जग्गा खोज्ने भनेर त्यहाँ घुमाउनु पनि भयो । तर केही काम भएन । आमीले पनि साथ सहयोग दियौं । तर हाम्रो सेन्टिमेन्टमाथि खेलेको भन्ने बल्ल बुझ्दैछौं ।

ढिलासुस्ती र आलटालको अवस्थालाई तोड्दै परिवर्तनको मागसहित बनेको जेन–जी सरकारमाथि विश्वस्त हुनुहुन्छ ?
सरकार र महानगरलाई हामीले मुख्य तीन कुरा मागेका छौं । त्यो भयो भने हामी विवाद नै गर्दैनौं । त्यो भनेको उपत्यकाको फोहर व्यवस्थापनका जिम्मेवार निकायका प्रमुख आएर स्थानीय माझ घर बनाएर बस्नुपर्‍यो । जग्गा हामी दिन्छौं । त्यसपछि मात्रै हाम्रो भोगाई उहाँहरुले अनुभूत गर्न सक्नुहुन्छ ।

अर्को, एक वर्षमात्रै विकल्प खोज्ने समय लिएमा हामी काठमाडौंको नर्क भोग्न तयार छौं । तर वर्षदिनभित्र विकल्प निकाल्ने ग्यारेन्टी हुनुपर्‍यो । यस्तै, काठमाडौं उपत्यकावासीको जति स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार छ, हामी ककनी, धुनीवेशी र बेलकोटगढी नगरपालिकाका जनताले पनि संविधानले दिएको त्यो अधिकार पाउनुपर्‍यो । हनन गर्न भएन । यसमा प्रोपगण्डा धेरै भयो । हाम्रो माग त्यति ठूलो छैन ।

सामाजिक, आर्थिक, स्वास्थ्य लगायतका सबै क्षेत्रमा हामीले समस्या भोगेका छौं । यहाँका छोरीचेली विवाह गरेर लैजान गाह्रो मान्छन् । बाहिरका यहाँ विवाह गरेर आउन चाहदैनन् यस्तो अवस्था छ । हाम्रा बाबुबाजेदेखि हामीले एउटै समस्याका लागि धाउनुपरेको छ । हाम्रा बाले गरेको गल्तीको सजाय अब हाम्रा छोराछोरीले भोग्ने वातावरण रहनु हुँदैन ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : ३५ बजे

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतद्वारा अस्वीकार

काठमाडौं- हाल फागुन २१ गतेको चुनावी अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने