काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज किसिमले तान्न सहयोग गर्ने हो । तर, फिल्म नै गतिलो नभए जस्तोसुकै प्रचार रणनीति पनि असफल हुन्छ । यसको उदाहरण दुई फिल्महरू ‘झरीपछिको इन्द्रेणी’ र ‘लाज शरणम्’लाई लिन सकिन्छ ।
यी दुवै फिल्ममा अर्जुन घिमिरे पाँडे जोडिएका छन् । अर्जुन र कुमार कट्टेल ‘जिग्री’को ब्यानर ‘जेपीटी क्रिएसन’बाट ‘लाज शरणम्’ बनेको थियो । अर्जुनको आफ्नै निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ बनेको हो ।
यी दुवै फिल्ममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले र्याप गाए । यो निर्माण पक्षको प्रचार रणनीति हो ।
बालेन अहिले सामाजिक सञ्जालमा चर्चित छन् । उनका स्ट्याटसले केही मिनेटमै लाखौं लाइक पाउने अवस्था छ । उनको यही चर्चा फिल्म प्रचारमा प्रयोग भएको हो ।
मेयर भएपछि अन्तर्वार्तासमेत नदिने निर्णय गरेका बालेन यी दुई फिल्ममा र्याप गाउन भने कसरी तयार भए त ? यसको कारण ‘पाँडे’ हुन् ।
बालेन मेयरमा निर्वाचित भएपछि उनीसँग ‘पाँडे’ निकट छन् । ‘बालेनको कोर टिमका सदस्य अर्जुन’ हुन् भन्ने पनि सुनिन्छ । बालेन मेयरको हैसियतामा सार्वजनिक स्थानमा निस्किँदा अर्जुन पनि उनको वरिपरि देखिन्छन् ।
‘पाँडे’ले नै फिल्मको प्रचार गर्न बालेनलाई प्रयोग गरेका हुन् । गत वर्ष प्रदर्शनमा आएको ‘लाज शरणम्’मा बालेनले पुरानै गीतलाई पुन: रेकर्ड गराएका थिए । उनको आवाज रहेको ‘नेपाल हाँसेको’ शीर्षकको गीत उक्त फिल्ममा समावेश छ ।
‘लाज शरणम्’ व्यापारिक रुपमा असफल भएपछि पाँडे र ज्रिगीको खटपटको एक कारण त्यही हो भन्ने गसिप पनि सुनिन्छ । आफ्नो निर्देशन रहेको फिल्ममा बालेनलाई नयाँ गीत गाउन लगाउन नसकेका कारण ‘पाँडे’सँग ‘ज्रिगी’ असन्तुष्ट रहेको सुनिन्छ ।
तथापि, यी दुईले आपसी सम्बन्ध समधुर रहेकै दाबी गर्दै आएका छन् । ‘पाँडे’कै डेब्यू निर्देशन भएकाले बालेनले यो पटक नयाँ गीत गाएका छन् । त्यो गीत हो ‘आम नेपाली बुवा’ ।

बालेनको लोकप्रियता प्रयोग गरी हलमा दर्शक तान्ने ‘पाँडे’को रणनीति यो पटक पनि असफल भयो । ‘लाज शरणम्’ व्यापारिक रुपमा असफल फिल्म हो । प्रदर्शनरत् ‘झरीपछिको इन्द्रेणी’ले सुरुवाती ६ दिनमा राम्रो व्यापार गर्न सकेको छैन । न्यून अकुपेन्सी र शोसहित यो फिल्म चलिरहेको छ ।
यसको पनि व्यापारिक हिसाबले सफल हुने सम्भावना न्यून छ । समीक्षकहरूबाट पनि यो फिल्म आलोचनामा परिरहेको छ।
बालेनले गीत गाएकै भरमा भने दर्शक हलमा पुगेनन् । फिल्मलाई दर्शक पाउनै मुस्किल छ ।
त्यहीकारण ‘कमजोर फिल्ममा जति नै चर्चित मान्छेलाई प्रचार रणनीतिका रुपमा प्रयोग गर्दा पनि नहुने रहेछ’ भन्ने विश्लेषण यो फिल्मपछि अझै सान्दर्भिक भएको छ ।
दुई पटक बालेनलाई प्रचारमा प्रयोग गर्ने अवसर पाएको ‘पाँडे’को टिम दुवै पटक निराश भयो । अहिले उनमाथि ‘प्रचार रणनीतिमा सफल तर फिल्म मेकिङमा कमजोर भन्ने’ विश्लेषण हुन लागेको छ ।
यता बालेनका पनि ‘लोयल फ्यान’ कम भएको विश्लेषण गरिन थालेको छ । ‘उनका समर्थक सामाजिक सञ्जालमा मात्रै सक्रिय छन्, मैदानमा छैनन् भन्ने’ भाष्यले थप बढवा पाएको छ ।
यता तथ्य यस्तो बनेको छ कि– बालेनलाई प्रचारमा प्रयोग हतियार बनाएर उनले गीत गाएको दुई फिल्म फ्लप बनेका छन् ।
अब यति हुँदा पनि ‘पाँडे’ टिमले बनाउने फिल्ममा बालेनले गीत गाउलान् त ? यो चाहिँ हेर्न बाँकी छ । धेरैको चासोको विषय यही भएको छ।













प्रतिक्रिया