काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी बढ्दै जाँदा पाइने साथले जस्तासुकै अफ्ठ्याराहरू छिचोल्दै सफलतासम्म डोहोर्याउँछ ।
यसैगरी एकअर्काको भर बनेका छन्, खोटाङका अनिल सुब्बा र चन्द्रकला राई । जीवनका अनेक आरोह अवरोहमा आएका चुनौतीमा उनीहरूले प्रतिस्पर्धा होइन, सहकार्य रोजे । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहसम्म आइपुग्दा उनीहरूको दाम्पत्य जीवन निकै लोभलाग्दै छ । यस समारोहमा दुवैजना एकसाथ दीक्षित भएका छन् ।
श्रीमान्–श्रीमतीलाई एक रथको दुई पाङ्ग्रा भनिने कथनलाई व्यवहारिक बनाउन दुवैले उत्तिकै भूमिका खेले । एकअर्कालाई बुझेर दिएको साथले नै यो सफलता मिलेको हो । बिहीबार दशरथ रंगशालाको एकै मञ्चमा दुवै खुशी साट्न पाए।
सन् २००८ मा नै स्नातक तहसम्मको अध्ययन सकिसकेका उनलाई विवाहपछि श्रीमतीकै प्रेरणाले स्नातकोत्तरसम्म पढ्न हौसला दियो । ‘२००८ मा स्नातक सकेपछि जागिरमै ध्यान गयो । पढाइलाई निरन्तरता दिएको थिइनँ । विवाहपछि उनले सँगै पढौँ भनिन्, दुवैजना पढेर सफलता पायौँ’, उनले सुनाए।
विवाह भएको एक वर्षमै दुईबाट तीन भएका उनीहरूलाई घरपरिवारको पनि उत्तिकै साथ छ । स्नातकोत्तर पढाई थाल्दा गर्भमा आएकी छोरी यतिबेला तीन वर्षकी भइन् । छोरी च्यापेर समारोहमा उभिएकी श्रीमती चन्द्रकला भन्छिन्, ‘नानी गर्भमा आए पनि पढ्ने इच्छाशक्ति कम भएन । छोरी हुर्काउँदै हामी दुवै श्रीमान्-श्रीमती एकअर्काको सारथी बनेर स्नातकोत्तर पास गर्यौँ’।
सन्तान जन्माइसकेपछि महिलाको जिम्मेवारी बढ्छ । यो अवस्थामा पनि परिवारको साथ सहयोग भए मात्रै सफलता हात पर्ने उनको अनुभव छ ।
‘मेरो परिवारजस्तै अरुले पनि बुहारीलाई छोरीको दर्जामा राखेर सक्षम बनाउन सहयोग गर्नुपर्छ भन्ने लाग्छ,’ उनले सुझाइन् ।
चन्द्रकला र अनिलका अनुसार श्रीमान्-श्रीमती दुवैले बराबरी भूमिका निर्वाह गरेमा परिवारसँगै समाज नै सशक्त बन्छ । शिक्षा, रोजगारी र सामाजिक सक्रियतामा एकअर्काको साथ अनिवार्य रहेको उनीहरूको भनाइ छ ।
उनीहरु दुवैले सरकारी विद्यालयबाटै स्नातक तहसम्मको अध्ययन सकेका हुन् । ‘दुवैले खोटाङकै सरकारी विद्यालयमा पढेका हौँ । अहिले निजी विद्यालयमा पढे बढी जानिन्छ भन्ने भाष्य छ, तर त्यो सत्य होइन । निरन्तर मिहिनेत र लगाव भए जहाँ पढे पनि सफलता पाइँदो रहेछ’, अनिलले भने ।
रोजगारी र स्नातकतह सकेपछि मात्रै विवाह रोजेका उनीहरू एक दशकदेखि सरकारी सेवामा कार्यरत छन् । सरकारी सेवामा प्रवेश गरिसकेकाले देशमै मिहिनेत गरेर पसिना बगाउने श्रीमती चन्द्रकला बताउँछिन् ।
‘हामी दुवैले आफूलाई सार्वजनिक सेवामा समर्पित गरिरसकेका छौँ । विदेश जाने योजना छैन’, उनले थपिन्, ‘हाम्रो शिक्षा नीति सैद्धान्तिक छ, व्यहारिक हुन सकेको छैन । सरकारले यसमा सुधार गर्न सके विदेश पलायन युवाको पसिनाले देशको रङ्ग बदल्ने थियो । यसतर्फ सरकारको ध्यान अझै पुगेको छैन ।’













प्रतिक्रिया