धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल नाराका साथ बालिका सम्मेलनमार्फत सात बुँदे घोषणपत्र जारी गरेको छ ।
आज धनुषाको मिथिलेश्वरमा लाइफ नेपाल र मिथिला विहारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको पालिकास्तरीय बालिका सम्मेलन कार्यक्रममार्फत घोषणापत्र जारी गरिएको हो । सम्मेलनमा वक्ताहरूले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा नकारात्मक असर पार्ने भन्दै यसको अन्त्यका लागि समुदाय, अभिभावक र स्थानीय सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए ।
मिथिला विहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद यादवले बालविवाह न्यूनीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै बालिकाको अधिकार संरक्षण र सशक्तीकरणमा स्थानीय सरकारले प्राथमिकता दिने बताए । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बालविवाह अन्त्य गर्न सचेतना अभिवृद्धि, विद्यालयस्तरीय कार्यक्रम तथा समुदायमा निरन्तर अभियान सञ्चालन गर्दै आएको बताए ।
सम्मेलनमा विभिन्न विद्यालयका बालिकाहरूको सहभागिता रहेको थियो । उहाँहरूले आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्दै बालविवाह विरुद्ध आवाज उठाएका थिए । सम्मेलनमा बालविवाह अन्त्यका लागि बाल कलाकारद्वारा नाटकसमेत प्रस्तुति गरेका थिए ।
बालिका सम्मेलनको उद्देश्य बालविवाहमुक्त पालिका घोषणा गर्नुका साथै, यो सम्मेलनले बालिकालाई सशक्त बनाउने उद्देश्य रहेकोे लाइफ नेपालका प्रोग्राम मेनेजर डौली शर्माले बताउनुभयो । उनीहरुको शिक्षा र अधिकार सुनिश्चित गर्ने र बालविवाहजस्ता सामाजिक चुनौतीहरू रोक्नेसमेत भने। समाजमा अझै केही किशोरीहरू शिक्षाबाट वञ्चित छन् । आफ्नो जीवनका निर्णयमा पूर्णरुपमा सहभागी हुन पाउँदैनन् । यस्ता चुनौतीहरूको सामना गर्दै प्रत्येक बालिकाको उज्यालो, सुरक्षित र सम्मानित भविष्य सुनिश्चित गर्न यो सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनमा मिथिला बिहारी नगरपालिकाकी नगर उपप्रमुख शोभादेवी साह, प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने लगायतले सम्मेलनको उद्देश्य र बालविवाह न्यूनीकरणको आवश्यकताबारे आफ्ना विचार व्यक्त गरे । उनीहरूले बालविवाह अन्त्यका लागि स्थानीय सरकार, समुदाय, अभिभावक तथा सरोकारवालाको सक्रिय भूमिका अपरिहार्य रहेकामा जोड दिए।
घोषणापत्रमा आव २०८२÷८३ सम्ममा मिथिला बिहारी नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिने उल्लेख छ । पालिकामा बालविवाहविरुद्धका कार्यक्रम योजना तर्जुमा गरिनेछ । विवाहका लागि पालिकाबाट अनिवार्य सिफारिसको प्रक्रिया लागू गरी बालविवाह न्यूनीकरण गर्नेछ । बालविवाहको घटना पहिचान गर्न र रोक्न पालिका तहमा पूर्वसूचना प्रणालीको स्थापना गर्नेछ ।
बालविवाहको घटना देखिएमा अविलम्ब कारबाहीका लागि प्रभावकारी प्रक्रिया सुनिश्चित गर्नेछ । यस पालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको परिचयपत्रमा अनिवार्य रुपमा ‘बालविवाह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । पालिकाले सङ्घ, प्रदेश र अन्य सङ्घ संस्थाहरुसँग समन्वय गरी बालविवाहविरुद्ध विशेष अभियान सञ्चालन गर्नेछ ।













प्रतिक्रिया