केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो | Khabarhub Khabarhub

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार निर्माण अघि बढेपछि तनाव पनि बढ्न लाथेको छ ।

मुक्कुमुलङको नामले समेत चिनिने पाथीभरा क्षेत्रमा केबलकार निर्माण अघि बढेपछि शनिबार ठूलो झडप भएको छ । विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच शनिबार झडप हुँदा कयौँ घाइते भएका छन् ।

झडपका क्रममा २० जना प्रहरी घाइते भएका छन् भने ‘नो केबलकार समूह’का ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । झडपमा प्रहरी नायक उपरीक्षक पनि घाइते भएका छन् ।

ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आन्दोलनकारी घरेलु हतियारसहित आएको जानकारी आएपछि खानतलासी गरेको थियो । खानतलासी गरेर तीनवटा खुकुरी र गुलेली प्रहरीले जफत गरेपछि झडप भएको हो ।

पहिलो झडप भएर स्थिति सामान्य भएको थियो । तर कार्यालयतिर फर्किरहेको प्रहरीमाथि आन्दोलनकारीले आक्रमण गरेपछि दोस्रो पटक ठूलो झडप भएको हो । प्रहरीमाथि छुरा, खुकुरी र ढुंगा हानिएपछि सुरुमा अश्रुग्यास र अन्तिममा हवाई फायरसहित गोली चलाउनुपरेको एक अधिकारीले बताए ।

‘अश्रुलग्यास प्रहार हुँदा स्थिति सामान्य थियो’, प्रहरी निरीक्षक बस्नेतले खबरहबलाई भने, ‘फेरि इन्सपेक्टरसहितको गस्ती टोलीलाई चिर्पट र छुरा प्रहार गरिएपछि हवाई फायर गर्नुपर्ने अवस्था आयो । त्यसक्रममा २ जनालाई गोली लागेको छ । अन्तिम अवस्थामा बाध्य भएर प्रहरी एक्सनमा उत्रिनु परेको हो ।’

केबलकारको तल्लो स्टेशन निर्माणस्थल ।

प्रहरीसँगको झडपका क्रममा चारजना घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको आन्दोलनरत पक्षका नेता डकेन्द्र थेगिमले बताएका छन् । उनका अनुसार आन्दोलनरत यमबहादुर लिम्बूलाई देब्रे तिघ्रामा गोली लागेको छ । सगुन लिम्बूको छातीमा चोट लागेको छ । धर्मान पालुङ्वाको दाहिने कुहिनो भाँच्चिएको छ । अर्का प्रदर्शनकारी मंगल लावतीको टाउकोमा चोट लागेको छ । उनको ताप्लेजुङमा जिल्ला अस्पताल उपचार हुँदै छ ।

‘जानकारीमा आएसम्म ‘नो केबलकार समूह’का ४ जना घाइते हुनुहुन्छ । तीनजनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं लौजाने तयारी भएको छ’, थेगिमले खबरहबलाई भने, ‘सुरुमै प्रहरीबाट गोली चलाइएको रहेछ । दोस्रो पटक प्रहरीले गोली चलाएको थियो । यो त अत्याचार भयो । आन्दोलनकारी ५० जनाको मात्र समूह थिए ।’

थेगिमका अनुसार दोस्रो पटकको घटना साँझ ६ बजेतिर भएको हो । उनले थपे, ‘खुकुरी पनि घरमा सब्जी काट्ने बरामद भएको छ । हाम्रो मान्छेको होइन । पहिलो झडप ४ बजेपछि भएको हो । हतियार सुरुमै लगेको रहेछ ।’

प्रहरीले चलाएको गोलीका खोका ।

के भन्छ प्रहरी ?

घटनाबारे तात्लेजुङका प्रहरी निरीक्षक बस्नेतसँग खबरहबले टेलिफोन संवाद गरेको थियो ।

प्रहरीको भनाइ जस्ताको जस्तै :

हिजो शनिबार बेलुकाको घटना हो । करिब साढे पाँच बजेको थियो । आन्दोलनकारीसँग हतियार रहेको थाहा पाएपछि सर्च गरेको हो । प्रहरीले तीनवटा खुकुरी र एउटा गुलेली बरामद गरेको छ । त्यसपछि प्रहरी टोलीलाई आन्दोलनकारीले ढुङ्गा प्रहार गरे । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नु प¥यो । त्यति भएपछि स्थिति सामान्य भएको थियो । त्यो बेला दुवै पक्षका कोही घाइते भएका थिएनन् ।

तर, अर्को गस्ती टोली आउँदा इन्स्पेक्टर सा’वलाई नै सुरुमा ढुङ्गा हानियो । त्यसपछि चिर्पट, ढुङ्गा र गुलेलीले हान्न थालियो । आन्दोलनकारीहरू धेरै हुनुन्थ्यो । प्रहरीमाथि आक्रमण भएपछि अश्रुग्यास प्रहार भयो । तर, केही गर्दा पनि स्थिति नियन्त्रणमा नआउँदा हवाइ फायर भयो । फायरका क्रममा दुईजनालाई गोली लागेको छ ।

आन्दोलनरत यमबहादुर लिम्बू र सगुन लिम्बूलाई गोली लागेको छ । धर्मन पालुङ्वाको कुमको हाड भाँच्चिएको छ । उहाँहरूको उपचार नोबेल अस्पताल भइरहेको छ । अब काठमाडौं लाने तयारी भइरहेको छ । उहाँहरू बोलिरहनु भएको छ । प्रहरीतर्फ २० जना घाइते छन् । अहिले कोही उपचारमा हुनुहुन्छ, कोही डिस्चार्ज भइसक्नुभयो । यहाँको स्थिति पनि सामान्य छ ।

प्रहरीसँगको झडपमा घाइतेहरू ।

विवाद

पाथीभरामा केवलकार निर्माणलाई लिएर यहाँ ठूलो विवाद हुँदै आएको छ । केही स्थानीयले ‘नो केबलकार समूह’ बनाएर आन्दोलन गर्दै आएका छन् । तर विवादबीच पाथीभरा जाने केबलकार निर्माणका लागि कम्पनीले मंगलबारबाट काम सुरु गरिसकेको छ ।

पाथीभरा (मुकुम्लुङ) केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले यहाँ केबलकार निर्माणका लागि जोडबल गरिरहेका छन् । सरकारको साथ लिएर ढकालसहितका लगानीकर्ता पाथीभरामा केबलकार बनाइछाड्ने पक्षमा देखिएपछि तनाव चुलिएको हो ।

त्यसपछि आन्दोलनरत समूह आक्रामक भएको हो । यहाँ पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै आन्दोलन गरिरहेका छन् । तर शनिबार गोली नै प्रहार गर्ने तहको तनाव भएको हो । सरकारले दमन गरेको भन्दै थप विरोधका कार्यक्रम ल्याउने तयारी भइरहेको गर्ने थेगिमले बताए ।

दुई वर्षअघि कोशी नामकरणको विषयमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा तेह्रथुमका पदम लिम्बूको निधन भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : २५ बजे

युरोपियन च्याम्पियन्स लिगमा एट्लेटिको पनि दोस्रो चरणमा

काठमाडौं– युरोपियन च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड पनि दोस्रो चरणमा पुगेको

कांग्रेस महामन्त्री थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिमका धार्मिक पीठहरूको भ्रमणमा

हमासले आज ८ बन्दी रिहा गर्ने, तीन इजरायली र पाँच थाई नागरिक

काठमाडौं– हमासले आज ८ जना बन्दीलाई रिहा गर्ने भएको छ

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो

काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख

प्रधानमन्त्री ओलीबाट सोनाम ल्होसारको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष  सोनाम