विश्व कुष्ठरोग दिवस : नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक « Khabarhub

विश्व कुष्ठरोग दिवस : नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । 

नेपालले कुष्ठरोगविरुद्धको लडाइँमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ । 

नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेको विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा राजेश पाण्डवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ । 

उनले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै स्थानीय तहले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेस गरेको बताए । उनले नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोगका बिरामीको सङ्ख्यामा उल्लेखनीय कमी आएको बताए । 

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिराहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् । उनले नेपालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ७२ जना मात्र कुष्ठरोगका नयाँ बिरामी फेला परेका बताए । उनी कुष्ठरोगका बिरामीलाई लाञ्छना होइन माया गर्नुपर्ने बताउँछन् । 

उनका अनुसार कुष्ठरोगबारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिने, उपचार खोज्नमा ढिलाइ र रोगको सङ्क्रमणलाई अझ बढाउने गर्दछ । निरन्तर लाञ्छना र विभेदले सङ्क्रमित व्यक्तिलाई प्रभाव पार्ने मात्र नभई निदान तथा उपचारका प्रयासमा अवरोध सिर्जना गर्ने गर्दछ । 

लाञ्छना र विभेदलाई समाधान गर्ने, जनचेतना बढाउने, आमजनतालाई शिक्षा दिने र समावेशी नीति कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २०औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । सरकारले कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । 

लक्षण

कुष्ठरोगका लक्षण शरीरमा छुँदा थाहा नपाउने, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता हुन् । 

यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकामा उक्त विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ०७ बजे

रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

एजेन्सी– रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट 

काठमाडौं– नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन