काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिटमा संलग्नमध्ये एकजना आफ्ना कार्यकर्ता रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकारेको छ ।
त्रिपाठीलाई आक्रमण गरेपछि कडा अभिव्यक्ति तत्कालै दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई पाण्डेसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउपर्नेमध्ये ललितपुरको टीकाथली निवासी ललितकुमार केसी र शीतल उपनामकी सीता राई रहेकी छन् । पाण्डेसँगै सीता पनि रास्वपा काठमाडौं ३२ की सभापति भनिए पनि उनीबारे पार्टी मौन छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका छन् । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको छ ।
रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो ।
- वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुट्ने पाण्डे चितवन-२ मा रविविरुद्ध चुनाव लडेर लागेका थिए रास्वपातिर
- वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेका अर्का व्यक्ति पक्राउ, नाम नै दुईवटा
- वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ
- अधिवक्ता त्रिपाठीमाथि कुटपिट : पक्राउ परिन् झापाकी सीतादेवी राई
कार्यवाहक महामन्त्री बुर्लाकोटीले कुटपिटमा संलग्न भएको प्रमाणित भए तत्काल कारबाही गर्ने बताएका थिए । तर अहिले उनैले पाण्डे घटनास्थलमा भए पनि कुटपिट नगरेको भनेर बचाउ गरेका छन् ।
पाण्डे रास्वपामा सभापति लामिछानेनिकट हुन् । २०८० वैशाख १० चितवनमा २ मा भएको उपनिर्वाचनमा रविविरुद्ध नै लडेर १८ भोट ल्याएपछि उनी रास्वपामा प्रवेश गरेका थिए। धेरै समय काठमाडौंमै बस्ने उनी रास्वपा केन्द्रीय कार्यालय धाइरने कार्यकर्ता हुन् । उनी रविविरुद्ध बोल्नेमाथि तत्कालै जाइलाग्ने गर्थे ।
पक्राउ परेकामध्ये दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली निवासी केसी भने रास्वपा कार्यकर्ता होइनन् । उनले सदस्यताका लागि निवेदन दिए पनि रास्वपाले दिइसकेको छैन । सदस्यता नपाइसकेकाले उनी रास्वपाका शुभेच्छुक हुन् ।
प्रतिक्रिया