सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई एक करोड धरौटी लिएर छाड्न आदेश | Khabarhub Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई एक करोड धरौटी लिएर छाड्न आदेश


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको हो ।

लामिछाने यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

रवि गत बुधबार रुपन्देही अदालतमा उपस्थित भएपछि यस प्रकरणमा सुनुवाइ भएको थियो । तर यस पटक रविलाई न्यायाधीश योगीले हिरासतमा नपठाई परिवारसँग रहने गरी श्रीमतीको जिम्मामा रहने सुविधा दिएका थिए । बिहीबारदेखि सुरु थुनछेक बहस सकिएपछि रविलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

यससँगै तीनवटा अदालतबाटै रविलाई जेल जानु नपर्ने गरी तत्काललाई राहत मिलेको छ। तर मुद्दाको अन्तिम किनारा लाग्दा जेल जानुपर्ने सम्भावना कायमै छ । तीनै अदालतले रविलाई सहकारी ठगी प्रकरणमा निदोर्ष मानिहाल्न सकिने आधार नरहेको टिप्पणी उठाएका छन् ।

आइतबार बाँकी रहेका रविका वकिलले बहस गरेपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए । रविविरुद्ध रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधको मुद्दा चलेको थियो ।

बुधबार नै रविको बयान लिएपछि बिहीबारदेखि थुनछेक बहस भएको थियो। सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ, पशुपति भण्डारी र नारायण कँडेल लगायतले बहस गरे ।

उनीहरूले रविविरुद्ध दायर गरिएको पूरक मुद्दामै प्रश्न उठाउँदै रिहा गर्नुपर्ने तर्क गरेका थिए । रमणले अनुसन्धानको कार्यविधिमै प्रश्न उठाएका थिए । मन्त्रिपरिषद्ले निर्णय गरेर प्रहरी मुख्यालय हुँदै अघि बढेको अनुसन्धान वस्तुपरक र विश्वसनीय नहुने जिकिर उनको थियो ।

पूर्व न्यायाधीवक्ता शुशील पन्त र सुरेन्द्र थापाले रविविरुद्ध बिनाआधार बदनीयत राखेर मुद्दा दायर गरिएको भन्दै खारेज गर्नुपर्ने जिकिर गरेका थिए ।

बहसको पहिलो दिन बिहीबार सरकारी वकिलका तर्फबाट जल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए ।

जाहेरवालाबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीसहितले बहस गरे । उनीहरूले रविलाई थुनामा नपठाए प्रमाण नष्ट हुन सक्ने तर्क गरेका थिए । बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामै प्रश्न उठाएका थिए । न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने बताएका थिए ।

यसअघि पूरक अभियोगमा प्रतिवादी बनाइएका रविसहित २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो माग गरिएको थियो । उनीहरूबाट सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) बमोजिम सहकारी संस्थालाई बिगो भराई पाउन माग गरिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम प्रतिवादीहरूको नाममा रहेको सम्पत्तिको हक हस्तान्तरण गर्न नपाउने गरी रोक्का राख्न पनि आदेश माग गरिएको थियो ।

रवि लामिछाने गोर्खा मिडियासहित १३ करोड रुपैयाँ हिनामिनामा संलग्न रहेको अभियोग थियो। यसमा ४ करोडभन्दा बढी रविबाट बिगो कायम हुने भनिएको थियो । उनले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाटै भुक्तानी भएको रिटमा दाबी गरिएको थियो ।

लामिछाने समेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न मितिमा गरी १० करोड ९९ लाख ३६ हजार रुपैयाँ लगेर हिनामिना गरेको आरोप थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री लामिछाने, उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा यही माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि गत मंगलबार रुपन्देही पुगेका थिए । उनले बयान दिएको चितवनमा सरकारी वकिलले प्रहरीले प्रतिवेदनमा प्रमाण प्रर्याप्त नरहेको भन्दै फर्काएको छ । त्यसैले त्यहाँ उनीविरुद्ध कहिले मुद्दा अघि बढ्छ टुंगो लागेको छैन ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ४८ बजे

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव

थुप्रियो विष्णुमती किनारमा फोहोर (तस्बिरहरू) 

काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै

सामाजिक सुरक्षा कोषमा नजोडिने कम्पनी नवीकरण नहुने, कति सम्भव छ ?

काठमाडौं– सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थाले

आईपीओ विवाद : अध्यक्ष भन्छन् ‘दोस्रो बजारमा राम्रा कम्पनी जाउन् भन्नेगरी काम गरेका छौं’

काठमाडौं– पछिल्ला केही दिनयता स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (ईप्पान)का