समय अगावै प्रसव पीडा: एनआईसीयूमा सन्तान, छटपटीमा आमा | Khabarhub Khabarhub

समय अगावै प्रसव पीडा: एनआईसीयूमा सन्तान, छटपटीमा आमा


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौंको सिनामंगल बस्ने निर्मला थापा सुत्केरी भएको दुई हप्ता भयो। तर उनले अझै बच्चालाई न्यानो काखमा राखेर धित मरुञ्जेल हेर्नसम्म पाएकी छैनन्। समय नपुग्दै जन्मिएका कारण उनको बच्चालाई थापाथलीस्थित परोपकार प्रसूति गृहको सघन उपचार कक्ष (एनआइसीयू)मा राखिएको छ। सामान्य अवस्थामै चेकजाँचका लागि अस्पताल आएकी निर्मलाको बच्चाको मुटुको चालमा कमी आएको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

निर्मला भन्छिन्, ‘अल्छी गरेर भोलि गए पनि हुन्छ भन्दै त्यसदिन अस्पताल नआएको भए सायद मैले बच्चा गुमाउँथे। समयमै अस्पताल आएका कारण आज मेरो बच्चा सुरक्षित छ। एनआइसीयूमै भए पनि बेलाबेलामा हेर्न जान्छु। अहिले त स्तनपान पनि गर्न थालेको छ। सुधार भइरहेकाले छिट्टै बच्चा दिन्छु भनेको छ।’

सुरुको केहीदिन राति कुनै कामले एनआइसीयू कक्षबाट फोन आउँदा पनि मन झसङ्ग भएर छट्पटी हुने गरेको उनले बताइन्। जन्मिदा उनको बच्चा जम्मा १७ सय ग्राम थियो। १३ दिन आइसीयूमा राखेपछि बच्चामा धेरै सुधार आइसकेकाले आफूमा आशा पलाएको निर्मला बताउँछिन्। ‘पहिलो बच्चा त सामान्य रुपमा घरमै पाएकी थिएँ। दोस्रो बच्चा पनि त्यसैगरी पाउँछु होला भन्ने सोचेकी थिएँ तर एक्कासी उच्च रक्तचाप भएपछि त्यसको असर बच्चामा परेकाले समय नपुग्दै बच्चा निकाल्नुपर्ने भयो’, उनले बेलिविस्तार लगाइन्।

त्यस्तै सर्लाही घर भएर गोदावरी बस्दै आएकी ३३ वर्षीया अनिता आलेले पनि ३० हप्ता अर्थात् साढे सात महिनामै बच्चालाई जन्म दिइन्। उच्च रक्तचाप र मधुमेहबाट पीडित आलेले चिकित्सकको सल्लाहमा एक महिनासम्म निरन्तर औषधी खानुपर्यो। यति हुँदाहुँदै पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि आमा, बच्चाको स्वास्थ्य जोखिम रहेको चेतावनी चिकित्सकले दिए लगत्तै शल्यक्रिया गरेर बच्चा निकालियो।

उनको बच्चा जन्मिदा ११ सय ५० ग्राममात्रै थियो। १४ दिन सघनकक्षमा राखिएपछि अहिले बच्चाको तौल बढेसँगै अन्य स्वास्थ्यमा सुधार भइरहेको अनिताले बताइन्। पहिलो पटक आमा बनेकी अनितालाई बच्चा एनआइसीयूमा रहुञ्जेल त्यो बच्चा यसरी सामान्य अवस्थामा आउला काखमा लिन पाउँछु भन्ने आशा नै थिएन।

अनिताका पति भन्छन्, ‘अस्पतालमा भएको मिल्क बैंक, एनआइसीयूको उपलब्धता लगायतका सुविधाका कारण हामीले आफ्नो बच्चा सामान्य रुपमा देख्न पायौं। अहिले हामी एकदमै खुशी छौँ।’

निर्मला र अनिताजस्तै नयाँबजार सोह्रखुट्टेकी शर्मिला महर्जनले पनि ३४ हप्तामै बच्चा जन्माउनुपर्ने अवस्था आयो। उच्च रक्तचापकै कारण समय अगावै बच्चा निकालेका कारण बच्चाको वृत्ति विकासका लागि अस्पतालमै अवश्यक उपचार गर्नुपर्ने हुन्छ।

१६ दिनदेखि अस्पतालमै बसेर बच्चाको स्याहार गर्दै आएकी शर्मिलाको कहिले घर जाने टुङ्गो छैन। ‘जन्मिदा १५ सय ग्राम रहेको बच्चाको तौल बढेर १६ सय पुगेको छ। अन्य स्वास्थ्यमा पनि सुधार भइरहेको छ। अस्पतालको सेवा सुविधा एकदमै राम्रो छ। चिकित्सकले बच्चाको अवस्था राम्रो छ। अब घर लिएर जाँदा हुन्छ भनेपछि मात्रै जान्छु’ उनले भनिन्।

पहिलो बच्चा पनि समय अगाडि नै जन्माएकी महर्जनका लागि यो नौलो लागेन तर बच्चा एनआइसीयूमा हुँदा कुन बेला कस्तो फोन आउँछ भनेर मन आत्तिने, बच्चालाई आफूले काखमा नलिएसम्म भर नलागेको उनी बताउँछिन्।

निर्मला, अनिता र शर्मिलाजस्तै धेरै आमाले पछिल्लो समय समयअगावै बच्चा जन्माएका छन्। परोपकार प्रसूति गृहमा मात्रै बर्सेनि १२ प्रतिशत बच्चा समय अगाडि नै जन्मिने गरेका प्रसूति अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा.शैलेन्द्र कर्माचार्यले बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अनुसार कुल एक करोड ३० लाख अर्थात् प्रत्येक १० मध्ये एक बच्चा समय नपुगी जन्मिएका थिए। अहिले संख्या अझै बढेको हुनसक्ने विज्ञ बताउँछन्।

किन जन्मिन्छन् समय अगावै बच्चा ?
सामान्यतया गर्भ रहेको ३७ हप्तामा बच्चा परिपक्व भएर जन्मिन्छ। त्यसभन्दा अगाडिको जन्मलाई प्रिटर्म डेलिभरी भनिन्छ। ७ देखि ८ प्रतिशत प्रिटर्म डेलिभरी हुनु सामान्य मानिए पनि पछिल्लो समयको हाम्रो जीवनशैली अनि ढिलो विवाह गर्ने प्रवृत्तिलगायत विभिन्न कारणले यो दर बढेको चिकित्सक बताउँछन्। बालरोग विशेषज्ञ डा.कर्माचार्य भन्छन्- मुख्य गरी २, ३ वटा कारणले समय अगाडि नै बच्चा जन्माउनुपर्ने अवस्था आउँछ।

डा. कर्माचार्यकाअनुसार गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या छ वा पाठेघरमा ट्युमर र अन्य केही समस्या हुँदा पनि समयअघि नै बच्चा जन्मन सक्छ।

त्यस्तै संक्रमण, पोषण तत्त्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मने सम्भावना हुने उनको भनाइ छ।

त्यस्तै आमाको उमेर धेरै भइसकेको छ अर्थात् आइभीएफ विधिमार्फत् बच्चा जन्माइएको छ र एक भन्दा धेरै शिशु गर्भमा हुँदा पनि समय अगाडि नै आफैँ बच्चा जन्मिने, आमा र बच्चा दुवैलाई जोखिम हुने अवस्था आउँदा शल्यक्रिया गरेर समयअघि नै बच्चा निकाल्नुपर्ने अवस्था रहेको डा. कर्माचार्य बताउँछन्।

परोपकार प्रसूति गृहमा २६ हप्तामा जन्मिएको ६ सय ग्रामको बच्चालाई बचाएको उदाहरण दिँदै डा. कर्माचार्यले राम्रो उपचार तथा स्याहार पायो भने २४ हप्ताभन्दा माथिका सबै बच्चालाई बचाउन सकिने बताए।

आमाको गर्भमा रहेको शिशु एबनर्मल छ वा शिशु गर्भमै हुँदा कुनै किसिमका रोग छ भने पनि चाँडै जन्मने सम्भावना धेरै हुने उनले बताए। त्यस्तै आमालाई कुनै किसिमको मानसिक तनाव छ भने पनि बच्चा चाँडो जन्मिने सम्भावना रहने उनको भनाइ छ।

कति हप्तासम्मको बच्चा बचाउन सम्भव छ ?
परोपकार प्रसूति गृहमा २६ हप्तामा जन्मिएको ६ सय ग्रामको बच्चालाई बचाएको उदाहरण दिँदै डा. कर्माचार्यले राम्रो उपचार तथा स्याहार पायो भने २४ हप्ताभन्दा माथिका सबै बच्चालाई बचाउन सकिने बताए।

समयअघि नै जन्मेका शिशुको स्याहार कसरी गर्ने ?
डा. कर्माचार्य भन्छन्- ‘समय अगाडि नै जन्मेका बच्चा सबैको अवस्था नाजुक हुन्छ। सबै अस्वस्थ हुन्छन् भन्ने हुँदैन। कुनै बच्चा तौल कम भएपनि स्वस्थ हुन्छन्, त्यस्ता बच्चालाई एनआइसीयूमा राख्नु पर्दैन। आमासँगै राख्न सल्लाह दिन्छौं।’

तर कतिपय बच्चालाई सास फेर्न कठिन हुने, दूध पचाउन नसक्ने जस्ता समस्या हुन्छ। त्यस्ता बच्चा कसैलाई अक्सिजन मात्रै दिए पुग्छ भने कतिलाई एन्टिबायोटिक दिनुपर्ने हुन्छ। कसैलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउन सक्ने उनले बताए। यसरी उपचार गर्दा बच्चा सामान्य अवस्थामा आयो भने केएमसी विधिमा लगिने जानकारी उनले दिए।

केएमसीके हो ?
कङ्गारु मदर केयर अर्थात् कङ्गारुले बच्चालाई न्यानो बनाउनका लागि छातिमा टाँसेर राखेजस्तै गरेर आमाको छातिमा टाँसेर राख्ने विधिलाई छोटकरीमा केएमसी भनिन्छ। यो विधिले बच्चालाई चिसो हुनबाट जोगाउनुका साथै आमासँग हुने निकटता र अपनत्वका कारण बच्चालाई चाँडो हुर्किन सहयोग पुग्ने भएकाले यस्ता बच्चाका लागि यो विधि एकदमै प्रभावकारी हुने उनले बताए।

साथै अस्पतालमा बेडको समेत अभाव हुने भएकाले अर्को जोखिममा रहेको बच्चालाई बचाउनका लागि पनि कम जोखिममा रहेको बच्चालाई चिकित्सकको निगरानीमै आमामार्फत केएमसी गराउने गरिएको डा. शैलेन्द्रको भनाइ छ। अस्पतालमै यो विधि सिकाउँदा घरमा गइसकेपछि पनि आमालाई आफैँ बच्चा स्याहार्न सक्छु भन्ने आत्मविश्वास बढ्ने उनले बताए।

‘प्रिटर्म’ डेलिभरीबाट बच्न आमाले ध्यान दिनुपर्ने कुरा
सबैभन्दा पहिलो कुरा भनेको गर्भवती भएदेखि नै आमा नियमित चेकअपमा हुनुपर्ने डा. कर्माचार्य बताउँछन्। गर्भवती भएको थाहा पाएदेखि कम्तिमा चार पटक गर्भ जाँच गर्ने, सोनोग्राफी गर्ने, रगत, पिसाब जाँच गर्ने एनोमली स्क्यान गर्ने लगायतका आवश्यक चेकजाँच गराउनु पर्छ।

गर्भवती भएको थाहा पाएदेखि कम्तिमा चार पटक गर्भ जाँच गर्ने, सोनोग्राफी गर्ने, रगत, पिसाब जाँच गर्ने एनोमली स्क्यान गर्ने लगायतका आवश्यक चेकजाँच गराउनु पर्छ।

यी जाँचबाट आमालाई उच्च रक्तचाप, मधुमेह, पाठेघरमा समस्या छ वा आवश्यक मात्रामा पोषण पुगेको छ छैन भन्ने थाहा हुन्छ र सकेसम्म त्यसलाई नियन्त्रण गर्ने प्रयास गरिन्छ। यदि केही गरी भएन भने मात्रै प्रिटर्म डेलिभरी गराउने गरिएको उनले बताए।

त्यसका साथै खानपान हाम्रो जीवनशैली, पारिवारिक सहयोग, सामाजिक, आर्थिक र मानसिक अवस्थाले पनि गर्भावस्था र प्रसव अवस्थामा फरक पार्ने भएकाले प्रिटर्म डेलिभरीबाट बच्न यी सबै कुरा सामान्य राख्न आवश्यक रहेको उनले बताए।

त्यस्तै स्त्री तथा प्रसूतिरोग विशेषज्ञअनुसार गर्भावस्था तथा प्रसव अवस्थालाई समान्य बनाउन नियमित स्वास्थ्य जाँचसँगै पहिलो ६ हप्तामा पहिलो अल्ट्रासाउण्ड, १२ हप्तामा दोस्रो अल्ट्रासाउण्ड, १८ देखि २२ हप्तामा एनोमली स्क्यान गराउनु महत्त्वपूर्ण मानिन्छ।

त्यस्तै, खानपानमा विशेष ध्यान दिन उनीहरु सुझाउँछन्। एकैपटक धेरै खानेकुरा नखाएर समय समयमा थोरै खाने, फाइबर, प्रोटिन, आइरनलगायत पोषकतत्त्व भएका सबै खानेकुरा खान उनीहरुको सुझाव छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : २८ बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र