काठमाडौं– महात्मा गान्धीले भनेका थिए–‘रिस एक क्षणको पागलपन हो । जो क्षणिक हुन्छ तर यसले ठूलो क्षति निम्त्याउने सामर्थ्य राख्छ ।’
हुन पनि मानवीय संवेदनाको एक हिस्सा रिस केहीबेरका लागि पागलपन मात्र हो । रिस सबैलाई उठ्छ तर केहीले मात्र आफ्नो रिसलाई नियन्त्रण गर्न सक्छन् । अन्यथा रिसका कारण ठूलै दुर्घटना भएका कतिपय उदाहरणहरू पाइन्छन् ।
रिस उठ्नु स्वाभाविक हो । तर बारम्बार र चाँडो रिस उठ्नु भने समस्या हुन सक्छ । यसका मनोवैज्ञानिक, शारीरिक र सामाजिक कारणहरू छन् । जसले व्यक्तिगत, स्वास्थ्य तथा व्यावसायिक जीवनमा नकारात्मक असर पार्न सक्छ । रिस व्यवस्थापनका लागि ध्यान, योग, सकारात्मक सोच, र आत्म-नियन्त्रण जस्ता उपायहरू अपनाउनुपर्छ। यदि स्थिति गम्भीर छ भने मनोवैज्ञानिक परामर्श वा चिकित्सकीय सहायता लिनु राम्रो हुन्छ ।
किन चाँडो रिस उठ्छ ?
१. मानसिक अवस्था कमजोर हुन्
मानसिक अवस्था कमजोर वा अस्थिर हुँदा रिस नियन्त्रण गर्न गाह्रो हुन्छ। मनोवैज्ञानिक रूपमा निम्न कारणले मानिसलाई छिट्टै रिस उठ्न सक्छ :
-तनाव: अत्यधिक मानसिक दबाबले सहनशीलता घटाउँछ र रिस उठाउँछ ।
-डिप्रेसन वा चिन्ता: निराशा वा डरले रिसको स्तर उच्च हुन सक्छ ।
-कम आत्म-नियन्त्रण: भावनालाई सही रूपमा नियन्त्रण गर्न नसक्दा छिट्टै रिस उठ्छ ।
-भावनात्मक अस्थिरता: सन्तुलित भावना नभए रिस छिटो आउँछ ।
२. शारीरिक कारणहरू
शरीरमा हुने जैविक परिवर्तनहरूले पनि रिसको मात्रा बढाउन सक्छ:
-अनिद्रा: राम्रो निद्रा नपुग्दा मानसिक थकान बढ्छ र रिस चाँडो उठ्छ।
-हर्मोनको असन्तुलन: विशेष गरी थाइराइड, एड्रिनलिन, र कोर्टिसोल हर्मोन असन्तुलित हुँदा रिस बढ्न सक्छ ।
-उच्च रक्तचाप : बढ्दो रक्तचापले मानिसलाई अधिक उत्तेजित बनाउँछ ।
-अत्यधिक थकान: शरीर थकित हुँदा सहनशीलता घट्छ र रिस बढ्छ ।
३. सामाजिक कारणहरू
बाह्य वातावरण र समाजले पनि मानिसको रिसलाई प्रभावित पार्छ:
-पारिवारिक वा कार्यस्थलको तनाव: घर वा अफिसमा अत्यधिक दबाब भए मानिस छिटो रिसाउने हुन्छ ।
-नकारात्मक वातावरण: निराशाजनक वा हिंसात्मक वातावरणमा बस्दा रिसको मात्रा बढ्छ ।
-बाल्यकालीन ट्रमा वा दुर्व्यवहार: बाल्यकालमा दुर्व्यवहार वा गम्भीर मानसिक आघात अनुभव गर्नेहरू बढी रिसाउने सम्भावना हुन्छ ।
रिसको आवेगमा गरिएको कामले मानिसलाई कालान्तरमा पछुतो बाहेक अरु केही दिँदैन । त्यसैले आफ्नो रिसमाथि विजय पाउन आवश्यक हुन्छ । तर कसरी ?
१. अंक गन्न थाल्नुहोस्
कुनै कारण वा परिस्थितिमा तपाईँलाई थाम्न नसक्ने रिस उठ्यो भने तुरुन्त अंक गन्न थाल्नुहोस् । जबसम्म तपाई आफूलाई रिसमुक्त बनाउनु हुन्न तबसम्म अंक गन्नुहोस् । यसले तपाईँलाई रिसमाथि नियन्त्रण गर्न सघाउने गर्छ ।
२. लामोलामो श्वास लिनुहोस्
यदि तपाईँलाई अत्यधिक रिस उठेको छ भने लामो लामो श्वास तान्दै फाल्ने गर्नुहोस् । जति जति तपाईँलाई रिस उठ्छ तपाई आफूलाई सहज हुने गरी लामो लामो श्वास फेर्नुहोस् । यसले तपाईँलाई श्वास फेर्न तिर ध्यान मोड्छ र रिस आउनुको आवेगमा कमी आउँछ ।
३. डुल्ने बानीको बसाउनुहोस्
शारीरिक व्यायामले मानिसको अनावश्यक चिन्तनमा नियन्त्रण पाउन सघाउने गर्दछ । त्यसैले तपाईँलाई रिस उठेको छ भने सामान्य शारीरिक व्यायाम गर्न थाल्नुहोस् । यसले नसाहरू संयमित पार्नुका साथै रिसलाई कम गर्दै लान्छ । अझ केही बेर यताउति डुल्ने वा शान्त बस्नुभयो भने तत्काल रिस नियन्त्रणमा सघाउ पुर्याउँछ ।
४. मन पर्ने विषय सोच्नुहोस्
यदि तपाईँलाई अत्यधिक रिस उठेको छ र अनावश्यक बोल्छु जस्तो लागेको छ भने आफूलाई मन परेको स्थान, चलचित्र, कथा वा विषयमा ध्यान केन्द्रित गर्नुहोस् । हुन त यो रिस उठेको बेला गर्न गार्हो हुन्छ तर यसलाई सम्भव बनाउनुभयो भने यसले तपाईँको आवेश नियन्त्रणमा छिट्टै लाभ दिन्छ ।
५. मानसिक तनाव नलिनुहोस्
रिस उठेको बेला मानिस मानसिक तनावमा रहने गर्दछन् । रिसको बेला आउने आक्रोशले उनीहरूमा तनाव बढाउने गर्दछ । यस्तोमा आँखा चिम्लेर शान्त भएर बस्ने वा मोबाइलमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले तपाईँलाई रिस उठेको बेला मानसिक तनाव कम गराउँछ ।
६. साथीलाई शेयर गर्नुहोस्
कतिपय मानिस आफ्नो रिस नियन्त्रण गर्न आफैलाई तनावमा राखेर मनभित्र उक्त रिस मार्ने प्रयास गर्छन् । तर मनमा यी कुरा राख्नु पनि उपयुक्त हुँदैन । त्यसैले रिस उठेको विषयमा मन मिल्ने साथीलाई तत्काल यो कुरा शेयर गर्नुपर्छ । यसले तपाईँको रिस मर्नुका साथै त्यसको समाधानको उपाय पनि फुर्न सक्छ ।
७. हाँस्नुहोस्
हुन त यो उपाय अस्वाभाविक लाग्ला । तर अत्यधिक रिस उठेको बेला मज्जाले हाँस्नाले पनि तपाईँको रिसलाई नियन्त्रण गर्छ । हाँस्दा शरीरका अधिकांश तन्तु सक्रिय हुनुका साथै नराम्रो परिस्थितिबाट आफूलाई बाहिर निकाल्न मद्दत समेत गर्दछ ।
८. सिर्जनात्मक काम गर्नुहोस्
यदि तपाईँ बाहिरबाट रिसाएर आउनु भएको छ भने यस्तो बेलामा आफूलाई सिर्जनात्मक काममा लगाउनुहोस् । जस्तै पेन्टिङ गर्ने, केही लेख्ने वा बिग्रेका सामग्रीको मर्मत गर्ने । यसले रिस उठेको बेला हुने मुड अफ कम हुनेछ ।
तर रिस उठेको बेलामा बाइक चलाउने, बाहिर जाने वा कोठा बन्द गरेर आफूलाई एक्लै पार्ने प्रयास भने गर्नुहुँदैन । रिस उठेको समयमा आफूलाई शान्त राख्ने प्रयास गर्नुपर्छ । जसका लागि तपाईँको ध्यान मोड्नु नै सबैभन्दा सहज उपाय हो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया