काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो विक्षीहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सार्वजनिक कार्यक्रममा आक्रामक भाषण गर्दै ओली राजावादी र माओवादीविरुद्ध खनिए ।
नेपाल विद्युत प्राधिकरणबाट सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा आएर प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गर्दै माओवादी, रास्वपा र राप्रपाका सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।
विपक्षीले संसदमा अवरोध गरिरहेका बेला प्रधानमन्त्री ओली एमाले निकट युवा संघले तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरेको ‘राष्ट्रिय स्वयंसेवक भेला’ लाई सम्वोधन गर्दै थिए । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले संसदलाई जवाफ नदिने स्पष्ट पारे ।
‘सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठूलो घाटा परेछ कसैलाई, छाती पिटी–पिटी रोइरहेका छन् । एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले । त्यसको विधि अर्को होला नि, पार्लियामेन्ट बन्द गर्या छ !’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनपर्यो रे ! जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो । सिद्धियो त अब । कहाँ पार्लियामेन्टमा जवाफ दिने त्यो कुरा ? थाहा पाइएन ? एउटा हटायो, अर्को नियुक्त गर्यो । सिद्धियो ।’

प्रधानमन्त्री ओलीले राजावादी र माओवादी दुबैलाई लक्षित गर्दै भने, ‘कोही चिहानबाट नलीखुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नु भएको छ । कोही आफ्ना अनेक असफलताका पीडा, तडपन र कुण्ठाहरू बोकेर ती कुण्ठाहरू फ्याँक्ने–पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसदलाई । त्यो हामीले बुझ्या छौँ ।’
आफूविरुद्ध सडकमा नारा लगाइरहेका विपक्षीलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीको बारेमा जथाभावी नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नु भएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ, त्यो पनि देख्या छ ।… म भन्दिन चाहन्छु– चिसै पानीले नुहाउनुहुन्छ अन्तिममा ।’
प्रधानमन्त्री ओलीको आक्रोशपूर्ण मन्तव्यको अंश जस्ताको त्यस्तै–

हामीलाई शान्ति चाहिएको छ । देशमा हामी शान्ति चाहन्छौँ, दिनैपच्छिेका उपद्रव होइन । अनेक प्रकारका शक्तिहरु छन् । सरकारले एउटा कर्मचारी निकाल्यो अरे, ठूलो घाटा परेछ कसैलाई, छाती पिटी–पिटी रोइरहेका छन् ।
एउटा कर्मचारीलाई कारबाही गर्यो अरे सरकारले । त्यसको विधि अर्को होला नि, पार्लियामेन्ट बन्द गर्या छ ! प्रधानमन्त्रीले आएर जवाफ दिनपर्यो रे ! जवाफ दिइसक्यो प्रधानमन्त्रीले । दिइसक्यो, सिद्धियो त । अब कहाँ पार्लियामेन्टमा जवाफ दिने त्यो कुरा ? थाहा पाइएनन् ? एउटा हटायो, अर्को नियुक्त गर्यो, सिद्धियो ।
यसमा पनि फेरि मोर्चाबन्दी ? वाह ! को–को भन्नुहुन्छ उहाँहरूले त्यो–त्यो कर्मचारी के–के भनेर चलाउनुहुन्छ, त्यसै चलिदिने कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने । नटेर्ने । देशलाई अप्ठ्यारोमा पार्ने को–को छन्, त्यस्तो राखिदिनुपर्ने । अनुशासनहीनता, अराजकता, राष्ट्रिय घाटा सबै सहनुपर्ने ।
उहाँहरू के–के नै ‘इस्यु’ पायौँ भनेर बोकेर हिँड्ने ! यो हामीले बुझेका छौँ, उहाँहरु देशलाई एक पाइलो अगाडि बढ्न नदिन चाहनुहुन्छ, कानुन पास नदिन कोसिस गरिरहनु भएको छ । त्यसका निम्ति एउटा बहाना– संसद् अवरुद्ध गर्ने ।
सबैलाई थाहा छ, १८ गतेभित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयकहरू पारित भएनन् भने कानुन बन्दैन । कानुनको रुपमा रहँदैन । फेरि अर्को विधेयकका रुपमा जानु पार्ला । त्यो कुरा बुझेर काम हुन नदिनका लागि, विधेयक प्रस्तुत पास हुन नदिनका लागि यो सब खेल भइरहेको छ । हामीले बुझेका छौँ ।

सुकुम्बासी समस्या समाधान हुन नदिनका लागि, किसानका समस्या समाधान हुन नदिनका लागि, अरुका समस्या समाधान नहुन दिनका लागि, सबै यो काम उहाँहरू गरिरहनुभएको छ । हामीले बुझेका छौँ ।
(प्रधानमन्त्रीले यसो भनिरहँदा भूमिसम्बन्धी अध्यादेश सरकारले आफैं फिर्ता लिने भएको छ)
म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हल्का, यति उत्ताउलो नहुनुस् तपाईंहरू । र, प्रधानमन्त्रीको बारेमा जथाभावी पनि नबोल्नुस् । थाहा छ तपाईंहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नु भएको थियो, कहाँ आइपुग्नु भएको छ, त्यो पनि देख्या छ ।
कोही चिहानबाट नलीखुट्टाका हाड निकालेर फेरी लगाउँदै हिँड्नु भएको छ । कोही आफ्ना अनेक असफलताका पीडा र तडपनहरू बोकेर, कुण्ठाहरू बोकेर, ती कुण्ठाहरू फ्याँक्ने–पोख्ने, छर्ने थलो बनाउन खोज्नुहुन्छ संसद्लाई । त्यो हामीले बुझ्या छौँ ।
तसर्थ, त्यस्ताखालका क्रियाकलाप नगर्दा हुन्छ भन्छु । के–के न ठूलो अपराध गरे जस्तो ! यो मैले यस्तो सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, असत्य होस्, मैले सुनेको असत्य होस् ! वा ! कुनै महान ठूलो कुरोजस्तो ! कसैले के–के न ठूलो भ्रष्टाचार गरेको जस्तो ! यो असत्य होस्, होइन रहेछ भने नत्र !
म भन्दिन चाहन्छु- चिसै पानीले नुहाउनुहुन्छ अन्तिममा । नत्र–सत्रको काम छैन ।
देशलाई, विकासको गतिलाई, समयको गतिलाई अगाडि बढ्नबाट रोक्न खोज्छ कसैले भने त्यो कुरा हामीलाई सैह्य हुँदैन । पछाडि फर्काउन खोज्छ कसैले भने झन् साह्रो सैह्य हुँदैन । यी कुरामा युवाहरू सचेत हुनुपर्दछ । स्पष्ट हुनुपर्दछ ।
खेल्ने प्रयास अनेक हुन्छन् । भ्रम पार्ने प्रयास अनेक हुन्छन् । म पहिलो कुरा त युवाहरूलाई भन्न चाहन्छु– त्यो तपाईंहरू भ्रमबाट मुक्त हुनुस् । भ्रमबाट मुक्त भएर अगाडि बढ्नुस् ।
भिडियो–
यो पनि-
लामो भन्नु छैन, प्रधानमन्त्रीले स्पष्टीकरण नदिए संसद् चल्दैन : प्रचण्ड
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित, भोलि ११ बजे बस्ने
प्रतिक्रिया