यस्तो छ ट्रम्पको बलौटे कपालको रहस्य, रेस्लिङमा बाजी जितेपछि तालुखुइले हुनबाट जोगिएका थिए | Khabarhub Khabarhub

यस्तो छ ट्रम्पको बलौटे कपालको रहस्य, रेस्लिङमा बाजी जितेपछि तालुखुइले हुनबाट जोगिएका थिए


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति मात्रै होइनन्, अर्बपति व्यवसायी र सेलिब्रेटी पनि हुन् । जीवनको युवा अवस्थामा घरजग्गा व्यवसायबाट उनले टन्नै सम्पत्ति र नाम कमाए । तरपनि, अमेरिकीहरुमाझ उनलाई अझ परिचित गराएको चाहिँ टेलिभिजन कार्यक्रम ‘एप्रेन्टिस’ ले नै हो ।

राजनीतिमा आउनुअघि पनि उनी ‘टेलिभिजन पर्सनालिटी’ नै थिए । ‘एप्रेन्टिस’ मा उनले भन्ने गरेको ‘यू आर फायर्ड’ भन्ने थेगो अझै पनि लोकप्रिय मानिन्छ ।

सेलिब्रेटीका रुपमा उनी अझै पनि आफ्नो व्यक्तित्वप्रति निकै सजग देखिन्छन् । मिडियाले आफूलाई आम जनतामाझ कसरी प्रस्तुत गर्छन्, टेलिभिजनमा आफू कस्तो देखिन्छु भन्ने विषयमा उनी निकै चनाखो हुन्छन् ।

शायद त्यसैले होला, उनी मूलधारका मिडियासँग लामो समयदेखि चिढिएका छन् । ट्रम्प टेलिभिजनलाई कति महत्व दिन्छन् भन्ने कुरा एउटा उदाहरणबाट थाहा पाउन सकिन्छ ।

गत फेब्रुअरीको अन्त्यमा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भयो । युक्रेनी राष्ट्रपति ह्वाइट हाउसमा आएका बेला उपराष्ट्रपति जेडी भान्ससँग मिलेर ट्रम्पले जेलेन्स्कीलाई खुबै हप्काए, थर्काए, उनको अपमान गरे । त्यति हुँदाहुँदै पनि भेटवार्ताको अन्त्यतिर ट्रम्पले यति भन्न चाहिँ छाडेनन्– ‘यो गतिलो टेलिभिजन हुनेछ ।’

सेलिब्रेटीका रुपमा ट्रम्पलाई चिनाउने महत्वपूर्ण माध्यम उनको कपाल पनि हो । हुन पनि उनको कपाल हेर्दा निकै अनौठो देखिन्छ । चम्किलो–सुनौलो रंगको कपाल कोर्ने ट्रम्पको शैली पनि अनौठो नै छ । उनको कपाल अमेरिकी ‘पप कल्चर’ कै हिस्सा बनिसकेको छ । उनी आफ्नो कपाललाई कति माया गर्छन् भन्ने हालै घटेको एउटा घटनाले स्पष्ट पार्छ ।

हालै ट्रम्प प्रशासनले धारामा आउने पानीको प्रवाहलाई खुला गर्ने निर्णय गर्‍यो । ओबामा प्रशासनले पानी जोगाउन भन्दै धेरै वटा ‘नोजल’ भएका धाराबाट प्रतिमिनेट २.५ ग्यालन मात्रै पानीको प्रवाह हुनेगरी सीमितता निर्धारण गरेको थियो । आफ्नो पहिलो कार्यकालमा सन् २०२० मा ट्रम्पले त्यस निर्णय उल्ट्याउँदै हरेक ‘नोजल’ बाट २.५ ग्यालन पानी प्रवाह खुला गरेका थिए । बाइडेनले ट्रम्पको त्यो निर्णयलाई खारेज गरिदिएका थिए ।

गत अप्रिल ९ मा पानीको प्रवाह खुला गर्ने आदेशमा हस्ताक्षर गर्नेबेला ट्रम्पले आफूले कपाल नुहाउन नपाएको गुनासो गरेका थिए । उनले भनेका थिए– ‘मेरे कुरा गर्ने हो भने, म राम्ररी नुहाउन, मेरो सुन्दर कपालको हेरचाह गर्न रुचाउँछु । मैले नुहाउने बेला कपाल भिजाउनमात्रै धारामुनी १५ मिनेट कुर्नुपर्छ ।’

ट्रम्पले पालेको कपालको चर्चा नौलो भने होइन । दशकौँ अघिदेखि नै उनको कपाल चर्चाको विषय बन्दै आएको छ । १९८४ मा नै डोनाल्ड ट्रम्पले व्यवसायीका रुपमा ख्याति कमाएका थिए । त्यसबेला उनी केबल ३८ वर्षका थिए । सन् १९८४ को अप्रिल ८ मा न्यूयोर्क टाइम्सले विलियम ई. गेइस्टको लेख छापेको थियो ।

द एक्सपान्डिङ इम्पायर अफ डोनाल्ड ट्रम्प’ शीर्षकमा छापिएको उक्त लेखमा सम्भवतः पहिलो पटक सार्वजनिक रुपमा ट्रम्पको कपालबारे टिप्पणी गरिएको थियो । न्यूयोर्क टाइम्समा विलियम ई. गेइस्टले लेखेका थिए– ‘कर्पोरेट जगतको मापदण्डअनुसार उनको बलौटे कपाल केही लामो छ, उनले छेउका कपाल पछाडितिर लैजान्छन् ।’

त्यसयता ट्रम्पको कपाल विभिन्न हासो मजाक, चुट्किला, मिमको पात्र बन्दै आएको छ । उनको कपाललाई ‘चराले छोडेको गुँड’, ‘मकैको कुहिएको कान’, ‘अदुवाको जंगल’, ‘३३ बार्बी खेलौनाको कपाल’, ‘अमलेट’, ‘मरेको लोखर्के’, ‘फुसको सानो टहरो’ जस्ता संज्ञा दिइएको छ । अमेरिकी मनोरञ्जन उद्योगमा ट्रम्पका कपालको मजाक बनाएर धेरै सामग्री तयार पारिएको छ ।

कपाल खौरिने बाजी राखेर रेस्लिङ
वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) अमेरिकामा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छ । यसमा खेलाडीहरुले कुस्ती खेलेको देखाइन्छ । डब्लूडब्लूईका प्रमुख (मिस्टर) भिन्स मिकम्यान हुन् । मिकम्यान र ट्रम्पबीच निकै राम्रो सम्बन्ध छ । भिन्सकी श्रीमती (मिसेज) लिन्डा मिकम्यान अहिले अमेरिकी सरकारमा शिक्षामन्त्री छिन् ।

सन् २००७ मा एक पटक कुस्ती खेलका लागि मिस्टर मिकम्यान र डोनाल्ड ट्रम्प आमुनेसामुने हुन्छन् । मिस्टर मिकम्यानका तर्फबाट उमागा र डोनाल्ड ट्रम्पका तर्फबाट बबी लास्ली कुश्ती भिड्ने तय हुन्छ । खेलमा स्टोन कोल्ड स्टिभ अस्टिन विशेष रेफ्री हुन्छन् । ‘ब्याटल अफ दि बिलेनियर’ अर्थात अर्बपतिको लडाइँ नाम दिइएको उक्त खेलमा हार्ने पक्षको अर्बपतिले टाउको खौरिनुपर्ने बाजी राखिएको हुन्छ ।

खेल हुनुअघि कन्ट्राक्ट साइनिङ अर्थात् ‘करारमा हस्ताक्षर गर्ने’ समारोह आयोजना गरिएको हुन्छ । उक्त समारोहमा शुरुमा मिस्टर मिकम्यानले करारमा हस्ताक्षर गर्छन् । डोनाल्ड ट्रम्पलाई करार सम्झौता दिनुअघि मिस्टर मिकम्यानले भनेका हुन्छन्– ‘यसमा तिमीले सही गर्नुअघि म तिमीलाई एउटा कुरा भन्न चाहन्छु, टाउकोमा कपाल हुँदै तिमीले सही गरेको शायद यो अन्तिम करार हुनेछ ।’

त्यसपछि ट्रम्प भन्छन्– ‘तिमीलाई थाहा छ भिन्स, मलाई यसमा शंका छ । मलाई यसमा धेरै शंका छ । मेरो विचारमा बबीले तिम्रो मान्छेको पुठ्ठामा लात हान्नेछन् ।’

यस खेलमा बबी लास्लीले उक्त खेल हारेमा ट्रम्पले कपाल खौरिन्छन् भनेर धेरैले अपेक्षा गरेका हुन्छन् । सोही समारोहमा मिस्टर मिकम्यानले डोनाल्ड ट्रम्पलाई भनेका हुन्छन्– ‘रेसलमेनियामा, डोनाल्ड ट्रम्प, म त्यही गर्नेछु जुन सबैले चाहेका छन् । साँच्चै भन्दा म त्यही गर्नेछु, जुन यी सबै सेलिब्रेटीले चाहेका छन् । तिमी यहाँ शोबिजनेसका बादशाह छौ, हामीले सर्वेक्षण गरेका ९५ प्रतिशत सेलिब्रेटीले मेरो जित होस् र तिम्रो टाउको तालुखुइले बनोस् भन्ने चाहेका छन् । र, यो सत्य हो ।’

सन् २००७ को अप्रिल १ मा आयोजित ‘रेसलमेनिया’ मा ब्याटल अफ द बिलेनियर खेलाइएको हुन्छ । खेलको अन्तिमसम्म बबी लास्लीलाई उमागाले खुब गोद्छन् । अन्तिमतिर उमागाले बबी लास्लीलाई ‘पिन’ गर्छन् ।

बबी पिन भएका बेला रेफ्री बनेर आएका मिस्टर मिकम्यानका छोरा शेन मिकम्यानले दुईसम्म काउन्ट गरिसकेका हुन्छन् । तर, तेस्रो काउन्टमा एक्कासी विशेष रेफ्री स्टोन कोल्ड आएर रेफ्रीलाई रिङबाहिर तान्दै गोद्छन् ।

रिङभित्र पसेका विशेष रेफ्री स्टोन कोल्डलाई उमागाले दुई झापडमै ढालिदिन्छन् । त्यसपछि खेलमा भाँडभैलो मच्चिन्छ । अब भने डोनाल्ड ट्रम्पले मिस्टर मिकम्यानलाई बेस्सरी गोद्न थाल्छन् । पछि बबी लास्लीले उमागालाई ‘स्पियर’ हानेर पिन गर्छन् । स्टोन कोल्डले तीन पटक काउन्ट गरेपछि बबी लास्लीको जित हुन्छ । फलस्वरुप मिस्टर मिकम्यानले कपाल खौरिन्छन् ।

‘ट्रम्प गाइ’

ट्रम्पको कपाललाई मजाक बनाइएका यस्ता धेरै उदाहरणहरु छन् । अमेरिकामा हास्य एनिमेडेट सिरिज ‘फ्यामिली गाइ’ निकै चर्चित छ । सेथ म्याकफरलानले विकास गरेको उक्त सिरिजमा पिटर ग्रिफिन र ग्रिफिन परिवारलाई हासोको पात्र बनाइन्छ ।

अमेरिकी समाजका विभिन्न पाटोलाई एनिमेटेड हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिन्छ । ट्रम्पको पहिलो कार्यकाल चल्दै गर्दा सन् २०१९ को जनवरी १३ मा फ्यामिली गाइको १७ औँ सिजनको ११ औँ एपिसोड सार्वजनिक भएको थियो ।

‘ट्रम्प गाइ’ नाम दिइएको उक्त एपिसोडमा ट्रम्पको कपाललाई लिएर पनि खुबै मजाक बनाइएको थियो । एपिसोडको पटकथाअनुसार पिटर ग्रिफिन जागिर खान ह्वाइट हाउस पुगेका हुन्छन् ।

त्यहाँ पिटरलाई डोनाल्ड ट्रम्पले आफ्नो कोठामा ‘स्ट्याटिक इलेक्ट्रिसिटी’ अर्थात् स्थीर विद्युत पहिचान गर्न पठाउँछन् । कोठामा स्थीर विद्युत रहेको पहिचान गरी कोठाबाहिर निस्केका पिटरको कपाल ठाडो परेको हुन्छ ।

उनले डोनाल्ड ट्रम्पलाई कोठामा स्थीर विद्युत रहेको जानकारी दिन्छन् । जानकारी पाएपछि डोनाल्ड ट्रम्पले पिटरसँग हात मिलाउँछन् । पिटरसँग हात मिलाउँदा ट्रम्पको कपाल पनि टाउकोमाथि उछिट्टिन्छ । सोही एपिसोडमा नै ट्रम्पले ‘कटन क्यान्डी’ बनाउने मेसिनमा आफ्नो कपाल मिलाएको देखाइएको छ ।

धेरैले ट्रम्पको कपाल नक्कली भएको दाबी गर्छन् । तर, ट्रम्पले आफ्नो कपाल सक्कली हो प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् । सन् २०१३ मा उनले ट्विट गरेका थिए, ‘सबैलाई थाहा भएकै हो, तर बैरी र हरुवाहरु यसलाई मान्न तयार छैनन्, म नक्कली कपाल लगाउँदिनँ । मेरो कपाल उत्कृष्ट नहोला तर यो मेरै हो ।’

त्यसैगरी, सन् २०१६ मा उनले अमेरिकी टेलिभिजन प्रस्तोता जिम्मी फालोनलाई आफ्नो कपाल सक्कली रहेको देखाउन टाउकोमा हात लैजान दिएका थिए । फालोनले खोलाउँदा प्रत्यक्ष टेलिभिजनमै ट्रम्पको कपाल बिग्रिएको थियो ।

उनले आफ्नो कपाल सक्कली हो भनेर देखाउन ‘एएलएस आइस बकेट च्यालेन्ज’ लाई स्वीकार गरेका थिए । त्यसबेला उनले होमर सिम्पसन, माइक टाइसन, भिन्स मिकम्यानजस्ता मान्छेले आफ्नो कपाल नक्कली भएको हल्ला फैलाएको दाबी गरेका थिए । त्यसलाई झूठो प्रमाणित गर्न सन् २०१४ मा मिस युनिभर्स र मिस यूएसएले उनको टाउकोमा पानी खन्याइदिएका थिए ।

सन् २०१८ मा राष्ट्रपति रहँदै ट्रम्पको कपाल हावाले उडाएको थियो । त्यसबेला अमेरिकी सञ्चार माध्यमले उनको खुबै खिल्ली उडाएका थिए । कतिपय अवस्थामा उनी आफैँले आफ्नो कपालको मजाक बनाउने गरेका छन् । उनले एक पटक कमेडी सेन्ट्रलमा भाषण गर्दै भनेका थिए, ‘भिजेको रेकुन र डोनाल्ड ट्रम्पको कपालमा के भिन्नता छ ? भिजेको रेकुनसँग बैंकमा ७ अर्ब डलर छैन ।’

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १२ : ५१ बजे

आयुष बने एनएसएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको

श्रीमान‍्को मृत्यु भएकाे हप्ता दिन नबित्दै श्रीमतीको पनि मृत्यु

दाङ – तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु

एनएसएल विजेता ललितपुरको ट्रफी सेलिब्रेसन (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी

गौशाला – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट

दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता

बेनी – सवारी दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन बेनीमा आज ‘बिस्तारै