काठमाडौं – नायिका अञ्जना बराइली नेपाली फिल्म क्षेत्रकी उदियमान नायिका हुन् । उनले वरिष्ठ कलाकार हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ बाट ठूलो पर्दामा डेब्यू गरिन् । ‘महापुरुष’ मा उनी सहायक भूमिकामा थिइन् । कीर्तिमानी ‘ग्रस कलेक्सन’ गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ मा उनी शीर्ष नायिका नै हुन् ।
उनले बीचमा दुई फिल्म ‘पुजार सार्की’ र ‘डोरी’ मा अभिनय गरिन् । ‘डोरी’ बाहेक उनका सबै फिल्म अर्थात् तीनवटै फिल्म हिट छन् । उनको अभिनय रहेको पाँचौ फिल्म ‘महाभोज’ जेठ १५ बाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबारे अञ्जना भन्छिन्, ‘मलाई पूर्णबहादुरको सारङ्गीपछि आशा लागेको फिल्म महाभोज हो । म मात्रै होइन हामी सबै कलाकारले यो फिल्मलाई आशाका रूपमा लिएका छौँ ।’

यो व्यावसायिक पाटो हो । ‘महाभोज’को व्यापार कस्तो हुन्छ, त्यो प्रदर्शनमा आएपछि थाहा भइहाल्छ । तर, अञ्जना भाग्यमानी नायिका हुन् । उनको अभिनय रहेको तेस्रो र फुलफ्लेज नायिका बनेको दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले कीर्तिमानी व्यापार गर्यो । यो सौभाग्य कमै नायिकाले पाउँछन् । यता नवनायिका हुँदै उनले अनुभवी कलाकारसँग काम गर्न पाएकी छन् । डेब्यू फिल्ममै उनले वरिष्ठ कलाकार हरिवंशसँग सहकार्य गर्न पाइन् ।
दोस्रो फिल्म ‘पुजार सार्की’ मा त उनले आर्यन सिग्देलको जोडीकै भूमिका निर्वाह गरिन् । यस फिल्ममा प्रदीप खड्का र पल शाह जस्ता स्टार नायक पनि थिए । पाँचौ फिल्म ‘महाभोज’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई र आर्यन सिग्देलसँग सहकार्य गरेकी छन् । यस्ता अनुभवी कलाकारसँग सहकार्य गर्न पाउँदा अञ्जना आफूलाई भाग्यमानी नै मान्छिन् । उनी भन्छिन्, ‘मैले सिनियर कलाकारसँग अभिनय गर्ने अवसर पाएकी छु । म यति भाग्यमानी छु कि यो कलाकारसँग काम गर्न पाए हुन्थ्यो भनेर सोच्नु नै परेको छैन ।’
अञ्जनासँग ‘महाभोज’ केन्द्रित भएर खबरहबकर्मी संगम ढकालले गरेको कुराकानीको सम्पादित अंश :
महाभोज कस्तो फिल्म हो ?
– अहिलेको समय सान्दर्भिक, देशको घटना, एउटा गाउँको घटना भनेर बुझ्दा हुन्छ ।
फिल्ममा प्रवेश कसरी भयो ?
– म वास्तविक जीवनमा एकदमै मुडी छु । फिल्ममा मेरो ‘क्यारेक्टर’ पनि त्यस्तै छ । निर्देशक दिनेश राउतलाई त्यो क्यारेक्टर मसँग मिल्ने लागेछ । ममा फिल्ममा निर्वाह गरेको ‘क्यारेक्टर’ जस्तो पूर्णता त छैन । निर्देशकलाई ‘मुड स्वीच’ हुने क्यारेक्टरको विशेषता चाहिँ मसँग मिल्दो लागेछ । अनि निर्देशकको टिमले नै मलाई प्रस्ताव गर्ने निर्णय लिएको रहेछ ।
भिडियो
अघिल्लो फिल्म ‘डोरी’ फ्लप भयो । हिट फिल्मको ‘ह्याट्रिक’ हान्न चुक्नुभयो । कलाकारका रूपमा ‘महाभोज’ हिट बनाउनुपर्ने दबाब कत्तिको छ ?
– ‘डोरी’ को बेला पनि मैले दबाब लिएको थिइनँ । म लिन्न पनि । किनभने म एक्लैले मात्र फिल्म चल्ने होइन । एक कलाकारले मात्रै फिल्म चलाउन सक्दैन । ‘डोरी’ व्यापारिक रूपमा सफल भएन होला तर मलाई त्यो फिल्म गरेर ‘रिग्रेट’ छैन । कलाकारका रूपमा मैले त्यस फिल्ममा धर्म निर्वाह गरेको छु ।
मलाई मेरो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि एउटा आशा लागेको प्रोजेक्ट ‘महाभोज’ । यो मेरो मात्रै होइन यसका कलाकार आर्यन सिक्देल, खगेन्द्र लामिछाने र दयाहाङ राईहरूलाई पनि आशा लागेको फिल्म हो । अर्को अहिलेको देशको अवस्था अनुसार उपयुक्त समयमा यो प्रदर्शनमा आउन लागेको छ ।
तपाईंको भूमिकाले फिल्ममा कस्तो स्थान राख्छ ?
– महत्त्वपूर्ण भूमिका नै छ । खगेन्द्र लामिछाने र म जोडीको भूमिकामा छौँ । यहाँभन्दा धेरै कुरा त खुलाउन मिलेन ।
रोचक कुरा– सधैँ मलाई ग्रामीण महिलाको भूमिका मात्र निर्वाह गर्छ भनेर टिप्पणी हुन्थ्यो । यो फिल्मभर एउटा सहरको पात्र छ । त्यो मैले निर्वाह गरेकी छु । विगतमा मैले निर्वाह गरेको पात्रभन्दा यसमा फरक छ । दर्शकले मलाई अलि फरक देख्न पाउनुहुन्छ ।
तपाईंले फुलफ्लेज नायिका भएर गत वर्ष मात्रै फिल्ममा अभिनय गर्नुभएको । दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने जस्ता अनुभवी कलाकारसँग अभिनय गर्दा कस्तो हुने रहेछ ?
– अनुभवी कलाकारसँग काम गर्दा भाग्यमानी महसुस हुने रहेछ । उहाँहरूलाई हामीले सानैबाट ठूलो पर्दामा हेर्दै आएको हो ।
उहाँहरूसँग काम गर्ने धेरैको रहर हुन्छ । मैले चाहिँ उहाँहरूसँग काम गर्न पाए हुन्थ्यो भनेर बस्नु नै परेको छैन ।

आर्यन दाइसँग त मैले ‘पुजार सार्की’ गरेको हो । खगेन्द्र दाइसँग एउटा म्युजिक भिडियो गरेको थिएँ । दया दाइसँग चाहिँ म नयाँ थिएँ ।
‘वर्कसप’ मा बस्दा दया दाइसँग डर लाग्थ्यो । सेटमा त खगेन्द्र दाइ र दया दाइ एकदमै रमाइलो गर्नुहुँदो रहेछ । त्यो महोलमा काम गर्न एकदमै सहज भयो ।
यो फिल्मको हिरो को हो ?
– महाभोजको ‘कन्टेन्ट’ नै हिरो हो । हामी सबै ‘क्यारेक्टर’ हौँ ।
प्रतिक्रिया