मान्छे बचाउने डाक्टरको बाँच्न नपुग्ने कमाइ ! | Khabarhub Khabarhub

मान्छे बचाउने डाक्टरको बाँच्न नपुग्ने कमाइ !

आवासीय चिकित्सकको तलब सत्र हजार 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

डा. रवि लामिछाने आवासीय चिकित्सकको रूपमा गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत छन् । माझीाउँ लमजुङमा जन्मिएका डा. लामिछानेका बुवा प्रहरी भएकाले काभ्रेपलाञ्चोकको साँगामा रहेको दीपेन्द्र प्रहरी स्कुलमै प्लस टुसम्मको अध्ययन पूरा गरे । 

प्लस टुमा बायोलोजी पढेका लामिछानेले डाक्टरी पढ्ने सोचे । उनको इच्छालाई परिवारले मनसा, बाचा, कर्मणा सहयोग गरेपछि लामिछाने डाक्टर बन्न सफल  भए । 

‘जुन इच्छा र चाहनाले यो पेशामा लागेको थिएँ, त्यो नहुँदा अहिले मन खिन्न भइरहेको छ । पढ्दा लाग्ने खर्च, श्रमको अनुपातमा पाइने पारिश्रमिक अत्यन्त न्यून छ । हामीले घडी नहेरी काम गर्छौँ । तर हातमुख जोर्न धौ धौ छ ।’ उनी बताउँछन् ।

सन् २०१८ मा एमबीबीएस सकेर टिचिङ अस्पतालमा आइओएम तथा केएमसीमा मेडिकल अफिसर भएर काम पनि गरेका लामिछानेसँग जिल्ला अस्पताल रुकुम र बाजुरामा एक एक वर्ष काम गरेको अनुभव छ । 

एमबीबीएस सकेपछि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त हुन्छ । जसको सरकारी आठौँ तह बराबरको मान्यता छ र सोही अनुसारको सेवा सुविधा पाइन्छ । त्यसपछि उच्च शिक्षा हासिल गर्नका लागि चिकित्सा शिक्षा आयोगले परीक्षा लिन्छ र तहअनुसार आफूले अध्ययन गर्ने कलेज पाइन्छ र एमडी एमएस लगायत उच्च तहको पढाइ सुरु हुन्छ । 

उक्त पढाइका लागि न छुट्टै कक्षाकोठा चाहिन्छ, न छुट्टै प्रोफेसरमै लगानी हुन्छ । तर पनि कलेज सञ्चालकहरूले शुल्क लिएर पढाउने गरेकोमा डा. लामिछानेको चित्त दुखाइ छ । 

डा. रवि लामिछाने

डा. लामिछाने अहिले एमडीजिपीमा मास्टर्स गरीरहेका छन् , जसको पढाइ भनेकै बिहानदेखि बेलुकासम्म बिरामी हेर्ने हो ।

उनले थपे– ‘वर्ष दिनमा न एक दिन बिदा पाइन्छ न कुनै सुविधा नै । पैसाको कुरा गर्नुपर्दा एमडी गर्नको लागि भनेर कलेजलाई २४ लाख बुझाएको छु । पारिश्रमिकको रूपमा मैले मासिक १७ हजार पाउने गरेको छु । यो भनेको एकदमै न्यून तलब हो ।’

रेजिडेन्स गरिरहेका चिकित्सकहरूलाई गाँस, आवास र पोसाकको व्यवस्था कलेजहरूले नै उपलब्ध गराउनुपर्ने भएर हामीलाई आवासीय चिकित्सक भनिएको हो । तर नेपालका अधिकांश अस्पतालहरूमा आवास दिने र त्यसबापतको पैसा काटेर ८ हजार ९ हजारमा काम लगाएको पाइएको उनले बताए । 

‘दुई वटा ब्याचलर गरेर सरकारी आठौँ तह बराबरको पारिश्रमिक खाएर आफैँ डाक्टर भएको व्यक्तिले उच्च शिक्षा हासिल गर्दा गर्नुपर्ने काम त्यही नै हो । जसको फाइदा हामीले भन्दा धेरै मेडिकल कलेजले लिइरहेको हुन्छ । २४ घण्टा पेलिँदा हाम्रो गाँस, बास र कपासको सुनिश्चितता हुँदैन ।’ उनले भने । 

यति लामो समयसम्म पनि पढ्दा लागेको ऋण तिर्नु त कता हो कता उल्टै घरबाट मागेर काम चलाउनुपरेको स्थिति छ । जसले गर्दा हाम्रो शारीरिक, मानसिक र सामाजिक रूपमा नै असर गरेको उनले दुखेसो पोखे । 

सामाजिक मनोविज्ञानको विश्लेषण गर्दै डा. लामिछाने भन्छन्, ‘धेरै अभिभावक छोराछोरीले पढाइमा राम्रो अंक ल्याउँदा डाक्टर बनाउँछु भन्ने सपना देखेका हुन्छन् । भोलिका दिनमा उनीहरूको भविष्य राम्रो होला तर अहिलेको अवस्थामा चिकित्सकहरूले काम गरेबापतको श्रमको मूल्य जुन पाइरहेका छन् । एक दशकसम्म यसमा सुधार आउने अवस्था देखिँदैन । त्यसैले धेरै अभिभावकहरूमा राम्रो अंक ल्याउँदैमा छोराछोरीलाई डाक्टर नै पढाउँछु भन्ने हाम्रो समाजमा जुन भाष्य निर्माण भइरहेको छ, त्यो गलत छ ।’  

त्यस्तै मणिपाल शिक्षण अस्पताल पोखरामा कार्यरत डा. अमृत त्रिपाठीले मणिपालमै एमबीबीएस गरेर पोखराकै विभिन्न अस्पतालमा करारमा आठौँ तहको जागिरे भएर काम गरे । त्यसबेला उनले सरकारी आठौँ तहको तलब पाउँथे । तर अहिले उच्च तहको शिक्षा अध्ययनका लागि भन्दै आवासीय चिकित्सक भएर काम गर्दा १७–१८ हजारमा चित्त बुझाउनु परेको छ । एकातिर कलेजलाई ३ वर्षको लागि एकमुष्ट २४ लाख रुपैयाँ बुझाउनुपर्ने हप्तामा १२० घण्टा सेवा दिनुपर्ने र पाउने बेलामा एकदमै न्यून पारिश्रमिक पाउँदा खान बस्नै समस्या भइरहेको डा. त्रिपाठी बताउँछन् । 

खबरहबसँग त्रिपाठीले भने– ‘मेरो बुवाको डाक्टर बन्ने इच्छा थियो । त्यो बेलाको परिस्थितिले गर्दा उहाँको इच्छा पुरा भएन । त्यसपछि सानैदेखि डाक्टर बन्नुपर्छ भनेर मलाई भनियो । त्यसैलाई मैले आफ्नो चाहना बनाएँ । बुवाको सपना पुरा गर्न पाउँदा र बिरामीको सेवा गर्ने अवसर पाउँदा पेशाप्रति गर्व छ ।’ 

तर भने अनुसारको सुेवासुविधा नहुँदा भावी पुस्ताका अभिभावकले सोच्नुपर्ने उनी बताउँछन् । आवासीय चिकित्सक भनेपछि आवास र खानाको व्यवस्था अस्पतालले नै गर्नुपर्ने हो तर त्यस्तो सुविधा कुनै निजी मेडिकल कलेजहरूले नदिएको उनले बताए । 

अनगिन्ती छन् डाक्टरका दुख

स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. सञ्जय बराल भन्छन्– ‘चिकित्सकीय पेसाको सबैभन्दा पहिलो समस्या भनेको दरबन्दी नै हो । जसको लागि ओएनएम सर्वे नहुँदा सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी छैन । अर्को भनेको सेवा उपलब्ध गराउन छात्रवृत्तिमा पढेका विद्यार्थीहरूलाई २ वर्षको अनिवार्य करार सेवामा राखेको र उनीहरूलाई विभिन्न प्रदेश तथा पालिकास्तरका अस्पतालहरूमा पठाउने गरिएको छ ।’ 

‘करारमा गएका चिकित्सकहरू पनि कसको अन्तर्गत हो भन्ने दुबिधा भएर कतिपय जिल्लामा तलब निकासा नभएको अवस्था रहेको उनले बताए । डा. बरालका अनुसार कर्णाली र मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूले आन्दोलन नै गर्नुपरेको थियो । सेवा सुविधाको कुरा गर्ने हो’ डा. बराल बताउँछन्– ‘नेपालमा एमबीबीएस गरेपछि आठौँ तह र एमडी, एमएस गरिसकेकालाई नवौँ तहमा भर्ना लिने चलन छ । यसमा लोकसेवाबाट उपयुक्त दरबन्दी कोटाहरू खुलेको छैन, जसले गर्दा जो देशमै बसेर सेवा गर्न चाहनेहरूले मौका पाएका छैनन् । स्वास्थ्य जनशक्ति बिदेशिने क्रम बढिरहेको छ ।’ 

लामो समय गहन अध्ययन गरेर पढ्नुपर्ने र काम पनि त्यस्तै मान्छेको जीवनमरणसंगै जोडिएको पेसा भएकाले चिकित्सकहरूको सेवा सुविधा पनि त्यही अनुसारको हुने भएकाले चिकित्सकहरूलाई विशेष खालको सेवा सुविधा दिनुपर्ने हो । तर अन्य सरकारी कर्मचारी र चिकित्सकहरूको पारिश्रमिकमा समानता छ । स्वास्थ्यलाई निजामतीभन्दा फरक खालको सेवा सुविधा दिनुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए । 

डाक्टर पेशामा घट्दो क्रेज

विगत हेर्ने हो भने चिकित्सकीय शिक्षा र पेशामा जसरी यसका बेथितिहरू उजागर भएर आइरहेको छ यसले चिकित्सकहरू साँचिक्कै दुःखमा परेका छन् भन्ने बुझाई जनमानसमा छ । त्यसले गर्दा केही हदसम्म आकर्षणमा कमी आइरहेको डा. बराल बताउँछन् । 

नेपालमै पढेका र बाहिरबाट पढेर आएका चिकित्सकहरूलाई देशमै सेवा गर्ने वातावरण नबन्दा धेरैजसो चिकित्सक विदेश पलायन भइरहेका छन् भने नेपालमै भएका चिकित्सकहरू पनि कोही शहर केन्द्रित छन् भने कोही बेरोजगार भएर बस्नुपरेको स्थिति छ । 

आम नागरिकले चाहिने ठाउँमा सेवा पाएको अवस्था छैन । त्यसैले अब नयाँ उत्पादन नगर्ने एमबीबीएस गरेका चिकित्सकहरूलाई नेपालमै रेजिडेन्सी गर्न सरकारी मेडिकल कलेजहरूमा अलिकति सिट बढाउन सकियो भने उनीहरूको व्यवस्थापनसँगै जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने उनको तर्क छ ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की भन्छन्– ‘कतिपय चिकित्सकहरू आफ्नो इच्छा बाहेक पनि पढेका छन् । यो पनि यौटा कारण हो भने अर्को पढाई खर्च धेरै छ । सुविधा जुन हिसाबले दिनुपर्ने हो त्यो हिसाबले पाइँदैन । आफैँमा एकदमै कठोर मेहेनत गर्नुपर्ने  पेशा भएकाले जो कोहीले संयम धारण गर्नै सक्दैन ।’

पढ्दा ७२ घण्टसम्म निरन्तर ड्यूटी गर्नुपर्छ । पढिसकेपछि पनि ओभरटाइम काम गरेर पैसा कमाउने हो । अब्बल भइयो भने मात्रै स्थापित हुने  हो । यसले गर्दा पनि गाह्रो भएको छ भने अर्को कुरा भनेको एकातिर उत्पादन बढिरहेको छ । दरबन्दी खुलाइएको छैन । जसले गर्दा निजी मेडिकल कलेजहरूले शोषण गरिरहेको उनले बताए ।  

‘त्यस्तै यस विषयमा सरकारको नीति नै मिलिरहेको छैन । कस्तो भने सरकारले छात्रवृत्ति र करारका लागि भनेर ५–६ अर्ब खर्च गर्छ । खर्च गरेको २ वर्षमै चिकित्सकहरू विदेश पलायन हुन्छन् । तर स्थायी दरबन्दीमा कहिल्यै पनि खर्च गर्दैन’ अध्यक्ष कार्कीले भने । 

त्यसैले जबसम्म सरकारले आफ्नो स्वास्थ्य नीतिमा मानवीय स्रोत महत्त्वपूर्ण हो भनेर ठान्दैन र परिपूर्ति गर्दैन भने यो समस्या कहिल्यै पनि समाधान नहुने उनको बुझाई छ ।  

चिकित्सक पेशामा शोषण धेरै नै छ । जस्तै अन्य पालामा सरकारले नै पढाउँदा त्यसबापतको सेवा गर्नुपर्ने छैन । त्यस्तै पढाइमा पनि अन्य पेशा जस्तो छैन । जाँच हुन्छ ६ महिनासम्म रिजल्ट हुँदैन । सेवा सुविधा भनेजस्तो हुँदैन यस्ता विभिन्न कारणले गर्दा पेशाप्रति वितृष्णा बढ्दै गएको अध्यक्ष कार्कीको ठहर छ । 

कति छन् नेपालमा चिकित्सक ?

नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार ४५ हजार चिकित्सक दर्ता छन् । यो भनेको नेपालको जनसंख्याको उपचारका लागि चाहिने जनशक्ति पर्याप्त हो । 

तर ती मध्ये नेपालमा जम्माजम्मी १० हजारले मात्रै रोजगारी पाएका होलान् कति विदेश गए कति बेरोजगार छन् त्यसको यकिन तथ्याङ्क सरकारसँग नभएको डा. कार्की बताउँछन् । 

‘यदि सरकारले गर्ने हो र चाहने हो भने एउटा आधारभूत अस्पतालमा ५ जनाकै दरबन्दी खोल्ने हो भने ३५ सय ४ हजारले रोजगारी पाउँथे । तर सरकारले त्यसो गर्दैन । खाली छात्रवृत्ति करार, विकास समिति यस्तै यस्तैमा भुलिरहेको छ’ कार्कीले भने । 

त्यस्तै अन्य कुराहरू भौतिक सुरक्षा छैन राजनीतिक सुरक्षा छैन । आर्थिक सुरक्षा छैन काम लामो समय गर्नुपर्छ । २०५८ सालदेखि नयाँ दरबन्दी सरकारले खुलाएको छैन । तत्काल दरबन्दी खोल्ने हो भने घटीमा १५ हजार दरबन्दी खोल्नुपर्छ । अहिले १२ सय संघीय सरकारको हो । ७ वटै प्रदेश सरकार गर्दा ७–८ सय र अरु गर्दा २ हजार जति होलान् । त्यसमा पनि कति विकास समिति करार सबै मिलाएर हो उनले भने । 

पढाइ खर्च डेढ करोड बढी 

एमबीबीएस पढ्न ट्युसन फी काठमाडौं बाहिर ४४ लाख हो भने काठमाडौंभित्र ४० लाखको हाराहारीमा छ । यससँगै जोडिएर आउने होस्टेल र किताब किन्दा १५– २० लाख अरु खर्च हुन्छ । सबै मिलाएर ६०–६५ लाख जति खर्च हुन आउने डा. बराल बताउँछन् । 

एमबीबीएस पास गरिसकेपछि एक वर्षको अनिवार्य अनुभव र छात्रवृत्ति नकटाई २ वर्षको अनुभव भएपछि मात्रै एमडी, एमएस गर्न पाइन्छ । त्यसमा पनि सिट संख्या कम छ । अहिलेको अवस्था हेर्ने हो भने हजार ११ सय जति सिट छ । जबकी एमबीबीएस उत्पादन वार्षिक ३ हजार भन्दा माथि छ उनले भने । 

उनीहरूको सिट मिलान पनि भएको छैन भने पैसा तिरेर पढ्दा नेपालमा २४ लाख रुपैयाँ कलेजलाई बुझाएर रेजिडेन्सी गर्नुपर्ने हुन्छ । त्यस्तै खान बस्न गरेर ३ वर्षसम्म ३०–३५ लाख खर्च लाग्छ । यत्तिले मात्रै पुग्दैन विषय विशेषज्ञता हासिल गर्न डीएम, एमसीएच गर्नुपर्छ । त्यो गर्दा २२–२३ लाख खर्च हुन्छ । यो सबै जोड्ने हो भने डेढ करोडमाथि खर्च लाग्ने डा. बराल बताउँछन् । 

खर्च अत्यधिक तर तलब सुविधा न्यून भएको हिसाबले चिकित्सकहरूप्रति अन्याय नै भएको उनको बुझाई छ । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ३० बजे

‘संविधानलाई धक्का लागेको छ, समयमै निर्वाचन गरेर ट्रयाकमा ल्याउनुपर्छ’

काठमाडौं– संविधानविद् र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी

आगोले निभाउन नसकेको नेताको अहं

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ