काठमाडौं– गृहमन्त्री रमेश लेखक ‘भिजिट भिसा’ प्रकरणमा मुछिएपछि प्रतिपक्षी दलहरू सरकारलाई घेराउ गर्ने रणनीतिमा लागेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले लेखक ‘निर्दोष’ रहेको दावी गरिरहँदा प्रतिपक्ष दलहरू सरकार घेराउको राणनीतिमा लागेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित गृहमातहतको अध्यागमन कार्यालयका प्रमुख सचसहचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका छन् । उक्त प्रकरणमा गृहमन्त्रीकै सचिवालयका सदस्यसमेत जोडिएका छन् ।
गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । विवादास्पद पृष्ठभूमिका भट्टराईलाई पठाएलगत्तै अध्यागमनमा ‘भिजिट भिसा’ को सेटिङ बढेको थियो ।
अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि गृहले मंगलबार साँझ भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानेको थियो । तर, सरूवाको रमाना पत्र नबुझ्नै सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा जोडिएपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठकमार्फत् गृहमन्त्री लेखकले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’
माओवादी केन्द्रले पदबाट राजीनामा दिन गृहमन्त्री लेखकले जति ढिलो गर्छन्, त्यति नै राज्यको शाख पनि गिर्दै जाने प्रष्ट पारेको छ । ‘गृहमन्त्री रमेश लेखकले तुरुन्त राजीनामा दिनुपर्छ,’ प्रवक्ता सापकोटाले भने, ‘जति ढिलो भयो, उति राज्यको शाख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष छ ।’
यसअघि अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने जेठ १३ (मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने प्रतिक्रिया दिइसकेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताएका थिए ।
यद्यपि, रास्वपाले मंगलबारको संसद् बैठकमा पार्टीका सांसदहरूले निर्वाचह गर्ने भूमिकाकाबारे भने प्रष्ट पारिसकेको छैन । मंगलबारको संसद् बैठकमा गृहमन्त्री लेखकले ‘भिजिट भिसा’ प्रकरणमा आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिने बताइरहेका छन् ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै संसद् अवरुद्ध गर्ने चेतवानी दिइसेकको छ ।
जेठ १५ गते हुने आन्दोलनको तयारीबारे गोकर्णेश्वरको तारेभीरमा आइतबार आयोजित अगुवा कार्यकर्ताको भेलामा प्रमुख सचेतक शाहीले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलनमा साथ हुने बताए ।
‘हामी भ्रष्टाचारविरुद्ध एकजुट छौं । एकजुट भइसकेपछि चाहे जोसुकैलाई होस् हाम्रो साथ रहन्छ,’ उनले भने ।
शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग्नुपर्ने बताए ।
थुनामा रहेका व्यक्तिले प्रधानमन्त्रीका स्वकीय सचिवको पनि नाम लिएको प्रसंग कोट्याउँदै शाहीले यसबारे प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने बताए ।
‘भिजिट भिसा प्रकरणबारे हामी पनि १३ गतेको संसद्मा जवाफ माग्छौँ । गृहमन्त्री मात्र होइन, प्रधानमन्त्रीको पनि राजीनामा माग्छौँ । थुनामा रहेका व्यक्तिले स्वयम् प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ मागेको भनेर बयान दिएका छन् । प्रधानमन्त्री ओलीले यसको जवाफ पर्सी संसद्मा दिनुपर्छ’, उनले भने ।
मंगलबारको संसद् बैठकमा प्रस्तुत हुने विषयबारे पार्टीले बैठक राखेर सामूहिक निर्णय गर्ने प्रमुख सचेतक शाहीले बताए ।
त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शंकाको घेरामा परेको छ ।
गृहमन्त्री लेखकले गत शनिबार कांग्रेस धनुषाको पार्टी कार्यालयमा कार्यकर्ताहरूसँगको छलफलका क्रममा भनेका थिए, ‘दुई–चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ । यसमा चिन्ता लिनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन ।’
प्रतिक्रिया