काठमाडौं– एउटा गम्भीर घटनाका कारण अचानक चर्चामा आएकी रोशनी शाही त्यसैगरि अस्ताएकी छन् । ‘जीवनदेखि हार खाएँ’ भन्दै रोशनी यो संसारबाट बिदा भएकी छन् ।
भक्तपुरको सूर्यविनायकस्थित बृहस्पति मार्ग डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी आइतबार कोठाभित्रै मृत भेटिइन् । दिउँसो २ बजेतिर आफ्नै कोठामा भित्रबाट चुकुल लगाई घोप्टो परेको अवस्थामा उनी निष्प्राण भेटिकी हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । खबरहबसँग कुरा गर्दै उनले भने, ‘नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेर तिम्रो भविष्यको लागि केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ भनेर लेखेकी छन् । उनले उक्त नोटमा बाँकेको कोहलपुरमा रहेको १७ कठ्ठा जग्गाबारे पनि उल्लेख गरेकी छन् ।
रोशनीका पति चित्रजंग १५ दिनदेखि विराटनगरमा थिए । लामो समयसम्म ढोका नखुलेपछि घरबेटीले उनका पतिलाई फोन गरेर जानकारी गराए । लामो समयदेखि डिप्रेसनको औषधि खाँदै आएकाले ढोका फोडेर हेर्न चित्रजंगले नै भने । त्यसपछि घरधनीले प्रहरी बोलाएर ढोका फुटाएर हेर्दा रोशनी मृत अवस्थामा भेटिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले ओभरडोज औषधी खाएको देखाएको छ । ‘औषधीको ओभर डोज हो वा होइन परीक्षणपछि थाहा हुन्छ । घटनाको प्रकृति हेर्दा ओभरडोज शंका गर्न सकिन्छ । शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ’, न्यौपानेले भने ।
को हुन् रोशनी ?
रोशनी जाजरकोटकी स्थायीबासी थिइन् । उनका एक छोरा अमेरिका र छोरी पनि विदेशमा छन् । उनले चित्रजंगसँग प्रेम विवाह गरेकी थिइन् । उनले संसद् सचिवालयमा करारमा काम पनि गरिन् । २०६८ सालमा आमाको दुर्घटनामा मृत्यु भएपछि रोशनी विक्षिप्त बनेकी थिइन् । त्यही घटनापछि उनी डिप्रेसनबाट गुज्रिरहेकी थिइन् ।
डिप्रेसनको औषधीले छिनछिनमै स्वभाव परिवर्तन गथ्र्यो । बिरामी भएपछि साथी, सहकर्मी, आफन्तसहित श्रीमान्समेत टाढिँँदै गए । उनले आफूलाई एक्लो महसुस गर्न थालिन् । एक्लोपनले उनलाई मर्न लागेको केही अन्तवार्तामा बताएकी थिइन् । रोशनी ‘क्लोनाज’ नामक औधषी सेवन गर्थिन् ।
एक सामान्य करारकी कर्मचारी मिडियामा अन्तवार्ता दिने गरी कसरी भइन् त ? नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग जोडिए पनि उनको जीवनले अर्कै मोड लिन्छ । २०७६ असोजमा रोशनीले तत्कालीन सभामुख महरामाथि जबरजस्ती करणीको आरोप लगाइन् ।
सशस्त्र युद्ध सुरु हुनुभन्दा अगाडि उनी रोल्पामा शिक्षक थिए । माओवादी द्वन्द्वको उत्कर्षका बेला पार्टी प्रवक्ता र सरकारसँग वार्ता टोलीका संयोजक पनि भए । माओवादी शान्तिप्रक्रियामा आएसँगै उनले पार्टी नेतृत्वसँग बार्गेनिङ गरेर सधँै लाभको पद लिए । तीन पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भए ।
तत्कालीन नेकपा एमाले र माओवादीबीचको गठबन्धनको सरकार हुँदा २०७४ सालमा महरा सभामुख बने । पार्टीमा अरु योगदान गर्ने धेरै नेताहरुलाई बाइपास गरियो । शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरुमध्ये सबैभन्दा बढी लाभको पद लिनेमा पर्छन् महरा । तर २०७६ सालको दसैँको मुखमा उनलाई जबरजस्ती करणीको आरोप लाग्यो ।
उक्त प्रकरणमा महरा पक्राउ परेपछि मिडियाले रोशनी पछ्याए । अनुसन्धानका क्रममा प्रहरीले सीसीटीभी फुटेजमा महारा रोशनीको तीनकुनेस्थित कोठामा गएको देखिन्छ । साथै, उनको शरीरमा पिटेका चोट प्रशस्त थिए ।
महरा र रोशनीबीच लामो समयदेखिको चिनजान थियो । त्यसदिन रोशनीका श्रीमान् घर नभएको बेला महरा त्यहाँ पुगेका थिए । उनले बलात्कार गर्नुका साथै कुटपिट गरेको आरोप पनि रोशनीले लगाएकी थिइन् । महराले जबरजस्ती मदिरा पिलाउँदै बलात्कार गरेको बताएकी थिइन् । महराको भाँचिएको चस्मा आफूसँग सुरक्षित रहेको बताएकी थिइन् ।
श्रीमान् तनहुँबाट फर्किएपछि उजुरी दिन जान्छु भनेर बसेकी रोशनीलाई दुई दिन बित्न नपाउदै आरोप फिर्ता लिन दबाब दिइयो । श्रीमान् रोशनीलाई नभेटी सिधै महरा भेट्न पुगेका थिए । महराको नाम बाहिर ल्याएर गल्ती गरिस् । कुरा किन बाहिर ल्याइस् भनेर थर्काएको उनले त्यही बेला बताएकी थिइन् ।
‘पछि म ‘डिप्रेसनको रोगी हुँ, महरा सर निर्दोष हुनुहुन्छ’ भनेर रोशनी महानगरीय प्रहरी वृत्त बानेश्वर पुगेकी थिइन् । कहिले महराले बलात्कार गरेको हो भन्थिन् । कहिले होइन भन्ने स्थितिमा पुगेकी थिइन् । दुइटा कुरा आउन थालेपछि मानिसहरुले आफैँ न्यायाधीश बनेर उनलाई ‘पागल’ करार गरे । हिसाब नमिलेर घटना बाहिर ल्याएको आरोपसम्म लगाए ।
बर्षौदेखिको चिनजान भएको र घरमा आउजाउ गर्नेले कसरी बलात्कार गर्न सक्छ ? भनेर उल्टै रोशनीमाथि प्रश्न उठाइयो । महरालाई आरोप लगाएपछि उनलाई मोबाइल फोन प्रयोग गर्न बन्देज लगाइयो । तर उनको फेसबुक पेजबाट महरा निर्दोष भएको स्टाटस भने आइरहन्थ्यो ।
महराले राजनीतिक शक्ति प्रयोग गरेर सफाइ पाए । नेपाली कांग्रेस र नेकपा एमालेले उनको राजनीतिक भविष्य सिद्याउन रोशनी प्रयोग गरेको भनेर महराको पक्षपोषण गर्न थाले । मानसिक बिरामीको आरोप सत्य नहुने भनेर चोख्याउने कोसिस गरे । तर महरा त्यसपछि पनि अनेक विवादमा फसेर राजनीतिक रुपमा सेलाउँदै गए ।
फ्रिक्वेन्सी वितरण, चिनियाँसँग मागेको ५० करोडको टेप काण्ड, लडाकुको रकम भ्रष्टाचार, सुनकाण्ड लगायत विवाद उनीसँग जोडिएका थिए । छोरा निर्मल महरासमेत विवादमा मुछिँदा तनाव बढ्दै गयो । सबै पक्षबाट ओरालो लाग्दै गर्दा महाराकी पत्नीकोसमेत निधन भयो ।
समयक्रमसँगै जनताले ठूला घटना र दुर्घटना बिर्सिदै जान्छन् । महरा र रोशनी पनि आमनागरिकको मानसपटलबाट धमिलो बन्दै गएका थिए । तर अचानक उक्त घटनाको ७ वर्षपछि रोशनी मृत भेटिएपछि उक्त घटना चर्चामा आएको छ ।
अर्काको जीवन बर्बाद गर्नेको मरण यस्तै दुखदायी हुने आरोप रोशनीमाथि लगाइएको छ । हत्या वा आत्महत्या के हो ? भनेर आममानिसले सोधेका छन् । केहीले यो आत्महत्या नभएर हत्या नै भएको टिप्पणी पनि गरिरहेका छन् । यो देश महिलाको लागि नभएको भन्दै निष्पक्ष छानबिनको माग पनि उठेको छ ।
न्याय माग्दै गरेका पीडितको हालत यस्तै बनाइने भन्दै केहीले चिन्ता व्यक्त गरिरहेका छन् । रोशनीको मृत्युमा जर्बजस्ती महरालाई जोेड्न नहुने अर्काथरीको तर्क छ ।
उनी डिप्रेसनको बिरामी थिइन् । रोगले थला पर्दै जाँदा श्रीमान् र छोराछोरीको साथ पाइनन् । जीवनसाथी भएर पनि उनी एक्लै थिइन् । सन्तान भएर पनि उनी सहाराविहीन भइन् । त्यसमाथि दिनानुदिन डिप्रेसनले थला पार्दा उनी भित्रैबाट टुटेकी थिइन् ।
प्रहरीको अनुसन्धानले उनको मृत्युबारे एक निष्कर्ष दिनेछ । तर उनी जुन अवस्थाबाट गुज्रिरहेकी थिइन् । त्यसबेला हेरचाह र उपचारमा न उनको परिवारले सोच्यो । न राज्यले सोच्यो ।
एक शक्तिशाली पीडकसँग लड्न उनले गरेको साहसलाई पागलको संज्ञा दिइयो । उनी अनेक धम्कीबाट गुज्रिइन् । शारीरिक र मानसिक रुपमा कमजोर बनाएर दिइने पीडाको हिसाब कसले गर्छ ? डिप्रेसनको उपचारसँगै तिमी सुरक्षित छौ भन्ने कुराको विश्वस्त दिलाउने कसले ? मृत्युभन्दा अगाडि उनको लागि गर्नुपर्ने थुप्रै कुरा थिए ।
मृत्युपछि पनि सञ्चारमाध्यमले ‘महरालाई जेल पुर्याउने रोशनी’ मृत फेला भनेर समाचारको शीर्षक बनाइदिएका छन् । तर महरा आफ्नो दुश्कर्मले जेल परेका कुरा पनि सञ्चारमाध्यमले बिर्सिदिएका छन् ।
प्रतिक्रिया