मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल | Khabarhub Khabarhub

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए । उनले भने, ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि बढ्छौँ । साथै हात्तीबाट हुने क्षतिमा राहत दिने कार्यविधिलाई पनि अझ सहज र सरल बनाउँदैछौँ ।’

सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ ।

वन राज्यमन्त्री रुपा विकले हात्तीको क्षतिबाट गरिब समुदाय बढी प्रभावित हुने गरेको उल्लेख गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणको विषय अब वन मन्त्रालयको मात्र नभई अन्य मन्त्रालय र सबै तहका सरकारको चासोको विषय बन्नुपर्ने उल्लेख गरिन् ।

मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले पछिल्लो समय मानव–हात्ती द्वन्द्व भयावह बन्दै गएको उल्लेख गर्दै समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा जोड दिए ।

साथै उनले प्रभावित मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाइने जानकारी दिए ।

पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा २३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् । अनतर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ नेपालका राष्ट्रिय प्रतिनिधि डा. नरेन्द्रमानबाबु प्रधानले सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने तर्क गरे ।

विश्व वन्य जन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदीले हात्तीको आक्रमणबाट बच्न पछिल्लो समय सुरु गरिएको फेन्सिङ तार प्रविधि प्रभावकारी बनेको उल्लेख गर्दै स्थलमा खटिने कर्मचारीलाई स्रोत र सवारीसाधनले चुस्त बनाउनुपर्ने सुझाव दिए ।

मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि हालसम्म क्षति गर्ने हात्तीलाई सुरक्षित स्थानमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार र छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ५३ बजे

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

चितवन– चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८

बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड

मुस्ताङमा उठाउन थालियो नदी उत्खनन कर

मुस्ताङ– कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिटी, बालुवाको उत्खनन,

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’

पर्सामा लागूऔषध दुर्व्यसनीविरुद्ध जनचेतना अभियान

वीरगञ्ज– खुला सिमानाका कारण लागूऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले