काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबारे बोलेको भन्दै केही दिनयता सामाजिक सञ्जाल एउटा अडियो/भिडियो भाइरल बनाइएको छ ।
खासगरि मल्टिमिडिया प्लाटफर्म टिकटकमा उक्त अडियो/भिडियो तीव्र गतिमा भाइरल बनाइएको छ । यो भिडियो राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका कार्यकर्ताले पनि सामाजिक सञ्जालमा फैल्याएर चर्चा गराइरहेका छन् ।
जसमा पूर्वपर्यटनमन्त्रीसमेत रहेका योगेशले अर्थमन्त्रीले बजेट लैजाने भए पहिले १० प्रतिशत कमिशन दिनु भन्ने गरेको कुरा बोलेका छन् । उनले नाम नलिए पनि अहिले संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल छन् ।
यो भिडियो सुनेपछि जोकोहीलाई लाग्न सक्छ, एकै दलका सचिव र उपाध्यक्षबीच ठूलै खटपट परेको रहेछ । संसद्मा समेत बजेटलाई लिएर आलोचना भइरहेका बेला योगेशले एक वर्षअघि बोलेको उक्त भिडियोले दुई नेताबीच दरार ल्याइदिने जोखिम पनि देखिएको छ ।
तर, यो भिडियो अहिलेको होइन र, योगेशले अहिलेको सन्दर्भमा बोलेका पनि होइनन् । यो भिडियो २०८१ साउन २ गतेको हो । त्यसबेला उनले हिमालय टेलिभिजनमा टीकाराम यात्रीसँग १ घण्टा २ मिनेट ५७ सेकेन्ड लामो अन्तर्वार्ता दिएका थिए । हो, त्यही अन्तर्वार्ताबाट काटेर उक्त भिडियोको एउटा अंश अहिले भाइरल बनाइएको छ ।
टिकटक भिडियो यहाँ क्लिक गरेर हेर्नुस्
त्यसबेला नेता भट्टराई एमालेको मधेश प्रदेश इन्चार्ज थिए । उनी २०८१ साउन १७ गतेसम्म मधेश प्रदेश इन्चार्जका रुपमा रहे । एमालेको मधेश प्रदेश इन्चार्जका रुपमा उनले त्यसबेला यात्रीसँगको संवादका क्रममा त्यसबेलाको मधेश सरकारमा रहेको बेथिति र अनियमितताबारे बोलेका थिए ।
भट्टराईले उक्त अन्तर्वार्ता दिनुअघि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नेपाली कांग्रेससमेत समाहित भएर २०८१ असार ३१ गते गठबन्धन सरकार बनेको थियो । उक्त सरकार बन्नुअघि संघदेखि प्रदेशसम्म माओवादी र कांग्रेसको गठबन्धन थियो ।
त्यही गठबन्धनका क्रममा संयोगवश मधेश सरकारमा अर्थमन्त्री थिए भरत साह । साहले आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । तर भट्टराईले यात्रीसँगको अन्तर्वार्तामा साह र विगतका अर्थमन्त्रीकोसमेत नाम नलिई मधेश प्रदेशमा देखिएको विकृतिबारे तिखो टिप्पणी गरेका थिए । सचिव भट्टराईले आफूले उक्त टिप्पणी कुनै व्यक्तिलक्षितभन्दा आमप्रवृत्तिलाई लिएर गरेको बताएका छन् ।
११ महिनाअघि मधेश प्रदेशमा देखिएको विकृतिबारे गरिएको त्यही तिखो टिप्पणीलाई अहिले भाइरल बनाइएको हो । त्यो अन्तर्वार्ता २०८१ असार ३१ गते ओली प्रधाामन्त्री बनेपछि योगेश मन्त्री नभएको सन्दर्भमा यात्रीले लिएका थिए ।
जहाँ भट्टराईले अन्तर्वार्ताको ३६.२४ मिनेटदेखि मधेश प्रदेश सरकारको बेथितिबारे कडा टिप्पणी गरेका थिए । जसमा जनमत संग्रह हुने हो भने प्रदेश सरकार नै नहुने अवस्था हुने पनि उनले भनेका छन् ।
त्यसपछि ३६.५५ मिनेटमा उनले मधेशको बजेट कार्यान्वयन अचम्म र गजबको रहेको बताएका छन् । उनले मधेश प्रदेशका अर्थमन्त्रीहरूले बजेट लैजाने भए १० प्रतिशत कमिशन खातामा हालिदिनु भन्ने गरेको कुरा उठाएका छन् ।
‘अर्थमन्त्रीले पहिले नै तिम्रोमा योजना हालिदिने हो भने अग्रीम १० प्रतिशत ल्याएर बैंकमा हालिदिनु भन्ने गरेका रहेछन् । त्यो पनि आफ्ना लागि’, योगेशले कसैको नाम नलिई भनेका छन् ।
यात्रीले आफ्ना लागि हो ? भनेर सोधेपछि भट्टराईले मधेशका अर्थमन्त्रीले आफ्ना लागि माग्ने गरेको दोहोर्याएका छन् ।
त्यसपछि यात्रीले यो प्रतिशत (पीसी) कुरा तत्कालीन राजा वीरेन्द्रले सुरू गरेको व्याख्या गर्छन् । अन्तर्वार्तामा उनले ‘यो पीसीको कुरा २०३२ सालमा आएको रहेछ । राजा वीरेन्द्र धनकुटामा जाँदा एकजना इन्जिनियरले तलबले पुगेन भनेपछि पीसी दिने व्यवस्था राजा वीरेन्द्रले गरेका रहेछन्’, यात्रीले स्मरण गराएका छन् ।
त्यससँगै भट्टराईले त्यही पीसी मधेशमा आमअभ्यास भएको सुनाउँछन् । ‘यो बजेट लानुअघि नै १० प्रतिशत अर्थमन्त्रीको खातामा हालिदिनुपर्ने रहेछ । आमअभ्यास हो । बजेट गएपछि अर्को १० प्रतिशत फेरि १० प्रतिशत कसलाई भनेपछि अर्थमन्त्रीलाई’, उनले अगाडि भनेका छन् ।
उनले यसबारेमा स्थानीय तहमा एमालेका साथीहरूलाई सोध्दा पनि त्यही भोग्नुपरेको जवाफ दिएको त्यसमा सुनाएका छन् । ‘कति ठाउँमा त एमालेका साथीहरूलाई पनि सोधेँ । उहाँहरूले पनि के गर्नु कमरेड पहिले १० प्रतिशत दिनु भने अनि त्यही १० प्रतिशत दिएर योजना ल्याएका हौँ’, जनप्रतिनिधिको भनाइबारे योगेशले भनेका थिए, ‘त्यो १० प्रतिशत कुनै बैंक खाता दिएको हुन्छ, त्यहाँ लगेर हालिदिने काम हुन्छ । त्यो अर्थमन्त्रीकै खाता हुनेरहेछ, त्यहाँ जम्मा हुन्छ ।’
उनले आफू एमालेको प्रदेश इन्चार्ज भएर बस्दा मधेशमा भ्रष्टाचार संस्थागत र पारदर्शी रहेको देखेको पनि भिडियोमा बताएका छन् । ‘मधेशमा भ्रष्टाचार घोषित रुपमै छ । महालेखाको प्रतिवेदनमा धेरै बेरूजु मधेशकै छन् । अन्यत्र पनि स्वच्छ र सफा छ भनेको होइन, मधेशमा भ्रष्टाचार धेरै छ। मधेशको अभ्यास असभ्य नै रहेको छ’, उनले भनेका थिए, ‘त्यसलाई सुधार्न सकिन्छ । अहिले जनमतको साथी (शतिशकुमार सिंह) मुख्यमन्त्री हुनुहुन्छ । एमाले पनि त्यस सरकारमा सामेल छ ।’
भट्टराईले त्यही बेले आफूहरूले संसदीय दलको बैठकमा यो परम्परा रोकिनुपर्छ भनेका सुनाए । ‘अग्रिम भुक्तानी र १० प्रतिशत आयो भने सिधै सरकारबाट निकालिन्छ भनेका छौँ’, उनले भनेका थिए ।
प्रतिक्रिया
यसबारे योगेशले खबरहबसँग कुरा गर्दै एक वर्षअघि मधेश सरकारबारे बोलेको कुरालाई अहिले जबरजस्ती अर्थमन्त्री पौडेलसँग जुधाउन खोजिएको बताए ।
उनले त्यसबेला मधेशका कुनै मन्त्रीलाई तोकेर भन्दा पनि आम प्रवृत्ति र समस्यालाई लिएर आफूले त्यसबेला उक्त टिप्पणी गरेको बताए । ‘त्यो कुनै व्यक्तिलाई तोकेर गरिएको टिप्पणी थिएन। मधेशको आमप्रचलन र जनस्तरको टिप्पणीलाई सन्दर्भ बनाएर राखेको कुरा थियो’, उनले भने ।
‘एकवर्ष अघिको कुरा अहिले संघीय सरकारका अर्थमन्त्री बिष्णु पौडेलसँग जोडेर गलत प्रचार गरेका रहेछन्’, उनले भने, ‘पुरानो र अरू नै सन्दर्भको भिडियो काटेर गरिने कु-प्रचार साइबर अपराध हो ।’
प्रतिक्रिया