प्राचीन शिव मन्दिरको भग्नावशेषको निहुँमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया ? « Khabarhub

प्राचीन शिव मन्दिरको भग्नावशेषको निहुँमा किन लड्दैछन् थाइल्याण्ड र कम्बोडिया ?


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच बिहीबारदेखि शुरु भएको तनाव आज तेस्रो दिन शनिबार पनि जारी छ । हालसम्म दुबै पक्षका ३२ जनाले ज्यान गुमाइसकेका छन् । दक्षिणपूर्वी एशियामा जारी द्वन्द्वका कारण अरु एक लाखभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

सीमा क्षेत्रमा कायम विवादले पछिल्लो द्वन्द्वको रुप लिएको हो । यो विवाद एक सय वर्षभन्दा पुरानो हो । कम्बोडियालाई फ्रान्सले उपनिवेश बनाएको थियो । फ्रान्सेली उपनिवेशकालमा कम्बोडियाको सीमा निर्धारण गरिएको थियो ।

सन् २००८ मा कम्बोडियाले विवादास्पद क्षेत्रमा रहेको ११ औँ शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरेपछि विवाद फेरि बल्झेको थियो ।

थाइल्याण्डले त्यसबेला कम्बोडियाली कदमको कडा विरोध गरेको थियो । त्यसयता सीमा विवादलाई लिएर दुबै देशबीच बारम्बार झडप हुँदै आएका छन् ।

दुई देशबीचको तनाव मे महिनामा झनै बढेर गयो । त्यसबेला दुई मुलुकबीच भएको झडपका क्रममा एक जना कम्बोडियाली सैनिकले ज्यान गुमाएका थिए । बिहीबार फेरि द्वन्द्व चर्किएपछि दुई देशको सम्बन्ध पछिल्लो एक दशकमा सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।

पछिल्ला दुई महिनामा दुबै देशले एकअर्काको सीमामा कडाई गरेका छन् । कम्बोडियाले थाइल्याण्डबाट फलफूल र तरकारीजस्ता सामग्रीको आयातमा रोक लगाएको छ । यसका साथै कम्बोडियाले सीमापार विद्युत् र इन्टरनेट सेवा प्रवाहमा पनि बन्देज लगाएको छ ।

अघिल्ला केही सातादेखि दुवै देशले सीमामा सैनिकहरूको तैनाथी समेत बढाएका छन् ।

युनेस्कोका अनुसार उत्तरी कम्बोडियाको समथर मैदान नजिक प्रेह विहार मन्दिर अवस्थित छ । यो मन्दिर एउटा अग्लो पठारको किनारमा रहेको छ । यो भगवान् शिवको मन्दिर हो । यस मन्दिर परिसरमा विभिन्न धार्मिक संरचनाहरू निर्माण गरिएको छ । यो स्थान कम्बोडियाली नागरिकहरूको लागि धर्म र आस्थाको केन्द्र हो ।

यसको निर्माणकार्य ११ औँ शताब्दीमा सम्पन्न भएको विश्वास गरिन्छ । यद्यपि यसको ऐतिहासिक पृष्ठभूमि भने नवौँ शताब्दीसम्म पुग्दछ । त्यसबेला सो क्षेत्रमा तपस्वी आश्रमको स्थापना गरिएको थियो ।

दुर्गम क्षेत्रमा रहेको यो स्थानको राम्रोसँग संरक्षण गरिएको छ । यो मन्दिर वास्तुकलाको हिसाबले पनि उत्कृष्ट मानिन्छ । यस मन्दिरलाई कलात्मक ढुंगाहरूले सजाइएको छ ।

यस मन्दिरसम्बन्धी विवादमा अन्तर्राष्ट्रिय न्यायालयले सन् १९६२ जुन १५ मा एउटा निर्णय सुनाएको थियो, जुन अझै पनि विवादको घेरामा छ ।

त्यसबेला कम्बोडियाले उक्त मन्दिर परिसरमा थाइल्याण्डले कब्जा जमाएको आरोप लगाएको थियो । कम्बोडियाले अन्तर्राष्ट्रिय अदालतसँग मन्दिर परिसर क्षेत्रमा आफूलाई सम्पूर्ण अधिकार दिन र सन् १९५४ देखि त्यहाँ तैनाथ थाई सैनिक हटाउन आदेश दिन माग राख्दै उजुरी गरेको थियो ।

अन्तर्राष्ट्रिय न्यायालयले सो मन्दिरका विषयमा कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो । थाइल्याण्डले सुरुमा अदालतको अधिकार क्षेत्रलाई लिएर आपत्ति जनाएको थियो ।

१९६२ जुन १५ मा गरिएको अन्तिम फैसलामा अदालतले सन् १९०४ मा कम्बोडियाको तत्कालीन उपनिवेशिक शासक फ्रान्स र तत्कालीन सायाम अधिराज्यबीच भएको सन्धिअनुसार विवादित क्षेत्र पानीढलो रेखाका आधारमा निर्धारण गरिएको थियो । पछि संयुक्त सीमा निर्धारण आयोगले बनाएको नक्सामा पनि मन्दिर कम्बोडियाको भूभागभित्र पर्ने देखाइएको थियो ।

थाइल्याण्डले उक्त नक्सा बाध्यकारी नभएको र त्यसलाई कहिल्यै स्वीकार नगरेको र गरेको भएपनि गलत बुझाइका आधारमा गरेको तर्क प्रस्तुत गरेको थियो । तर, अदालतले वास्तवमै उक्त नक्सालाई थाइल्याण्डले स्वीकार गरेको र उक्त मन्दिर कम्बोडियाली भूभागमा अवस्थित रहेको निष्कर्ष निकालेको थियो ।

न्यायालयले यससँगै थाइल्याण्डलाई मन्दिर क्षेत्रमा तैनाथ आफ्ना सबै सैनिक तथा प्रहरी बल फिर्ता गर्न आदेश दिएको थियो । साथै सन् १९५४ पछि मन्दिरबाट हटाइएको सम्पूर्ण सामग्री कम्बोडियालाई फिर्ता गर्नुपर्ने निर्णय पनि अदालतले सुनाएको थियो ।

थाइल्याण्ड र कम्बोडियाबीचको पछिल्लो तनाव भने बारुदी सुरुङ विष्फोट भएपछि उत्पन्न भएको हो । थाइल्याण्डले कम्बोडियामाथि विवादित सीमा क्षेत्रमा बारुदी सुरुङ निर्माण गरेको आरोप लगाउँदै आएको छ ।

सीमा क्षेत्रमा रहेको बारुदी सुरुङ विस्फोटमा एक जना थाई सैनिक घाइते भएपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो ।

त्यसपछि बिहीबार थाइल्याण्ड र कम्बोडियाबीच द्वन्द्व शुरु भयो । दुबै मुलुकले एक अर्कामाथि पहिला गोली चलाएको आरोप लगाएका छन् । थाई सैनिकको टोलीले सीमा क्षेत्रमा निगरानी गर्ने गतिविधिलाई बाधा पुर्‍याउँदै कम्बोडियाली सेनाले चालकरहित हवाइ उपकरण (ड्रोन) परिचालन गरेपछि तनाव शुरु भएको थाइल्याण्डको आरोप छ ।

थाइल्याण्डले दुई देशबीच जारी यो झडप ‘युद्धमा रुपान्तरण हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाईले यस झडपमा भारी हातहतियारको प्रयोग हुन थालेको बताएका छन् । पछिल्लो तनाव सीमा क्षेत्रमा फैलिँदै १२ स्थानसम्म पुगेको छ ।

थाइल्याण्डले कम्बोडियामाथि नागरिक बस्तीहरूमा गोलीबारी गरेको आरोप लगाएको छ र कम्बोडियाबाट प्रक्षेपण गरिएका रकेटहरूका दायरामा पर्ने सबै गाउँ खाली गराइएको छ ।

यसैबीच, कम्बोडियाले पनि थाइल्याण्डमाथि क्लस्टर हतियारहरूको प्रयोग गरेको आरोप लगाएको छ । यस्ता हतियारहरूले सर्वसाधारण नागरिकहरूलाई गम्भीर क्षति पुर्‍याउने भएकाले विश्वका अधिकांश मुलुकहरूले क्लस्टर हतियारहरूमा प्रतिबन्ध लगाएका छन् । यद्यपि, थाइल्याण्डले कम्बोडियाको यस आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

बीबीसीको सहयोगमा

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ५६ बजे

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ ।

कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

किमाथाङ्का– सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५