उहिलेका सगिनी अर्थात्‌ तीजका गीत | Khabarhub Khabarhub

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

तत्कालीन समाजमा महिलाले सगिनीमै व्यक्त गर्थे पीडा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ । अघिल्लो दिन दर खाइ भोलिपल्ट अर्थात्‌ आज निराहार व्रत बसिरहेका महिलाहरू नाचगानमा पनि रमाउँदैछन्‌ ।

तीज पर्वसँग गीतसङ्गीत पनि अकाट्य जोडिएको छ । नेपाली समाजमा महिलाहरूले ‘पितृसत्ता’ र चुल्होचौकोमा सासु लगायतको कठोर ‘बुहार्तन सत्ता’ भोग्दाको पीडा तीजकै गीतसङ्गीतमार्फत व्यक्त गर्ने गर्छन्‌ ।

भलै पछिल्लो शताब्दीमा शिक्षा विस्तार, लैङ्गिक समानता निम्ति राजनीतिक सङ्घर्षको परिणाम, महिला सशक्तिकरण तथा कानुनी सुधारका कारण अधिकतर महिलाहरू विभेदकारी सामाजिक सत्ताको जाँतोमा पिसिइनबाट जोगिएका छन्‌ । तर, ग्रामीण क्षेत्रमा उही सकस र शहरी क्षेत्रमा हिंसाको बदलिँदो चपेटामा महिलाहरू परिरहेका खबर सुन्नुपर्छ ।

आजभन्दा आधा शताब्दी अघि नेपाली समाजका महिलाहरूले तीजमा कस्ता गीत गाउँथे त ? ती गीतमा उनीहरू आफूले भोगेका पीडा कसरी व्यक्त गर्थे ? तीजका बेला गाइने सगिनी गीतमार्फत महिलाहरूले के भन्थे ? आधुनिक र स्वच्छन्द तीज मनाइरहँदा यो जिज्ञासा धेरैमा हुन सक्छ ।

बालविवाहको चलन, पुरुषहरू अध्ययन र रोजगारी निम्ति भारत जानुपर्ने बाध्यता, बहुविवाहलाई कानूनी मान्यता दिँदा छोरीचेलीले ब्यहोर्नुपर्ने सौतेनी हेलाहोचो, गरिबीमा नमेटिएका खानेलगाउने रहर, माइतीघर र बाआमाको सम्झना, युवती भइसकेकी नवयौवनाले बिहे गरी बालखैमा छाडेर परदेशी भएका श्रीमान फर्कँदा नचिनेका प्रसङ्ग, दाजूभाइ-दिदीबहिनीको प्रेम, एकाघरका एक महिलाले अर्की महिलालाई गर्ने द्वेष…यस्ता धेरै अनुभव र वेदनालाई तत्कालीन समाजका महिलाहरूले तीज गीतमार्फत व्यक्त गरेको पाइन्छ ।

संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक तथा शैक्षिक निकाय युनेस्कोका निमित्त नेपालको राष्ट्रिय आयोगले वि.सं. २०२३ मा प्रकाशन गरेको ‘नेपालका विभिन्न जाति र लोकगीत’ मा तत्कालीन समयमा नेपाली महिलाहरूले तीजका बेला गाउने गरेका केही गीत सङ्ग्रहित छ ।

सोही सङ्ग्रहमा सङ्ग्रहित ‘तीजको बेलामा गाइने गीत : सगिनी’ मा यस्तो लेखिएको छ :

तीज अर्थात् ऋषितर्पणीको बेलामा खासगरी जवान युवती माइती आउँदा महादीप बालेर नदीको सुसाइ र हावाको वहाइमा स्वर मिलाई सगिनी गाउने गर्दछन् ।

यस्तो गीतमा लामो लामो गीत पनि पाइन्छ । यसमा विशेष गरी घरमा आफूले भोग्नुपरेको दुःखको पनि वर्णन र माइतीमा आफ्नो स्नेहपात्र-लाई पुकार गर्ने र आफ्नो दु खमा काखी बजाउनेलाई नसुनाउने प्रण गर्दछन् ।

सगिनीको अर्को अर्थ छ- आफूसँग मिल्ने आफ्नो साथी र उसँग आफूले पाएको दुःख र सुख पोखी मनको बह सुनाइ मानसिक शान्ति लिने । सगिनीको केही नमूना तल दिइएका छन् :

(एक)

सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु
दुःख लुकाइद्यौ चरी सुख बुझाइद्यौ

बाबै हाम्रा सुने त झट्टै भरिया पठाउलान्
आमै हाम्री सुने ता कोसेली बनाइ पठाउलिन्
भाउजु हाम्री सुने ता कोखेलो बजाउलिन्

सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु
दुःख लुकाइदेउ चरी सुख बुझाइदेउ

मामा हाम्रा सुने त झट्ट लिन आउलान्
माइजु हाम्री सुने त कोसेली बनाइ पठाउलिन्
बुहारी हाम्री सुने ता कोखेलो बजाउलिन्

सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु

भाइ हाम्रा सुने ता रुपियाँ पैसा पठाउलान्
दाइहाम्रा सुने ता लुगा फाटो पठाउलान्
भदा हाम्रा सुने ता मीठो चोखो लेराउलान्
काका हाम्रा सुने ता अन्नपात पठाउलान्
माइजु हाम्री सुने ता ऑखामा आँसु रसाउलिन्
बहिनी हाम्री सुने ता थपडी बजाई पठाउली
दिदी हाम्री सुने ता खाइथिस् भनी पठाउली

सालको पात खाइरहेछु रूखको बोक्रा लाइरहेछु
दुःख लुकाइद्यौ चरी सुख बुझाइद्यौ

(दुई)
नरोऊ नरोऊ सान्नानी ती पनि तिम्र माइती हुन्
हिमालचुली पल्लापट्टि झर्‍यो चिसो पानी
खैजडीमा पैसा बज्यो टिपी लैजाऊ नानी
सान्नानी जॉदो म आउँदो नौतुनामा भेट हुँदो
पाटनको ठूलो साहू सौतेनीको माइतीनी है
सौतीले ल्याउँछे सोली या डोली हामीलाइ वचन है

कि ल्याऊ बाबा सोली या डोली
कि ल्याऊ बाबा छुरिया है
सान्नानी जॉदो म आउँदो
नौतुनामा भेट हुँदो
छुरिया हामी दिदैनौ चेली
लैजान चेली डोलीया नै
सान्नानी आउँदो म जॉदो
नौतुनामा भेट हुँदो

नरोऊ नरोऊ सान्नानी
ती पनि तिम्रै माइती हुन्
शिरमा लाउने शिरफूल
बहिनी मेरी कान्छीलाई
कानैमा लाउने कुण्डलु
बहिनी मेरी कान्छीलाई
नैनसूतको फेटा बैनीज्वाइँलाई
नरोऊ नरोऊ सान्नानी दिउँला तिमीलाई
नरोऊ नरोऊ सान्नानी
ती पनि तिम्रै माइती हुन्

हिमालचुली पल्लापट्टि
झर्‍यो चिसो पानी
खैजडीमा पैसा बज्यो
टिपी लैजाऊ नानी
नाकैमा लाउने फूली
बहिनी मेरी कान्छीलाई
साटनको चोलो दिउँला
बहिनी मेरी कान्छीलाई

घाँटीमा लाउने नौगेडे माला
बहिनी मेरी कान्छीलाई
नरोऊ नरोऊ सान्नानी
ती पनि तिम्रै माइती हुन्

हिमालचुली पल्लापट्टि
झर्‍यो चिसो पानी
खैजडीमा पैसा बज्यो
टिपी लैजाऊ नानी

(तीन)

एक बीस पाँचका हरिमल्ल राज
चार पुगी पाँचकी म वल्ली रानी
यी दुइको विवाह भयो
न आमै मैले नि हातमा लिऊँ
न आमै मेले काखैमा लिऊँ

माइती देश पठाइदेऊ हे मेरी आमै
न माइती यसका न छ है मावली
यो गर्ने टुहुरी हरिमल्ल राजै
कहाँ जा भनिद्युँ
बार हेर बीस नि भरिया लैजाऊ
हीरा र मोती सुन चाँदी लैजाऊ
भलो वस्तु कपडा अन्नपात लैजाउ

गाई र भैसी वस्तुभाउ लैजाऊ
बारेर वर्ष पढेर बस
पोस्तोक बाँच्ने पण्डित बन
घर फर्क हरिमल्ल राजै
बैँसको बोझले नुहेकी होलिन्
स्वामीको पाउ समाउने होलिन्
वरिष १७ की भवमल्ली रानी

त्यहाँदेखि हिँडेका बाले
बाटामा भेटे दहीको भार
के साइत पो नि
रहु नि रहुँ हे मेरा संगी
परदेश जान्छु नि
बाटामा भेटें भरेको बैलो
के साइत पर्‍यो नि
रहु न रहु परदेशी दिँदै
म पानी अचाउँछु

त्यहारदेखि हिँडेका राजे
गोस्वामी कुटी पुगे नि
साधु र सन्तको धुनीमा पुगे नि
घर छोडी आएँ म नि
यै भेष धर्छु यैँ बसी पढ्छु
घरैमा होलान् बा महतारी

रुँदिहुन् सम्झि हितकी रानी
नढोट हाम्लाइ हरिमल्ल राजै
यो भेष त हुँदैन
घरमा छैन बा महतारी
न छन् मेरा हितकी रानी
यै भेषमा बस्छु ये भेषमा पढ्‌छु
ए साधु बाबा म पण्डित बन्नेछु

बाह्र वर्षपछि हरिमल्ल आफ्नो पढाइ सकेपछि कुटीका गोस्वामीलाई पहिले आफूले ढाँटेका कुरा सत्य बताई घर जाने तरखर गर्दछन् ।

आज र मैले के देखे सपना
भनूँ कि नभनूँ
सुन र सुन हे साधु बाबा
भनूँ कि नभनूँ
के देख्यौ सपना हरिमल्ल राजै
न छली भने है
जो देख्यौ राजै त्यो सबै बताऊ
पूर्ण है होला कानचिरे जोगीलाई
घरैमा रेछिन् महतारी मेरी
हितकी रैछिन् भवमल्ली रानी
सपना यै देखेँ

दुइ बीस चार भरिया लैजाऊ
रौको लागि बिगुत लैजाऊ
बाघको छाला बिछाउनी लैजाऊ
मृगको छाला पछ्यौरी लैजाऊ
बनको फल सामल लैजाऊ
झोली र तुम्बा भिरेर लैजाऊ
हातमा लौरी टेकेर लैजाऊ

घरैमा फर्क हरिमल्ल राजै
कानचिरे भेषैमा
आशीर्वाद लैजाऊ हरिमल्ल राजै
कानचिरे भेषैमा
गहमा आँसु
जोर पाउ लागे हरिमल्ल राजै
गोस्वामीको पाउमा
त्यहाँको देखि हिँडेका बाले
पुगे है व्याँसीमा
जेठको रोपाइँ
कसको हलो कसको रोपार
के चासो पो कानचिरे जोगीलाई
नौमति बाजै अघिपछि लगाई
चेली सुसारे पछिपछि लगाई
बाँकी रोपारेलाई दोपहरै बाँड्न

मवमल्ली रानी दोपहरे बॉड्‌दैछन्
आलीको छेउका हरिमल्ल राजे
हेर्दैछन् रमिता
रानीले देखिन् श्यामसुन्दर योगी
कानचिरे जोगीलाई
सुन रे सुन ए साधु बाबा
लौ थाप दोपहरै

क्यै पनि छैन हे मेरी रानी
द्यौ तिम्रै पछ्यौरी
डरलाग्दो फुस्रो कानचिरे जोगी
कसरी दिनु पछ्यौरी मेरो नि !

दोपहरे बॉडी फर्किन् नि रानी
रोपाइँ सकेर
सगँसँगै लागे कानचिरे जोगी
रानीको घरतिर
बिछोड हुँदा पाँचकी थिइन् भवमल्ली रानी
कसरी जानुन् पाँचकी बाला
हरिमल्ल भनेर

घरैमा पुगिन् साँझनी पख
डोलेले बिसाए
महलमा गइन् भवमल्ली रानी
आगनको छेउमा गै बसे कानचिरे जोगी
बास देउ भनेर

कानचिरे जोगीलाई के चाहियो बास
जुन बाटो आयौ त्यै बाटो जाऊ दिन्नौं हामी बास
उठ रे जोगी फटकार छाला
जहाँ भए पनि एक पेट खाला
मरिद छैनन् यो घरमा हामी दिन्नौ हे बस्न बास

साँझको पाहुना नभन त्यसो
एक रात बस्न देऊ मेरी रानी सिकुवा बास
खत तिम्लाइ पर्दैन

आँगनको छेउ नपाउने फुस्रो
सिकुवा ताक्दैछ
भित्रको तिम्रो मूल ओछ्यान देउ त मलाई
कोरी र बाटी गरेर फापर पकाइदेउ मलाई
लौन नि लौन ओर्लन ओर्ल हे मेरी बज्यै
डरलाग्दो फुस्रो कानचिरे जोगी
मूल ओछ्यान ताक्दैछ

त्यहाँ र देखि ओर्लिन् नि आमा
निहाली हेरिन् कानचिरे साधुलाई
मुसुक्क हाँसे हरिमल्ल राजे आमैलाइ देखेर
आमैले पनि लौ चिनिहालिन् हरिमल्ल भनेर
हत्त र पत्त अङ्कमाल गरिन् सुमसुमी सुस्ताइन्‌

गहका आँसु तपतप खसे
अचम्म भइगो
टाउको र गालै मुसारी हेरिन्
हरिमल्ल राजैको
सुनमा सुन हे मेरी वधू
तिम्रा खसम हरिमल्ल राजै
लौ झट्ट ल्याउ सुनको झारी सुकिलो पारी
पाउ र धोई जल तिमी आउन

कानचिरे जोगी डरलाग्दो फुस्रो
कसरी चिनु म
चार पुगी पाँचकी थिएँ रे आमै
खसम जाँदा म
खसम आँफै हे मेरी आमै
कसरी जानूँ म !

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १२ : ३८ बजे

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, प्रचार विभाग प्रमुख भन्छन् : विधान महाधिवेशन सर्दैन

काठमाडौँ– प्रमुख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन अर्थ मन्त्रालयमा छलफल

काठमाडौँ – भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

नयाँ दिल्ली- छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीको उम्मेदवारी; प्रस्तावक रामहरि, समर्थक कृष्णगोपाल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन

सरकार र निजी क्षेत्रको अक्षमता : सञ्चित विदेशी मुद्रा उपयोगमा चुक्दै

काठमाडौँ – यतिबेला नेपाल राष्ट्र बैक र बैङ्किङ प्रणालीमा विदेशी