पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु | Khabarhub Khabarhub

पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण गर्ने उपचार सेवा ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ ।

प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै यो उपचार सेवा शुरु भएको हो ।

सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार बीपी प्रतिष्ठानको एनस्थेसियोलोजी विभागको पहलमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सञ्चालनमा ल्याइएको हो ।

सेवा शुरु भएपछि पहिलोपटक ट्राइजेमिनल न्युराल्जियाको लागि ग्यासेरियन गैङ्गिलयनको रेडियोफ्रिक्वेन्सी एब्लेसन सफलतापूर्वक सम्पन्न भएको सहप्रवक्ता डा. कुमारले जानकारी दिए ।

उनले भने, ‘ट्राइजेमिनल न्युराल्जिया एक प्रकारको अत्यन्त पीडादायक स्नायु रोग हो, जसमा अनुहारको एक भागमा बिझाउने र चुँडिएको जस्तो पीडा हुने गर्छ । सामान्य औषधी उपचारले निको नभएको बिरामीको लागि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रभावकारी उपाय हो ।’

उनका अनुसार विभिन्न कारणले शरीरमा अति पीडादायी दुखाइ भएका बिरामीको दुखाइ निराकरण गर्न रेडियोफ्रिक्वेन्सी उर्जा प्रयोग गरिन्छ । रेडियोफ्रिक्वेन्सी उर्जाले पीडादायी स्नायुको सानो भागलाई लक्षित गरी नष्ट गर्दछ ।

डा. अभिजितले भने, ‘यो प्रक्रिया इमेज गाइडेड प्रविधिबाट गरिने भएकोले सटिकता र सुरक्षाको दृष्टिले निक्कै महत्वपूर्ण मानिन्छ । यसले पीडालाई लामो समयको लागि कम गर्न सहयोग पुर्‍याउँछ ।’

विशेषगरी मेरुदण्डको फेसेट जोइन्टमा हुने पीडा, स्याक्रोइल्याक जोइन्टमा हुने पीडा, ट्राइजेमिनल न्युराल्जियाको पीडा, घुँडा वा काँधको आथ्र्राइटिसजन्य पीडा, ओसिपिटाल न्युराल्जिया र केही प्रकारका न्युरोप्याथिक तथा क्यान्सरसम्बन्धी पीडामा पनि उक्त उपचार पद्धति उपयोगी हुने प्रतिष्ठानले जनाएको छ ।

क्रोनिक भाष्कुलरको पीडा वा शल्यक्रियापश्चात् बाँकी रहने पीडामा पनि उक्त उपचार पद्धतिले राहत दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।

सही बिरामी छनोट, इमेजिङ मार्गदर्शन र विशेषज्ञको अनुभवका साथ गरिएको रेडियोफ्रिक्वेन्सी एब्लेशनले लामो समयसम्मको पीडा कमी गरी औषधी प्रयोग घटाउन मद्दत गर्ने र बिरामीको स्वास्थ्य जीवनस्तर उल्लेखनीयरुपमा सुधार गर्नसक्ने सहप्रवक्ता डा. अभिजितले बताए ।

बीपी प्रतिष्ठानमा उक्त सेवा विस्तार भएसँगै पूर्वी नेपालमा विशेषज्ञतायुक्त दुखाइ व्यवस्थापनमा नयाँ आयाम थपिएको र दीर्घकालीक पीडाबाट ग्रस्त बिरामीलाई धेरै राहत दिलाउने प्रतिष्ठानले अपेक्षा गरेको छ ।

हाडजोर्नी समस्या निदान गर्न डेक्सा स्क्यान सेवा पनि सुरु

रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै बीपी प्रतिष्ठानले हाडजोर्नी सम्बन्धी बिरामीहरूको उपचार पद्धतिमा सहजता बनाउने उद्देश्यले डेक्सा स्क्यान (डुएल इनर्जी एक्स–रे एब्सर्पसिमेट्री) सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका अनुसार डेक्सा स्क्यान एक प्रकारको रेडियोलोजिकल परीक्षण हो । उक्त परीक्षणले मानिसको हड्डीको घनत्व वा बलियोपना मापन गर्छ । उमेरको वृद्धिसँगै मानिसमा देखिने ओस्टेओपोरोसिस जस्ता हड्डी कमजोर हुने रोगहरूको समयमै निदान गरी सही उपचार गर्न उक्त परीक्षणले मद्दत गर्दछ ।

सहप्रवक्ता डा.अभिजितका अनुसार कतिपयको युवा अवस्थामै पनि हड्डी कमजोर हुने रोगहरू देखिने गरेका छन् । त्यस्ता मानिसहरूको समेत बेलैमा डेक्सा स्क्यान प्रविधि र पद्धतिमार्फत परीक्षण गरी हड्डीको स्थिति पत्ता लगाई समयमै सही उपचार गर्दा रोगबाट ग्रसित हुनबाट जोगिन सकिन्छ, । उनले भने, ‘हाललाई उक्त परीक्षण प्रतिष्ठानको हाडजोर्नी ओपिडीमा हरेक दिन गर्ने गरिएको छ ।’

यसैबीच बीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले हाडजोर्नी सम्बन्धी डेक्सा स्क्यान गर्दा लाग्ने शुल्क सार्वजनिक गर्दै सर्कुलर जारी गरेका छन् ।

उक्त सर्कुलर अनुसार डेक्सा स्क्यान एलएस स्पाइनको १५ सय, होल बडीको डेक्सा स्क्यानको २५ सय, बडी फ्याट एनालाइसिसको एक हजार, हिप जोइन्टको डेक्सा स्क्यान १५ सय, हिप जोइन्ट र एलएस स्पाइनको संयुक्त डेक्सा स्क्यान गर्दा दुई हजार रुपैयाँमात्र लाग्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ३८ बजे

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र