युवा नेतृत्वः खोइ साहस र मौलिक दृष्टि ? | Khabarhub Khabarhub

युवा नेतृत्वः खोइ साहस र मौलिक दृष्टि ?



नेपाली राजनीतिको रंगमञ्चमा अहिले कुरूप नाटकको प्रदर्शन भइरहेको छ। केन्द्रका नेता, जसलाई परिवर्तनको नायक बन्न जनताले बारम्बार मौका दिए । उनीहरूले सत्ताको डोरी हातमा आउँद ‘पुराना गल्तीको पुनरावृत्ति र विस्तार’ मात्र गरे। बौद्धिकता अपमानित भएको छ, जनताको आँत थाकेको छ।

शक्ति ‘भ्रष्ट’को पर्याय बनेको छ । नेतृत्व पतनको बाटोमा छ। यो भ्रष्ट खेल र क्रुर उपेक्षाको सामुन्ने, जनतासँग दुई मात्र विकल्प छन्- या त यो नाटक वहिष्कार वा यसका पात्र फेरेर नयाँ यात्रा। दुर्भाग्य ! पात्र फेर्नलाई उपलब्ध विकल्पपनि विफलता र भ्रष्टताले आ–आफ्नै रङका तमासा देखाइरहेका छन् ।

यो बीचमा एउटा प्रश्न आँधी झै शक्तिशाली बनेर आउछ – के यो देशमा नेता नभएकै हुन् ? सँगसँगै सम्भावनाको मीठो दृश्य बोकेर आउँछन् दुई शब्दः युवा नेतृत्व। युवा पहुँच नहुनु समस्या हो, युवा नेतृत्व समाधान हो। तर, के यो यति सरल छ ? अहिलेको नेतृत्वलाई ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता र मौलिकतामध्ये आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? के यी आवश्यकता वर्तमान नेपाली युवाले, अझ भनौँ, नेतृत्वमा दाबा गर्ने युवाले दिन सक्छन् ?

तीतो अनुभुति
प्रचण्ड जस्ता चतुर अनि उथलपुथल विज्ञ नेता देशमा चल्तीमा रहनु ओली वा देउवा भन्दा सयौ गुणा हानिकारक पक्ष हुन् । खर्वको खरानी साक्षी राखेर, युवाको तातो रगतका टाटा आँखा अघी झलझल देख्दै फेरि बहस २ तरिकाले हुँदैछ । सत्तामा कसरी जाने अनि ‘जेनजी’का मुद्दा समेट्ने ? ती मुद्दा जेनजीका मात्रै थिए ? अनि जेनजी बाहेकका नागरिकका मुद्दा सबै समाधान भए ? फेरी पनि पुरानै गोरेटोमा हिँडेर अव्यवस्थाको राजमार्ग फराकिलो पार्ने कसरत हुँदैछ जस्तो देखिँदै छ ।

जेनजी बाहेकका नागरिकका मुद्दा सबै समाधान भए ? फेरी पनि पुरानै गोरेटोमा हिँडेर अव्यवस्थाको राजमार्ग फराकिलो पार्ने कसरत हुँदैछ जस्तो देखिँदै छ ।

देउवा, ओली र प्रचण्ड बाहेक सबै सबै देखिएका छन् । यी टाउकाहरु दूधले नुहाएका हुन ? कदापी होइनन् । ती तीन नाम हट्नु देशले गति लिनु हो, अँह हुँदै होइन । आजको राजनीतिको पहिलो पुस्तालाई काँधमा बोकेर र केहि अवसर हात पारेरै बुढो भै सकेको दोश्रो पुस्ताको भरोसा छैन, सबै दागी छन्, टेस्टेड हुन् अनि ‘फेल्ड’ हुन् ।देसको कायपलट गर्ने योजना र दम छैन । उनीहरु आफू र आफ्नको संरक्षण र विकासमा तलीन थिए । लोभी र पाखण्डी छन्, विष्णु पौडेल नै यसका अगुवा हुन्, उनीसँग फेरि आशा राख्नु, मूर्खता हुनेछ ।

नयाँ नाम अझै खतरनाक, दागी, भ्रष्ट, असक्षम, काखापाख गर्न माहिर छन् । यो सानो आलेखमा ती सबै दोषीका नाम अटाउदैनन् । धनराज गुरुङदेखी ईश्वर पोख्रेल, विष्णु पौडेल, बालकृष्ण खाण जस्ता काङ्ग्रेसदेखि केपी ओलीका पछुवा महेश बस्नेत होउन, अथवा रवि लामिछानेदेखि वर्षमान पुन किन नहोउन, सबै कुकृत्यमा माहिरबाट देशले उन्नयनको बाटो समात्न सक्छ भन्ने कोरा कल्पना हो । गगन थापाबाहेक अन्य नेतासँग देश बदल्ने योजना,आँट र खाका समेत देखिदैन । अनि बोतलको बिर्को बदल्दैमा बोटल भित्रको तत्व बदलिंदैन । यो तथ्य भुलेर फेरि अर्को विध्वसको आमन्त्रण गर्नु हुँदैन । अनि अहिले जेनजीका मुद्दा सम्बोधन गर्न सबै दल तयार हुँदा आजको यो दुर्दिन ल्याउन यिनीहरु जिम्मेवार छन् । यो दिन ल्याउन सहभागी सबै मुकुण्डो धारकलाई एकैसाथ निषेध गरिनु पर्दछ । अन्यथा अर्को भयानक दिन आउन सक्छ ।

नयाँ नाम अझै खतरनाक, दागी, भ्रष्ट, असक्षम, काखापाख गर्न माहिर छन् । यो सानो आलेखमा ती सबै दोषीका नाम अटाउदैनन् ।

युवाको मनोवैज्ञानिक हार र नेतृत्वको परिधि
वर्तमानको सबैभन्दा ठूलो दुःखद् सत्य हो । देशले दलमा आबद्द नभएका, गरिब र सीमान्तकृत युवालाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । आधारभूत आवश्यकता पूरा गर्न देश एवं विदेशको छेउ र कुनातिर अल्झिएका यी युवाले ‘आफ्नै रगत–पसिनामा टिकेको यो देशको नवीन परिकल्पना गर्ने केन्द्रमा आफूलाई कल्पना पनि गर्दैनन्।’

नेतृत्वसँग उदासीन अर्को ठूलो शिक्षित युवा समुदाय छ, जो शक्ति एवं सत्ताको खेलबाट यति वितृष्णा छ कि आफ्ना आशा र अभिलासालाई व्यक्तिगत घेरामै सीमित राख्न रुचाउँछ। यो शून्यतामा नेतृत्व लिन तत्पर युवा जो छन्, तिनीहरू मोटामोटी तीन हिस्सामा विभाजित छन् । दलमा आबद्ध, दलसँग असम्बन्धित तर सामाजिक मुद्दा उठाउने र व्यावसायिक उद्यमशीलतामा सिर्जनशीलता देखाउने युवा नेतृत्वलाई अगाडि बढाउनुपर्छ । नयाँ नेपालको नयाँ नेतृत्वका लागि अब ‘कस्तो युवा नेतृत्व ?’ भन्ने बहस सुरु गर्नुपर्छ।

शून्य वैचारिकता र कार्टेलिङको प्रकोप
मूलधारका राजनीतिक दलमा गोलबद्ध भएका अधिकांश युवा पुस्ता कुनै सपनाबिना हुर्किरहेको छ। उनीहरू ‘वैचारिक शून्यता’ मा छन्। अबको राजनीति समाज बदल्ने, संघर्ष गर्ने र जोखिम उठाउने रहेन। अहिलेको राजनीतिको चार्म बेग्लै छ । ठूलो नेताले सानो नेता पाल्ने, सानो नेताले कार्यकर्ता पाल्ने र स्थानीय लाभका क्षेत्रमा मुठ्ठी दह्रो पारी केन्द्रदेखि गाउँसम्म कार्टेलिङ चलाउने। दलीयकरणको प्रकोपले दलहरू नयाँ जातमा परिणत भएका छन्।

ठूलो नेताले सानो नेता पाल्ने, सानो नेताले कार्यकर्ता पाल्ने र स्थानीय लाभका क्षेत्रमा मुठ्ठी दह्रो पारी केन्द्रदेखि गाउँसम्म कार्टेलिङ चलाउने। दलीयकरणको प्रकोपले दलहरू नयाँ जातमा परिणत भएका छन्।

आर्थिक सम्बन्धमा जेलिएको यो कार्टेलिङमा युवा पुस्ताले अब कुनै मुद्दा समात्नु परेको छैन । अध्ययन, अनुसन्धान गरेर नयाँ विचारको निर्माण गर्नु परेको छैन। बलिया दाइ नेतामध्ये एउटा दाइलाई जोडले समातेर तिनको राजनीतिक सेवा गरे पुग्छ। यो कार्टेलिङले नयाँ सोच र सत्य बोकेको स्वाभिमानी युवाको लागि औपचारिक प्रवेशको प्रक्रियालाई लगभग समाप्त पारिदिएको छ।

यसका साथै, सामाजिक सञ्जालको पहुँचले युवाहरूलाई यति वैयक्तिक बनाइदिएको छ कि उनीहरू लाइक, कमेन्ट र सेयर गनेर दंग पर्छन्। छिट्टै पपुलर र सेलिब्रेटी हुने हुटहुटीले उनीहरूलाई उपलब्धि र परिवर्तनतिर भन्दा आफ्नो सोसल क्यापिटल बढेको भ्रममै मस्त पारिदिएको छ। यो द्रुत उपलब्धिको अभिलाषाले युवालाई जोखिम मोलेर लामो संघर्षको यात्रामा लाग्नबाट रोकिरहेको छ। यो चक्रमा दललाई परिक्रमा नगर्ने नागरिक योग्य ठानिएन ।

सबै स्थानमा ‘कम्पिटेटिभनेस’ को जरै उखेलेर फालिदिए । राजदूतदेखि संवैधानिक नियुक्ति रिटायरको क्लबदेखि विज्ञाता र ज्ञान भन्दा धनीसम्म । त्यो घेरा चिर्न कसैले सकेनन् र देश जल्यो ।तर अब पनि त्यो सबै ‘सेट–अप’ तोडिने छाँट छैन । किनकी ती संगठित युवा परिवर्तनविरुद्ध सोसल मिडियामा बक्क थालेका छन् । फेरि ‘फुटाउ र राज गर’ भन्ने सिद्दान्त नै सक्रिय भएको देखिन्छ ।

हामीलाई नेताको संख्या होइन, नेतृत्वको गुणस्तर चाहिएको छ। युवा नेतृत्वको आवश्यकताबारे मात्र हैन, कस्तो युवा नेतृत्व भन्ने खाका आवश्यक छ । युवा नेतृत्वमा पुरानो नेतृत्वको प्रतिरूप हुनु हुँदैन । सिद्धान्तहीन अवसरवाद भविष्यको ‘परिकल्पना’ र वैचारिक स्पष्टता आवश्यक छ । जसमा युवामा नवीन विचारको निर्माण हुनुपर्छ ।

अबको नेतृत्वको भूमिका संवेदनशील विषयमा अपरिहार्य छ। कुन मुद्दालाई प्राथमिकता दिने र समाजलाई सही दिशामा परिचालन गर्ने भन्ने कुरामा नेतृत्वको रचनात्मकता आवश्यक हुन्छ। भीडको लहडमाथिमात्र आफू हावी हुन खोज्ने प्रवृत्ति नेतृत्व होइन । यो केवल अवसरवाद मात्र हो।

फ्रान्सेली दार्शनिक जोसेफ द मेस्ट्रले भनेका थिए-‘हरेक देशले त्यस्तै सरकार (शासक) पाउँछ, जसको ऊ हकदार छ ।’ यो भनाइमाथि प्रश्न गर्दै, समाज जस्तो भएपनि खासखास समयमा रुढीवादी सामाजिक मान्यतालाई बदल्ने र प्रश्न गर्ने मानिस समाजबाटै जन्मिन्छन् भन्ने विश्वास गर्नुपर्छ।

इतिहास साक्षी छ, युवाहरू चलायमान भएको युगले मात्र यथास्थितिबाट अग्रगामी छलाङ मारेको छ। कम्युनिस्ट घोषणापत्र लेख्दा कार्ल मार्क्स ३० वर्षका थिए। आधुनिक नेपाल एकीकरणको अभियान सुरु गर्दा पृथ्वीनारायण शाह २१ वर्षका थिए। हङकङमा जोसुव वोङ हुन् वा अमेरिकामा स्थापित सत्तालाई च्यालेन्ज गरिरहेकी एलेक्जेन्द्रिया ओक्यासो कोर्टेज- युवा नै नेतृत्वको अग्रपंक्तिमा छन्।

युवाले आत्म–निरीक्षण
युवा नेतृत्वलाई साँच्चै प्रभावकारी बनाउन युवाले कस्तो आत्मनिर्णय–आत्मनिरीक्षण गर्नु आवश्यक छ ।

वैचारिक शून्यताको अन्त्यः युवाहरूले बलिया हजुरबा, काका, दाइ नेताको सेवा छाडेर अध्ययन, अनुसन्धान र विचारको निर्माणमा लाग्नुपर्छ। राजनीतिको गहिराइमा गएर कतिपय प्रश्नहरूलाई नै प्रश्न गर्नुपर्ने हिम्मत राख्नुपर्छ।

सामाजिक पूँजीको निर्माणः सामाजिक सञ्जालमा ‘लाइक, कमेन्ट र सेयर’ गनेर दंग पर्ने प्रवृत्तिबाट बाहिर निस्केर वास्तविक जीवनमा जोखिम मोलेरै लामो संघर्षको यात्रामा लाग्नुपर्छ। साना काममा ‘नाम’ खोज्ने हुटहुटी छाडेर बृहत् परिवर्तनमा लाग्नुपर्छ।

अमूर्त राष्ट्रवाद, मूर्त उत्तरदायित्व : राष्ट्रवाद अमूर्त गाथा मात्र हैन, मूर्त उत्तरदायित्व पनि हो। सूचना प्रविधि वा उद्यमशीलताको क्षेत्रमा रहेका युवाले अवसर र प्रोत्साहनका निम्ति आवाज उठाउँदा जिम्मेवारी एवं जवाफदेहिताको विषयमा पनि उत्तिकै मुखर हुनुपर्छ।

सामन्ती अवशेषको अन्त्यः विशेषाधिकार र सीमान्तीकरण दुवै पक्ष देखेका युवाहरूले ‘उत्तम उदारवादी शिक्षा’ लाई केवल व्यक्तिगत प्रतिस्पर्धात्मा सीमित नगरी, सीमान्तीकृतको भोगाइलाई आत्मसात गर्दै, समेट्दै सामाजिक न्यायको मुद्दामा प्रखर रूपमा प्रस्तुत हुनुपर्छ।

देश जलाउनेमाथि भरोसा कसरी ?
आजको राजनीतिक परिदृश्यमा युवा आन्दोलन र सामाजिक क्रान्तिको आह्वान बढ्दै गएको छ। तर, देशमा व्याप्त कुशासन, भ्रष्टाचार र बेरोजगारीबाट उत्पन्न आक्रोश जब सडकमा उत्रिन्छ र हिंसा, तोडफोड वा सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्यमा परिणत हुन्छ । यो विध्वंशको आरोप युवा समूहमाथि लाग्छ र उनीहरु संकटमा पर्छन् । आन्दोलनले विध्वंसलाई उत्प्रेरित गर्दा तिनलाई ‘युवा जोस’ भनेर मात्र क्षमा गर्नु न्यायोचित हुँदैन।

विरोधको अधिकार र अपराध फरक कुरा हुन्। संविधानले विरोध र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्छ तर आगो बाल्ने, सरकारी कार्यालय तोडफोड गर्ने वा कानूनी सीमा उल्लङ्घन गर्ने कार्य अपराध हुन्।

विरोधको अधिकार र अपराध फरक कुरा हुन्। संविधानले विरोध र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्छ तर आगो बाल्ने, सरकारी कार्यालय तोडफोड गर्ने वा कानुनी सीमा उल्लङ्घन गर्ने कार्य अपराध हुन्। यस्तो अवस्थामा राज्यले नियम लागू गर्ने दायित्व राख्छ । तर नियम लागू गर्दा पनि राज्यले मानवीयता र प्रक्रिया उल्लङ्घन गर्नुहुन्न । यसले फेरि विद्रोहको बीउ रोप्छ।

विश्वनीयता फर्काउने आधार

स्पष्ट नीति र एजेन्डाः आन्दोलनकर्ताले आफ्ना माग पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ । के हटाउने, के माग्ने र कसरी प्राप्त गर्ने भन्ने ठोस रणनीति आवश्यक छ। भावनात्मक नाराले विश्वास दिँदैनन्।

हिंसाविहीन अभ्यासः सत्याग्रह वा बृहत आन्दोलन गर्दा पनि हिंसाबिहीन सिद्धान्तमा प्रतिबद्धता र सामूहिक सम्झौता हुनुपर्छ। अनियन्त्रित हिंसाले आन्दोलनको वैधता समाप्त गर्छ।

जवाफदेही नेतृत्वः युवा आन्दोलनमा पनि नेतृत्व र प्रतिनिधित्व चाहिन्छ जुन संवाद गर्न सक्षम होस्, कानुनी र सामाजिक परिणाम बोध गरून् र जुझारुपनालाई सुनियोजित बनाओस्।

न्याय र नियन्त्रणको स्पष्ट व्यवस्थाः यदि कसैले अपराध गरेभने, तिनलाई कानूनी दायरामा ल्याउन छिटो र निष्पक्ष प्रक्रिया आवश्यकछ। दण्डहीनता हुँदाहुँदै आन्दोलनलाई समर्थन गर्न गाह्रो हुन्छ । त्यसैले दोषीलाई तत्काल छानबिन र कारबाही सुनिश्चित गर्नुपर्छ।

केवल दण्ड र दबावले समाधान आउँदैन। दीर्घकालीन उपायमा शिक्षा, रोजगारी सिर्जना, राजनीतिक समावेशिता र डिजिटल साक्षरता आवश्यक छन् । यी सवालमा युवा भावना सिर्जनात्मक र कानुनी माध्यमबाट अभिव्यक्त हुनुपर्छ ।

आन्दोलनले बदल्न खोजेको कुरा-सुशासन, पारदर्शिता, र अवसर-तिनका लागि नै असफलता र विध्वंस विकल्प होइन। योजना, संवाद र अहिंसात्मक सक्रियताले मात्र दीर्घकालीन परिवर्तन सम्भव छ।

युवा नै आन्दोलनका शक्ति हुन । तथापी युवा पुस्तालाई उपयोग गर्ने र कमजोर आँक्ने मानसिकता समाजदेखि राजनीतिक पार्टीहरूसम्म जब्बर रूपमा बसेको छ। इतिहासका हरेक परिवर्तन युवाहरूको जोश, सुझबुझ र नेतृत्वबाट मात्र सम्भव भएका छन्। अबको युवा पुस्ताले घरपरिवार र समाजले थोपरिदिने अपेक्षाको भार बोकेर पनि त्यसलाई समाज बदल्ने संघर्ष को प्रेरणा बनाउन सक्नुपर्छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ९ : ३७ बजे

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले