उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान « Khabarhub

उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । 

कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् ।

‘चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो । यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो’, भङ्गाहा–४ का किसान सुफल महतोले भने, ‘चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो ।’

अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उनले बताए । ‘सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टार्न खर्चको जोहो गर्नुपरेको छ, यसबाट तत्काल नगद पाइने भएपछि चाडबाडको समयमा सक्खर बनाउन परेको हो’, उनले भने । 

चिनी उद्योगले कहिले ‘क्रसिङ’ सुरु गर्ने भन्ने तालिका नबन्दा अहिले चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ ।

गौशाला, भङ्गाहा र बर्दिबास क्षेत्रका बस्तीमा बढी मात्रामा उखुखेती हुने गरेको छ । अहिले बस्ती बस्तीका किसान घरघरमा उखु पेल्न र रस पकाएर सक्खर बनाएर बेच्न व्यस्त देखिन्छन् ।

आजसम्म छठका लागि आवश्यक सामग्री जुटाउन बजारमा चहलपहल बढ्ने भएकाले किसान यो काममा लागेका हुन् । दीपावली र छठ पर्वमा उपभोक्ताले नयाँ सक्खर उपभोग गर्दछन् ।

‘कात्तिक त्यसै पनि नगद जोहोमा अप्ठ्यारो महिना हो, किसानलाई यो महिनामा खेतीपाती धान्न र चाडपर्व धान्न नगद आवश्यक पर्दछ’, बर्दिबास–९ का किसान रामविनोद महतोले भने, ‘सरसापट पनि यो बेला पाइँदैन, त्यसैले उखु पेलेर चाडपर्व र खेतीपातीको खर्च जुटाउन लागेका हौँ ।’

अहिले गहुँ छर्ने, दलहन बाली लगाउने र तरकारी खेतीका लागि बीउ, मल र जोतखन गर्न रकम आवश्यक पर्ने भएकाले उखु पेलेरै खर्च जुटाउन थालिएको उनले बताए ।

‘दीपावलीदेखि छठसम्म मिठ्ठा बढी माग हुन्छ । छठ सकिएपछि यसको बिक्री घट्छ, त्यसैले यो समयमा उखु पेलेर मिठ्ठा बनाउन लागेका हौँ’, बर्दिबास–१२ का किसान रामविलास कुशवाहाले भने, ‘अहिलेको उखुको रसमा मिठ्ठा पकाउन बढी समय लाग्छ, तर आफ्नै उत्पादनबाट नगदको जोहो हुने भएकाले सोहीअनुसार किसानको व्यस्तता बढेको हो ।’

यस वर्ष कात्तिकको सुरुमा दीपावली र छठ परेकाले किसानलाई खर्च जुटाउन समस्या भएको उनको भनाइ छ ।

कात्तिकलाई यहाँका किसान ‘तेर्‍हौँ मास’ (तेर्‍हाैँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेर्‍हौँ महिना भन्ने गरिएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोले बताए । अरु बेला प्रतिकिलो एक सय रुपैयाँमा बिक्ने सक्खर चाडपर्वको समयमा प्रतिकिलो १२० रुपैयाँमा बिक्री हुने उनले जानकारी दिए ।

दीपावलीमा बनाइने सेल र छठका लागि बनाइने ठकुवामा सक्खरमा राख्दा बढी स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको गङ्गारामको बुझाइ छ ।

सक्खरको प्रयोगले चिनीको आपूर्ति पूरा गर्ने र गुलियोपन पनि कम हुने भएकाले यसले स्वास्थ्यमा प्रतिकूल असर नगर्ने बर्दिबास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए । 

जिल्लामा यस वर्ष नौ हजार बिघामा उखुखेती भएको यहाँस्थित उखु उत्पादक कृषक सङ्घले जनाएको छ । पाँच हजार बिघाको खुट्टी उखु (एकपटक रोपिएको उखुको दुई वर्षको बाली हुन्छ । पहिलो वर्षको ‘मुडन’ र दोस्रो वर्षको ‘खुट्टी’ हो) रहेको सङ्घका अध्यक्ष नरेशसिह कुशवाहाले बताए । 

उनका अनुसार अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सक्खर बनाइरहेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी अलिपहिले तयार हुने भएकाले किसानले खुट्टी पेल्न थालेका उनले उल्लेख गरे ।

यस वर्ष उखु उद्योगले क्रसिङ कहिलेदेखि सुरु गर्ने निश्चित भएको छैन । उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले उद्योगमा बुझाइने उखुको मूल्य सरकार, उद्योग र आफ्ना प्रतिनिधिको रोहबरमा हुनपर्ने अडान राख्दै आएका छन् । यो मूल्य निर्धारण कात्तिक मसान्तभित्र नभए प्रदर्शन गर्ने सङ्घका अध्यक्ष कुशवाहाले जानकारी दिए ।

किसानले आर्थिक वर्ष २०८०/८१ मा उखुमा पाउने अनुदानबापत प्रतिक्विन्टल ७० रुपैयाँ पाउनुपर्नेमा ३५ रुपैयाँ मात्र पाएका छन् । बाँकी रकम तत्काल दिन सरकारको ध्यानाकर्षण गराइएको कुशवाहाले बताए ।

अहिले किसानले उखु पेल्न थालेपछि पछि उद्योगलाई दिने उखु घट्ने देखिन्छ । आर्थिक अभावका कारण आफूहरूलाई अहिलेको खर्चको जोहो गर्न यही साहारा भएको किसान बताउँछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ११ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक