ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर « Khabarhub

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड-कम्बोडिया युद्धविराम सम्झौतामा हस्ताक्षर


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– थाइल्यान्ड र कम्बोडियाले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी आर्थिक दबाबको चेतावनीपछि दुवै मुलुक यस वर्षको सुरुआतमा सीमामा भएको झडप रोक्न बाध्य भएका थिए ।

सम्झौता अनुसार थाइल्यान्डले कम्बोडियाका कैदीहरूलाई मुक्त गर्नेछ भने कम्बोडियाले पहिलो चरणमै आफ्ना भारी तोपखाना फिर्ता लैजान सुरु गर्नेछ । क्षेत्रीय पर्यवेक्षकहरूले स्थायित्वको सुनिश्चितताका लागि सीमा क्षेत्रको निगरानी गर्नेछन् ।

राष्ट्रपति ट्रम्पले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हामीले त्यो कार्य सम्पन्न गरेका छौँ, जुन धेरैले गर्न सक्दैनन् ।’

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यो सम्झौतालाई ‘ऐतिहासिक दिन’ भन्दै स्वागत गर्दै भने थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले यसले ‘स्थायी शान्तिका लागि आधार निर्माण गरेको’ प्रतिक्रिया दिए ।

क्वालालम्पुरमा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को वार्षिक शिखर सम्मेलनमा आइपुगेपछि राष्ट्रपति ट्रम्पको यो पहिलो औपचारिक कार्यक्रम थियो । 

जापान र दक्षिण कोरियाको भ्रमणका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको सम्भावित भेटसमेत समावेश यस भ्रमणले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय सम्झौता निर्माताको छवि’ बलियो पार्ने अवसर दिएको छ ।

ट्रम्प मलेसियाको राजधानीमा २ बजे जिएमटी तिर आइ पुगेका हुन् ।  उनले स्थानीय कलाकारहरूसँग आफ्नो प्रसिद्ध अभियान शैलीमा नृत्य प्रदर्शन गरे र अमेरिकी तथा मलेसियाली झण्डा एकसाथ फहराए । भोलिपल्ट उनले मलेसियासँग व्यापार र महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

विशेषतः प्रविधि उत्पादनमा आवश्यक घटकहरूको आपूर्तिलाई विविधिकरण गर्न संयुक्त राज्य अमेरिका हाल चीनमा निर्भरता घटाउने रणनीतिमा अघि बढिरहेको छ । यस सन्दर्भमा ट्रम्पको यो भ्रमण एसियाली बजारसँग पुनः सम्बन्ध विस्तार गर्ने कदमका रूपमा हेरिएको छ ।

ट्रम्प आफ्नो पहिलो कार्यकालमा केवल एकपटक मात्र आसियान शिखर सम्मेलनमा सहभागी भएका थिए । यसपालि कार्यक्रममा उनले विश्व शान्ति स्थापनाका प्रयासमा नयाँ भूमिकाको प्रदर्शन गरेका छन् ।

थाइल्यान्ड र कम्बोडियाबीच यसअघि जुलाई महिनामा पाँच दिनसम्म भीषण लडाइँ भएको थियो, जसमा दर्जनौँ व्यक्तिको मृत्यु भएको र लाखौँ विस्थापित भएका थिए । यो पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो सशस्त्र झडप थियो । 

त्यसबेला राष्ट्रपति ट्रम्पले आर्थिक प्रतिबन्ध र व्यापार सम्झौता रोक्ने चेतावनी दिएपछि दुवै देश वार्तामा बस्न तयार भएका थिए । त्यसयता अस्थायी युद्धविराम कायम थियो, जुन आइतबारको सम्झौताले औपचारिक रूप प्राप्त गरेको छ ।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्यान्डसँग छुट्टाछुट्टै आर्थिक सहकार्य सम्झौतामा पनि हस्ताक्षर गरे । 

‘ट्रम्पको करको कार्ड निर्णायक साबित भयो । सायद यही मुख्य कारण थियो जसले दुवै देशलाई तुरुन्तै युद्धविराममा सहमत गरायो’, नोम पेन्हस्थित फ्युचर फोरम थिङ्क ट्याङ्कका अध्यक्ष ओउ विराकले भने, ‘यो समारोह ट्रम्पका लागि ठूलो कूटनीतिक क्षण हो—उहाँ अब युद्ध र द्वन्द्व अन्त्य गर्ने शान्तिदूतका रूपमा प्रस्तुत भइरहनुभएको छ, जसले सम्भवतः उहाँलाई नोबेल शान्ति पुरस्कारका दावेदारका रूपमा बलियो बनाउँछ ।’

ट्रम्पले हालै लगातार विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता गर्दै आफूले ‘शान्ति स्थापनामा सहयोग गरेको’ दाबी गर्दै आएका छन् ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियान शिखर सम्मेलनमा प्रारम्भिक सम्बोधनका क्रममा थाइल्यान्ड–कम्बोडिया सम्झौताप्रति प्रशंसा व्यक्त गर्दै भने, ‘यो सम्झौताले मेलमिलाप कुनै कमजोरी होइन, यो त साहसको प्रमाण हो भन्ने बारे हामी सबैलाई सम्झाउँछ ।’

थाई विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज बालानकुराले शनिबार भएको सम्झौतालाई ‘संयुक्त घोषणा’ का रूपमा वर्णन गर्दै भने, ‘यो थाइल्यान्ड र कम्बोडियाले आफ्ना सम्बन्धलाई नयाँ ढङ्गले पुनःनिर्माण गर्न प्रतिबद्ध रहेको सङ्केत हो । काम भर्खरै सुरु भएको छ, अन्त्य होइन ।’

यसैबीच, ट्रम्पको यो भ्रमणमा शुल्क नीति र व्यापार विवादहरू पनि केन्द्रमा रहेका छन् । क्वालालम्पुरमा रहँदा उनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गर्ने अपेक्षा छ, तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट नहुने जनाइएको छ ।

क्यानाडाले प्रसारण गरेको टेलिभिजन विज्ञापनले आफ्नो कर ट्यारिफ नीतिको विरोध गरेपछि अमेरिकी राष्ट्रपति क्यानाडासँग असन्तुष्ट रहेका छन् । ट्रम्पले त्यसकै प्रतिक्रियामा हालै क्यानाडाली सामानमा १० प्रतिशत अतिरिक्त कर बढाउने घोषणा गरेका थिए । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : १७ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद