हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध « Khabarhub

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन अनुरोध गरेको छ। प्राधिकरणले आइतबार सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो।

हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेको सन्दर्भमा प्राधिकरणले सो अनुरोध गरेको हो।

जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार यही कार्तिक १० र ११ गते केही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

बंगालको खाडी र अरब सागरमा बनेको दुईवटा न्यूनचापीय प्रणालीले आगामी मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा र हिमपात गराउने सम्भावना रहेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागबाट सोसम्बन्धी सूक्ष्म विश्लेषण भइरहेको र छिट्टै पूर्वानुमान जारी हुने जानकारीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ।

‘उल्लिखित मौसम पूर्वानुमान र लेक लागेर मृत्यु वा घाइते हुने दर बढ्दै गएको स्थितिमा हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पूर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन हार्दिक अपिल गर्दछ,’ प्राधिकरणले अनुरोध गर्दै भनेको छ।

साथै, पर्वतारोहण, पदयात्रा लगायतका पर्यटकीय गतिविधि अधिक हुने उच्च पहाडी तथा हिमाली जिल्लाका जिल्ला सुरक्षा समिति, स्थानीय तह, सम्बन्धित पर्यटन व्यवसायीलगायत सम्बद्ध सबै पक्षले मौसम पूर्वानुमान एवं यस प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं अलर्टअनुसार आवश्यक भूमिका निर्वाह गरी नागरिकको जीवन रक्षामा योगदान पुर्‍याउनसमेत प्राधिकरणले अनुरोध गरेको छ।

पछिल्ला दुई दिन अर्थात् कार्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चारजनाको ज्यान गएको छ भने एकजना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : १० बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको