आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ। केही समयअघि ज्यानै लिने डरलाग्दा रोगका रुपमा लिइएका रोग पनि सामान्य बन्दै गएका छन्। बिगत एक दशक अगाडिको स्वास्थ्य सेवाको तुलना गर्ने हो भने धेरै राम्रो सफलता हात पारेको छ।
चिकित्सकको सल्लाह बिना आफुखुसी औषधी सेवन गर्ने परिपाटीका कारण यो चुनौतिको विषय पनि बनेको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले औंल्याएका १० प्रमुख जनस्वास्थ्य समस्यामध्ये प्रतिजैविक प्रतिरोध पनि एक प्रमुख समस्या बनेको छ।
प्रतिजैविक प्रतिरोधका कारण विश्वभर करिब १३ लाख मानिसको मृत्यु हुने गरेको नेपाल सरकारले सार्वजनिक गरेको प्रतिजैविक राष्ट्रिय कार्ययोजनामा उल्लेख छ।
उक्त योजनामा उल्लेख भए अनुसार सन् २०३० सम्ममा प्रतिजैविक प्रतिरोधका कारण कुल ग्रार्हस्थ उत्पादनमा करिब १० खर्बदेखि ३० खर्ब अमेरिकी डलरसम्मको ह्रास आउने अनुमान छ। यसबाट विश्वभर थप दुई करोड ८० लाख मानिस चरम गरिबीमा पुग्ने अनुमान गरिएको छ।
प्रतिजैविक प्रतिरोध के हो ?
मानिस वा पशुपन्छीको शरीरमा ब्याक्टेरियाको वृद्धि र विकास रोक्न वा ब्याक्टेरियालाई मारेर संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ भने प्रतिजैविक प्रतिरोध भनेको जीवाणुले एन्टिबायोटिकविरुद्ध देखाउने प्रतिरोधात्मक क्षमता हो।
संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगस (ढुसी) तथा परजीविले औषधीप्रति प्रतिक्रिया नदेखाउनु भनेको ती जीवमा कुनै औषधीविरुद्ध एन्टिमाइक्रोबियल रेसिसटेन्स (एएमआर) को विकास भयो भन्ने हो। जब संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगी (ढुसी) तथा परजीवीले औषधीप्रति प्रतिक्रिया देखाउन बन्द गर्छन्, तब एन्टिमाइक्रोबियाल रेसिस्टेन्सको विकास हुन्छ।
खासगरी जीवाणुमा एमएमआर विकास हुने धेरै कारणमध्ये अहिले देखिएको प्रमुख कारण एन्टिबायोटिक्स औषधीको दुरुपयोग र अत्यधिक प्रयोग नै हो। जसले गर्दा सामान्यतया कुनै संक्रमणका लागि प्रयोग गर्दै आएको औषधीले नै ती जीवाणुविरुद्ध काम गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको विज्ञ बताउँछन्।
असर र रोकथाम प्रयास
औषधीविज्ञ डा. सन्तोष केसी भन्छन्, ‘नेपालमा एन्टिबायोटिक औषधीको अनावश्यक प्रयोग जनस्वास्थ्यको मुख्य चुनौती बनेको छ।’ खबरहबसँग कुरा गर्दै डा. केसीले भने, ‘औषधीको प्रयोगको कुरा गर्नुपर्दा विकासका दृष्टिकोणले हेर्ने हो भने सरकारले अत्यावश्यक औषधीको सूची नै बनाएको छ। जसमा धेरै मुख्य रोगको सजिलै उपचार गर्न सकिने गुणस्तरीय र प्रभावकारी औषधी समावेश छन्। जसलाई एक्सेस, वाच र रिजर्ब गरी तीन समूहमा बाँडिएको छ। त्समध्ये अन्तिम अवस्थामा मात्रै प्रयोग हुनुपर्ने औषधीको प्रयोग सामान्य अवस्थामा भइहरहेको छ।’
उनले भने धेरै ठाउँमा एक्सेस ग्रुपको औषधी प्रयोग हुनुपर्छ भनिन्छ। नेपालको परिपे्रक्ष्यमा पनि पछिल्लो समय एक्सेस ग्रुपको एन्टिबायोटिक औषधी कम्तिमा ६० प्रतिशत प्रयोग हुनुपर्छ। त्यसलाई अझै बढाउनुपर्ने आवश्यकता विश्व स्वास्थ्य संगठनले औंल्याएको छ। नेपालमा हाल वाच र रिजर्बमा राखेका औषधीहरु बढी प्रयोग भइरहेको डा. केसीले बताए।
उनका अनुसार सामान्य औषधीले काम नगरेको अवस्थामा वाचको प्रयोग गरिन्छ भने कुनै पनि औषधीले काम गरेन भने अन्तिम अस्त्रको रुपमा रिजर्ब ग्रुपको एन्टिबायोटिकको प्रयोग गर्ने हो। यदि सामान्य स्वास्थ्य अवस्थामै यसरी वाच र रिजर्भ ग्रुपका औषधीको बढी प्रयोग हुन थाल्यो वा समुदायमा कुनै रोग भयावह रुपमा फैलियो भने यो औषधीले काम गर्दैन र जनधनको ठूलो क्षति गराउन सक्छ।
सामान्य स्वास्थ्य अवस्थामै यसरी वाच र रिजर्भ ग्रुपका औषधीको बढी प्रयोग हुन थाल्यो वा समुदायमा कुनै रोग भयावह रुपमा फैलियो भने यो औषधीले काम गर्दैन र जनधनको ठूलो क्षति गराउन सक्छ।
त्यस्तै अर्को चिकित्सकको सल्लाह बिना पूर्जा बिना एन्टिबायोटिक औषधीको प्रयोग हुने, सिजनल अवस्थामा गाउँघर तथा छिमेकमै एकले अर्कोलाई रुघा लाग्दा फलानो औषधी खानु भनेर सिफारिस गरेकै आधारमा यो औषधी दिनुस् भनेर माग्ने र खाने प्रचलन बढ्दो रहेको डा. केसीको भनाइ छ।
यो त औषधीको मात्रै कुरा भयो। एउटा स्वास्थ्य क्षेत्रलाई मात्रै नियन्त्रण गरेर हुँदैन। ‘चार वटा विभिन्न क्षेत्रहरु मानव, पशुपन्छीजन्य औषधी, वातावरण र खाद्यान्नमा प्रयोग गरिने एन्टिबायोटिक औषधीलाई पनि सँगसँगै नियन्त्रण गर्न सकेमात्रै मानव स्वास्थ्यमा यसको असर कम गर्न सकिन्छ’, उनले भने।
विश्व प्रतिजैविक प्रतिरोधका लागि नेपालमा भएका काम
डा. केसीका अनुसार नेपालमा एन्टिबायोटिकको बढी प्रयोग हुने खाद्य, औषधी, पशु र मान्छेसँग सम्बन्धित वातावरणीय स्वास्थ्यको लागि उच्च तहमा समिति गठन भएका छन्। तिनै समितिको अधिनमा रहेर प्राविधिक समितिले काम गरिरहेका छन्। ती समितिले कसरी काम गर्ने भनेर पञ्चवर्षीय योजना बनेको उनले बताए।
त्यस्तै विभिन्न प्रयोगशालामा त्यो औषधीलाई आइसोलेट गर्ने र कुन कति प्रभावकारी भनेर पत्ता लगाउने काम पनि भइरहेको छ भने पशुमा छिटो विकास गराउन, रोग लाग्न नदिन आवश्यक नभएरै पनि एन्टिबायोटिक दिने चलन छ, त्यसलाई रोक्न आवश्यक रहेको तर्क डा. केसीको छ।
चिकित्सकले प्रेस्कृप्सन सही तरिकारले नगर्ने र बिरामीले पनि सल्लाहबिना नै खाने गर्दा एन्टिबायोटिकको दुरुपयोग भएको देखिन्छ।
उनका अनुसार मासुमा प्रयोग हुने एन्टिबायोटिकको असर मासु खाने मान्छेमा पनि पर्ने भएकाले त्यस्ता कुरामा प्रतिबन्ध लगाउने काम भइरहेको छ। खाद्यान्नमा पनि यसको निरीक्षण गर्ने र यसलाई रोक्ने प्रयास भइरहेको छ। त्यस्तै वातावरणमा पनि चक्रको हिसाबले फोहोर पानीमा जाने र बोटबिरुवा लगायत विभिन्न माध्यमबाट फेरि मान्छे तथा जनावरमा फैलिने सम्भावना हुने भएकाले वातावरणलाई पनि सफा राख्नुपर्छ भन्ने हिसाबले काम भइरहेको डा. केसीको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा. मेघराज बञ्जारा विभिन्न अध्ययनले प्रतिजैविकको प्रयोग चाहिनेभन्दा बढी भइरहेकाले ब्याक्टेरिया मार्नका लागि प्रयोग गर्ने एन्टिबायोटिकले काम नगरिहेको बताउँछन्। उनी भन्छन्‚ ‘विगत ३६ वर्षदेखि नयाँ एन्टिबायोटिकको आविष्कार भएको छैन। जति एन्टिबायोटिक छन्, उनीहरुलाई चाहिने ठाउँमा मात्र प्रयोग गर्यौं भने यी प्रतिजैविक लामो समयसम्म संक्रमणको उपचारमा प्रयोग गर्न सकिन्छ। चिकित्सकले पनि प्रेस्कृप्सन सही तरिकारले नगर्ने र बिरामीले पनि सल्लाहबिना नै खाने गर्दा एन्टिबायोटिकको दुरुपयोग भएको देखिन्छ।’













प्रतिक्रिया