काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ ।
सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो ।
विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो ।
चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो ।
ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो ।
चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।
चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।
कमल ऐरीले २, सैफ जब, कुशल मल्ल, सोहित तानवीरले सामान १–१ विकेट लिए ।
चितवनबाट कप्तान मल्ल खर्चिलो बलर बने । उनले ३ ओभर ५ बल बलिङ गर्दा ४६ रन खर्चिए । सैफ जैब किफयाती बलर बने । उनले ३ ओभर बिलिङ गर्दा एक विकेट लिँदै मात्र १३ रन दिए ।
ब्याटिङतर्फ विराटनगरका ओपनर लोकेश बम ७, जर्ज मुन्से ४ र नरेन भट्ट ४ जोडेर आउट भए । खेल सात ओभरमा पुग्दा विराटनगरले ३९ रनको अवस्थामा सुरुवाती क्रममा ५ ब्याटर गुमाएको थियो ।
विराटनगरबाट सबैभन्दा बढी रन बनाउने मर्चेन्ट डे लाङ्गे हुन् । सात विकेट गुमेपछि क्रिजमा गएका उनले २२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे ।
८ विकेट गुमेपछि क्रिजमा गएका प्रतिशत जीसीले ३० रन जोडे । उनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । साम हिजलेटले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे । अन्यको ब्याटिङ खराब रह्यो ।













प्रतिक्रिया