पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर « Khabarhub

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।

‘एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो’, उनले भने, ‘अन्नपूूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।’

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए । सन्धीखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी र शौचालय निर्माणका लागि  ३० लाख रुपैयाँ विनियोजन भएको छ । फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुला सङ्ग्रहालय निर्माणका लागि १०–१० लाख रुपैयाँ विनियोजन भएको छ । खुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले बताए ।

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको २० लाख, गाउँपालिकाको १० लाख र एक्यापको पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सबइन्जिनियर पौडेल र समुन्त यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माणस्थलको निरीक्षण गरेर फर्किएको थियो ।

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका– ४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दशैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुल, सञ्चार, विद्युत सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उनले बताए ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ । 

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ०७ बजे

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई