२१७ वर्षअघिको त्यो माझकिरात विद्रोह | Khabarhub Khabarhub

इतिहास

२१७ वर्षअघिको त्यो माझकिरात विद्रोह



पहिले काठमाडौँ उपत्यका एउटा दहका रुपमा थियो र पछि यहाँको पानीले निकास पाएपछि यो ठाउँ मानव बसोबासका लागि उपयुक्त हुनपुग्दा विभिन्न वंशका राजाले यहाँ राज्य गरेको वंशावलीमा उल्लेख छ।

विभिन्न वंशका राजाले राज्य गर्ने क्रममा यहाँ गोपालवंशी, महिषपालवंशी र किरातवंशी राजाले शासन चलाएको र किरातलाई हराई लिच्छवीले आफ्नो शासन सुरु गरेको वंशावलीमा उल्लेख छ।

यो विषय जयस्थिति मल्लको पालामा (विक्रम संवतको पन्ध्रौं शताब्दीको पूवार्द्धमा) सङ्ग्रह गरी लेखिएको छ। यसमा जयस्थिति मल्लको पालासम्मका मुख्यमुख्य इतिहासका घटनालाई छोटकरीमा टिप्ने प्रयत्न गरिएको छ। कलियुगको उठानमा हिमालय पहाडको काखमा रहेको घना जङ्गल भएको भूमि (नेपाल उपत्यकामा) गोपालहरु आए (गोठालाहरुको बस्ती बस्यो)।

आठजना गोपाल राजा भए। अनि गोपाल राजालाई जिती महिषपाल (भैँसी गोठाला) ले राज्य गरे। तीन जना महिषपाल राजा भए। अनि गोपालपछिका महिषपालहरुलाई जितेर किरातहरुले राज्य गरे। यी बत्तीस किरात राजाहरु भए। जुन किरातहरु अहिले तामाकोशी र अरुणकोशीका बीचको भूभागमा बस्छन्। अनि सूर्य वंशका प्रभावले किरात राजाहरुलाई जिती लिच्छवी वंशको राज्य चल्यो भन्ने उल्लेख छ (धनबज्र बज्राचार्य, “पूर्णिमा” पूर्णाङ्क १७-वैशाख-असार २०२५:२)।

आठजना गोपाल राजा भए। अनि गोपाल राजालाई जिती महिषपालले राज्य गरे। तीन जना महिषपाल राजा भए। अनि गोपालपछिका महिषपालहरुलाई जितेर किरातहरुले राज्य गरे। यी बत्तीस किरात राजाहरु भए। जुन किरात अहिले तामाकोशी र अरुणकोशीका बीचको भूभागमा बस्छन्।

इतिहासकार बाबुराम आचार्यले “प्राचीनकालको नेपाल” (२०६०:६३) मा किरातहरुले काठमाडौं उपत्यकामा इ.पू. ५५० देखि इ.सं. २५० सम्म आठ सय वर्षसम्म लगातार शासन चलाएको उल्लेख गरेका छन्।

वंशावलीमा किरात शासन

किरातको शासन कालमा जातिभेद, वर्गभेद र वर्णभेदको नामोनिसान रहेको थिएन। किरात राज्य वास्तविक अर्थमा लोकतन्त्रात्मक राज्यका रुपमा रहेर छिमेकमा रहेका समसामयिक अन्य सबै लोकतन्त्रात्मक राज्यमध्ये निक्कै नै सङ्गठित तथा शक्तिशाली पनि भएर रहेको सङ्केत पाइन्छ (आचार्य, २०६०:६२)।

“राजभोगमाला” मा वंशावलीहरुमा वर्णित विभिन्न वंशका राजाको राजधानीका बारेमा उल्लेख छ। यसअनुसार गोपालवंशी राजाको राजधानी मातातिर्थनजिक रहेको थियो। त्यहाँ गोपालले ठूलो गौशाला बनाई राज्यको भोग गरेका थिए (“प्राचीन नेपाल” सङ्ख्या ७–वैशाख २०२६:२३)। यस्तै किरात राजाहरुको दरबार गोकर्णको जङ्गलभित्र थियो। उनीहरु श्लेष्मान्तक बनमा विहार गर्थे (“प्राचीन नेपाल” सङ्ख्या ८–साउन २०२६:३)।

किरात राजा र उनीहरुको राज्यभोगको अवधि अनुश्रुतिमा आधारित भएर लेखिएका देखिन्छन्। यसबारेमा ठोस ऐतिहासिक प्रमाण भने उपलब्ध हुन सकिरहेका छैनन्। तर लिच्छवीकाल जुन ढङ्गले व्यवस्थित र सम्पन्नशाली थियो, त्यो बन्नुपछाडिको पूर्वाधारहरु पक्कै पनि यसभन्दा अघिको शासनकालमा निर्माण भइसकेका थिए भन्ने इतिहासकारको मत रहेको पाइन्छ।

लिच्छवीकालमा राजभाषाका रुपमा संस्कृत प्रयोग गरिन्थ्यो। त्यसबेला प्रचलित अधिकरणहरुको नाम “पश्चिमाधिकरण”, “पूर्वाधिकरण” संस्कृतमै छन् भने राजाको भित्री इजलास भन्नाले “परमासन”, “अन्तरासन” संस्कृतमै छ। तर लिच्छवीकालका शिलालेखमा प्रयोग भएका चार मुख्य अड्डाहरु “कुथेर”, “शुली”, “लिङ्ग्वल” र “माप्चोक” उल्लेख छ। यी चारैवटा शब्द संस्कृत शब्द होइनन्। यस्तै कर बुझाउने शब्दमध्ये “सिंकर” परेको छ। “सिं” शब्द नेवारी, तामाङ र लिम्बू भाषामा काठलाई बुझाउने शब्द हो (बज्राचार्य, २०२५:४)।

ठाउँ, खोलानाला आदिका नामजस्तै किरात राजाको शासनकालमै कायम भइसकेका कुथेर, शुली, लिङ्ग्वल, माप्चोक अधिकरण र करविष्टि वस्तु आदिका नाम लिच्छवी शासकले फेर्न उचित सम्झेनन्। पूर्वप्रचलित यी नाम लिच्छवी शासकले पूर्ववत् नै लिएका देखिन्छन्। लिच्छवी शासन व्यवस्थाको केही आधार किरातकालमै कायम भइसकेको थियो भन्ने देखिन आएकोले लिच्छविकालभन्दा पहिले यहाँ किरातको शासन थियो भन्ने अनुश्रुतिलाई यस कुराले पुष्टि गर्छ (बज्राचार्य, २०२५:८)।

मानदेवको समयमा किरात

मानदेव लिच्छवीकालका एक चर्चित राजा थिए। उनको राज्यकालमा भएका महत्त्वपूर्ण कार्य उनले शिलालेखमा उल्लेख गराएका छन्। इतिहासको क्षेत्रमा ऐतिहासिक प्रमाणको आधारमा स्वर्णकाल मानिने लिच्छवीकालमा चर्चित राजा मानदेवको शिलालेखमा किरातीसम्बन्धी केही सङ्केत पाइएका छन्। तीमध्ये चाँगुनारायणमा राखिएको उनको शिलालेख एउटा भरभर्दो प्रमाणका रुपमा लिन सकिन्छ। यो शिलालेख वि.सं. ५२१ को हो।

यो शिलालेखमा मानदेवले “आफू राजा भएपछि आमाको आज्ञा पाएर पूर्वको बाटो लागेको र त्यहाँ पूर्वीया सण्ठ रजौटाले दबेर शिर निहुराए, तिनका श्रीपेचको माला भुइँमा खसे, हुकूममा तामेल रहने तिनीहरुलाई थमौती गरी जगर फिंजाएको सिंह जस्तै निडर भई राजा पश्चिमतिर लागे” भन्ने उल्लेख गरेका छन् (धनबज्र बज्राचार्य, “लिच्छविकालका अभिलेख”–२०३०:१६)।

इतिहासको क्षेत्रमा ऐतिहासिक प्रमाणको आधारमा स्वर्णकाल मानिने लिच्छवीकालमा चर्चित राजा मानदेवको शिलालेखमा किरातीसम्बन्धी केही सङ्केत पाइएका छन्। तीमध्ये चाँगुनारायणमा राखिएको उनको शिलालेख एउटा भरभर्दो प्रमाणका रुपमा लिन सकिन्छ। यो शिलालेख वि.सं. ५२१ को हो।

शिलालेखमा पूर्वका सामन्त राजालाई होच्याएर “शठ” भनी लेखिएको छ। यसबाट पूर्वदेशका सामन्त राजाहरु किरात थिए कि भन्ने अनुमान हुन्छ। गोपाल वंशावलीकारले “किरात राजाहरुको वर्णन गर्दै जाँदा यी बत्तीस जना किरात राजाहरु भए, अहिले किरातहरु तामाकोशी र अरुणका बीच भागमा छन्” भनी लेखेका छन्। किरातहरुलाई हराई लिच्छवीले राज्यस्थापना गरेपछि केही किरातहरु पूर्वतिर लागेको सङ्केत गोपालवंशावलीको वर्णनबाट पाइन्छ (बज्राचार्य, २०३०:२३)।

मानदेवको समयमा राखिएको विष्णुपादुकाको फेदीको एक शिलालेखमा प्रयोग गरिएको शब्द “केटुम्बाट” ले पनि त्यस समय लिच्छवि राजाको दरबारमा किरात अधिकारी काम गर्थे भन्ने सङ्केत मिलेको पनि इतिहासकार बज्राचार्यको धारणा छ। उक्त शब्द संस्कृत शब्द नभएको र यो किराती शब्द भएको र यसको अर्थ “बलियो” “माहिलो” लाग्ने भन्ने अर्थमा “केटुम्बा” शब्द अहिलेसम्म प्रचलित छ भन्ने किरात भाषा विशेषज्ञ इमानसिंह चेम्जोङको भनाइ रहेकोले अहिले जेठो माहिलो भन्ने नाम रहेजस्तै माहिलो भन्ने अर्थमा किराती भाषामा “केटुम्बाट” नाम रहेको यताबाट देखिन्छ। यसबाट राजा मानदेवको दरबारमा किरातहरु उनका विश्वासपात्र अधिकारीका रुपमा रहेका थिए भन्ने देखिएको छ (बज्राचार्य, २०३०:४५)।

“किरात” शब्द परेको लिच्छवीकालीन शिलालेख

गोपाल राजवंशावलीमा वर्णन गरिएको किरात राजाको ३२ पुस्ताको राज्य र मानदेवको समयमा व्यवहार भएका केही वाक्यको विश्लेषणका तथा अन्य लिच्छवीकालीन शिलालेखमा राज्यले प्रयोग गर्ने महत्त्वपूर्ण राजकीय शब्द गैह्र संस्कृत शब्द भएको कारण लिच्छवीकालअघि किरातीले शासन गरेका थिए भन्ने सङ्केतसम्म मिलेको थियो। तर लिच्छवीकालीन अर्का महत्वपूर्ण शासक अंशुवर्माकालीन एक शिलालेखमा भने स्पष्ट रुपमा किरात शब्द नै परेको छ। हनुमानढोका क्षेत्रमा पाइएको यो एक मात्र शिलालेख हो, जहाँ किरात शब्द लेखिएको छ।

हनुमानढोकाको देगुतलेको मन्दिरको पेटीमा यो अभिलेख कुँदिएको शिलापट्ट रहेको र पेटी बनाउन उपयोग गरिएकोले अभिलेखको धेरै भाग खण्डित भएको छ। शिलालेखमा संवत् देखिएको छैन। तर शिलालेखमा खोपिएको लिपि अंशुवर्माको ताकाको हो भन्ने स्पष्ट छ (बज्राचार्य, २०३०:३७४)।

यो शिलालेखमा खण्डित अवस्थामा पाँच वटा हरफ आंशिक रुपमा सुरक्षित रहेका छन्। धनबज्र बज्राचार्यले पढेर उतारेको यो शिलालेखको पहिलो हरफमा “किरातवर्षधर” शब्द परेको छ। शिलालेखमा बचेका शब्दलाई अनुवाद गर्दा “अनेक थरी चरा पशुहरु हुङ्कार गरी जुध्ने ठाउँ बनेको …किरात…लिच्छविराजाले बनाएको पुरानो (दरबार) वृत्ति (जागीर) पाएका पुराना सैनिकले वास्ता नगर्दा (जीर्ण हुन थाल्यो।) खेत भग्न भएको …फेरि पुनर्वसु नक्षत्र…” भन्ने देखिन्छ (बज्राचार्य, २०३०:३७५)।

अर्का इतिहासकार गौतमबज्र बज्राचार्यले “हनुमानढोका राजदरबार” (२०३३:९)मा उल्लेख गरेअनुसार तीन हात एक बित्ता लम्बाई र एघार अंगुल चौडा शिलामा कुँदिएको यो अभिलेखमा “किरातवेषधर” शब्द पढ्न पुगेका छन्। यसलाई अनुवाद गर्दा उनले “किरातको भेषभुषा धारण गर्ने” भनी उल्लेख गरेका छन्।

पुरानो र जीर्ण भइसकेको लिच्छवी राजाहरुले बनाएको भवनलाई सबैले वास्ता गर्न छाडेकोले यहाँ नानाथरि चराचुरुङ्गी र पशुहरु बस्न थाल्नुका साथै रुखहरु बढेको भन्ने उल्लेख गरिएको यो शिलालेखमा स्पष्ट रुपमा “किरात” शब्दको उल्लेख भएको र यस्तो अन्त कतै पाइएको थिएन। यसले लिच्छवीकालमा यहाँ किरात थिए भन्ने कुरा प्रमाणित भएको छ (बज्राचार्य, २०३०:३७५)।

यो शिलालेख खण्डित अवस्थामा प्राप्त भएकोले किरातीहरुले उक्त जीर्णावस्थामा पुगेको दरबारमा के कस्ता जिम्मेवारी पाएका थिए, त्यो भने स्पष्ट छैन। तर त्यहाँ उनीहरुलाई कुनै न कुनै प्रकारको जिम्मेवारी थियो भन्ने चाहिँ स्पष्टै बुझ्न सकिन्छ।

शिलालेख खण्डित अवस्थामा प्राप्त भएकोले किरातीहरुले उक्त जीर्णावस्थामा पुगेको दरबारमा के कस्ता जिम्मेवारी पाएका थिए, त्यो भने स्पष्ट छैन। तर त्यहाँ उनीहरुलाई कुनै न कुनै प्रकारको जिम्मेवारी थियो भन्ने चाहिँ स्पष्टै बुझ्न सकिन्छ।

इतिहासकार महेशराज पन्तले “पूर्णिमा” पूर्णाङ्क ६६ (माघ २०४२:२६)मा यस शिलालेखमा उल्लेख भएको “किरातवर्षधर” शब्दमाथि व्यापक विश्लेषण प्रस्तुत गर्दै शिलालेखमा पाइएको “किरात” शब्दका कारण पुराना लिखतमा चर्चा गरिएका किरातमूलका केही मानिस नेपाल खाल्डोमा थिए भनेर अहिलेका लागि सन्तुष्ट हुन सकिने पक्ष रहेको तर यी किरात हो हुन्, यिनीहरु कुन जातिका हुन् र दरबारमा यिनीहरु कुन स्थितिमा थिए भन्ने प्रश्न भने उठ्ने उल्लेख गरेका छन्।

हनुमानढोकाको उक्त शिलालेखलाई गम्भीरतापूर्वक अध्ययन गर्ने पछिल्ला लिपिविज्ञ हुन्, श्यामसुन्दर राजवंशी। उनले पन्तको धारणालाई खण्डन गर्दै गौतमबज्र बज्राचार्यले पढेको किरातवेषधर शब्द सही भएको र त्यसैमा रहेको एक अक्षर भन्ने पढ्न छुटाएको उल्लेख गरेका छन्।

राजवंशीले “प्राचीन नेपाल” सङ्ख्या २०८ (वैशाख २०७९:२५–२६) मा “लिच्छविकालको अभिलेख”मा धनवज्र बज्राचार्यले “किरातवर्षधर” र “कैलास” पत्रिकामा गौतमबज्र बज्राचार्यले “ककिरातवेषधर” अनि गौतमबज्रले नै “हनुमानढोका राजदरबार”मा “ककिरातवेषधर” भनी उल्लेख गरेकोमा उनीहरुले शिलालेखमा भएको “धर” पछाडिको “द” अक्षर प्रष्टसँग उल्लेख भए पनि त्यसलाई पढ्न छुटाएका छन्। राजवंशीले शिलालेखमा “किरात वेष धरद” भन्ने लेखिएको पाइएको निष्कर्ष निकालेका छन्। यसको अर्थ हो, किरात भेषभुषा धारण गर्ने।

यो शिलालेखले लिच्छवीकालमा पनि किराती कुनै न कुनै भूमिकामा रहेको देखिएकोले लिच्छवीकालअघि किरातकाल रहेको भन्ने धारणामा ठूलो ऐतिहासिक राहत दिएको छ।

किरातहरु काठमाडौंबाट पूर्वतिर

गोपाल राजवंशावलीमा लिच्छवीहरुबाट हार खाएपछि किरातीहरु काठमाडौंबाट पूर्वतिर तामाकोशी र अरुण नदीको बीचको भागमा आवाद हुन पुगेको उल्लेख भएको चर्चा भइसकेको छ। यस्तै मानदेवको चाँगुनारायणको शिलालेखमा उनी राजा हुनासाथ पूर्वतिर गई त्यहाँ अटेर गर्न खोज्ने शासकलाई आफ्नो वशमा ल्याएको उल्लेख हुँदा उनीहरु किराती नै हुनसक्ने इतिहासकारको अनुमान भएको पनि चर्चा भइसकेको छ।

आफूलाई किरात दावी गर्नेहरुमा राई, लिम्बू, याक्खा, कोइच (सुनुवार), थामी, जिरेल, हायुलगायत छन्। तर केही यतादेखि लिम्बूमध्येमा कतिपयले आफूलाई किराती नभएको दावी गर्दै आएका छन्। यी समुदाय काठमाडौंदेखि पूर्वतिरै छन्। काठमाडौंबाट पश्चिमतिर रहेका कुनै पनि समुदायले आफूलाई किरात दावी गरेको देखिदैन।

काठमाडौंदेखि पूर्वतिरै पर्ने बनेपा, धुलिखेललगायत सात गाउँ क्षेत्रमा कुनै बेला किरातीहरु स्थानीय प्रशासकका रुपमा सक्रिय थिए। उनीहरुमध्ये त्यहाँका मुख्य प्रशासक महिन्द्रसिंह राय पृथ्वीनारायण शाहका गोरखालीहरुसँग लड्दैभिड्दै गर्दा वीरगति पाएका थिए भने उनका भाइ नरसिंह राय त्यहाँबाट भागी पलायन भएका थिए।

पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा गोरखाली सेनाले वि.सं. १८२० कात्तिकमा धुलिखेललगायत सात गाउँमा हमला गरेको थियो। चौकोटमा रहेर महेन्द्रसिंह रायले त्यो ठाउँ बचाउने सक्दो प्रयास गरेका थिए। गोरखालीहरुले चौकोट घेरिरहेको अवस्थामा घेरा तोडी उनी चौकोट दरबारभित्र पसेका थिए। उनको यस्तो साहसिक कदमपछि गोरखाली सेनापछि हट्न बाध्य भयो। त्यहाँ रामकृष्ण कुँवरले तीन सातासम्म युद्ध जारी राखे। पछि दलजित शाहले चौकोट घेरे। महेन्द्रसिंहका भाइ नरसिंह रायले चार दिनसम्म गोरखालीलाई रोकेर राखे। तर लड्दालड्दै महिन्द्रसिंह धुलिखेलमा मारिए। नरसिंह युद्धमा घायल भएका थिए। दाजु परलोक भएको खबर पाएपछि भोलिपल्ट मौजामा आगो लगाएर उनी त्यहाँबाट भागे। पछि महिन्द्रसिंहको वीरताबाट प्रभावित भएर पृथ्वीनारायण शाहले उनको परिवारलाई घर र जग्गाको प्रबन्ध गरिदिएका थिए (बाबुराम आचार्य, “पूर्णिमा” पूर्णाङ्क ५०–भदौ २०३८:१०-११)।

माझकिरात : राजधानी चौदण्डी

गोपाल राजवंशावलीमा किराती पूर्वतिर गएको भनी उल्लेख गरिएको तामाकोशीदेखि अरुणसम्मको भूभाग माझकिरातको नामबाट चिनिन्छ। कुनै बेला “माझकिरात जिल्ला” भनेर पनि राजनीतिक विभाजन गरिएको थियो। वि.सं. १९२१ माघ सुदी ३ रोज २ मा जिल्ला माझकिरात गोश्वारा तहसिल कचहरीको कस्यपत्रलाई नमूनाका रुपमा लिन सकिन्छ।

वि.सं. १८३० मा गोरखालीले माझकिरात कब्जामा लियो। त्यसबेला माझकिरातको राजधानी चौदण्डीमा थियो। चौदण्डीबाट त्यहाँका राजा कर्ण सेन भागेर विजयपुर पुगेपछि माझकिरात जोगाउन अजित (अगमसिंह) राय, अटल राय तथा चतिम राईले गोरखालीविरुद्ध कठोर परिश्रमका साथ युद्ध लडेको इतिहास पढ्न पाइन्छ।

मकवानपुरका राजा लोहाङ सेनलाई माझकिरातका खम्बू राईहरु तथा लिम्बूवान विजयपुरका लिम्बूहरुले राजा मान्थे। तर त्यहाँका हर्ताकर्ता उनीहरु नै थिए।

मकवानपुरका राजा लोहाङ सेनको मृत्यु भएपछि उनका नाति हरिहरइन्द्र सेन (वि.सं १७१८/१७४१)को समयसम्म विजयपुर मकवानपुर अन्तरगत नै पर्थ्यो। उनकी जेठी रानीतिरका छोरा छत्रपति इन्द्र सेनको राजा हुन नपाउँदै निधन भयो। तर छत्रपतिको छोरा विधाताइन्द्र सेनको जन्म भइसकेको थियो।

हरिहरइन्द्रले छत्रपतिका छोरा विधाताइन्द्रलाई युवराज घोषित नगरी अर्की रानीतिरका छोरा शुभ सेनलाई उत्तराधिकारी घोषणा गरिदिए। आफ्ना बाजेको यस्तो निर्णयविरुद्ध विधाताइन्द्रले आफ्नो दलबलसहित विजयपुर क्षेत्र कब्जा गरे। त्यसपछि मकवानपुर राज्य टुक्रियो। कोशीपूर्व विजयपुर छुट्टै राज्यका रुपमा स्वतन्त्र भएर देखा प-यो। शुभ सेनले ललितपुर, भक्तपुर र गोरखाको सहयोगमा विधाताइन्द्रबाट विजयपुर खोस्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन् (डा. राजाराम सुवेदी, “प्राचीन नेपाल” सङ्ख्या १४७–असार २०५८:४४ )।

यसरी मकवानपुर राज्य दुई टुक्रामा विभाजित भएपछि मकवानपुरमा शुभ सेन र विजयपुरमा विधाताइन्द्र सेन शासन गरिरहेका थिए।

तर आफ्ना मन्त्रीकै छलकपटमा परेका शुभ सेन र विधाताइन्द्र सेन दुवैलाई पूर्णियाका नवाव इस्कन्दर खाँले कैद गरे। यस्तो विकट स्थितिमा शुभ सेनका नायव प्रवोध दास शुभका दुई छोरा महिपति (मान्धाता) र मानिक सेनलाई लिई किरात प्रदेशमा शरण लिन पुगे। किराती नेता विद्याचन्द्र रायको मद्दतबाट उनीहरुले पैतृक सम्पति फिर्ता पाए पनि नवावबाट कैद भएका सेन राजाहरु फर्केर आउन पाएनन्। शुभ सेनका दुई छोराबीच राज्य बाँडिदा मकवानपुर राज्य अन्तरगतनै पहाडतिर सिन्धुलीको पौवागढीदेखि पूर्व अरुण कोशीसम्म रहेका सुनकोशीदेखि दक्षिणसम्मको माझ किरातलाई चौदण्डी प्रदेश बनाइयो।

दुधकोशीदेखि अरुण कोशीसम्मको माझ किरात पनि चौदण्डीमै सम्मिलित थियो। हालको उदयपुरदेखि दक्षिणतिरको भावरमा नयाँ राजधानी चौदण्डी बनेको थियो। शुभ सेनका दुई छोरामध्ये जेठा महिपति सेन कमलादेखि पूर्व विजयपुरको राजा बने। कान्छा मानिक मकवानपुरका राजा भए। पछि मानिकका चार छोरामध्ये जेठा हेमकर्ण सेन मकवानपुरका राजा भए।

माइला जगत सेन वि.सं. १७८४ मा चौदण्डीका राजा भए। हेमकर्णको प्रतिनिधिका रुपमा जगत सेनले माझकिरातको प्रशासन चलाइरहेका बेला बानियाँ मन्त्री र किरात मन्त्रीबीच मत नमिल्दा किराती मन्त्रीहरुले जगत सेनलाई चौदण्डीका राजा बनाइदिए। उनीपछि उनका उत्तराधिकारीहरु मुकुन्द सेन (तेस्रा) र कर्ण सेन चौदण्डीका राजा भए (साफल्य अमात्य, “प्राचीन नेपाल” सङ्ख्या ४९–५२–पुस २०३५–साउन २०३६:१५–१८)।

यसरी वि.सं. १७८४ देखि माझकिरात छुट्टै राज्यको रुपमा अस्तित्त्वमा आयो। यहाँको परम्पराअनुसार राज्यको मुख्य प्रशासकका रुपमा खम्बू राईहरु नै हर्ताकर्ता हुने हुँदा उनीहरुको अधिनमा रहेर काम गर्न गा-हो मान्ने चौदण्डीका पुरोहित हरिनन्द पोखरेल र सरदार स्वरुपसिंह कार्कीले पृथ्वीनारायण शाहलाई माझकिरात आक्रमणका लागि आमन्त्रण गरेका थिए।

माझकिरात आक्रमणका लागि माथिल्लो भेगबाट रामकृष्ण कुँवर र अमरसिंह तथा तथा तल्लो भेगबाट अभिमानसिंह बस्नेत र पारथ भण्डारीको नेतृत्वमा गोरखाली फौज खटेका थिए। उनीहरुले त्यहाँका विजित सेनाका महिला र बालबालिकामाथि ठूलो अत्याचार गरेको वर्णन इतिहासमा पढ्न पाइन्छ।

माझकिरात विद्रोह

माझकिरात गोरखालीहरुको अधिनस्थ भएको ३४ वर्षपछि यहाँ राज्यविरुद्ध ठूलो विद्रोह भएको थियो। यो विद्रोह खोटाङ र भोजपुरमा भएको थियो। विद्रोहीमध्ये कतिपयको ज्यानहरण गरी उनीहरुको परिवारलाई पनि मासिएको थियो।

त्यो बेला भर्खरै उद्दण्ड राजा रणबहादुर शाहको हत्या भएको थियो। गीर्वाणयुद्धविक्रम शाह नाबालकैमा राजा भएका थिए। भीमसेन थापाको हालीमुहाली चल्न सुरु हुँदै थियो। रणबहादुर शाहले दरबारको खर्च धान्न बासठ्ठीहरण गरी ब्राह्मणहरुलाई बिच्काएका थिए। खम्बू (राई) हरुको किपटमा पनि कडाइ गरिँदै थियो।

माझकिरात गोरखालीहरुको अधिनस्थ भएको ३४ वर्षपछि यहाँ राज्यविरुद्ध ठूलो विद्रोह भएको थियो। यो विद्रोह खोटाङ र भोजपुरमा भएको थियो। विद्रोहीमध्ये कतिपयको ज्यानहरण गरी उनीहरुको परिवारलाई पनि मासिएको थियो।

त्यहीबेला माझकिरातमा भएको यो “बाग्यान पर्व” मा भएको विद्रोहमा सामेल मानिस हेर्दा बाहुन, क्षेत्री, राई, घर्ती सबै भएकोले बासठ्ठीहरण र किपटहरणले सम्प्रेषण ग-यो भन्ने सङ्केत मिल्छ, त्योबेला माझकिरात जुरुक्कै उठेको थियो (ज्ञानमणि नेपाल, “नेपालको महाभारत”–२०५२:७४)।

माझकिरातमा भएको विद्रोह दबाउन काजीहरु रणजित पाँडे, भीमसेन थापा, रनध्वज थापा, बहादुर भण्डारी र बालनरसिंह कुँवरले हवल्दार केहरसिंह थापालाई आदेश दिए। वि.सं. १८६४ आश्विन, सुदी ३ रोज १ मा दिइएको यो आदेशमा “…उप्रान्त माझकिरात कुल्याहाहरुको सर्वसो र कुलकपीला कमारा कमारी लीन पठाएको (छ) अपसील माफिकको सर्वसो कुलन कपीला लेउपरेउनु…” भन्ने उल्लेख छ (नेपाल, २०५२:९९)।

यस्तो आदेश भएपछि माझकिरातको विद्रोहमा सामेल भएका दत्तु उपाध्याय कोइराला, पशुपति जैसी, पीताम्बर उपाध्याय, रामभद्र उपाध्याय, प्रल्लाद जैसी र भगिरथ ढुङ्गानाको चारपाटा मुडी, जात पतीत गरी सर्वस्व गरियो। दुई क्षेत्री अटल खत्री र नरी बस्नेतलाई काटियो। नरीको सर्वस्व गरियो भने अटल खत्रीको जेठो छोरो त्यसबेला दरबारमा काम गर्ने भएकोले उनले पाउने अंश भने बाँकी राखियो।

यो विद्रोहमा पाँचजना घर्तीहरु पनि सामेल थिए। कनकसिंह घर्ती, केसर घर्ती, धीर्जे घर्ती, बन्दु घर्ती र गजसिंह घर्तीलाई पनि काटियो। उनीहरुका छोराको अंश र सन्तानलाई छाडियो। विद्रोहमा सामेल ६ जना खम्बू (राई) पनि काटिए। यो विद्रोहमा अटल राई, भरथसिंह राई, कंठवीर राई, चामुफाल्या राई, सुजा राई र दिलिमी राई सामेल भएको पाइन्छ। ती मध्ये अटल राई, भरथसिंह राई र कंठवीर राईले विद्रोहमा संलग्न राईहरु मात्रै होइन, सम्पूर्ण १९ जना विद्रोहीमध्ये सबैभन्दा ठूलो सजाय पाए। ती तीनजना काटिए नै, उनीहरुको अंश पनि सर्वस्वहरण गरियो। उनीहरुका सन्तान पनि मासिए (नेपाल, २०५२:९९-१००)।

यो विद्रोह दवाउन केन्द्रबाट भीमसेन थापाले काजी बख्तावरसिंह बस्नेतलाई पनि खोटाङतर्फ खटाएका थिए। उनी त्यसतर्फ खटिएको वि.सं. १८६४ को पत्र योगी नरहरिनाथले “इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह” भाग १ (२०५५:१८०) माप्रकाशित गरेका छन्। वैशाख सुदी १२ रोज ५ मा खोटाङमा रहेका बस्नेतलाई काठमाडौंबाट काजी भीमसेन थापा र काजी रणध्वज थापाले उनलाई लेखेको पत्रको ब्यहोरा यस्तो छः
…उप्रान्त मूलुकमा विथिति भै उजर्हुन लागे छ. षान्गी पनि लेष्या वमोजीं उठन्या रहेन छ. कुन्हाँलाई पनि चयनपुर १ कंपनिले चौडंडीमा माझ किराँतका कम्पनीले षोटांगमा वस्या उता सुषिम विजैपुर हर्चन्गढि र येता नराहगढि मछ्यरेषा सम्म सर्वत्रको षबर्दारी रहन्या रहेछ भनि लेष्याको विस्तार मालुम भयो. मुलुकमा अर्थ १ भारदार तेस तरफ नहुँदाले आजसम्म दुनिञामा यथा भावि भै दुष् पाउँनाले गरीप गुर्वा उदास भया कै हुँदा हुन् तपाञी जति पुग्नु भयो त आमील गैरह वडा मांछले अन्याय र वेसिरिस्तामा दुष् दि उजार्न नपाउन्या काम गर्नु होला. षन्गीका अर्थ मुलुकको पैदावार बुझी वाज्वि पार्नु भनि भँडारीकाजीलाई हुकुम् भयाकै हो. हामीले पनि भनि दियाको छ. वाजवि गर्नन्. ताहाबाट पनि लेष्नु हवस्. कंपनि कुन्र्ह राष्नाका अर्थ तेस चाँजा सित ती जग्गामा राषि सुषिम विजैपुर हर्चनगढी नराहा मछ्यरेषा गैरह सर्वत्रका गढि किल्ला गौंडा गल्फाको र मुलुकको संभार हुन्या जस रहन्या भया ठहराइकन षटउन् गरि कुन्र्ह लाउन्याँ जाँचो गर्नु हवस्. काजिले ठहराइकन खटउन् ग-याका जगामा मजवुतिसित वस कु-ह भनि कंपनिहरुका नाउमा लालमोहर भैजान्छ पुगला. जगा र मानिस कंपनीको तजविज मिलाई षटउन् गर्नुहोला. पूर्व दक्षिण उत्तरको षैषवर कुसल छेम लेष्तै रहृया वनला.

यो पत्रले माझकिरातमा कुन प्रकारको विद्रोह भएको थियो भन्ने पनि छनक दिन्छ। त्यसबेला राज्यको मुख्य आयस्रोत नै जनताले तिर्ने तिरो रहेको थियो। पत्रका “मूलुकमा विथिति भै उजर्हुन लागे छ. षान्गी पनि लेष्या वमोजीं उठन्या रहेन छ” भन्ने परेकोले तोकेर लेखिएअनुसार जनताले तिरो तिर्न छाडेर मूलुकमा बेथिति उत्पन्न हुन गएको भन्ने स्पष्ट बुझिन्छ।

यो विद्रोहका बारेमा उल्लेख गर्ने इतिहासकार ज्ञानमणि नेपालले बासठ्ठीहरणले उत्पन्न गरेको बेथितिविरुद्ध भन्ने उल्लेख गरेका छन्। बख्तावरसिंह बस्नेतलाई भीमसेन थापा र रणध्वज थापाले लेखेको पत्रले चाहिँ विद्रोहका स्वरुपका बारेमा थप स्पष्ट पारेको छ। तिरो तिर्न छाडेर माझकिरातीहरु ठूलो विद्रोहमा उत्रिएका थिए।

फोटो क्याप्सन

हतुवागढीका शासक अटल रायले जारी गरेको वि.सं. १८२५ को मोहर (स्रोतः भोगीराज चाम्लिङ)
माझकिरातका जिम्मावाल धर्म राईलाई झिंगटीको छानो भएको पौवा नबनाए कारवाही गरिने चेतावनी दिइएको वि.सं. १८५२ को रोक्का (डा. रमेश ढुङ्गेल)
खार्पाका पोखरेलहरुलाई सेन राजाले वि.सं. १८१९ माम दिएको पुरेत्याईंको मोहर (स्रोतः “नेपालको इतिहासमा पोखरेल”–२०७७)

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १ : ४७ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक

काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरु गरेको छ

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट

आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न

‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ’

धनुषा– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच