काठमाडौं – नेकपा एकता अभियानका नेता वामदेव गौतम फेरि एक पटक जिल्लिएका छन् । गत पुस १७ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सैद्धान्तिक सहमति गरिसकेका उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुरा पत्याउँदा जिल्लिएका हुन् । एमालेका पुस २१ देखि २३ सम्म बसेको बैठकले पार्टी छाडेका सबैलाई ढोका खुलाएको थियो । त्यसकै बलमा गौतमले एमालेमा फर्किने भन्दै यही माघ ६ गते आइतबार निर्णय आफू नेतृत्वको अभियानमा निर्णय गराए ।
गातैमले ओलीको चर्को विरोधसहित एमालेबाट ०७८ भदौ १८ गते राजीनामा दिएका थिए । नवौँ महाधिवेशनका तत्कालीन उपाध्यक्ष गौतमलाई यही माघ ८ गतेको एमाले सचिवालय बैठकले तत्काल स्वागत नगरी सहकार्यको नीति लियो । त्यहीकारण तत्काल एमालेमा प्रवेश गरेर हल्लाखल्ला गर्ने वामदेवको योजना तुहिएको छ । अहिले उनीसँग एमाले अध्यक्ष ओली पनि सम्पर्कमा छैनन् । एमालेले आफूसँग सहकार्य गर्ने भने पनि कुनै नेताले फोनसमेत नगर्दा वामदेव निराश छन् । यति मात्रै होइन, पटक–पटक सम्पर्क गर्दा पनि ओलीले आफ्नो फोन नउठाएको गौतमले बताए ।
माघ ८ गते बसेको एमाले सचिवालय बैठकमा वामदेव भित्र्याउने एजेन्डामा बोल्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र उपाध्यक्ष रामबहादुर थापा बादललाई सोधेर ओलीले वामदेवलाई तत्काल ठाउँ नदिने निर्णय गरेका थिए । ओलीले सोध्दा बादलले वामदेव एमालेमा आएर गुट चलाउँछन् भनेका थिए। पोखरेलले अहिले पदाधिकारीमा ल्याएर विधान संशोधन गर्न नसकिने बताए । नेताहरूका अनुसार अब एमालेमा तत्काल वामदेव ल्याउने सम्भावना छैन ।
ओली र वामदेवबीच विगतमा पनि टसल पर्दै आएको थियो । ओलीले माघ ४ गते वामदेवलाई ‘दुई मुटु एक धड्कन भएर काम गरौँ’ भनेका थिए । ‘ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ, उहाँले झगडा गरे पनि पार्टीभित्रै गर्ने, बाहिर चुप बस्ने र दाजुभाइ मिलेर पार्टी बनाउने भन्नुभएको छ’, ओलीको भनाइ बताउँदा वामदेव उत्साहित थिए । अब वामदेव के गर्छन् ? पछिल्लो समय वामदेव समाजवादीमा जान लागेका हुन ? एमालेसँग सहकार्य कसरी हुँदैछ ? यिनै सेरोफेरोमा रहेर खबरहबले छोटो कुराकानी गरेको छ ।
एमालेले यहाँको अभियानसँग एकता नगरी सहकार्यको नीति लियो । अहिले सहकार्य कसरी हुँदैछ ?
केही पनि भएको छैन । अलमल छ । आराम गरेर बस्न भनेर भनिएको छ । सहकार्य गर्ने भनिएको छ । शब्दमा सहकार्य गर्ने भनेर लेखिएको छ तर, व्यवहारमा केही छैन ।
किन भएन ? अब फरक पर्दैन भन्नुभएको थियो त पहिले ?
किन भएन भएन म पनि अचम्ममा छु । सहकार्य गर्ने भनेर भनेको तर, बिस्तारै वार्ता अगाडि बढ्ला कि ? बढ्छ भन्ने आशमा हामी छौँ ।
पछिल्लो सयम एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट र कुराकानी भएको छैन ?
भएको छैन । उहाँले गर्नुभएको छैन । मैले फोन गरेको थिएँ । उहाँले उठाउनु भएन । मैले गरेको फोन नउठाएपछि गर्न पनि छाडेँ । शनिबारतिर होला अन्तिम पटक गरेको थिएँ, उठाउनु भएन । त्यसअगाडि पनि एक पटक गरेँ ।
एमाले र ओली पक्षका नेताले केही छलफल र संवाद गर्नुभएको छैन ?
गर्नुभएको छैन । कसैसँग संवाद नै भएको छैन । सहकार्य गर्ने भनिएको छ । कस्तो सहकार्य ? कुन सहकार्य ? कहाँ सहकार्य ? केही छलफल नै भएको छैन । न उहाँले छलफल गर्नुभएको छ । न सचिवालयका नेताले । सायद सरकारको काममा व्यस्त भएर होला ।
बाहिर हल्ला चाहिँ समाजवादीमा जाँदै हुनुहुन्छ भन्ने आयो नि ?
अहिले त्यस्तो छैन । समाजवादीसँग अहिले म संवादमा छैन । बाहिर हल्ला अनेक आए । समाजवादीमा जाने हल्ला मात्रै हो । पहिला जाने भन्ने थियो । टुङ्गो लागिसकेको थिएन । तर हामी सकारात्मक थियौँ । अहिले केही पनि भएको छैन । एमालेमा जाने भएपछि त्यहाँका साथीहरू छलफल नै गर्न छाड्नुभयो ।
एमालेमा जाने भएपछि उहाँहरूले संवाद नगरेको हो कि ?
हामीले पनि प्रयत्न गर्नुपर्छ नि त । अहिले हामीले प्रयत्न नै गरेको छैन । आफ्नो निम्ति आफैँ गर्ने हो नि छलफल । अरू कसले गर्नुपर्छ र ? अहिले उता छलफल गर्नु जरुरी छैन । एमालेमा नै छलफल गर्ने हो ।
तपाईं अलिकति हलुको हुनुभयो, एमालेमा जान पनि हतारिनुभयो ? न यता न उताको हुनुभयो भन्छन् नि ?
मेरो भन्नु केही छैन । भन्ने भन्दै गर्छन् । दुवैतिर आफूले निर्माण गरेका नेताहरू छन् । तल कार्यकर्ता पनि उस्तै छन् । जतातिर जाने भए पनि छिटो–छिटो गर्नुपर्ने भनेर प्रयत्न चाहिँ गरियो । तर एमालेमा त्यो सहकार्य होला भन्ने थाहा थिएन । सहकार्य पनि कहिले गरेको होइन । अहिले पनि रूपरेखा पनि छैन ।
- ओलीले दुई मुटु एक धड्कन भएर काम गरौँ भन्नुभएको छ : वामदेव गौतम (अन्तर्वार्ता)
- साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम
- एमालेसँग मिल्न खोज्दा वामदेवको एकता अभियान नै फुट्यो
- वामदेवलाई भित्र्याउनेबारे एमाले अनिर्णित, ‘सहकार्य गर्दै जाने’
हामी त सर्लक्कै एमाले हुने भनेर घोषणा गरियो । यतातिरबाट सर्लक्कै हामी एमाले भयौँ भनेर भनिसकियो । तर त्यसको मान्यता नै दिएन एमालेले । त्यही भएन हतार भयो कि जस्तो लाग्छ । एमालेले हामीसँगको मूल्य मान्यता बिर्सनु हुँदैन भन्ने मेरो कुरा हो ।
यहाँले एमालेमा गुट चलाउनुहुन्छ रे ? एमालेमा सचिवालय बैठकमा त्यही कुरा भएछ ?
यो कुरा गलत छ । गुट मैले होइन । त्यहाँ भएकाहरूले गुट चलाएका हुन् । पार्टी विभाजन गर्ने केपीजी र पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनीहरूले नै नेकपा विभाजन गरेका हुन । उनका सबै आसेपासेले मलाई कुरा लगाएर आफू पन्छिने काम गर्छन् । तिनीहरूले भन्ने हो । मैले कहिले गुट चलाएँ ? मैले कहिले गुट चलाइनँ । गुट चलाउने भए त म अहिले कहाँ हुन्थे । तर, म त्यो बाटोमा लगिनँ । माओवादीसँग एकता बनेपछि एउटा गुट बनेको थियो । एउटा गुट केपीको नेतृत्वमा थियो । एउटा प्रचण्ड नेत्तृत्वको थियो । म चाहिँ प्रचण्ड नेतृत्वको गुटमा फसेँ । अहिले म फसेँ मात्रै भन्छु । वास्तवमा मैले त्यसो गर्नुहुने थिएन । त्यसबेला प्रचण्डसँग फसे जस्तो लाग्छ ।
कहाँ गएको भए हुन्थ्यो जस्तो लाग्छ ?
म केपीकै गुटमा बसेको भए हुन्थ्यो जस्तो लाग्छ । त्यसो गरेको भए हुने रहेछ । अखिर उनीहरू छुटिएर जाने नै रहेछन् । प्रचण्डको कुरा सुन्ने भएर आफ्नो त नयाँ पनि भएन, पुरानो पनि भएन ।
उसो भए अब एमालेले वास्ता गरेन, यहाँ प्रचण्डसँग फर्किने योजना छ त ?
म जान्न । म अब कुनै पनि हालतमा प्रचण्डसँग जाने पक्षमा छैन । अब म आफैँ निर्णय लिन्छु ।
उसो भए यहाँका शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?
केही समय पर्खनु एउटा बाटो लिन्छौँ । हामीले लिएको त्यो बाटो सकेसम्म छिटो र राम्रो हुन्छ । एक डेढ महिनाभित्र हामी एउटा निष्कर्ष निकाल्छौँ । नआत्तिनु भन्छु । आत्तिने बेला भएको छैन । मिल्दै छ । मिलाउँदै छु ।
यो पनि-
एमालेमा जान खुट्टा उचालेका वामदेवको बाटोमा कसले राख्यो डिभाइडर ?
प्रतिक्रिया