कांग्रेसका त्रिनेता, शहरका अब्बल ‘इभेन्ट अर्गनाइजर’ | Khabarhub Khabarhub

कांग्रेसका त्रिनेता, शहरका अब्बल ‘इभेन्ट अर्गनाइजर’

सभापति देउवा र महामन्त्रीद्वय मिलेपछि….


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरायो । केन्द्रीय समितिमा झण्डै ८० प्रतिशत पदाधिकारी र सदस्यहरु देउवा प्यानलबाट निर्वाचित भए । सभापतिका रुपमा दोस्रो कार्यकालका लागि महामन्त्री भने देउवाले रोजे अनुसार पाएनन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल पराजित रहे । डा.शेखर कोइराला नेतृत्वको समूहबाट गगन थापा र प्रकाशमान सिंह नेतृत्वको समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भए । कांग्रेस कार्यकर्ताले आफ्नो विवेक प्रयोग गरेर सभापति देउवालाई २ युवा सारथी दिलाइदिए ।

कांग्रेसको विधानले पार्टी सञ्चालनका महत्वपूर्ण कार्यकारी अधिकारहरु महामन्त्रीलाई प्रदान गर्दछ । त्यसैले पार्टी सञ्चालनका लागि महामन्त्रीहरुको साथ देउवालाई जरुरी थियो ।

कांग्रेसमा महाधिवेशन सकिएकै क्षणदेखि महाधिवेशन लाग्ने प्रचलन छ । १४ औं महाधिवेशनबाट निर्वाचित जम्बो केन्द्रीय समिति संस्थापन र इतर पक्षमा विभाजित रह्यो । कतिपय केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका नेताहरुले महामन्त्रीद्वयको आलोचना गरिरहे । पार्टीभित्रको फरक मतलाई अभिव्यक्त गर्दै महामन्त्रीहरुले कांग्रेसको ‘लोकतान्त्रिक सौन्दर्य’ जोगाइ नै रहे ।

फरक प्यानलबाट निर्वाचित महामन्त्रीसँग काम गर्न देउवालाई सहज लागेन । त्यसैले महत्वपूर्ण जिम्मेवारीमा महामन्त्रीलाई अलग गरियो । संसदीय निर्वाचनअघि चुनावी तालमेल नगर्ने संस्थापन इतरको विचार कांग्रेसले स्वीकार गरेन । टिकट वितरणका लागि संसदीय बोर्डलाई पूर्णता दिइएन । इतर पक्षका पदाधिकारीले कम्तीमा आफ्नो टिकट सुरक्षित गर्न सफल भए । कांग्रेसले आधा सिटमा संसदीय चुनाव लड्यो ।

संसदीय निर्वाचनको परिणामले कांग्रेस पहिलो पार्टी बन्यो । पहिलो पार्टीले सरकारको नेतृत्वमा स्वाभाविक दावी गर्नुपर्‍थ्यो, गरेन । कि प्रचण्ड, कि त केपी ओलीले प्रधानमन्त्री बनाइहाल्छन् भनेर सभापति देउवा ढुक्क थिए । महामन्त्रीहरुलाई कुनै जिम्मेवारी दिइएन । बैठक, छलफल र गतिविधिमा सहभागी गराइएन ।

कांग्रेसभित्र महामन्त्री पद भूमिका खोजिरहनुपर्ने पद थिएन । सभापतिले भूमिका दिइरहनुपर्ने पनि होइन । यद्यपि महामन्त्रीद्वयलाई देउवाले विश्वास गरेनन् । महामन्त्रीहरु पोखरा पुगे । साहित्य महोत्सवमा सहभागी भए । यता काठमाडौंमा गठबन्धन बदलियो । एमालेको समर्थनमा प्रचण्ड नेतृत्वको सरकार बन्यो । कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा पुग्यो ।

सत्ता गुम्नुको पीडा कांग्रेसजनलाई चर्कै थियो । सामाजिक सञ्जालदेखि यत्रतत्र संस्थापन पक्षले महामन्त्रीद्वयको उछितो काडे । महामन्त्रीहरुले सत्ता गठबन्धन नबन्नुको दोष सभापतिलाई मात्रै दिएनन्, आफूहरुलाई जिम्मेवारी नदिएको गुनासो पनि गरे ।

समय बदलियो । सभापति र महामन्त्रीद्वयको टकरावले कांग्रेसका गतिविधि रोकिए । कांग्रेसभित्र आरोप प्रत्यारोप बाहेक केही बाँकी रहेन । महामन्त्रीद्वयले आफैंले रियलाइज गरे । सभापतिसँग जुधेर होइन, मिलेर मात्रै कांग्रेस संगठनका नियमित काम गर्न सकिने निष्कर्षमा पुगे । सभापतिलाई भेटेरै महामन्त्रीहरुले भने – झगडा नगरौं, मिलेर जाऔं ।

सभापति देउवाका लागि यो अनुचित प्रस्ताव थिएन । पार्टीभित्र प्रचण्ड बहुमत रहँदा पनि दुई जना महामन्त्रीका आरोप र अभिव्यक्तिले देउवालाई सार्वजनिक रुपमा ‘अनुदार’ चित्रण गराएको थियो । जसका कारणले समस्या थियो, उनैले सहकार्य गर्ने भनेपछि देउवा तयार भए । महामन्त्रीहरु सभापतिको सहयोगी हुने शर्तमा देउवाले भूमिका दिन राजी भए ।

बैठक, छलफल, कार्यदल, तयारी सबै महामन्त्रीहरुको जिम्मेवारी भयो । संगठनका काम अलपत्र देखेर महामन्त्रीद्वय सभापतिसँग ‘झगडा’ होइन ‘मिलेर काम गर्न’ थालेको वर्षदिन पुगिसकेको छ ।

यसबीचमा कांग्रेसले वीपी साहित्य महोत्सवदेखि पार्टी कार्यालयमा स्टल राखेर ‘उद्यमी मेला’ आयोजनासमेत गरिसकेको छ । नेपाल विद्यार्थी संघले जय नेपाल कप क्रिकेट प्रतियोगिता नै गर्‍यो । लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गराउन गठन गरेको निर्देशन समितिले त झन् सभापति कप फुटबल प्रतियोगिता गर्‍यो । डालोभरि राखेर लाखौं पैसा बाँड्यो ।

सभापति र महामन्त्री मिलेदेखि कांग्रेसले लगातार इभेन्ट गरिरहेको छ । गर्न नसकेको उही नेविसंघ, तरुण दल, महिला संघसहितका भ्रातृ संस्थाको महाधिवेशन मात्रै हो ।

शहरमा नयाँ–नयाँ इभेन्ट कांग्रेसले गरिरहेको छ । कांग्रेसको इभेन्ट आयोजना क्षमता वीपी महोत्सवदेखि अझ परिष्कृत भयो । ‘वीपीभन्दा पुष्पलाल महान्’ लेखिआएकालाई समेत मोडरेट बनाएर कांग्रेसले इभेन्ट आयोजनामा आफ्नो ‘व्यवसायिक चरित्र’ प्रस्तुत गर्न सफल भयो ।

महाधिवेशन गर्न सजिलो होस भनेर कांग्रेसले साढे सातसय भन्दा बढीको नेविसंघ केन्द्रीय समिति बनायो । महाधिवेशन गर्नकै लागि कांग्रेसले ४ सय जनाको तरुण दलको केन्द्रीय समिति बनायो । भ्रातृ संस्थाकै महाधिवेशन गर्न गराउन कांग्रेसले दर्जनौ निर्देशन समिति पनि बनायो । ती सबैले महाधिवेशन बाहेकका धेरै काम गरिसके ।

अहिले कांग्रेसकै नेतृत्वमा खेलकुद मन्त्रालय छ । फुटबलको गतिलो प्रतियोगिता हुन सकिरहेको थिएन । खेलकुद संघको महाधिवेशन गराउनुपर्ने निर्देशन समितिले सभापति कप फुटबल आयोजना गरेर उत्कृष्ट ‘इभेन्ट’ गर्‍यो । अझ आर्थिक कारोबारहरु चेकमार्फत हुनुपर्ने प्रचलित कानूनहरुको उल्लघंन गरेर कांग्रेसले डालोमा लाखौं नगद राखेर पुरस्कार बाँड्यो ।

इभेन्ट व्यवस्थापनमा कांग्रेसको दख्खल बढ्दैछ । त्यसको सिको नेविसंघले गर्‍यो । आफ्नै महाधिवेशन गराउन नसकेर थला परेको नेविसंघले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट आयोजना गर्‍यो । सभापति र महामन्त्रीहरु नमिलेको भए यो इभेन्ट पनि सजिलै आयोजना नहुन सक्थ्यो । कांग्रेस नेतृत्वको अद्भूत सहकार्यले जय नेपाल कप सफल भयो । नेपाली क्रिकेटमा योगदान भयो नै, कांग्रेसको इभेन्ट अर्गनाइज गर्ने क्षमता नर्सरीदेखि नै निखारियो ।

कांग्रेसका इभेन्टमा निजी क्षेत्रले लगानी गरे । बैंकहरुको ‘सीएसआर’ को पैसा कांग्रेसको ब्यानरमा बाँडियो । निजी क्षेत्रको गुन पनि कांग्रेसले झट्टै तिरिहाल्यो । सभापतिको निर्देशनमा महामन्त्रीहरुले निजी क्षेत्र मैत्री अध्यादेश तयार पार्नुभयो । संसदबाट कानून बनाउन २ वर्ष कुर्नुभन्दा व्यवसायीको व्यापार बढाउने कानुन ‘नगदमै’ अध्यादेशबाट ल्याइयो । अब्बल इभेन्ट अर्गनाइजरका रुपमा कांग्रेसले आफ्ना स्पोन्सरहरुलाई निराश बनाएन ।

कांग्रेसमा सभापति र महामन्त्रीबीच विवाद रहँदाभन्दा मिल्ती हुँदा कांग्रेसले बढीभन्दा बढी इभेन्ट गर्नसक्छ । यस्ता इभेन्टले कांग्रेसको व्यवसायिक क्षमता पनि बढाउँछ । त्यसैले हुनुपर्छ, पटक–पटक म्याद थपेर पनि चैतभित्रै गर्नुपर्ने भ्रातृसंस्थाको महाधिवेशन कांग्रेसको ‘विसलिस्ट’ मा अझै परेको छैन । बरु अध्यादेश ल्याएर कांग्रेसलाई सुदृढ बनाएको सरकारले अचानक ‘सामाजिक सञ्जाल ऐन’ दर्ता गराइदियो ।

अध्यादेशमा जस लिनेहरु विधेयकको अपजसबाट भाग्ने स्थिति बन्यो । ‘अध्यादेश हामीले ल्याएका हौं’ भन्नेहरुले ‘विधेयक कसले बनाएको हो ?’ भन्नुपर्ने स्थिति सिर्जना भयो । अध्यादेश जसरी पनि पारित गर्छौं भन्नेहरुले विधेयक कुनै हालतमा पारित हुन दिँदैनौं भन्नुपर्ने भयो ।

कांग्रेस सरकारमा छँदैछ । अध्यादेशको जस कांग्रेसले लिइ नै सकेको छ । विधेयकविरुद्ध ‘कलिला कांग्रेस’हरु माइतीघरमा कुर्लिसकेका छन् ।

कांग्रेसले एउटा जिम्मेवार राजनीतिक दलका रुपमा, सत्तारुढ पार्टीका रुपमा नीतिगत प्रयत्न, सुधार वा जिम्मेवारीबोध गर्नुपर्दैन । एउटा गतिलो रंगशाला नभएको देशको खेलकुद मन्त्रालय सम्हालेर कांग्रेसले दलका तर्फबाट क्रिकेट वा फुटबलको प्रतियोगिता आयोजना गरे पुग्छ ।

अब बस् कांग्रेसले नयाँ इभेन्ट गर्न बाँकी छ । त्यस्तो इभेन्ट, जहाँ कांग्रेस आफैं बिरामी हुन्छ, आफैं धामी हुन्छ । आफैं झाँक्री हुन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ५३ बजे

सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य जोड्नुपर्छ : मन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई स्वास्थ्य

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने

एजेनसी – अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको

आवासीय चिकित्सकहरूलाई सरकारी सरह सेवा सुविधा दिन केयुको परिपत्र 

काठमाडौं– काठमाडौँ विश्वविद्यालय (केयू)  ले आवासीय चिकित्सकहरूलाई  सरकारी चिकित्सक सरह

मनाइयो राष्ट्रिय मगर एकता दिवस (तस्बिरहरू)

काठमाडौं– देशभरका मगर समुदायले आज ४३ औँ राष्ट्रिय मगर एकता

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न आग्रह

गाजा– हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश