नेविसंघका केन्द्रीय सदस्यद्वारा कास्की कांग्रेस सभापतिविरुद्ध कारबाहीको माग « Khabarhub

नेविसंघका केन्द्रीय सदस्यद्वारा कास्की कांग्रेस सभापतिविरुद्ध कारबाहीको माग


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी दिएका छन् । 

उनीहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघलाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै पार्टीको केन्द्रीय अनुशासन समितिसमक्ष उजुरी दर्ता गराएका हुन्।

नेविसंघका केन्द्रीय सदस्यहरूले विशेष गरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा भएको पराजयको लागि सभापति बराललाई दोषी ठहर गरेका छन् । 

केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालका अनुसार, नेविसंघले सचिव पदमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाएको भए पनि केन्द्रीय सदस्य रेजिना खड्कामार्फत मनोनयनपत्र च्यात्न लगाइएको थियो, जसका कारण उपाध्यायको नाम अन्तिम सूचीमा समावेश भएन।

यस घटनापछि नेविसंघले विरोधस्वरूप तालाबन्दी गरे पनि सभापति बरालकै निर्देशनमा उम्मेदवार सौगात पण्डित नेतृत्वमा ताला फोडिएको आरोप छ । केन्द्रीय सदस्य नसिब गुरुङका अनुसार, बरालले एमाले-माओवादीसँग मिलेर नेविसंघको अस्तित्व नै संकटमा पार्ने प्रयास गरेका छन्।

अन्य केन्द्रीय सदस्यहरूले समेत सभापति बरालमाथि स्ववियु निर्वाचनका लागि उठाइएको चन्दा दुरुपयोग गरेको आरोप लगाएका छन् । 

‘एक जनाको स्वेच्छाचारी सोचका कारण संगठन कमजोर हुन सक्दैन,’ केन्द्रीय सदस्य अन्जान थापाले भने, ‘उद्योगी व्यवसायी र शुभेच्छुकहरूबाट संकलित रकम सही रूपमा उपयोग नगरी, बरु नेविसंघको विरुद्ध मत माग्न सक्रिय हुनु गम्भीर विषय हो।’

नेविसंघले अनुशासन समितिसँग बराललाई सात दिनभित्र साधारण सदस्यताबाटै निलम्बन गर्न माग गरेको छ। यदि कारबाही नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत दिएको छ।

सभापति बरालले भने आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन्। उनले स्ववियु निर्वाचन विद्यार्थीहरूकै लागि हुनु पर्नेमा जोड दिँदै शिक्षण संस्थालाई स्वतन्त्र बनाउनुपर्ने धारणा व्यक्त गरे। ‘राजनीतिक दलहरूकै कारण स्ववियुको औचित्य संकटमा पर्ने खतरा छ,’ उनले भने, ‘त्यसैले शिक्षण संस्थालाई राजनीति होइन, ज्ञान र नेतृत्व विकासको केन्द्र बनाउनु पर्छ।’

बरालले उठाइएको चन्दाको विवरण पारदर्शी ढंगले सार्वजनिक गरिने बताएका छन्। ‘चन्दा संकलन भएको छ, क्याम्पसहरूमा वितरण समेत गरिएको छ,’ उनले भने, ‘यदि मैले कुनै गल्ती गरेको प्रमाणित भए, कारबाही भोग्न तयार छु।’

स्ववियु निर्वाचनमा नेविसंघ चारै क्याम्पसमा पराजित भएको छ। लामाचौरमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवारले जित हात पारेका छन्।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ३८ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,