‘शान्ति प्रक्रियामा कहाँबाट जोडियो बाख्रो ?’ | Khabarhub Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी बहस

‘शान्ति प्रक्रियामा कहाँबाट जोडियो बाख्रो ?’

‘ज्ञानेन्द्र शाह २५० वर्षमा घर गए, यो ठूलो कुरा होइन’



शान्ति प्रक्रियामा १८ वर्ष समय लाग्यो । नलाग्नुपर्ने गरी लामो समय लाग्यो । पीडितहरुका पीडा यति लामो समयसम्म सम्बोधन नगरिनु किमार्थ उचित थिएन । तर, समय लागि नै सक्यो । अब हामीले ऐन बनाएका छौं । यस ऐनबाट अगाडि जान सक्छौं भन्ने मलाई विश्वास छ ।

अगाडि पनि आयोगहरु थिए । त्यसमा म अहिले जान चाहन्नँ, आयोगहरु सफल हुन सकेनन् । यसपल्ट जुन दुईवटा आयोगहरु निर्माण हुनेछन्, ती सफल हुनेछन् भन्ने विश्वास लिएको छु ।

यस क्रममा पनि अलिकति ढीलो भयो । हामीले दुई–दुईवटा छनोट समिति बनायौं । छनोट समिति सफल भएनन् । किन सफल भएनन्, त्यो बेग्लै कुरा हो । तर, हामीले आफैंले बनाएका छनोट समितिहरुलाई असफल हुन दिनु हुँदैन ।

छनोट समितिले निष्पक्ष ढंगले बुझ्ने, सिफारिस गर्ने र नियुक्तिको काम पनि यस (संक्रमणकालीन न्याय) को मर्म, नेचर मिल्नेखालका व्यक्तिहरु र प्रतिवद्धता एवं चिन्ता भएका व्यक्तिहरु खोजी गर्नुपर्दछ र यस ढंगको जिम्मा दिनुपर्दछ । उहाँहरुलाई पूराका पूरा सहयोग रहनेछ र आयोग सफल हुन्छ भन्ने विश्वास मैले लिएको छु । सफल बनाउनका लागि प्रधानमन्त्रीको हैसियतमा म भन्न चाहन्छु– मेरो पूराका पूरा सकारात्मक क्रियाकलाप र व्यवहार रहनेछ । सहयोग रहनेछ ।

एउटा कुरा मलाई शंका लाग्छ– अहिले पनि त्यो हिंसालाई फेरि ग्लोरिफाइड गर्ने, बाजा बजाउने, धुमधाम गर्ने कुरा किन भइराखेको छ ?

सरकारका तर्फबाट आयोगहरुलाई सफल बनाउन अर्थात् पीडितहरुलाई न्याय दिन, परिपूरण दिन हामी सफल ह्ुनेछौं ।
विगतका दिनमा नेपालले भोग्न नपर्ने अनावश्यक, अनुचित हिंसा भोग्यो । एउटा कुरा मलाई शंका लाग्छ– अहिले पनि त्यो हिंसालाई फेरि ग्लोरिफाइड गर्ने, बाजा बजाउने, धुमधाम गर्ने कुरा किन भइराखेको छ ?

हामी यो बेठिक भयो भनेर शान्ति प्रक्रियामा आएका छौं । शान्ति प्रक्रिया प्रक्रियालाई टुंगो लगाउने भन्दैछौं । हामी देखिराखेका छौं, ती क्रियाकलापले मानिसहरु देशभरि पीडित भएका छन् । हजारौंको संख्यामा मान्छेहरुको पीडा छ, आँशु छ । हजारौंको संख्यामा ज्यान गयो, हजारौं अंगभंग भए हजारौं टुहुरा टुहुरी भए । अहिले पनि अपांगताको स्थिति रहिराखेको छ । एउटा क्रन्दन छ । त्यसमा मल्हम लगाउनुपर्ने ठाउँमा फेरि हामी किन यसलाई ग्लोरिफाइड गरिराखेका छौं ? के उधुम गरेका थियौं हामीले ? राम्रो गरेका थियौं हामीले ? यो भ्रमबाट हामी मुक्त हुनुपर्दछ ।

आफ्नै काम पनि हिजो बेठीक भएको थियो भने बेठीक गरिएछ भनेर जनतामा आत्मालोचक भएर पेश हुन सक्नुपर्छ । र, त्यसलाई सच्याउनुपर्दछ । अब उप्रान्त यस्तो नहुने प्रतिवद्धता जनाउनुपर्छ । घरिघरि रिस उठ्यो भने ‘फेरि जाऔं त’ भन्न हुँदैन । यो कुनै चानचुने कुरा छैन । यो ख्याल–ख्यालमा भन्ने कुरा होइन । ‘बिसाएका हौं, छोडेका छैनौं‍‍‍‍…’ यस्तोखालको कुरा गर्नुहुँदैन ।
शान्ति प्रक्रियामा मलाई त्यसको डर छ विगतमा यस्तै मनोदशाले पनि ढीलो भएको होला शायद । यो मनोदशा त्याग्नुपर्दछ । नेपालमा फेरि यस्तो हुँदैन भन्ने प्रत्याभ्रूति दिनुपर्दछ । अरुलाई पीडा भएन भने पनि पीडितहरुलाई फेरि तिनै दिन सम्झाउने हो भने ऐठन हुने स्थिति हुन्छ ।

हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैं अगाडि बढेका छौं । कसले श्रेय लिने हो भन्ने कुरा कुरा छाडिदिऔं । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेयजति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । श्रेय चाहिँदैन । यसलाई सफल पार्ने, पीडितका घाऊमा मल्हम लगाउने । उहाँहरुका आँशु पुछ्ने हो । र, अब नेपालमा शान्ति हुनेछ भनेर नेपाली जनतालाई निश्चिन्त बनाउने हो । अब उप्रान्त नेपालमा यस्तो हिंसा हुनेछैन । यसरी मान्छे पीडित हुनुपर्ने छैन ।

यो हाम्रैबीचको कुरा हो । हामीले वास्तवमा संकल्प ग¥यौं भने यसलाई रोक्न नसक्ने कुरा छैन । यसलाई टुंग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकने कुरा छैन । सकिन्छ । सक्नुपर्छ । हामी सक्छौं । त्यही विश्वासका साथ अहिले प्रधानमन्त्रीको हैसियतमा म लागेको छु । त्यसैकारण म प्रधानमन्त्री हुने वित्तिकै लामो समयदेखि रोकिएको ऐन पास गर्न मैले सबै पक्षलाई आग्रह गरें ।

अनावश्यक कुराहरु निकाल्ने, ननईस्युलाई ईस्यु बनाउने, वातावरणलाई बिगार्ने, हामीले यस्तोखालको तरिका अपनाउनुहुँदैन भन्ने गरेको छु । हामीले वातावरणलाई सकारात्मक ढंगले अगाडि बढाउन हामी हरेकले योगदान गर्नुपर्छ । हामी शान्तिको बाटोमा अगाडि बढ्नुपर्छ । सम्पूर्ण नेपाली जनता यही चाहन्छन् – देशमा शान्ति होस् । द्वन्द्वका घाऊहरु, खतहरु मेटियुन् । पीडितले न्याय पाउन् । अब उप्रान्त यस्तो हुँदैन भन्ने कुराको प्रत्याभूति नेपाली जनताले खोजेका छन् । यही हो नेपाली जनताको अपेक्षा ।
हामीले त्यो मार्ग (हिंसा) छाडिसकेका छौं । त्यो मार्ग छाडेको १८ वर्ष भइसक्यो । राम्रै काम गरेको थियो भने पनि त्यसका दुष्परिणामहरु देखिए ।

शान्ति प्रक्रियामा सहयोगका निम्ति म अन्तर्राष्ट्रिय समूदायलाई धन्यवाद भन्न चाहन्छु । अन्तर्राष्ट्रिय समुदायले हामीलाई धेरै मद्दत गरेको छ । अन्तर्राष्ट्रिय समुदाय हामीलाई घच्घच्याइरहन्छ । लौ न तपाईहरु केही गर्नोस्, अगाडि बढ्नोस्, टुंग्याउनोस् भनिरहेको छ । हामी सहयोग गर्छौं भनिरहेको छ । त्यस आह्वानलाई म अत्यन्तै सम्मान गर्न चाहन्छु र त्यसको प्रशंसा गर्न चाहन्छु ।

म भन्न चाहन्छु–परिपूरणको प्रशंगमा हाम्रो मात्रै बुँताको कुरा अलि हुँदैन कि ? त्यसकारण म अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्न चाहन्छु–अन्तर्राष्ट्रिय समुदायले यस परिस्थितिको सिर्जना गरेको होइन, परिस्थिति यहीँ सिर्जना भएको हो । अब यस परिस्थितिको वास्तविक अन्त्य गर्नका लागि चाहिँ अन्तर्राष्ट्रिय समुदायको साथ, सहयोग हामीलाई जरुरी छ ।

म आग्रह गर्न चाहन्छु, अन्तर्राष्ट्रिय समुदायले दिल खोलेर हामीलाई साथ देओस् । हामी यस प्रक्रियालाई एकदमै इमान्दारिताका साथ अगाडि बढाउन चाहन्छौं । यसमा तपाईहरुले साथ दिन्छौं भन्नुभएको छ, म धन्यवाद भन्न चाहन्छु । आयोगहरु बनेपछि हाम्रो रिक्वायरमेन्ट के हो, हामी भन्ने छौं र यहाँहरुसँग पनि परामर्श गर्नेछौं ।

हामीले पनि विभिन्न देशका द्वन्द्वहरु हेरेका छौं । कहीँ सफलताका दृष्टान्तहरु देखेका छौं, कहीँ सफल हुने प्रक्रियाका निरन्तरताहरु देखेका छौं । र, हामी कहीँबाट पनि नक्कल गर्न सक्दैनौं । हाम्रो आफ्नो मौलिक तरिका छ र त्यही मौलिकताका साथ हामी यसलाई सम्वोधन गर्छौं ।

पीडितका कुरा मैले सुनेको छु… तर जबसम्म उहाँहरुका पीडाहरुलाई सम्वोधन गरिँदैन, कुरा सुनेको छु भनेरमात्रै के हुन्छ ? त्यसकारण यसको औषधि चाहियो । उपचार चाहियो । मेरो रुचि यसमा छ ।

हिजो पनि मैले सुनें, अस्ति पनि मैले सुनें । शान्ति प्रक्रियामा सिफारिस समिति बनाऔं भनेर बोलाएर सिफारिस समिति बनाएपछि फेरि एकजना कर्मचारी (कुलमान घिसिङ) ले ठीक काम गरेन भनेर निकाल्दिएछ, यस्तो धोका भयो ! कहाँबाट जोडियो यो ? खेतमा पानी लगाउने कुरा र बाख्रो किनेको कुरा कहाँबाट जोडियो ? अर्कै–अर्कै कुरा हो यो ।

शान्ति प्रक्रिया बेग्लै कुरा हो, एकजना कर्मचारीले राम्रो काम गरेन भनेर कारबाही गरेको छ सरकारले । यो कुरा कसरी जोडिन आयो ? ठुल्ठुला नेताहरु यस्तो कुरामा अल्झिन हुँदैन भन्छु म । यस्ता कुराहरुबाट माथि उठेर यस विषयलाई सर्वाधिक महत्वका साथ लिनुपर्छ ।

नेपालमा हामीले अगाडि बढाउनुपर्ने दुईवटा कुरा छन् । एउटा– शान्ति प्रक्रियालाई टुंगो लगाउने, अर्को– सुशासन र विकासका काम अगाडि बढाउने । सुशासन र विकासको कामलाई अगाडि बढाउन सकार दत्तचित्त भएर लागेको छ ।

हामी दुई–चार महिनामा घर फर्किने गरेका छौं, ज्ञानेन्द्र शाहजी २५० वर्षपछि घर फर्किनुभएको छ, ठुलो कुरै भएन नि

ननईस्युहरु पनि कसरी निकालेको ? ०६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभो । हामी दुई–चार महिनामा घर फर्किने गरेका छौं, उहाँ २५० वर्षपछि घर फर्किनुभएको छ, ठुलो कुरै भएन नि । फेरि अहिले यति वर्षपछि कहाँबाट फेरि ननईस्यु !

पोखराबाट आउनुभो अरे, दरबार दरबार ! यो खालको कुरामा अब नेपालीहरु अल्झिनुहुँदैन । यस्ता डिबेडमा जानुहुँदैन । यस्ता कुराहरुले जनतामा असन्तुष्टि बढ्छ । जनतालाई असन्तुष्ट बनाउने होइन, सन्तुष्ट बनाएर अगाडि जानुपर्छ । काम हुन नदिने र असन्तुष्टि बढाउनेभन्दा हामीले जनतालार्ई काममार्फत् सत्ता पक्ष, प्रतिपक्ष एक भएर अघि बढ्नुपर्छ ।

हामीले दिगो लक्ष पूरा गर्नुपर्ने छ । २० प्रतिशत जनसंख्या गरीबीको रेखामुनि छ, दीगो विकासको लक्ष कसरी पूरा गर्ने होला ? गरीवीलाई हामीले कसरी सम्वोधन गर्ने ? त्यस कुरामा हामी केन्द्रित हुनुपर्छ । सामाजिक पीडाहरु कसरी सम्वोधन गर्ने होला ? त्यस कुरामा केन्द्रित हुनुपर्छ ।

२० प्रतिशत जनसंख्या गरीवीको रेखामुनि छ भने गरीबका छोराछोरी धेरै हुन्छन्, गरीबीको रेखामुनि रहेका बालकालिकाको संख्या २५ प्रतिशतभन्दा माथि छ । त्यति वालवालिका निरपेक्ष गरीबीको रेखामुनि भएको अभिभावकका सन्तानले गरीबीको पीडा सबभन्दा नराम्ररी, गर्भैमा हुँदादेखि, जिन्मिनेवित्तिकै देखि भोग्नुपरेको छ । यसलाई सम्वोधन गर्नुपर्ने आजको आवश्यकता होइन ?

त्यसकारण पीडितका पीडालाई सम्वोधन गरौं । गरीबको भोकलाई सम्बोधन गरौं । समाजमा शामन्ति स्थापना गरौं । कसरी अशान्ति भड्काउन सकिन्छ भनेर नलागौं ।

म सबै साथीहरुलाई आग्रह गर्न चाहन्छु । देशभरि सबैलाई भन्न चाहन्छु । सबै राजनीतिक पार्टीहरुलाई भन्न चाहन्छु, हामी जवाफदेही बनौं ।

सरकार अधिनायकवादी भो ! निषेधाज्ञा तोड्दाखेरि पनि अधिनायकवादी हुँदैन ? प्रहरीले लाठी खाएको छ, प्रहरीले केही गर्दैन । त्यसही पनि अधिनायकवाद । कि त हिजो अधिनायकवादको पक्षमा रहेका, कि त पछि जन्मिएर अधिनायकवादै नदेखेको ।
आज अधिनायकवादी होइन, आज लोकतान्त्रिक सरकार छ । म सधैं खुला छु । प्रधानमन्त्रीको हैसियतले पनि सबैका समस्या के छन्, पीडा के छन्, त्यसलाई सुन्न र सम्वोधन गर्नका लागि म खुला छु ।

कोही कोही कुरा मैले एक्लै गर्दा नहुने वा सरकारले मात्रै गर्दा नहुने, शान्ति प्रक्रियाजस्ता कुराहरु पनि होलान् । देश निर्माण नै गर्ने कुरा पनि, गरीबी हटाउने कुरा पनि सरकार एक्लैको मात्रै दायित्वको कुरा होइन । सबैको आ–आफ्नो खालको रचनात्मक भूमिका चाहिन्छ । तर भूमिका चाहिँ रचनात्मक हुनुपर्छ ।

म आलोचनालाई स्वागत गर्छु । शान्ति प्रक्रियालाई सफल बनाउनु हामी सबैको कर्तव्य हो । १८ वर्ष भइसक्यो । अन्तर्राष्ट्रिय रुपमा हामीलाई मुख देखाउन गाह्रो भइसक्यो । सन् २०१८ मा मैले संयुक्त राष्ट्र संघमा हामी आफ्नै मौलिक प्रक्रिया अनुसार सफल पार्छौं भनेको थिएँ । अहिले ७ वर्ष भइसक्यो । त्यतिबेला आयोग थियो, अहिले त आयोग पनि छैन । यो दिनमा पुगेका छौं, हामी सिरियस हुनुपर्दैन ? त्यसकारण हामीले यो प्रगति ग¥यौं, यति उन्नति ग¥यौं, बिग्रेका ठाउँमा यति साम्हाल्यौं भन्ने गरी हामी अगाडि बढ्नुपर्दछ ।

त्यसकारण, नेपालबाट हिंसाको अन्त्य गरिएको छ, हिंसाका घाऊ सम्वोधन गर्नुपर्छ । फेरि त्यस्तो हिंसा नहोस्, त्यसको प्रत्याभूति गर्नुपर्छ । पीडितहरुमा न्याय पायौं भन्ने अनुभूति हुनुपर्दछ । र, उप्रान्त हाम्रा सन्ततिले यस्तो भोग्नुपर्ने छैन भन्ने कुराको ग्यारेन्टी हुनुपर्दछ ।

मचाहिँ यो द्वन्द्वमा तटस्थ मान्छे हुँ । म निष्पक्ष, तटस्थ भएको हुनाले मलाई सजिलो पनि छ । अशान्तिका राजनीतिक कारणहरुको त सम्वोधन भइसक्यो । जसले त्यो अभियान चलाएको थियो, त्यो अभियानकर्ताहरु शन्तिप्रक्रियामा आइसक्नुभएको छ, मूलधारको राजनीतिमा आइसक्नुभएको छ

हामीले आयोगका लागि सिफारिस समिति बनाएका छौं । सिफारिस समितिले काम थालिसकेको छ । अब दुई महिना त्यसलाई समय लाग्छ । त्यसपछि त्यो सिफारिसका आधारमा आयोग गठन हुन्छ र आयोगले गतिका साथ काम अगाडि बढाउँछ । न्याय दिने कुरा, परिपूरण दिने कुरा अगाडि बढ्छ ।

अशान्तिका राजनीतिक कारणहरुको त सम्वोधन भइसक्यो । जसले त्यो अभियान चलाएको थियो, त्यो अभियानकर्ताहरु शन्तिप्रक्रियामा आइसक्नुभएको छ, मूलधारको राजनीतिमा आइसक्नुभएको छ । अब निरपेक्ष आममाफी हुँदैन । जुनसुकै नाममा होस्, अमानवीय, मानवता विरुद्धको अपराध गर्नेलाई कारवाही हुन्छ ।

हाम्रो सर्वोच्च अदालतले फैसला गरेर केही मार्गदर्शन गरेको छ । मानवअधिकार काउन्सिलले केही भनेको छ, विश्व मानवअधिकार मञ्चले । केही संयुक्त राष्ट्र संघले भनेको छ । गतवर्ष मात्रै संयुक्त राष्ट्र संघका महासचिव आएर हाम्रो संसदको रोष्ट्रमबाट आधारभूत कुराहरु बोल्नुभएको छ । ती कुरालाई पनि हामीले ध्यानमा राखेका छौं ।

यी सबै कुराहरुलाई ध्यानमा राखेर पीडितलाई न्याय प्राप्त हुने गरी विना दबाव, विना करकाप सत्य निरुपण र मेलमिलापका कामहरु हामी सम्वोधन गर्छौं ।

यस सन्दर्भमा हाम्रो एउटा मात्रै उद्देश्य मैले अघि नै भनें, पीडितले न्याय, सम्मान र परिपूरण पाउनुपर्दछ । दोषीले दण्ड पाउनुपर्दछ । द्वन्द्वकाल भनेर हामी कतिपयले ‘फर्गेट एण्ड फर्गिभ’ (बिर्सने र माफी दिने) पनि भनेका हौंला । तर, सबैखाले अपराधलाई ‘फर्गेट एण्ड फर्गिभ’ भनेर माफी दिन सकिँदैन ।

यसमा हाम्रा प्रतिवद्धताहरुलाई तपाईहरुले आगामी दिनमा समाउनुपर्छ । मैले बोलेका कुराहरु मैसँग पनि रेकर्डेट छन्, तपाईहरुलाई चाहियो भने कुनै पनि समय म उपलब्ध गराउँछु । तपाईहरुले त्यसैगरी हरेकको कुरा समाउनुपर्दछ । भाषण ग¥यो, सिद्धियो गरिनुहुँदैन ।

मचाहिँ यो द्वन्द्वमा तटस्थ मान्छे हुँ । म निष्पक्ष, तटस्थ भएको हुनाले मलाई सजिलो पनि छ ।

(नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा विहीबार आयोजित ‘सङ्क्रमणकालीन न्याय प्रक्रिया : द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ विषयक राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीद्वारा व्यक्त सम्वोधनको सम्पादित अंश)

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ०२ बजे

आज २०८२ साल वैशाख २६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २६ गत शुक्रबार। वैशाख

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

काठमाडौं – गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ

भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, अधिकांश सीमावर्ती क्षेत्रमा ‘ब्ल्याक आउट’

नयाँदिल्ली – पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

लुम्बिनी – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको