‘चैत १५ को आयोजक राप्रपा होइन, हाम्रो प्रदर्शन २६ गते हुन्छ’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘चैत १५ को आयोजक राप्रपा होइन, हाम्रो प्रदर्शन २६ गते हुन्छ’

राजा ल्याउने मुख्य नेतृत्व कांग्रेस, एमाले र माओवादीले गरे हुन्छ : लिङदेन



काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते काठमाडौंमा हुन लागेको राजावादीहरुको प्रदर्शनको आयोजक राप्रपा नरहेको स्पष्ट पारेका छन् । तर, यो प्रदर्शनमा राप्रपाको सक्रिय साथ सहयोग रहने उनले बताएका छन् ।

माओवादी लगायतको समाजवादी मोर्चासँग एकै दिन कार्यक्रम भिडाउनु उचित नभएको लिङदेनको स्वीकारोक्ति छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका लिङदेन खबरहबसँग भन्छन्, ‘चैत १५ गतेको कार्यक्रम हामी (राप्रपा) ले घोषणा गरेको होइन । साथीहरूले सल्लाह माग्नुभएको भए हामी त्यसो गर्न (जुधाउन) दिने थिएनौँ होला । तर, यो आन्दोलनको कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पूरा समर्थन छ ।’

शुक्रबार राजावादीको प्रदर्शन स्वतःस्फूर्त हुन लागेको र त्यसमा राप्रपाले साथ दिने लिङदेनले स्पष्ट पारे । उनले भने, ‘आन्दोलन जुधाएको होइन, गणतन्त्रवादीहरुको कुकर्मले गर्दा सडक उर्लिएको हो । हामी राजा ल्याउँछौँ, राजसंस्था फर्काउँछौँ, हिन्दु राष्ट्र ल्याउँछौँ भन्नेखालको आन्दोलनमा राप्रपा सबैको साथमा रहन्छ र सहयोग गर्छ ।’

राप्रपाले आफ्नै आयोजनामा काठमाडौंमा चैत २६ गते विशाल प्रदर्शन गर्ने लिङदेनले जानकारी दिए । राप्रपा आन्दोलनमा होमिइसकेको र आवश्यक परे संसदसमेत छाडेर आउने उनले बताए ।

यसैबीच, राप्रपाले शुक्रबार हुन लागेको प्रदर्शनमा सक्रियपूर्वक सहभागी हुन नेता कार्यकर्तालाई आग्रह गरेको छ। प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विहीबार विज्ञप्ति जारी गरेर राजसंस्था पुनर्स्थापना गर्ने आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरेका हुन्।

यो पनि-

राप्रपाले आन्दोलन नछाड्ने, तीनकुनेको प्रदर्शनमा सहभागी हुने

पहिलो पटक निर्मल निवास छिरेका प्रसाईंको दाबी- पूर्वराजाले अघि बढ्नुस्, सफल हुनुस् भन्‍नुभयो

पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने प्रचारको अध्यक्ष लिङदेनले खण्डन गरे । उनले राजा फर्काउने अभियानको नेतृत्व गर्न कांग्रेस, एमाले र माओवादीलाई समेत आग्रह गरे ।

प्रस्तुत छ, राप्रपा अध्यक्ष लिङदेनसँग काठमाडौंमा हुन लागेको राजावादीहरुको प्रदर्शनबारे केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश–

माओवादी, एकीकृत समाजवादी र विप्लव लगायत मिलेर बनेको ‘समाजवादी मोर्चा’ले आन्दोलनको घोषणा गरेपछि किन राप्रपाले पनि चैत १५ गते नै कार्यक्रम जुधाएको ?

चैत १५ गतेको कार्यक्रम हामी (राप्रपा) ले घोषणा गरेको होइन । साथीहरूले सल्लाह माग्नुभएको भए हामी त्यसो गर्न दिने थिएनौँ होला । तर, यो आन्दोलनको कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पूरा समर्थन छ । आन्दोलन जुधाएको होइन, गणतन्त्रवादीहरुको कुकर्मले गर्दा सडक उर्लिएको हो । हामी राजा ल्याउँछौँ, राजसंस्था फर्काउँछौँ, हिन्दु राष्ट्र ल्याउँछौँ भन्नेखालको आन्दोलनमा राप्रपा सबैको साथमा रहन्छ र सहयोग गर्छ ।

हामी नै आयोजक रहेर चैत २६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र वैशाखको पहिलो साताबाट पूर्ण रूपले राजधानी केन्द्रित कार्यक्रम गर्ने तयारीमा छौँ ।

उसोभए राप्रपा ‘ब्याक’ सर्दैन ?

हामी निकै अगाडि गइसकेका छौँ । कार्यक्रम सार्वजनिक भइसकेको छ । समान विचार भएका अन्य पार्टी, संघ–संस्थाले राजतन्त्र फर्काउने शान्तिपूर्ण आन्दोलन र अहिंसापूर्ण आन्दोलन गर्छन् भने हाम्रो साथ सहयोग रहने छ । आवश्यकता अनुसार समान विचार भएका शक्तिहरूसँग सहकार्य र परिआउँदा मोर्चासम्म बनाएर जाने बाटो खुल्ला गरेका छौँ ।

चैत २६ गते काठमाडौंमा राप्रपाको प्रदर्शन कस्तो हुन्छ ? देशभरबाट मान्छे बोलाउनु भएको हो ?

हो । देशभरबाट सम्भव भएसम्म शुभचिन्तक र आस्थावान जनता आउनुहुन्छ । उहाँहरू एकदम नै उत्साहित भएको पाएका छौँ । हामीले उहाँहरूलाई कुनै लोभ र कर नलगाएर स्वतस्फूर्त आन्दोलनमा आउन आह्वान गरेका छौँ ।

यहाँहरूको आन्दोलनमा त राजावादी नै एक नभएको देखियो नि ? राप्रपा नेपाल र यहाँहरुबीच पनि खाडल छ । अर्कातिर दुर्गा प्रसाईँ, नवराज सुवेदीहरुको बेग्लै छ ? पत्रकार सम्मेलनमा प्रसाईले तपाईहरुमाथि आरोप नै लगाउनुभयो नि ?

एक हुने भनेको पार्टी एक हुँदा मात्र हो र ? यसमा अहिले व्याख्या गर्नुपर्ने कुनै कुरा छैन । यी सबै भ्रम हुन् । कसैले घाँटी जोडेर हिँडिहाल्नुपर्छ भन्ने छैन । अवस्था आयो भने सबै एकै ठाउँमा हुन्छन् भन्ने कुरा अस्ति त्रिभुवन विमानस्थलदेखि निर्मल निवाससम्मको र्‍यालीले देखाइसकेको छ । मान्छेका आफ्ना–आफ्ना कार्यशैली, विचार र बानी ब्यहोरा हुन्छन् । त्यसमा फरक देखिएको होला तर मूल ठाउँमा हामी एक ठाउँमा छौँ । परेका बेला एकजुट हुन्छौँ भनेर देखाइ पनि सकेका छौँ । समय क्रममा एक ठाउँमा हुन्छौँ पनि ।

तर, राजेन्द्र लिङ्देन आफैँ सदनबाट लाभ लिने अनि एजेन्डाचाहिँ राजसंस्थाको लिने भनेर यहाँमाथि दुर्गा प्रसाईले नै प्रश्न उठाए नि ?

यो सबै हावादारी कुरा हो । सडक तातेको देखेपछि अब हामी सकिने भयौँ भनेर केही दल र व्यक्तिले गलत आरोप लगाए । हामीले राजसंस्थाको एजेन्डा बोकेर नै निर्वाचनमा गएर सिट जितेका हौँ । कसैले टीका लगाएर दिएको होइन । गणतन्त्रवादी भनेर भोट पनि दिएको होइन । अहिले संविधानले नै परिधिभित्र बसेर आलोचना गर्न पाउने, परिवर्तनको विषय उठाउन पाउने, नमिलेका विषय उठाउन पाउने सुविधा दिएको छ । हामी अहिले संसदमा छौँ । त्यही भएर संसद् र सडकमा पनि दुबैतर्फ राजसंस्थाको पक्षमा आवाज मुखरित भएको छ । गणतन्त्रका विकृतिहरुका बारेमा जनतालाई सुसुचित गराउने काम भएको छ । मैका मिलेको छ ।

तर, यहाँलाई राजसंस्था फर्काउने आन्दोलनमा साँच्चिकै लाग्ने भए सदन छोडेर आउन राजावादीले नै भनिरहेका छन्…….

यो तर्क बेतुकको भयो । यसमा मेरो उहाँहरूप्रति कुनै टिप्पणी पनि छैन । एउटा उखान छ नि, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ । राप्रपाले आवश्यक पर्‍यो भने संसद् पनि छाडेर सडकमा आउँछ । जुन कुरा हामीले बारम्बार भनिरहेका छौँ ।

कस्तो किसिमको आवश्यकता भयो भने सदन छाडेर सडक आउने ?

आन्दोलन बढ्दै गयो, उठ्दै गयो र हामीले संसद् छोड्दा आन्दोलनले निष्कर्ष प्राप्त गर्छ भने हामी छोड्न तयार छौँ । म सबै नेपाली जनतालाई राप्रपा आन्दोलनमा होमिसकेकाले त्यसका लागि तयार रहन पनि आग्रह गर्छु । जनताको सपना पूरा गरेर छाड्छौँ ।

यसो हुँदा त संसदको लोभ देखिएन र ?

यो कुराको पनि समय हुने रहेछ । हामी समय हेरिरहेका छौँ । कुनै लोभ छैन । म फेरि पनि यहाँलाई के भन्छु भने हामी राजसंस्थाको पक्ष लिएर नै संसदमा गएका हौँ ।

तपाई त राप्रपाभित्रै अहिले अल्पमतमा परिसक्नुभयो रे नि ? बाध्यताले मात्रै आन्दोलन गरेजस्तो गर्नुभएको हो कि ?

यो कुरा कुनै पनि हालतमा सत्य छैन । म हिन्दुत्वको नारा लिएर, राजसंस्थाको नारा लिएर नै जनता, पार्टी र नेतामाझ परीक्षण भएर आएको हुँ । हाम्रो पार्टीका नेताहरू पनि यो आन्दोलनको नेतृत्वमा हुनुहुन्छ । त्यसमा हामी पनि छौँ । बाहिरका कुरालाई लिएर पार्टीमा शंका गर्न थालियो भने त कुनै पनि पार्टी रहँदैन । त्यसकारण, हाम्रो पार्टीमा कुनै विवाद छैन । अल्पमत र बहुमतको कुरा छैन । र, मेरो विषयमा पनि म आफ्नो एजेण्डमा क्लियर छु । कसैको कर र बाध्यता छैन ।

बाहिर अर्को पनि कुरा छ । पूर्वराजा ज्ञानेन्द्र शाह र राजेन्द्र लिङ्देनको सम्बन्ध बिग्रियो, त्यही भएर राजा फर्काउने आन्दोलनको कमान्डर गर्न लिङ्देनलाई दिइएन भन्ने छ नि ?

हामीले सार्वजनिकरूपमा बारम्बार भनेका छौँ । आन्दोलनको कमान्डर होइन, अहिले राजा ल्याउने मुख्य नेतृत्व नै कांग्रेस–एमालेले गरे हुन्छ भनेका छौँ । हाम्रो के कुरा भयो र ? हामीले राप्रपाको राजा ल्याउने कुरा गरेको होइन । देशको राजा ल्याउन खोजेको हो । कांग्रेस एमाले र माओवादीको समेत राजा ल्याउन खोजेको हो ।

त्यसकारण, राजा ल्याउने अभियानमा हामी मात्र होइन, अरू ठूला पार्टी पनि आउन् भनेर आह्वान गरेका छौँ । उनीहरूले नै यसको जस लिउन् भनेर पटक–पटक भनेका छौँ । राप्रपा कुनै लोभमा छैन । मलाई जिम्मेवारी दिएको भए पनि मैले पूरा गर्न सक्ने थिइनँ कि ? किनकि म त पार्टीको पनि लिडर हो । सदनमा पनि आवाज उठाउनुपर्ने छ । मैले नै किन नेतृत्व गर्नुपर्छ र ? कति जिम्मेवारी लिने ?

तर, हामीबीच कुनै समस्या छैन । बाहिरका कुराले फरक पार्दैन । यसमा त कुनै कुरा नै भएन । त्यसकारण, हामीले कमान्डर कसलाई तोक्नुभयो, कसलाई राखियो भन्दा पनि नेतृत्व गर्ने क्षमता र कला हेर्नुपर्ने हुन्छ । उहाँ नवराज सुवेदी अनुभवी, सक्षम र योग्य हुनुहुन्छ । अरु साथीहरु पनि सक्षम हुनुपर्छ । मैले मेरो पार्टीबाट पनि नेताहरु खटाएको छु । म नै हुनुपर्छ भन्ने के छ र ? हामीले उहाँलाई साथ दिन्छौँ । यसमा कुनै मेरो असमति, विमति छैन ।

उसोभए पूर्वराजासँग सम्बन्ध बिग्रिएको छैन ?

यो पनि कुनै कुरा भयो र ? मेरो सम्बन्ध उहाँसँग किन बिग्रने ? म उहाँलाई हिजोजस्तो सद्भाव गर्थेँ, आज पनि उस्तै छ । उहाँले पनि उस्तै गर्नुहुन्छ । हामीबीच कुनै तुस छैन । फेरि, पूर्वराजा जस्तो मान्छेसँग मेरो निकटता, संगत लामो भएको भए पो सम्बन्ध बिग्रने, राम्रो हुने कुरा आउला । उहाँ मेरो श्रद्धा र देशका पनि गौरव र श्रद्धा हो ।

पछिल्लो समय यहाँहरू सडकमा आउँदा बाह्य शक्तिले पनि सघाएको चर्चा सुनिन्छ नि ? राजा फर्काउने आन्दोलनमा बाह्य शक्तिको पनि साथ छ रे यहाँहरूलाई ?

हामी त्यस प्रकारको कुनै पनि परिकल्पना गर्न सक्दैनौँ । यो पाप हुन्छ । यसरी अन्टसन्ट भनेर दलहरूले हामीलाई आरोप लगाउन खोजेका हुन्, यसको कुनै तुक छैन । हामीलाई कसैको जरुरी छैन । नेपाली जनताले साथ दिए भने त्यही काफी छ ।

अरूले के भने, त्यो हामीलाई सरोकारको विषय नै भएन । तर, अहिले यो आन्दोलन एकाएक भएको होइन । लामो समयदेखि राजसंस्थाको पक्षमा, हिन्दु संस्थाको पक्षमा, संघीयताको विरुद्धमा आवाज उठ्दै आएको हो । हामी लामो समयदेखि यसैको प्रयत्नमा थियौँ । त्यसमाथि अहिले जुन किसिमले गणतन्त्रवादीले अकर्मन्यता बढाए, यसले जनता खुसी भएनन् । जनताले नै राजसंस्था चाहे ।

फागुन २५ को प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो किन राख्नुभएको त ?

फोटो कसले राख्यो ? किन राख्यो ? हजारौँ मान्छे आएको ठाउँमा व्यक्तिगत कसैले राखेको होला । यो कुरा पुरानो भइसक्यो । यो देशमा मार्क्स लेनिन, माओत्सेतुङको फोटो राखेर पूजा गर्ने, कार्यक्रम गर्ने, आफ्नो कार्यालयमा झुन्ड्याएर बस्नेलाई देशले नेता मानेको छ । हजारौँ मान्छेमा कुनै एउटा व्यक्तिले इन्डियन नेताको फोटो बोकेर ल्यायो, त्यो उसको इच्छाको कुरा हो । तर, हाम्रो पक्षबाट यसमा कुनै योगदान छैन ।

आन्दोलनमा पूर्वराजाको चाहिँ साथ रहेकै हो ?

मूल रूपमा पहिले धेरै मानिसहरूलाई आंशका थियो । राप्रपाहरू राजा चाहिन्छ भन्ने तर राजा स्वयं उत्सुक होइबक्सिन्छ कि होइबक्सिन्न भन्ने थियो । तर, राजा स्वयंबाट फागुन ६ गते मचाहिँ तयार छु भन्ने सन्देश आएपछि भने यो कुरा उत्कर्सतर्फ गइरहेको छ । निष्कर्ष पनि यसले दिन्छ भन्ने हाम्रो बुझाइ छ ।

राजसंस्था साँच्चिकै फर्कियो भने को राजा हुन्छन् ? पूर्वराजा ज्ञानेन्द्र वा उनका सन्तान ?

हामीले कोही व्यक्ति राजा बन्ने भन्दा पनि पृथ्वीनारायण शाह, अथवा उहाँका वंशज र उत्तराधिकारी नै नेपालको राजनीतिक उत्तराधिकारी हुनुपर्छ भनेर लामो समयदेखि लागेका छौँ । यो कुरा नै निरन्तर हो । अब राजा बन्ने भनेको राजा ज्ञानेन्द्र नै हो । त्यसमा अरू व्यक्तिको कुरा नै हुन्न ।

जनताका छोराछोरीले राजा हुन पाउँदैनन् ?

जनताका छोराछोरी कार्यकारी प्रधानमन्त्री हुन्छन् । यो कुरा म अहिले पनि सबैलाई क्लियर बनाउन चाहन्छु कि राजा शाह वंश नै हुन्छन् । जनताका छोरा प्रधानमन्त्री हुन्छन् । यो व्यवस्था ठीक र सहज पनि हुन्छ । यसमा कुनै प्रश्न छैन । राष्ट्रपतिको ठाउँमा राजा राख्ने र कार्यकारी अधिकार प्रधानमन्त्रीलाई दिने हो । यो कुरामा कुनै समस्या छैन ।

याे पनि…

एकैदिन सडकमा निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

राजावादीले मोर्चा कस्दा झस्किए गणतन्त्रवादी, नसुध्रिए अराजकता र संकटतिर जान सक्छ देश

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ५१ बजे

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल