पोखरामा तीन खानेपानी आयोजना एकैसाथ निर्माण | Khabarhub Khabarhub

पोखरामा तीन खानेपानी आयोजना एकैसाथ निर्माण


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् । 

पोखरा–११ मा जलवायु अनुकूलित बृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा–२१ र ३३ लाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी–निर्मलपोखरी–कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो । 

आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका थिए ।

लागत साझेदारीमा बन्ने ती आयोजनामार्फत काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्ने छ । बृहत् भरतपोखरी–निर्मलपोखरी–कृस्ती खानेपानी आयोजना निर्माणका लागि रु ५१ करोड ७७ लाख ७६ हजार कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट रु २८ करोड ४९ लाख ९१ हजार स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।

काँहुधरहरा खानेपानी आयोजनाका लागि रु ४९ करोड १७ लाख मध्ये रु २१ करोड छ लाख २४ हजार र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजारमध्ये रु १९ करोड ७६ लाख ४१ हजार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । 

समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्ने छ । तीनवटै परियोजनाको कुल लागत रु एक अर्ब २९ करोड ४९ लाख ५८ हजार लाग्ने अनुमान छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्ने जनाइएको छ ।

बृहत् भरतपोखरी–निर्मलपोखरी–कृस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपोक्ताको घरघरमा पानी पुर्‍याइने आयोजना प्रमुख क्षेत्रीले बताए । उक्त आयोजनाबाट करिब २४ सय घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए ।

उक्त आयोजनामा दुई सय, एक सय, ७५, ५० र २० घन मिटरका ११ पानी ट्याङ्की निर्माण हुनेछन् । यस्तै काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्‍याइने छ । करिब एक हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत तीन सय घनमिटरको एक र एक सय घनमिटरका दुईवटा ट्याङ्की निर्माण गरिने छ ।

 मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । यस आयोजनामा ३५ किमी पानीको पाइप लाइन विस्तार हुने छ । विभिन्न ठाउँमा एक सय ५० र ३५ घनमिटर क्षमताका आठवटा पानी ट्याङ्कीमार्फत आयोजनाले एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्ने छ ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्रसमेत आह्वान गरिसकेको छ । तीनवटै आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर लागिपरेको बताउनुभयो । महानगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उनले भनाइ छ । 

“पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला यी आयोजना सञ्चालन गर्ने चरणमा हामी आइपुगेका छौँ”, उनले भने, “ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धतासहित अग्रसरता लिएका छौँ ।”

‘जी टु जी’ अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताए।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : २७ बजे

भुइँचालो गएकै दिन सुरू भएको संसद् अधिवेशनको ‘परकम्प’ : सत्ता पक्ष र विपक्षीबीच सुरूमै ‘तितोपिरो’

काठमाडौँ– सरकारले संसद्को बर्खे अधिवेशन (बजेट अधिवेशन) वैशाख १२ देखि

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

काठमाडौं – ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका

कांग्रेस सांसद माया राई तीन दिनसम्म थुनामा रहने

काठमाडौं– नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा

प्रहरीसँग झडप भएपछि शिक्षक महासंघले बोलायो आकस्मिक बैठक

काठमाडौं– नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते