दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान « Khabarhub

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर र रात हात्ती रुँगेर बितिरहेको छ । मूर्तिया जङ्गल नजिकै रहेकाले जङ्गली जनावरबाट मकैखेती जोगाउन अचेल यसरी नै समय बिताइरेको उनले बताए ।

“गत मङ्सिरमा लगाएको वर्णशङ्कर जातको मकैमा दान लाग्न सुरु भएको छ, तर नजिकैको वनबाट आउने बाँदरले मकै रोपेको दिनदेखि नै दुःख दिन थालेको हो । त्यही समयदेखि खेतमै टहरो बनाएर बस्नुपरेको छ”, मैनालीले भने, “सुरुदेखि नै बाँदरको दुःख छँदै थियो । विगत तीन सातायता जङ्गली हात्तीले पनि उस्तै समस्या पारेको छ ।”

अर्का किसान बिचारी महतोले हात्तिले घोगामा दाना लागेको मकै खाने र साना मकै कुल्चेर नोक्सान पु¥याइरहेको बताए । उनले छ महिनादेखि आफ्नो घरको बास हुन नसकेको र मकैबारीमै बस्नुपरेको बाध्यता सुनाए । “जङ्गली जनावर बाँदर र हात्तीको आतङ्क बढेको छ । खेतमा बीउ रोपेको दिनदेखि बाली नभित्र्याएसम्म खेतमै बस्नुपर्ने बाध्यता छ”, महतोले भने, ‘‘दुई मिनेटमात्र मान्छे देखेन भने बाँदरको बथानले पाँच कट्ठा खेत सखाप बनाइदिन्छ । आँखा झिमिक्कै गर्न पाइँदैन ।”

केही दिनदेखि वन क्षेत्रमा पस्न थालेको हात्तीले खेतबारी मात्र नभई ज्यानै हत्केलामा राखेर बस्नुपरेको स्थानीयको गुनासो छ । हात्तीको समूहले बरहथवा, हरिवन र हरिपुर क्षेत्रमा निकै दुःख दिइरहेको छ । बाली भित्र्याउने बेलामा हात्तीले आतङ्क मच्चाउँदा आफूहरूलाई निकै समस्या भएको हरिपुर नगरपालिका–२, सखुवाका किसान रवि कडरियाले बताए ।

यो एक हप्तामा मात्रै उहाँको पाँच कट्ठा खेतमा लगाइएको मकै हात्तीले कुल्चिएर नास गरिदिएको छ । “हात्तीले निकै दुःख गरेर हुर्काएको मकै नाश गरेको छ । बाली हेर्दा पनि भक्कानो फुटेर आउँछ”, उनले भने ।

विगतमा हात्ती आउने गरे पनि यसरी बाली नाश गरेको भने पहिलोपटक गरेको स्थानीय केदार बुढाथोकीको भनाइ छ । हरिपुर्वा नगरपालिकाको सखुवा आसपास क्षेत्रमा मात्र केही दिनदेखि जङ्गली हात्तीले पाँच बिगाहाभन्दा बढी खेतको मकैमा क्षति गरिसकेको उनले बताए । “हात्ती दिनभरि वनमा लुके पनि रात परेपछि खेतमा पस्ने गरेको छ । चारै तिरबाट वनले घेरेको खेत भएकाले मान्छे एकातर्फ रुँगेर बस्ने र अर्को तर्फबाट हात्ती खेतमा पसेर बाली सखाप गर्ने समस्या छ”, बुढाथोकीले भने ।

अर्का किसान इन्द्रबहादुर खड्काले हात्तीलाई टिनका भाडा ठटाएर र होहल्ला गरेर भगाउने गरेको सुनाए । कैयन दिन हात्तीसँग जम्काभेट हुँदा भागेर ज्यान जोगाएको उनले स्मरण गरे । “बालीनालीसँगै हात्तीले कुन दिन ज्यान लिने हो पत्तो छैन तर बाली जोगाउन यसरी बस्नुको विकल्प पनि छैन”, खड्काको कथन छ ।

यहाँ हरिण, नीलगाई, बनेललगायतका जङ्गली जनावरको पनि त्यस्तै आतङ्क छ । यहाँको मूर्तिया जङ्गल क्षेत्रका केही किसानले यी जनावरबाट बाली जोगाउन आफ्नै लगानीमा करिब एक किलोमिटर क्षेत्रमा तारजालीसमेत लगाएका छन् । जङ्गली जनावरको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले आवश्यक सहयोग गर्न स्थानीयको आग्रह छ ।

हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानीबाबु थापाले हात्तीका कारण स्थानीय नागरिक आतङ्कित बनेको बताए । यो समस्या समाधानका लागि तत्काल आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष झाले यो क्षेत्र हात्ती हिँड्ने पुरानो जैविकमार्ग भएकाले समस्या हुने गरेको बताए । विसं २०२८ सम्म नगर क्षेत्रमा हात्ती स्याहार केन्द्र रहेको उल्लेख गर्दै उनले भने, “यहाँका हात्तीलाई २०३६ सालसम्म पर्सा र चितवन पु¥याइएको थियो तर आफू हिँडेको, घुमेको ठाउँहरू छिट्टै नभुल्ने भएकाले पनि आफ्ना सन्तानलाई लिएर बर्सेनि यहाँ आउने गरेका हुन् । हाल हात्तीले क्षति गरेका स्थानमा पहिले वन भएकाले यो समस्या आउने गरेको छ ।”

यस्तोमा मानिस आँफैले सावधानी अपनाएर हात्तीलाई आफ्नो हिसाबले फर्कन दिनु नै सही हुने भन्दै कार्यालय प्रमुख झाले त्यले क्षति गरिहालेमा राहत उपलब्ध गराउने प्रावधान रहेको बताउनुभयो । उनले क्षतिको निवेदन लिएर आए आफूहरूले राहतका लागि निकुञ्जमा पठाई सहयोग गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : ०० बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग