काठमाडौं – ‘म आर्यन सिग्देलको फिल्म हेर्दै कलेज पढेको मान्छे’ उमेरले आर्यनकै समकालीन अभिनेता खगेन्द्र लामिछानेको यी लाइन ठट्यौली गर्दै सार्वजनिक स्थानमा भन्छन् ।
आर्यन कलेज पढ्दै गर्दा नायक बने । आर्यनकै उमेरका खगेन्द्र कलेज अध्ययनमै सीमित थिए ।
खगेन्द्रले यस्तोभन्दा आर्यनलाई ‘आफूलाई बूढो’ बनाएको महसुस हुन्छ । अनि आर्यन भन्छन्, ‘पाएका छौं । जिस्काउन ।’
कलेज पढ्दा आफूलाई कुशल नायक लाग्ने आर्यनसँग खगेन्द्रले दुई पटक सहकार्य गरेका छन् ।
उनी फिल्ममा सक्रिय भएर लागेको दशकपछि आर्यनसँग सहकार्यको महोल जुरेको हो ।
गत जेठ २ मा प्रदर्शनमा फिल्म ‘के घर के डेरा : घर नम्बर २’मा आर्यनको र खगेन्द्रको पहिलो सहकार्य भएको हो । जेठ १५ बाट प्रदर्शनमा आउने ‘महाभोज’मा उनीहरुको दोस्रो सहकार्य भएको हो ।
यो सहकार्यले खगेन्द्रले नयाँ दोस्ती पाएका छन् । उनी भन्छन्, ‘हामी मिल्ने साथी भएको छ । यो दोस्ती लामो जान्छ जस्तो छ ।’
यो त भयो खगेन्द्र र आर्यनको दोस्तीको किस्सा । यो खबरहबकर्मी संगम ढकालले उनीसँग ‘महाभोज’ केन्द्रित भएर कुराकानी गर्दा चर्चा भएको अंश हो ।
बाँकी कुराकानीको सम्पादित अंश :

महाभोजमा प्रवेश कसरी भयो ?
– निर्देशक दिनेश राउतले फोन गर्नुभयो । ‘फिल्म गर्नुपर्ने भयो’ भन्नुभयो । उहाँ राम्रो निर्देशक हो । राम्रो निर्देशकसँग काम गर्ने इच्छा जो कोही कलाकारलाई हुन्छ । मलाई पनि थियो ।
अनि हामीबीच सबै कुरा मिल्यो । स्क्रिप्ट पनि राम्रो लाग्यो । मेरो प्रवेश भयो । सरल ढंगले कुरा मिल्यो । माथापच्ची केही भएन ।
तपाईं बढी सन्देशमुलक फिल्म गर्ने अभिनेता हो । दिनेश राउत लभ स्टोरी फिल्मबाट उदय भएका निर्देशक हुन् । तपाईंहरुको कामको धार फरक थियो । कुन फिल्मबाट चाहिँ दिनेशजीसँग सहकार्य गर्न मन लागेको थियो ?
– दिनेशजीसँग चिनजान पुरानो हो । ‘प्रसाद’बाट उहाँले फिल्म निर्देशनको धार परिवर्तन गर्नुभयो । सामाजिक विषयमा फिल्म बनाउन लाग्नुभयो । यी विषयका फिल्ममा रुचिपूर्ण ढंगले प्रस्तुत हुनुभयो ।
‘प्रसाद’ फिल्मबाट मेरो रुचि वा उहाँको रुचि मिल्न आयो ।
कलाकारका रुपले सन्देशमुलक फिल्म मात्रै होइन व्यवसायिक पनि गर्नुपर्छ भन्ने मान्यता राख्छु म ।
‘महाभोज’ मल्टिस्टारर फिल्म हो । अरु अभिनेता पनि हुनुहुन्छ । तपाईं पनि अभिनेताका रुपमा जोडिनु भएको छ । ‘फिल्ममा लिड रोलमा म नै हुनुपर्छ’ भन्ने लाग्छ कि लाग्दैन ?
– मलाई त्यस्तो लाग्दैन । हामी थिएटरबाट आएकालाई पात्र प्रधान लाग्छ । पात्रले कथामा कस्तो भूमिका राख्छ त्यो महत्त्वपूर्ण हुन्छ ।
म धेरै जसो फिल्ममा लिड रोलमा छु । कहिलेकाहीँ सानो भूमिका पनि गरेको छु ।
मलाई पात्र नै महत्तवपूर्ण लाग्छ । लिड रोल नभए पनि हुन्छ ।

‘महाभोज’मा प्रवेशमा हुनुको ‘हुक लाइन’ के हो ?
– स्क्रिप्ट र दिनेशजी ।
नायक आर्यन सिग्देलसँग तपाईंको दोस्रो सहकार्य भएको छ ‘महाभोज’मा । सहकार्यको महोल कस्तो भयो ?
– म यो क्षेत्रमा नआउँदै आर्यनको फिल्म हेर्थेँ । उहाँ सुपरस्टार भइसक्नु भएको थियो ।
आर्यन र म उमेरले समकालीन भए पनि फिल्म करिअरमा उनी मभन्दा सिनियर हुन् ।
पहिलो सहकार्य ‘के घर के डेरा : घर नम्बर २’मा भयो । दोस्रो ‘महाभोज’मा । हामी दुई फिल्म गर्दा नै नजिकको साथी भयौं । यो दोस्ती लामो जान्छ जस्तो महसुस भएको छ ।
तपाईंको नजरमा आर्यन कस्तो नायक ? उहाँको कमब्याकको चर्चा पनि छ ।
– म फिल्ममा नआउँदा पनि उहाँको अभिनय क्षमता राम्रो लाग्थ्यो । उहाँको अभिनय स्वभाविक थियो ।
कमब्याक भन्ने शब्दसँग मेरो विमती छ ।
जुनै फिल्म उद्योगमा राम्रो अभिनेताको खाँचो हुन्छ । उहाँ राम्रो अभिनेता हुनुहुन्थ्यो ।
उहाँको खाँचो जहिल्यै पनि हुन्छ । हिजो झन् थियो, आज झन् छ । मलाई लाग्छ– अब झन् हुन्छ ।
पूरा अन्तर्वार्ता :
प्रतिक्रिया