उर्फ दारासिंह : इतिहास लेखनको नौलो आयाम | Khabarhub Khabarhub

रंगमञ्च

उर्फ दारासिंह : इतिहास लेखनको नौलो आयाम



मण्डला थिएटरमा करिब एक महिनासम्म चलेको ‘उर्फ दारासिंह’ नाटक इतिहास लेखन, सांस्कृतिक आन्दोलन, रङ्गमञ्च क्षेत्रमा भएको प्रगति र राजनैतिक परिघटना चित्रणका कारणले उत्कृष्ट नाटक हो ।

नाटकमा रहेका यी चार सवालबारे विस्तृत छलफल गर्नेछु ।

१. इतिहास पुनर्लेखनको आधुनिक विधि र नयाँ आयाम :

शास्त्रीय इतिहास लेखनमा शिलालेख, बंशावली, राजा रजौटाको लालमोहर, बैठकको निर्णय र अन्य लिखित सामाग्रीहरुलाई प्राथमिकता दिइन्छ । निश्चय पनि यस्ता सामग्रीले इतिहासको एउटा पाटोको उजागर गर्छ । तर, अन्य पाटाहरुको इतिहास भन्दैन र कतिपय सवालमा त इतिहासका अन्य पाटाहरु दबाउँछ र राजा, महाराजा एवं शासकको जीवन र उनीहरुको दृष्टिकोण र धारणालाई मात्र इतिहास भनेर स्थापित गर्न खोज्छ ।

त्यसैले त्यस्ता लिखतमा आधारित इतिहास विपक्षीप्रति मात्र हैन, सर्वसाधरण नागरिकप्रति पनि पूर्वाग्रही हुन्छ । या, उनीहरुको भोगाइ, पीडा, धाराणा र जीवनबारे बोल्दैन, चासो राख्दैन वा अनविज्ञ हुन्छ ।

राजाले लेख्न लगाएको शिलालेख र इतिहासमा उसले अक्सर आफ्नो माहत्म्य लेख्न लगाउँछ । ठाडै झुट लेख्न नलगाएमा वा नलेखिएमा पनि उसले देखेअनुसारको ‘सत्य’ लेखिन्छ ।

शासकले पालेका वा आश्रित वा शासकबाट पाइने इनामको लोभमा रहेका कयौं इतिहासकारहरुले शासकको गुणगान गाउने वा शासकबारे सकारात्मक तथ्य लेख्ने, शासकलाई अप्ठ्यारोमा पार्ने तथ्य नलेख्ने वा लुकाउने वा कतिपय अवस्थामा त्यस्ता अप्ठ्यारा तथ्यहरुलाई मिलाउँदै सकारात्मक बनाउने प्रयास गरेको भेटिएको छ । त्यस्ता इतिहासमा शासकका धारणा आउने तर शासितले भोगेका अनुभव र धारणा अक्सर आउँदैनन् ।

जेम्स स्कटले लुकेको/नदेखिने तथ्य (Hidden Transcripts) बारे मह्त्वपूर्ण अनुसन्धान कृतिका रुपमा छापेका छन् । त्यस पुस्तकको मुख्य भनाइ लेखिएको र देखिएको मात्र तथ्य र इतिहास होइन भन्ने हो ।

उदाहरणका लागि ठडिएको दरबार र मन्दिर भव्य देखिएला, वास्तुविदको कला र क्षमता पनि पर्दाफास होला । तर, त्यो विशाल भवन बनाउँदा कतिजना श्रमिकहरु मरे, घाइते भए, कतिजनाबाट जबर्जस्ती उठाइएको करले बनेको हो र राज्य वा शासकलाई जबर्जस्ती कर तिर्नु पर्दा कति परिवारले कति भोकै बस्नु परेको वा आधा छाक मात्र खाएका थिए भन्ने तथ्य त्यस्ता भीमकाय भवन हेर्दा थाहा पाइँदैन ।

अथवा, लिखत सामाग्री, ठाडिएको भवन आदिले लेख्नेको र भवन निर्माताको इतिहास भन्छ, नागरिकले भोगेको पीडाको इतिहास भन्दैन वा लुकाउँछ, छोप्छ ।

नेपालमा अहिले सीमान्तकृत समुदायको इतिहास खोज्ने राम्रा प्रयासहरु प्रायः गैरराज्य क्षेत्रबाट सुरु भएको छ । तर कतिपय ती प्रयासहरु पनि राजा रजौटाले दिएको लालमोहर, राज्यका अड्डाहरुको लिखत आदिमा केन्द्रित भएका छन् । ती लिखतहरुले निश्चितरुपमा केही बताउँछन् तर तिनले प्राय माथि चर्चा गरेझैं राज्य र शासकको दृष्टिकोण, धारणा र उनीहरुको फाइदाका लागि गरिएका कार्यहरु मात्र रेकर्ड गरिएका हुन्छ्न् । त्यसले सर्वसाधारण नागरिकको वास्तविक इतिहास भन्दैन । राज्यले कति कर असुल ग¥यो भन्छ तर उक्त कर तिर्न जनताले कति छाक टार्न पर्यो भन्दैन । त्यस्तै, बिजेताले लडाइँ जित्यो भन्छ तर कुन प्रकारको षड्यन्त्र र त्यस समयको लडाइँको नियम कसरी उल्लंघन गरेको थियो भन्दैन ।

पछिल्लो समयमा विश्वमा इतिहासकारहरुले शासकको लिखत र उसले निर्माण गरेको भाष्यबाट आम नागरिकको इतिहास नदेखिने र थाहा नपाइने भएकाले गर्दा समाजको इतिहास भन्न अन्य स्रोतहरुको खोजी र भर गर्न थालेका छन् । समाजमा सुनिने लोककथा, गीत, मिथ, किम्बदन्ती र अन्य गैरलिखित स्रोतहरुको खोजी गर्न थालेका छन् । र, ती विभिन्न स्रोतहरुका आधारमा इतिहास पुनर्लेखन गर्न थालेका छन् । त्यस्ता विभिन्न स्रोतका आधारमा निर्मित इतिहास बढी पूर्ण हुन्छ ।

‘उर्फ दारासिंह’ले राज्यले निर्माण गरेको भाष्य र इतिहासलाई चुनौती दिएको छ र नागरिक पाटोको इतिहास स्थापना गर्ने प्रयास गरेको छ ।

म सानो छँदा दारासिंह (कर्ण बहादुर केरुङ) भन्ने एउटा फौदारी (डन) थियो भन्ने सुनेको हुँ । फौदारी अर्थात् मेला बजारमा झगडा गरिराख्ने व्यक्ति ! उक्त भाष्य व्यापक थियो । पुर्वी नेपालका त्यस पुस्ताका धेरैले दारासिंहबारे सुनेका थिए ।

उर्फ दारासिंह नाटकले कर्ण बहादुर केरुङको अर्को र महत्त्वपूर्ण पाटो उजागर गरेको छ । कर्ण बहादुर केरुङ बलवान थिए र सर्वसाधारण नागरिकको पक्षमा लड्थे । राज्य र पञ्च शासकलाई फाइदा हुने र नागरिकलाई बेफाइदा हुने नीतिहरुको विरोध गर्थे भन्ने नाटकमा देखाइएको छ ।

दारासिंह नागरिकका लागि हिरो थिए । किनकि, नागरिकको सुरक्षा र हितका लागि राज्यको इकाइसँग पनि रबिन हुड जस्तै लड्थे । त्यही गतिविधिले गर्दा दारासिंहलाई राज्यका शासक र प्रशासकले कानुन नमान्ने फौदारीका रुपमा देख्थे र त्यही अनुरुप भाष्य निर्माण गरे ! अश्वेतहरुको हिरो नेलशन मण्डेलालाई स्वेत शासकहरुले आतंककारी घोषणा गरे झै !

दारासिंहबारे समाज र नागरिक हितका लागि उनले गरेको योगदानबारे राज्य र त्यसको निकायबाट कुनै इतिहास लेखिएन । झगडा गर्ने, बहुबिबाह गर्ने व्यक्ति भन्दै प्रचार प्रसार गरेर शासकहरुले नकारात्मक भाष्य निर्माण गरे ।

जनहितमा गरिएको कामहरुको सही मूल्याङ्कन भएन । सर्वसाधरण नागरिकको इतिहास पुरियो वा लुकाइयो वा छोपियो।
कर्णबहादुर केरुङले नागरिकहरुको हक, अधिकार र कल्याणका लागि लडेको सर्वसाधरणले देखेका थिए । त्यसका आधारमा लोक कथाहरु प्रचलनमा आए । किम्बदन्ती बने । ती जनस्रुति र भुक्तभोगीहरुको अनुभवका आधारमा निर्माण गरिएको ‘उर्फ दारासिंह’ नाटकले जनताको इतिहासलाई स्थापित गराउनमा उल्लेखनीय योगदान गरेको छ ।

यसले सर्बसाधारणले राज्यका तर्फबाट भोगेको दमन, हत्या, र अन्यायको पर्दाफास गरेको छ । नाटकको यो पक्ष अत्यन्त महत्त्वपूर्ण हो, किनकी राज्यले यो इतिहास लेखेन, बरु छोप्यो । मूलधार भनिने नागरिक क्षेत्रबाट पनि यो इतिहास आएन ।

पछिल्लो समय जनताको इतिहास लिखतहरु भन्दा बाहिरका स्रोतहरुको आधारमा नै विश्वभरि पुनर्लेखन गरिँदै छ। यस्ता इतिहासले लिखित स्रोतका आधारबाट मात्र लेखिएको राज्यकेन्द्रित र पूर्वाग्रही इतिहासलाई चुनौती दिन थालेको छ ।

नेपालमा पनि सीमान्तकृत समुदायहरुको इतिहास पुनर्लेखनमा राज्य र शासक आधारित स्रोतहरुमा मात्र भर नगरी जनतामा निहीत अन्य अत्यन्त महत्वपूर्ण स्रोतहरुको पनि सदुपयोग गर्नुपर्छ । ‘उर्फ दारासिंह’ नाटकले नयाँ स्रोत र विधिबाट इतिहासका नयाँ पाटाहरु उजागर गरेको छ । इतिहास पुनर्लेखन अभियानमा यस्ता गैरराज्य स्रोत र नयाँ विधिहरुको भरमग्दुर प्रयोग गरिनु पर्दछ ।

‘उर्फ दारासिंह’ नाटकले नेपालमा यो प्रक्रियाको कि त सुरुवात गरेको छ, या थोरै मात्रामा भए पनि शुरु भएको नौलो प्रयासलाई थप सुदृढीकरण गरेको छ ।

२. पहिचानको आन्दोलन विस्तारको थप प्रमाण

यस नाटकले पहिचानको आन्दोलन विभिन्न क्षेत्रमा बिस्तार र स्थापित गरेको छ । सीमान्तकृत समुदायहरुको भाषाको संरक्षण र पञ्चायतमा त्यस्ता आन्दोलन गर्नुको चुनौती देखाइएको छ।

एकथरीका मानिसहरु पहिचानको आन्दोलन सडकमा मात्र खोज्छ्न। आन्दोलन भनेको सडकमा उत्रनु मात्र होइन । आन्दोलनका विभिन्न पक्षहरु हुन्छन् । जनचेतना विस्तार, संगठन निर्माण आदि आन्दोलनका अभिन्न पाटा हुन् ।

आन्दोलन बिस्तार भएको तथ्य समाजको विभिन्न क्षेत्रमा पुगेको छ कि छैन र ती क्षेत्रहरूमा कति बिस्तार भएको छ भन्ने तथ्यले पनि मापन गर्छ । रङ्गमञ्च, लेख, साहित्य, सिनेमा आदिमा पनि पहिचानको सवाल उठेको खण्डमा के बुझ्नु पर्छ भने आन्दोलन गहिरो रुपमा समाजमा बिस्तार भएको छ ।

विभिन्न क्षेत्रमा कुनै पनि सवाल उठाइनु, छलफल हुन, रुचि र समर्थनको विषय बन्नु भनेको धेरै क्षेत्रमा आन्दोलन बिस्तार हुनु हो । जनमानसलाई छुने रङ्गमञ्च जस्तो क्षेत्रमा पनि पहिचानको आन्दोलन उठान हुनु भनेको आन्दोलन बिस्तार भएको थप प्रामाण हो।

३. रङ्गमञ्च क्षेत्रको प्रगति

‘उर्फ दारासिंह’ नाटक निर्माण, प्रस्तुति, सन्देश आदिको दृष्टिकोणमा उत्कृष्ट छ । म रङ्गमञ्चको पारखी होइन (तर सिनेमा हेर्न भने रुचाउँछु) । तर पनि मौका पाएको बेला विश्व प्रशिद्ध नाटकहरु हेरौं न भनेर फ्रान्स र अमेरिकामा दुईवटा विश्व प्रसिद्ध नाटकहरु हेरेको छु ।

पेरिसमा हेरेको नाटकको नाम बिर्सें तर कालामाजु, अमेरिकामा चाहिँ The Phantom of the Opera हेरेको थिएँ । दुबै नाटक हेर्दा बोर लागेकाले मञ्चनको समयभरि आँखा खोलिराख्न गाह्रो परेको सम्झना अझै छ । मनोरञ्जनको अनुभूति पाएको थिइनँ ।

‘उर्फ दारासिंह’को विषयवस्तु बेजोड मात्र लागेन, प्रस्तुती प्रभावकारी र मनोरञ्जनात्मक पनि थियो । मूल पात्रहरुको अभिनय पछाडि अन्य कलाकारहरुको स्टेज भर्ने हलुका गतिविधिहरु, कथासँग सम्बन्धित वास्तविकतामा आधारित सवालको मनोरञ्जनात्मक तरिकाले प्रस्तुति –कुखुरा भालेहरुको पोथीप्रति प्रतिस्पर्धा र लडाइँ आदि – भएको थियो ।

यस नाटकले गैरराज्य क्षेत्रमा नेपालले निकै फड्को मारेको देखाउँछ । । यो नाटक मैले हेरेको विश्व प्रसिद्ध नाटकहरु भन्दा केही कम छैन । नेपाली रङ्गमञ्च क्षेत्रमा धेरै विकास भएको पनि यस नाटकले थप प्रमाणित गर्छ ।

४. एकल जातीय राज्यको दमनकारी रुपको चित्रण

एकल जातीय पञ्चायती राज्यले कानुन र नीतिमार्फत नै कसरी दमन गथ्र्यो र कसरी प्रतिरोधकारीलाई राज्य आतंकको शिकार बनाउँथ्यो र हत्यासमेत गर्दथ्यो र तिनका बारे कस्तो नकारात्मक भाष्य निर्माण गर्दथ्यो भन्ने दृष्टान्त पनि नाटकले देखाउँछ ।

नेपाली राज्य र प्रमुख दलका नेतृत्वहरुले दलाल पुँजीवादीहरुसँग मिलेर देशलाई भ्रष्टाचार, कुशासन र गरिबीमा झुन्ड्याइराखेका बेलामा, गैरराज्य क्षेत्रमा नेपाल उल्लेखनीय रुपमा अगाडि बढेको ‘उर्फ दारासिंह’ जस्ता नाटकले देखाउछ ।

राज्यको सहयोग विना पनि तेस्रो सामाजिक क्षेत्र आफैँ सङ्गठित भएर विभिन्न क्षेत्रमा नेपाललाई प्रगतिको पथमा लगेको छ ।

नेपालको उन्नति र विकासको योजना बनाउँदा तेस्रो संगठित सामाजिक क्षेत्र (राज्य र निजी क्षेत्र बाहेक) लाई पनि प्रमुख एजेन्टको रुपमा लिनु पर्ने थप बोध ‘उर्फ दारासिंह’ जस्ता नाटक र तिनको मञ्चन थलो मण्डला थिएटर जस्ता गैरराज्य सामाजिक सहभागितामा आधारित शक्तीले देखाएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १० : २४ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको