कार्यपालिका सदस्यको गुनासो- ऐनले काम दिएन, कार्यपालिकाले एजेण्डा सुनेन | Khabarhub Khabarhub

कार्यपालिका सदस्यको गुनासो- ऐनले काम दिएन, कार्यपालिकाले एजेण्डा सुनेन


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 9 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

दिनेश गजमेर, धरानबाट लामो समय पत्रकारिता गरेर २०७९ को स्थानीय तहको निर्वाचनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यका रूपमा निर्वाचित भएका हुन् । मूलतः उनले दलित अधिकार र सामाजिक विषयमा कलम चलाए । उनी स्थानीय पत्रपत्रिका र केन्द्रका टेलिभिजनमा समेत काम गरेको झण्डै दुई दशकको अनुभवबाट राजनीतिमा प्रवेश गरेका हुन् । धरानको भड्किलो कार्यपालिका बैठकमा संयमित भएर एजेण्डा प्रस्तुत गर्ने उनले कार्यपालिका सदस्यका अप्ठ्यारा, दलित अधिकारका एजेण्डा र स्थानीय सरकारको भूमिकालगायतका विषयमा खबरहबसँग कुराकानी गरेका छन् ।

पत्रकारिताबाट राजनीतिमा यहाँकाे प्रवेश कसरी भयो ?

पत्रकारिताबाट राजनीतिमा आउँछु भन्ने मेरो सोचाइ थिएन । राजनीति गर्छु भन्ने पनि मेरो सोचाइ थिएन । म दलित समुदायको प्रतिनिधि भएकाले समुदायका लागि केही गर्नुपर्छ भन्ने सोच चाहिँ थियो । जुन मैले पत्रकारिताका माध्यमबाट पनि दलित अधिकारसम्बन्धी इस्यूहरू उठाउँदै आएको थिएँ । तर पछिल्लो समय राजनीतिक माहोल भइरहँदा स्थानीय सरकारमा गएर पनि दलित अधिकारका मुद्दा उठाउन सकिन्छ कि भन्ने लाग्यो ।

धरानमा रहेका समग्र दलित समुदायको विकासका लागि केही राम्रो काम गर्न सक्छु कि भन्ने लाग्यो । समुदायको आर्थिक, सामाजिक, शैक्षिक विकासका लागि मेरो भूमिका त्यहाँ गयो भने देखिन्छ कि भन्ने लाग्यो । त्यसका लागि मैले राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व गर्दै धरान उपमहानगरको कार्यपालिका सदस्यका रूपमा प्रवेश गरेँ ।

कार्यपालिका सदस्य हुनुभन्दा अघि पनि दलित अधिकारका मुद्दामाथि कलम चलाइरहनु भएकै थियो । ती मुद्दा स्थापित गर्न पत्रकारिताभन्दा पनि राजनीतिलाई सशक्त माध्यम देख्नु भएको हो ?

हो । पत्रकारितामार्फत् नागरिकलाई सूचित गर्ने मात्र काम गर्दैछु जस्तो लाग्यो । मुद्दा स्थापित गर्न र कार्यान्वयन गर्न सत्तामै पुग्नु पर्दो रहेछ । धरान उपमहानगर पनि स्थानीय सरकारको सत्ता नै भयो । अधिकारका मुद्दा कार्यान्वयन गर्न अझै सजिलो हुन्छ भन्ने मेरो मान्यता रह्यो ।

पत्रकारिता गर्दा देखेका समस्या तत्कालीन नेतृत्वले प्रभावकारी ढङ्गले समाधान गरिरहेका थिएनन् । आफैँ त्यो ठाउँमा पुग्दा प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ भन्ने मैले बुझेको थिएँ । कार्यपालिका सदस्यकै रूपमा गए पनि मैले समुदायका लागि केही काम गर्न सक्छु भन्ने लागेको थियो ।

आफू जहाँ रहे पनि समुदाय र आम नागरिकका लागि काम गर्नुपर्छ भन्ने नै हुन्छ । हिजोको दिनमा पत्रकारिताका माध्यमबाट पनि नागरिकहरूको अधिकार स्थापित गर्ने कुरामा कलम चलाउँदै आएको हो । अझै पनि नागरिकको हकहितका लागि कलम चलाउनुपर्छ भन्ने त छँदैछ ।

विगत तीन वर्षमा नागरिकको पक्षमा मैले उठाएका मुद्दाहरू, अधिकारका विषयमा उठाएका आवाजहरू र समुदायका लागि गरेका कामहरूको मूल्याङ्कन भयो भने अझ माथिल्लो नेतृत्वमा जाने ठाउँ त छँदैछ ।

अपेक्षा अनुसारका काम भए त ?

पत्रकारिता गर्दा उठाएका मुद्दा र तिनलाई कार्यान्वयनको तहमा लान्छु भनेर कार्यपालिका सदस्य निर्वाचित भएर आइरहँदा मैले सोचेजस्तै सहज चाहिँ पाइनँ । सजिलो नहुँदो रहेछ । त्यसमा प्रभाव पार्ने दुईतीन तत्व रहे । एउटा त धरान नगर प्रमुख, जो स्वतन्त्र रूपमा निर्वाचित भएर आउनु भयो । उहाँ कुनै पार्टीको विचार सिद्धान्तभन्दा बाहिर हुनुहुन्छ । उहाँले आफ्नै विचार र सिद्धान्तमा नगरपालिका सञ्चालन गर्न थाल्नु भयो ।

हाम्रा मुद्दाहरू माथि प्रभाव पार्ने एउटा तत्व त्यही नै रह्यो । दोस्रो, हामीले जसरी बाहिरबाट नियालिरहेका छौँ, भित्र त्यस्तो अवस्था छैन । विभिन्न अवरोध हुँदा रहेछन् । पोलिटिकल रूपमै पनि अवरोध हुने रहेछन् । पार्टीले आफ्नै उद्देश्य, धारणा र विचार निर्माण गरेको हुन्छ । मेरो विषय यो हो, म यसो गर्छु भन्दा पार्टीको उद्देश्य, घोषणापत्रसँग मिलेन भने त्यो कार्यान्वयन गर्न समस्या हुने रहेछ ।

अर्को कुरा समुदाय पनि विभिन्न पार्टी विचारसँग नजिक हुँदा आआफ्नै धारणा र उद्देश्य हुन्छन् । म एउटा पार्टीबाट प्रतिनिधित्व गरिरहेको छु, अर्को पार्टीलाई मेरो धारणा मन परिरहेको हुँदैन । व्यक्तिगत बुझाइ, ऐन, कानून र नीतिका परिभाषा नमिल्दा पनि काम गर्न सकिँदैन ।

एउटा गज्जबको कुरा, वडा अध्यक्ष चाहिँ मन्त्री सो सरह अनि कार्यपालिका सदस्य चाहिँ राज्यमन्त्री सरह व्याख्या गरिँदो रहेछ । यो भाष्य निर्माण गरिनु बडो हाँस्यास्पद छ । स्थानीय सरकार सञ्चालन ऐनले वडाध्यक्ष र कार्यपालिका सदस्यको समान हैसियत रहन्छ भनेको छ । जिम्मेवारीका हिसाबले वडाध्यक्षको भूमिका वडामा महत्त्वपूर्ण छ । कार्यपालिकामा आइसकेपछि सबैको काम कर्तव्य र अधिकार समान छ । तर वडाध्यक्ष र कार्यपालिका सदस्यबीचको असमान व्याख्या गरिने मानसिकताले पनि समस्या पार्दो रहेछ ।

कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइँदैन । मैले भन्ने गरेको छु– कार्यपालिका सदस्यहरू कार्यपालिका बैठकमा हस्ताक्षर गर्न र साक्षी बस्न मात्र लगिएको हो ? राजनीतिक दल, नीति निर्माण र ऐन बनाउनेहरूलाई पनि म सोध्छु – कुनै पनि समिति वा विषयगत समिति निर्माण हुँदा नगर प्रमुख वा उपप्रमुखको संयोजकत्वमा कार्यपालिका सदस्य, महिला, नगर सभा सदस्यबाट निश्चित सङ्ख्या तोकिएको हुन्छ । यस्ता समिति निर्माणका बेला वडाध्यक्षहरूको नाम सिफारिस हुन्छ ।

ऐनमा कार्यपालिका सदस्य लेखिएको छ । नगर सभा सदस्य भनिएको छ । कार्यपालिका बैठकमा वडाध्यक्षहरू पनि कार्यपालिका सदस्य हुन्छन् भन्ने तर्क अघि सारिन्छ । वडाध्यक्ष नै त्यो जिम्मेवारीमा बस्नुहुन्छ । नगर सभा सदस्य भनिएको हुन्छ । वडाध्यक्षहरू पनि नगर सभा सदस्य हुन् नि ! भन्ने तर्क प्रस्तुत गरिन्छ । कार्यपालिका सदस्य भनेका ठाउँमा पनि वडाध्यक्ष नै, नगर सभा सदस्य भनेका ठाउँमा पनि वडाध्यक्षकै प्रतिनिधित्व हुने गरेको छ ।

यसरी ऐनले पनि स्पष्ट परिभाषा नगरेकाले कार्यपालिका सदस्यहरूको पहुँच, नेतृत्व र प्रतिनिधित्वमा समस्या आइरहेको छ । कार्यपालिका सदस्य जिम्मेवारीविहीन छन् । कार्यपालिका सदस्यको काम बैठकमा गयो सिग्नेचर गर्‍यो, फर्कियो । मात्र यत्ति छ जिम्मेवारी । मेरो बुझाइ र विज्ञहरूको सल्लाहमा पनि वडाध्यक्षहरू वडाको जिम्मेवारीमा रहन्छन् । वडाका प्रतिनिधिले नगरका जिम्मेवारी लिँदा समय व्यवस्थापन गर्न सक्दैनन् । नगरमा बन्ने विषयगत समितिमा कार्यपालिका सदस्यलाई जिम्मेवारी दिँदा उहाँहरूको भूमिका पनि रहन्छ । उहाँहरू जिम्मेवार पनि बन्नुहुन्छ । अलि बढी समय दिएर पब्लिकको काम गर्न पनि प्रोत्साहित बन्नुहुन्छ । तर अहिलेसम्म यस्तो अभ्यास भएको छैन । प्रायः नगरपालिकामा कार्यपालिका सदस्यका समान दुःख हुने रहेछन् ।

पत्रकारिता क्षेत्रमा रहँदा पहिचान गरेका मुद्दा कार्यपालिका सदस्य भएपछि कार्यान्वयन गर्न सक्नु भयो त ?

मलाई सम्झना छ, धरान उपमहानगरको कार्यपालिकाको पहिलो बैठक आजभन्दा तीन वर्षअघि जेठ २३ गते बसेको थ्यो । मैले दलित समुदायको पक्षबाट पहिलो एजेण्डा उठाएको थिएँ– दलित डेस्क स्थापना गर्ने । यो विषय निर्णय पनि भयो । कार्यपालिका बैठकमा प्रवेश गरेको पहिलो दिन नै आफूले उठाएको विषय सर्वसम्मत निर्णय भयो । त्यसलाई मैले उपलब्धि पनि सम्झिएँ । तर त्यो विषय कार्यान्वयन हुन सकेन ।

अफिसियल संरचना छुट्टै बनाउनु पर्ने, निर्णय भएको विषय कर्मचारीमा कार्यान्वयन गर्नैपर्छ भन्ने तदारुकता नदेखिनु, नगरको नेतृत्ववर्गले पनि यो काम त गर्नैपर्छ भनेर संवेदनशील नहुनुजस्ता कुरामा अल्झियो । मुख्य कुरा नेतृत्वको विचार, सिद्धान्त र धारणासँगै गएर कार्यान्वयनको पाटो अल्झने रहेछ । मेरो पहिलो प्रस्ताव र निर्णय गरिएको विषय थाँती रह्यो ।

स्थानीय सरकार सञ्चालन ऐनले पनि पछाडि परेका समुदायलाई अगाडि ल्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने अधिकारी दिएको छ । छुवाछूत, विभेदजन्य विषयलाई निर्मूल गर्न कार्यक्रम कार्यान्वयन गर्ने भनेको छ । त्यसैलाई आधार बनाएर ‘दलित सशक्तीकरण ऐन’ पहिलो वर्ष नै हामीले ड्राफ्ट गर्‍यौँ । धरानका दलित समुदाय, अधिकारकर्मीसँग बसेर छलफल गरेर ड्राफ्ट तयार पारेका थियौँ । अहिलेसम्म यो काम नेपालमा प्रदेशस्तरमा भएको छ तर नगरपालिका स्तरमा भएको छैन । तर विडम्बना भन्नुपर्छ अहिलेसम्म त्यो ड्राफ्ट टेबल हुन सकेन ।

यो ऐन बनाउन कानून मस्यौदा समिति बन्नुपर्ने रहेछ । कार्यपालिका बैठकबाट लामो समयसम्म समिति बनेन । हालै भर्खरमात्रै कानून मस्यौदा समिति बनेको छ । हामीले ड्राफ्ट गरेको ऐन कार्यान्वयन गर्न समस्या भइरहेको छ ।

बजेट विनियोजनका विषयमा पनि निकै नै कठिनाइ हुने रहेछ । दलित समुदाय भनेको अलिक बढी मानव विकाससँग जोडिने हुन्छ । दलित समुदायको क्षमता विकास गर्ने, शैक्षिक विकास गर्ने, जीविकोपार्जनमा सघाउ पुर्‍याउने हुनुपर्छ । तर हाम्रो चाहाना र जोड चाहिँ पूर्वाधार निर्माण र भौतिक विकासमा हुने रहेछ । मानव विकाससँग सम्बन्धित रहेर आवश्यक बजेट पनि विनियोजन नहुँदो रहेछ । लक्षित वर्गलाई विनियोजन हुने न्यून बजेटले हाम्रो कार्यक्षमतामा अवरोध हुने रहेछ ।

कुनै कुनै स्थानीय तहमा विषयगत समितिको नेतृत्व लिएका कार्यपालिका सदस्यहरूले काम पनि गरेका छन् । विषयगत समितिको नेतृत्वमा लक्षित वर्गका छैनन् भने त्यति धेरै काम नहुँदो रहेछ । सोचेजस्तो, चाहेजस्तो काम हुन सकेको छैन । अझै पनि लक्षित समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन ।

सामान्यतया कार्यपालिका सदस्यका दुःख चाहिँ के हुने रहेछ ?

वडाध्यक्षको कार्य सम्पादन गर्ने स्पष्ट आधार छ । उनीहरूको आफ्नै संरचना छ । कार्यपालिका सदस्य ऐनका आधारमा निर्वाचित भए । प्रतिनिधित्वका हिसाबले समावेशी समीकरण मिलाउन ल्याइयो । धरानमा वडाध्यक्ष सबै पुरुषहरू छन् । ५ जना महिला कार्यपालिका सदस्यहरू हुनुहुन्छ । हामी समुदायको प्रतिनिधित्व हुने गरी ३ जना छौँ । दलित समुदाय, अल्पसङ्ख्यक र एक जना पिछडावर्गबाट ।

तर दुःखको कुरा कार्यपालिका सदस्यका रूपमा निर्वाचित कसैलाई पनि जिम्मेवारी छैन । जिम्मेवारीविहीन भएपछि म यो काम गर्दैछु भन्न, काम देखाउन सकिँदैन । जिम्मेवारी नदिएपछि हामीले के काम गर्ने ? वडाध्यक्षहरूको कार्यालय हुन्छ ।

कार्यपालिका सदस्यको केही पनि हुँदैन । स्थानीय सरकारको संरचनामा रहेका सबैको आआफ्नो काम हुन्छ । वडासदस्यदेखि नगरप्रमुख सबैको बजेट हुन्छ । तर कार्यपालिका सदस्यको केही पनि हुँदैन । त्यो सबैभन्दा गम्भीर दुःख हो । न बजेट, न योजना छनोटमा भूमिका । विषयगत समितिमा समेत पहुँच निर्माण नगरिँदा भूमिकाशून्य हुन्छन् कार्यपालिका सदस्य ।

हामीले पहिलो कार्यपालिका बैठकदेखि उठाएको विषय पनि हो– कार्यपालिका सदस्यको ठोस भूमिका । नगरपालिकामा कार्यालय स्थापना गर्ने । हामीले पटकपटक भन्यौँ तर कार्यान्वयन हुन सकेन । नगरपालिका जाँदा हामी कहाँ बस्ने ? ठाउँ छैन । मेयरको कोठामा बस्ने कि, उपमेयरकहाँँ जाने कि ? कर्मचारीका क्याबिनमा जाने ? उहाँहरूको पनि आआफ्नै काम हुन्छ होला । कार्यपालिका सदस्यलाई हेर्ने दृष्टिकोण नै फरक छ । ऐन कानूनले कार्यपालिका सदस्यलाई ठोस काम दिएको छैन, किटान गरिदिएको छैन । कार्यपालिकामा वडाध्यक्षसरह भइयो । ठोस जिम्मेवारी तोकिदिएन । ऐन कानून परिमार्जन गर्न पर्छ भन्ने लागिराछ ।

कार्यपालिकामा तपाईँले उठाएका एजेण्डा सम्बोधन भएको महसुस गर्नु भा’छ ?

एजेण्डा थुप्रै पटक उठाएका छौँ । नगर प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले एजेण्डा ल्याउनुहुन्छ । हामीसँग बैठक बस्नु अघि एजेण्डा मागिँदैन । यस विषयमा हामीले कुरा पनि उठाएका थियौँ । हाम्रा एजेण्डा पनि प्रस्तावकै रूपमा आउनुपर्‍यो भन्यौँ । हुन्छ भन्ने पनि भयो । एकदुई पटक एजेण्डा पनि दियौँ । प्रमुख प्रशासकीय अधिकृतले मेयरलाई दिने, मेयरलाई ठीक लाग्यो भने ठीकै छ अन्यथा एजेण्डाले प्रवेशै नपाउने भयो । हाम्रा एजेण्डा खै भनेर विविधमा एजेण्डाको खोजी गर्नुपर्ने अवस्था भयो । विविधमा कुरा राख्दा तपाईँका एजेण्डा अर्को बैठकमा राखौँला भनिन्छ । अर्को बैठकमा पनि त्यत्तिकै ।

यो गतिरोध चाहिँ नेतृत्वकै कारणले हुने रहेछ । धरानमा नेतृत्व पोलिटिकल पार्टीप्रति एकदमै नकारात्मक हुनुहुन्छ । पोलिटिक पार्टीबाट आएका एजेण्डा पोलिटिकल नै हुन्छन् भन्ने उहाँको धारणा छ । उहाँले आफ्ना एजेण्डा ल्याउनुहुन्छ अनि कर्मचारीले ल्याएका पास गर्नुपर्ने एजेण्डा आउँछन् ।

मैले पहिलो बैठकमा राखेको दलित डेस्क स्थापना गर्ने एजेण्डा कार्यान्वयन गर्नेतर्फ कसैको पनि ध्यान गएन । मैले फलोअप पनि गरेँ । तर कसैको चासोको विषय भएन । किनभने त्यो हाम्रो समुदायको, मेरो एजेण्डा थियो । समुदायलाई हेर्ने फराकिलो दृष्टिकोण भएन ।

मैले कार्यपालिका बैठमा समुदायको मात्रै होइन । नागरिक सरोकारका साझा मुद्दा पनि उठाएको छु । शिक्षा क्षेत्रमा विद्यालयको स्तरीकरण र गुणस्तरका कुरा उठाएँ । बजेटको प्रभावकारिताका विषयमा कुरा राखेँ । छरिएका बजेटलाई एकीकृत गर्ने, देखिने किसिमका पूर्वाधार र भौतिक निर्माणका काम गरौँ भनेको छु । दीर्घकालीन प्रभाव पार्ने योजना छनोट गरौँ, धरान शहर भइकन पनि धेरै ग्रामीणक्षेत्र छन्, प्राथमिकतामा योजना लगौँ भन्ने प्रस्ताव राखेको छु । यी हामी सबैका साझा प्रस्ताव हुन् । म एउटा कार्यपालिका सदस्यले लगेका प्रस्तावलाई कार्यान्वयन भएको छ है भनेर महसुस गर्न सकेको छैन ।

वडाध्यक्षहरूले वडाका योजना छनोट गरेर ल्याउनुहुन्छ । वडाध्यक्षले भनेका कुरा पब्लिकको इन्ट्रेस्ट हो भनेर अपनत्व लिइन्छ । कार्यपालिका सदस्यलाई नागरिकसँग जोड्न स्थानीय सरकारले सकेको छैन । हाम्रा एजेण्डा नागरिकको एजेण्डाका रूपमा कार्यपालिकाले लिन सकेको छैन ।

धरानमा पानी राजनीति छ, गुह्य कुरा के हो ?

अहिले पनि धरानमा खानेपानीको समस्या छ । हिजो पनि थ्यो । आजभन्दा २० वर्षअघिको जनसङ्ख्या निकै फरक छ । एडिबी परियोजनाअन्तर्गत आएको खानेपानी १५–२० वर्षअघिकै जनसङ्ख्यालाई आधार मानेर बनाइएको प्रोजेक्ट रिपोर्टअनुसारको योजना हो ।

एडिबी परियोजना सुरु हुँदा म जनप्रतिनिधि थिइनँ । बाहिरबाट हेर्दा परियोजना सफल हुन नसकेकै हो । अहिले मेयर सा’बले देशविदेशबाट खानेपानीका लागि डोनेसन ल्याउनु भा’छ । श्रमदान अभियान चलाउनु भा’छ । उहाँले गर्न खोज्नु राम्रो कुरा हो । धरान पहिलेदेखि नै पब्लिक पार्टनरसिपमा उदाहरणीय शहर हो । जनसहभागितामा मेयर सा’बले खानेपानी परियोजना चलाउन खोज्दै हुनुहुन्छ उहाँको धारणा सही छ । तर हामीले मात्रै भनेको कुरा प्रकृयाको हो । र, परियोजना दीर्घकालीन हुन्छ कि हुँदैन भन्ने प्रश्न हो ।

अहिले तीन वर्ष बित्यो । स्थानीय सरकारको प्रकृया पूरा गरेर दीर्घकालीन रूपमा हुने गरी अध्ययन गरेर अघि बढ्नु भएको थ्यो भने केही न केही राहत हुन्थ्यो । तर अहिले पनि धरानमा खानेपानीको समस्या छ । जुन ठाउँबाट पानी ल्याउनुभा’छ, त्यहाँबाट अपेक्षा गरेअनुसारको पानी आएको छैन । खोलाखोल्सी, बर्खा, हिउँदमा आगलागी हुने यी विभिन्न समस्याको अध्ययन नगरी काम गरिएको छ । देशविदेशबाट आएको रकमको सही सदुपयोग हुन सकेको छैन । तथापि गर्न खोजिएको कुरा चाहिँ राम्रो थ्यो । डिटेल प्रोजेक्ट रिपोर्ट, दीर्घकालीन लक्ष्य लिएर गरिएको भए चाहिँ राम्रो हुनेथ्यो । तर अझै पनि खानेपानीको समस्या उस्तै छ ।

चारकोशे झाडीबाट निकालिएको पानीलाई व्यवस्थापन गर्न सकिएको छैन । खानेपानी संस्थान हुँदाको वितरण प्रणालीलाई व्यवस्थापन गर्न सकिएको छैन । उत्पादन भएको पानी सहज रूपमा नागरिकको घरघरमा पुग्न सकेको छैन ।
कोशी प्रदेश सरकारले सुरुङ मार्गबाट तमोर नदीको पानी ल्याउने कुरा उठाएको छ । त्यसले केही सहजता प्रदान गर्ला कि भन्ने लाग्छ । यता मेयर सा’ब सप्तकोशीको पानी ल्याउने भनिरहनु भएको छ । सप्तकोशीको पानीको विषय एडिबी परियोजना सुरु हुनु भन्दा अघि पनि चर्चामा आएको थ्यो । कोशीको पानी धरानसम्म ल्याउन असहज हुने र महँगो पर्ने भनिएको थियो ।

धरानमा पानीमा भइरहेको लगानी देखिएको छैन । एक दिन फेसबुकमा झ्वार्र आउँछ । हराउँछ । पानी ट्याङ्कीसम्म पुग्दैन । ट्याङ्कीसम्म पानी पुगे पनि वितरण प्रणाली अध्ययन नगरेकाले घरघरमा पानी पुग्न समस्या भइरहेको छ । यो विषयमा मेयर अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्दैन ।

खानेपानी र खानेपानीमा आएको सहयोग दुवै प्रणालीमा गएको छैन । धरानमा खानेपानी बोर्ड छुट्टै संस्था हो । परियोजना बोर्डबाट सञ्चालन हुन्छन् । खानेपानीमा आएको सहयोग पनि कम से कम बोर्डबाटै सञ्चालन हुनुपथ्र्यो । मेयर सा’बको आफ्नै सिस्टमबाट चलेको छ । दाताहरूले सहयोग गरेको जिन्सीलगायतको रेकर्ड न खानेपानी बोर्डसँग छ न नगरपालिकासँग । कुनै समय खोज्दै आउने दातालाई के देखाउने ? मेयर सा’ब कन्टिन्यु हुनसक्ने त कुरा छैन । उहाँको आकाङ्क्षा मुख्यमन्त्री हुने, प्रधानमन्त्री हुने छ । उहाँ त माथिमाथि जानुहुन्छ । त्यो रेकर्ड त उहाँसँगै जाने भयो ।

कार्यपालिका सदस्य रहँदा यहाँको तीन वर्ष कस्तो रह्यो र आगामी दुई वर्ष कस्तो रहने छ ?

मेरो तीन वर्षको कार्यकाल एउटा उखानजस्तै छ– भूतले खाजा खाने समयमा मेरो इन्ट्री भयो । निष्कर्ष त्यही हो मेरो ।
खाजा मान्छेले नै खाएको जस्तो देखिने तर भूतको पेटमा जाने । सफल देखिँदैन । यसको मुख्य कारक मैले भनिहालेँ । गर्न खोज्दा पनि गर्न नसकिएको अवस्था रह्यो । बाँकी दुई वर्षमा गर्न सकिने अवस्था पनि छ । सोच र लक्ष्यअनुसार काम गर्न नसकिने अवस्था आइपर्दो रहेछ ।

एजेण्डा छलफल र बहसको विषय बन्यो भने त्यस्तो वातावरण निर्माण भयो भने एउटा रूप लिन्छ । नेतृत्वलाई नीति, सिद्धान्त र मार्गनिर्देशनले डोर्‍याउनुपर्छ । व्यक्तिको एउटा विचार र सिद्धान्त मेल खाए कार्यान्वयन हुने अन्यथा नहुने परिपाटीसँग सङ्घर्ष गर्नुपर्ने अवस्था रह्यो ।

के बलियो रहेछ पत्रकारिताबाट उठाएका एजेण्डा कि राजनीतिमा लागेर कार्यान्वयन गर्छु भन्ने सङ्कल्प ?

मैले पत्रकारिता गर्दा उठाएका एजेण्डा नै व्यक्तिगत रूपमा बलियो पाएको छु । ती एजेण्डा कार्यान्वयन गर्छु भन्ने सङ्कल्प पनि छँदैछ । निरन्तर प्रयास रही नै रहेको छ । जनप्रतिनिधिका रूपमा केही समस्या छन् । काम गर्ने सवालमा परम्परागत र पुरानाशैली हाबी हुँदा काम गर्न अप्ठ्यारो छ । सबैको सहयोगले एजेण्डा स्थापित अवश्यै हुन्छन् ।

तपाईँलाई भनौँ, स्थानीय सरकार सञ्चालक ऐन, २०७४ ले कार्यपालिका सदस्यको चार काम तोकेको छ । कार्यपालिका बैठकमा भाग लिने, प्रमुखले विषयगत क्षेत्रको संयोजक तोके काम गर्ने, कार्यपालिकाले तोके काम गर्ने अन्यथा छुट्टीमा बस्ने ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : ४१ बजे

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश

राति नाभिमा तेल हालेर सुत्नुहोस्, हुन्छन् यस्ता फाइदा

काठमाडौं- आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन यूआन पुग्ने अनुमान

बेइजिङ– चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार,

इनरुवामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा शुक्रबार सवारी दुर्घटना