ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह | Khabarhub Khabarhub

ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज ललितपुरको बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।

जिल्लाका छ वटा स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने तेस्रो स्थानीय तह हो । 

यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाङ्काल गाउँपालिकाले २०८२ वैशाख ३१ गते र काठमाडौँ उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराए ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप अभियानमा स्वास्थ्य स्वयंसेविकाहरूले पुर्‍याएको योगदान अतुलनीय भएको बताए । 

‘सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहन्छु,’ उनले भने । उनले बालमैत्री स्थानीय तह, बालविवाह मुक्त स्थानीय तह घोषणा गर्न ध्यान दिन पनि गाउँपालिकालाई आग्रह गरे । 

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम राख्नका लागि क्रियाशील भएर लाग्न स्वास्थ्यकर्मी एवं स्वयमंसेविकालाई अनुरोध गरे । ‘तपाईँहरूको सहयोगको उच्च मूल्याङ्कन हुन्छ, प्रोत्साहन स्वरूप केही सहयोग उपलब्ध गराउँदै आएका छौँ, भविष्यमा पनि यहाँहरूको योगदानको मूल्याङ्कन गर्नेछौँ’, लोप्चनले भने ।

राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले बताए ।

‘राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाहरुले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरु विरुद्धका खोपहरु प्राप्त गरेको र गर्भवती महिलाहरु टिडी, धनुष्टङ्कार र भ्यागुते रोग बिरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ । जुन आज बागमती गाउँपालिकाले सम्पन्न गरेको छ,’ डाक्टर पौडेलले भने  ।

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले तीन वर्षदेखि स्वास्थ्य स्वयमंसेविकाहरूले घरघरमा पुगेर सबै बालबालिकालाई खोप लगाउनका लागि गरेको प्रयासस्वरूप आजको अवस्थासम्म आइपुगेको बताए  । उनले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरूमध्येको यो लक्ष्य हासिल हुँदा स्वस्थ समाज निर्माण र स्वस्थ्य जनशक्ति निर्माणमा योगदान पुर्‍याएको धारणा राखे ।

ललितपुर जिल्ला खोप अधिकृत राजाराम कार्कीले प्रत्येक स्थानीय तहले खोप सुनिश्चित गर्नु अनिवार्य रहेको बताउँदै खोप सुनिश्चितता स्थानीय तह घोषणा गर्ने जिल्लाकै तेस्रो स्थानीय तह हुन सफल भएकामा बधाई दिए । स्थानीय तहबाट गएको प्रतिवेदन र जिल्ला तहबाट भएको अनुगमनका आधारमा बागमती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गर्ने निर्णय भएको उनले बताए ।

बागमती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समीर श्रेष्ठले विगत तीन वर्षदेखि बालबालिकाहरुमा खोप सुनिश्चित भए/नभएको अनुगमन गरेर खोप लगाउन छुटेका बालबालिकालाई खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको जानकारी गराए  । 

राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानमा देशभर १६ भन्दा बढी खोप केन्द्रहरू रहेको र बागमती गाउँपालिकाभित्र मात्रै १९ वटा खोप केन्द्रहरू रहेको उनले जानकारी गराए । यी खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले जानकारी गराए ।

स्थानीय तह, जिल्ला र प्रदेश हुँदै देशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरूप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ । –रासस
 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : ०२ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको