काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी हाल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना केन्द्रीय सदस्य उल्टै हिरासतमा पुगेका छन् ।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार गोदावरीमा गरेको वडाध्यक्षलाई अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको उत्तेजनापूर्ण अभिव्यक्तिबारे उजुरी दिएका राप्रपा केन्द्रीय सदस्य रविकिरण हमाल पक्राउ परेका हुन् ।
उनलाई प्रहरीको एक टोलीले सोमबार साँझ ६ बजे काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेर हिरासतमा लिएको हो । हमाललाई सोधपुछपछि प्रहरीले मंगलबार दिउँसो २ बजे रिहा गरेको छ ।
‘मलाई लाजिम्पाटबाट नेपाल प्रहरीले मलाई गिरफ्तार गरेर अपराध अनुसन्धान कार्यालयमा राखियो’, हमालले भनेका छन्, ‘सोमबार बेलुका ६ बजे पक्राउ गरिसकेपछि मलाई उक्त कार्यालयमा लगिएको थियो । पक्राउ गर्नुको कारणबारे प्रहरी अधिकृतसँग सोध्दा माथिको आदेश अर्थात् प्रधानमन्त्रीको कार्यालयको आदेशमा पक्राउ गरिएको जानकारी प्राप्त गरेँ ।’
उनले अहिले आफू रिहा भइसकेको बताएका छन् । ‘सबै कुरा बिस्तारै खुल्दै जाला, भोलि यसको मूल्याङ्कन हुने छ । देश बनोस्, नेपाली जनताको भलो होस्, नेपाली माटो सुहाउँदो राजनीतिक व्यवस्था कायम होस्, हामै जीवनकालमा नेपाल विश्वको उन्नत राष्ट्र बनोस्’, उनले रिहा भएपछि भनेका छन्, ‘नेपालीहरू विश्वका उन्नत राष्ट्रका नागरिकका रूपमा बाँच्न पाउन् भन्ने लक्ष्य प्राप्तिप्रति प्रतिबद्ध छु।’
हमालले सोमबार प्रहरी महानिरीक्षक दीपक थापालाई सम्बोधन गर्दै ‘प्रधानमन्त्रीलाई तत्काल पक्राउ गरी पाऊँ’, शीर्षकमा एउटा निवेदन हालेका थिए ।
उनले उक्त निवेदन प्रधानमन्त्रीले आइतबार गोदावरीमा दिएको उत्तेजक अभिव्यक्तिलक्षित थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा हिंसा भड्काउने अभिव्यक्ति दिएका छन् ।
उनले प्रधानमन्त्रीको पदमा बसेर हिंसा भड्काउने अभिव्यक्ति दिनु निकै गम्भीर विषय हो’, उनले निवेदनमा भनेका थिए, ‘जेठ १५ गते जनआन्दोलनको घोषित कार्यक्रम रहेको कुरा सबैलाई जगजाहेर छ। उक्त दिनमा ठूलो हिंसा र रक्तपात मच्याउने लक्ष्यसहित केपी ओलीको निर्देशन सहजै बुझ्न सकिन्छ ।’
हमालले शान्ति सुरक्षा खलल पुऱ्याउने, हिंसा भड्काउने र देशलाई द्वन्द्वतर्फ लैजाने कलुषित मनसायका साथ प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमा कुकृत्य गरिरहेको भन्दै छानबिन माग गरेका थिए ।
‘त्यसका लागि उनलाई तुरुन्तै पक्राउ गरी हिरासतमा राख्न निवेदन गर्दछु’, उनले भनेका थिए, ‘नेपाल प्रहरीले यस्तो कुरालाई नजर अन्दाज गर्ने, संवेदनशील तवरले नहेर्ने अथवा कारबाही अगाडि नबढाउने हो भने जेठ १५ गते उत्पन्न हुने परिस्थिति निकै भयावह र र त्रासदीपूर्ण हुने हामीले आङ्कलन गरेका छौँ।’


प्रतिक्रिया