राजावादी आन्दोलनमा घाइते रेबिकाको सातौं पटक अप्रेशनपछि स्वास्थ्यमा सुधार | Khabarhub Khabarhub

राजावादी आन्दोलनमा घाइते रेबिकाको सातौं पटक अप्रेशनपछि स्वास्थ्यमा सुधार

आन्दोलनमा गोली लागेकाहरूमा विभिन्न स्वास्थ्य समस्या


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई जनाको ज्यान जाने गरी भएको तीनकुने हिंसात्मक प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् ।

आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेबिका खत्री अस्पतालको बेडमै छिन् । गोली लागेर तिघ्राको भाग क्षतविक्षत् भएकी रेबिकाको ७ औं पटकको शल्यक्रियापछि स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

रेबिकाका बुवा तुलसीराम खत्रीका अनुसार रेबिकाको विगत ४ दिनदेखि स्वास्थ्यमा सुधार आइरहेको छ । खबरहबसँग कुरा गर्दै खत्रीले भने ‘अबको २ हप्तापछि प्लाष्टिक सर्जरी गर्ने भनिएको छ, अहिले आईसीयूबाट निकालेर ड्रेसिङ क्याबिनमा राखेर उपचार गरिँदै छ ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार खुट्टाको मुख्य नशालाई ब्लक गरेर रक्तश्राव रोकिएको छ । अन्य साना–साना नशाहरूको सहायताले खुट्टा चलिरहेको छ । सहयोगीको सहायतामा बिस्तारै थेरापी गराउने गरिएको छ । आफैँ उभिन सक्ने अवस्थामा उनी अझै पुगेकी छैनन् ।

‘जेठ ४ गते राति अप्रेशन गर्दा ज्यान जोगाउनका लागि खुट्टा गुमाउनुपर्छ जस्तो सङ्केत डाक्टरहरूबाट आइसकेको थियो, तर डाक्टरहरूको सहयोग र सबैको कामनाले होला अब भने खुट्टा जोगिन्छ कि भन्ने आशा पलाएको छ ।’ रेबिकाका बुवाले भने ।

सिभिलले अझै पैसा फिर्ता गरेन

सुरुवातमा सिभिल अस्पतालमा भर्ना गरिएकी रेबिकाको उपचार खर्च सबै सरकारले बेहोर्ने भनेको थियो । बिरामीको उपचार खर्चमा आउने बिल, कुरुवाहरूको खाना–खर्चलगायत सबै बिल अस्पतालले भुक्तानी गर्ने भनेको थियो ।

त्यसैअनुसार बिल बुझाएका खत्रीले अहिलेसम्म भुक्तानी नपाएको गुनासो गरे । ‘स्वास्थ्यमन्त्रालयले पनि ताकेता गरेर मागिरहेको छ तर अस्पतालले नै ढिलाइ गरिरहेको छ भन्ने सुन्नमा आएको छ ।’ खत्रीले भने ।

अहिले अस्पतालकै सहमतिमा रेबिकालाई टिचिङमा रेफर गरिएको छ । टिचिङ अस्पतालमै पाउने औषधि र अन्य सेवासुविधाबाहेक बाहिरबाट किन्नुपर्ने औषधिहरू आफैँ किन्ने गरेको खत्रीले बताए ।

‘मनमोहनमा पनि शल्यक्रियाका क्रममा बाहिरबाट ल्याएका औषधिको २०–२२ हजार रुपैयाँको बिल अस्पतालले लिन मानेन,’ खत्रीले भने, ‘दुई रात क्याबिनमा बसेको शुल्क तिर्नुपर्छ भनेर अस्पताल प्रशासनले बिरामी निकाल्न दिरहेको थिएन ।’
प्रहरीलाई फोन गरेपछि क्याबिनको पैसा तिरेर बिरामी निकाल्न सहयोग भएको खत्रीले बताए । उनले प्रहरी प्रशाशनले नै टिचिङमा ल्याएर क्याबिनमै राखेको बताए । प्रहरी प्रशासनबाट डिएसपी, एसपीहरू आएर बेलाबेलामा अवस्था कस्तो छ भनेर बुझिरहेको खत्री बताउँछन् ।

‘गाह्रो अप्ठेरो पर्दा फोन गर्ने बित्तिकै आएर सोधीखोजी गर्नुुहुन्छ ।’ उनले भने ।

प्रहरी प्रशाशनले भनेपछि अहिले उपचार पनि राम्रै भइरहेको खत्रीले बताए । मङ्गलबार सर्जरीको डाक्टर आएर ‘सर्जरी गर्न अहिले अप्ठेरो छ, अलिकति मासु पलाओस् तत्काल अप्रेशन गर्दा मासु थप्नुपर्छ, बिरामीको मासु काटेर राख्न मिल्ने ठाउँ पनि छैन ।’ भनेको खत्रीले सुनाए ।

लामो समय अस्पतालमा बस्दा रेबिकाको शरीरको तौल घटेको उनका बुवा तुलसीराम खत्रीले बताए । ‘घटेर जम्मा २२–२३ किलोको ज्यान छ, अब २ हप्ताजति पर्खनुपर्छ भन्ने आश्वासन दिएका छन्, अझै सुधार आउँछ कि भन्ने आशा छ ।’ खत्रीले भने ।

डिस्चार्ज भएकाहरूमा स्वास्थ्य समस्या

आन्दोलनमा घाइते भई अस्पतालबाट डिस्चार्ज भएर घर गएकाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएको छ ।

आन्दोलनका क्रममा २० जनालाई गोली लागेको थियो । गोली लागेका मध्ये १३ जनाको जटिल शल्यक्रिया गरिएको थियो । आन्दोलनका क्रममा दुवै हातमा गोलीको छर्रा लागेर घाइते भएका राजकुमार कार्की केएमसी अस्पतालमा उपचारपछि गत चैत २५ गते डिस्चार्ज भएका थिए ।

तर अहिले पनि हात दुख्ने, सुन्निने जस्ता समस्या देखिन थालेको कार्की बताउँछन् । गोलीको छर्रा सानो भए पनि उनको दुवै हातको भित्री भागमै छिरेकाले शल्यक्रिया गरेर निकालिएको थियो ।

डिस्चार्जपछि अहिलेसम्म ३ पटक फलोअपमा गइसकेको बताउँदै कार्कीले भने, ‘एउटा हात त ठीकै छ अर्को हात भने थोरै चलाउँदा पनि दुख्ने र सुन्निने गरेको छ ।’

घाइते अवस्थामा उपचार निःशुल्क भए पनि अहिले फलोअपमा जाँदा आफ्नै पैसाले उपचार गरिरहेको उनी बताउँछन् ।

गोली लागेको घाउहरू जलनको घाउजस्तै हुने भएकाले निको हुन समय लाग्ने ट्रमा सेन्टरका अर्थोपेडिक्स एण्ड अर्थोप्लास्टी सर्जन डा. रवीन्द्र रेग्मीले बताए ।

‘गोली लागेको घाउहरू पोलेको जस्तै हुन्छ, कतिपय अवस्थामा छर्रा भित्रै अड्किएर निकाल्न सक्ने अवस्था पनि हुँदैन, यसले लामो समयसम्म दुःख दिन्छ ।’ डा. रेग्मीले भने ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ०४ बजे

जनताको खोस्ने, बिचौलियालाई पोस्ने पुलिन्दा

आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार

संसद्को अवरोध हटाउने प्रयास : सभामुखले बोलाए सचेतकको बैठक

काठमाडौं – सभामुख देवराज घिमिरेले अवरुद्ध प्रतिनिधि सभा बैठक बस्ने

गाजाको राहत वितरणमा लुटपाट र अराजकता : हवाई आक्रमणमा सात सुरक्षाकर्मीको मृत्यु

इजरायल – उत्तरी गाजाका धेरै सहरमा पुगेका राहत पर्याप्त नभएपछि

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य हुनुपर्छ : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता

शुक्रबारका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका