लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति | Khabarhub Khabarhub

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ । 

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ । 

क्यान्सर भवनको ‘र्‍याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । उनले अहिले निर्माणमा कुनै अवरोध नरहेको र प्राधिकरणले निरन्तर समन्वय गरिरहेको बताए । उनले निर्माणका संलग्न सरोकारवालाहरू सबैसँग प्राधिकरणको टोलीले निरन्तर समन्वय र सहकार्य गरिरहेको बताए ।

पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले हालसम्मको प्रगति र कार्य योजनालाई तुलना गर्दा आयोजनाको कार्य योजनाअनुसार नै काम भइरहेको बताए । उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौता भएको समय अगाडि नै सम्पन्न गर्ने गरी काम भइरहेको बताए  ।

निर्माण व्यवस्थापनको अन्तर्राष्ट्रिय प्रावधानअनुसार निर्माण कार्यको व्यवस्थापन तथा गुणस्तर कायम गर्न आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रूपमा जी–टु–जी माध्यमबाट काठमाडौं विश्वविद्यालयअन्तर्गतको काठमाडौं युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको १६ जनाको प्राविधिक टोलीले निर्माणमा प्रत्यक्ष सुपरिवेक्षण गरेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीको भनाइ छ । प्राध्यापकसहितको टोलीले आयोजनाको ‘डिजाइन रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताए  । 

निर्माण व्यवसायीको १० जनाको विशेष प्राविधिक टोलिसहित २२० जनाभन्दा बढी कामदारहरू दैनिक काममा खटिएका छन् । दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले रु आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा ५ वर्षभित्र भवन निर्माण गर्ने गरी रु ६ अर्ब १८ करोडमा सम्झौता भएको छ । 

सम्झौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन उपचार, (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० शय्या रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

पूर्वाधार विकास प्राधिकरण सिइओ इन्जिनियर पोखरेलका अनुसार ‘क्याम्पासाइट–आशीष–रेलिगेर’ संयुक्त कम्पनीले छ अर्ब १८ करोड ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्ने गरी पुस २६ गते निर्माण सम्झौता गरेको हो । 

विक्रम संवत् २०८० पुस २६ गते सम्झौता भई कार्यादेश पाएको निर्माण व्यवसायी कम्पनीले २०८० साल माघ १८ गतेदेखि अस्पताल भवनको निर्माण प्रारम्भ गरेको थियो । भवनको शिलान्यास उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् । 

अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचार सेवा प्रदान गर्ने गरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सरको उपचारका लागि अलग्गै भवनको निर्माण चलिरहेको छ । 

विसं २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ । 

अस्पतालमा दैनिक तीन हजारसम्म ओपिडीका बिरामी आउने गरेका छन् । अस्पतालमा वार्षिक झन्डै १० लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ । 

यस अस्पतालबाट अहिले बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । 

परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डिओग्राम लगायतका सेवा उपलब्ध छन् । रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : १६ बजे

प्रचण्डको गुनासो- सदन खुलाउँदा माओवादीकै कार्यकर्ताले मलाई दु:ख दिए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका

नारायणी लिफ्टबाट पानी छोडियो

चितवन– नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि

नौ जनाको हत्या आरोपमा जापानमा एक जनालाई मृत्युदण्ड 

टोकियो– टोकियो नजिकैको आफ्नो अपार्टमेन्टमा नौ जनालाई मारेर टुक्रा पारेको

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि