मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ ।
गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्र्याैली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपरेका छन् ।
झन्डै ६ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुवात गरेको थियो । त्यसबेला उनको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उनी १३ वर्षको हुँदा बुबा बितेपछि बुबाको कृषिकर्मको जिम्मेवारी उनको काँधमा थपियो ।
गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ/दिदीबहिनी सदस्य छिन्नभिन्न भए । बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफँैले सम्बाले ।
गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेतीमा लागेका गुरुङले वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसकेका छन् । सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउँछन् ।
मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उनले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याउन सफल भए ।
गुरुङ भन्छन्, ‘बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम हातैले गर्नुपथ्र्यो, अहिले त विगतको भन्दा स्याउखेती प्रणालीमा आकाशजमिन फरक भइसक्यो ।’
यहाँ सडक सञ्जाल नहुँदा उत्पादन हुने स्याउ नबिकेर पशुचौपायालाई खुवाउनुपर्ने र कति स्याउ त बोटमै कुहिएर झर्ने गरेको गुरुङले स्मरण गरे ।
त्यसबेला उत्पादन गरिएको स्याउ प्रतिकेजी दुई रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गरेको गुरुङले सुनाए । उनले विगत सम्झिँदै भने, ‘यहाँको स्याउ बजार पुर्याउन घोडा, खच्चड र हेलिकप्टरबाट ढुवानी गर्नुपथ्र्यो, स्याउ बेचेर फाइदा लिन पनि त्यसबेला किसानलाई निकै गाह्रो हुने गथ्र्यो ।’
कृषक गुरुङ अहिले ६१ वर्षको भए । उनको जोशजाँगर र इच्छाशक्ति भर्खरको तन्नेरीजस्तै छ ।
गुरुङ अहिले मुस्ताङका स्याउ किसानमध्ये अब्बल किसानका रूपमा परिचित छन् । दुई वर्षअघि उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् । जिल्ला र राष्ट्रियस्तरमा स्याउखेतीमा उत्कृष्ट पहिचान बनाउँदै आएका गुरुङ स्याउखेतीमा पाएको सफलतामा बुबाकै योगदान रहेको बताउँछन् ।
बुबाले अपनाएको स्याउखेतीको विरासतलाई पछ्याउँदै निकै सङ्घर्ष र मेहनत गरी अहिलेको स्थानसम्म आइपुगेको गुरुङको भनाइ छ । स्याउखेतीतर्फ प्राप्त गरेको यस प्रकारको सफलताले कुनै युद्ध जितेको जस्तै अनुभूति हुने गरेको उनको भनाइ छ ।
गुरुङको पुख्यौली परम्परागत स्याउखेती छँदै थियो । तर, त्यसमा सोचेजस्तो आम्दानी लिन निकै मुस्किल पथ्र्यो । विसं २०७५ साल अघिसम्म परम्परागत स्याउखेती गर्दै आइरहेका गुरुङले अहिले बृहत् रूपमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउखेतीलाई अघि बढाएका छन् । जतिबेला मनाङमा एग्रो मनाङले हाइब्रिड स्याउखेतीको नमूना परीक्षण सुरु गरेको थियो ।
गुरुङले स्याउका लागि निजी जग्गा झन्डै तीन सय रोपनी र अन्य दुई सय रोपनी जग्गा आफन्त, इष्टमित्र र संस्थागत तहमा लिज सम्झौता गरी स्याउखेती विस्तार गरेको जानकारी दिए । उनले आधा जग्गामा परम्परागत स्याउखेती र बाँकी आधा जग्गामा हाइब्रिड स्याउखेती गरेका छन् ।
कृषक गुरुङको स्याउ फार्मले २५ जनालाई स्थायी र करिब ९० जनाभन्दा बढीलाई अल्पकालीन रोजगारी दिएको छ । स्याउखेतीलाई भनेर किसान गुरुङले पाँच सय बढी च्याङ्ग्रा, १० वटा घोडा, नौवटा जर्सी गाई र स्याउ बगैँचामा मौरीपालन गरेका छन् ।
स्याउखेतीबाट वार्षिक तीन–चार करोडको कारोबार हुने गुरुङले बताए । स्याउखेतीमा जनशक्ति र स्याउ बगैँचा व्यवस्थापनलगायतमा पनि उत्तिकै खर्च हुने गरेको गुरुङको भनाइ छ ।
मुस्ताङमा जलवायु परिवर्तनका कारण यहाँको स्याउ छिटोछिटो पाक्न थालेको उनले बताए । (रासस)
प्रतिक्रिया